सगरमाथा इन्जिनियरिङ कलेजले गुणस्तरलाई कहिल्यै पैसासँग जोड्दैन: ई. दक्षिणा श्रेष्ठ (अन्तर्वार्ता) - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interview

सगरमाथा इन्जिनियरिङ कलेजले गुणस्तरलाई कहिल्यै पैसासँग जोड्दैन: ई. दक्षिणा श्रेष्ठ (अन्तर्वार्ता)

ललितपुरको सानेपास्थित सगरमाथा इन्जिनियरिङ कलेजले स्थापनाकालदेखि नै इन्जिनियर उत्पादनमा विशेष योगदान पुर्याउँदै आएको छ । इन्जिनियरिङ शिक्षासँगै विद्यार्थीको भविष्यका लागिसमेत मार्ग निर्देशन गर्नमा केन्द्रित रहेको कलेजको दाबी छ । इन्जिनियर्स पोस्टका लागि आइबी चौधरीले समग्र इन्जिनियरिङ शिक्षाको अवस्था, इन्जिनियरिङ क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरु र सगरमाथा इन्जिनियरिङ कलेजका विषयमा कलेजकी सह–प्राध्यापक शैक्षिक विभाग प्रमुख ई. दक्षिणा श्रेष्ठसँग कुराकानी गरेका छन्:

पछिल्लो पाँच वर्षमा इन्जिनियरिङ शिक्षाप्रति देखिएको विद्यार्थीको आकर्षणलाई कसरी लिनुहुन्छ ? सन्तोषजनक मात्र या फड्को मारेको छ ?

फड्को नै मारेको मैले पाएको छु । तर, विषयगत रूपमा हेर्दा अलिकति फरक हुन आउँछ । अर्थात् विषयअनुसार विद्यार्थीको आकर्षण घटिबढी देखिन्छ । सिभिल इन्जिनियरिङ क्षेत्रको विगत पाँच वर्षदेखिको तथ्यांक नियाल्दा यस क्षेत्रमा विद्यार्थीको क्रेज एकदमै बढेको छ । विशेषगरी २०७२ को भूकम्पपछि पुनर्निर्माणको काम सुरु भएपछि सिभिल इन्जिनियरहरूका लागि रोजगारीको अवसर उल्लेखनीय रूपमा बृद्दी भएको छ । त्यसैले यसप्रति विद्यार्थी बढी आकर्षित भएको देखिन्छ ।

त्यसैगरी नेपालमा सहरीकरणको प्रक्रिया द्रुत गतिमा विस्तार भइरहेको छ । यसै सन्दर्भमा विगत ५ वर्षको अवधि हेर्दा ठूल्ठूला अपार्टमेन्ट, हाउजिङ, मल, व्यापारिक कम्पेक्स, सडक, पुल निर्माणदेखि, सिँचाइका लागि नहर, ड्याम निर्माण तीव्र रूपमा अघि बढेको छ । साथै, लोक सेवाको विज्ञापनले पनि सरकारी निकायमा सिभिल इन्जिनियरकै माग बढी देखिन्छ । यो पनि एउटा कारण हो ।

त्यस्तै, सिभिल इन्जिनियरिङलाई अहिले कम्प्युटर इन्जिनियरिङ र आईटीले पछ्याउँदै आएको छ । किनभने नेपाल डिजिटल युगमा प्रवेश गर्ने क्रममा छ । यातायात कार्यालय, कर, मालपोत, उद्योगलगायत विभिन्न सरकारी तथा गैरसरकारी सबै कार्यालयहरू अब ‘अनलाइन तथा अटोमेसन प्रविधिमा’ जाने तयारीमा छ । त्यसमाथि स्मार्ट सिटी, विदेशी आईटी प्रोजेक्ट नेपालमा ल्याएर ‘प्रडक्ट’हरू डिजाइन गरिदिनेलगायतका काम हुन्छ । यसले कम्प्युटर र आईटीको भविष्य राम्रो भएको संकेत दिन्छ ।

विश्वभरि फैलिएको कोरोना महामारीले आईटीको महत्व कति छ भन्ने कुरा स्पष्ट पारिदिएको छ । यस क्षेत्रमा विगत ५ वर्षदेखि विद्यार्थीको आकर्षण ह्वात्तै बढेको देखिन्छ । अब कम्प्युटर र आईटी ‘स्पेसिफिक’ रहेन । इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, मेकानिकल, मेडिकल, बैंकिङ, म्यानेजमेन्ट तथा अरू थुप्रै क्षेत्रमा आईटी र कम्प्युटरसँगै जोडिएर आउँछन् ।

सिभिल र कम्प्युटर इन्जिनियरहरूको तुलनामा इलेक्ट्रोनिक इन्जिनियरको माग विगतमा कम देखिन्थ्यो । तर, दैनिक जीवनमा हेर्ने हो भने इलेक्ट्रोनिक्स उपकरणहरूको उपभोग बढी छ भने उत्पादनको क्षेत्र भने न्युन छ । त्यसैले गर्दा इलेक्ट्रोनिक्सको क्षेत्रमा रोजगारीका अवसर कम हुनु स्वभाविक नै हो । तर, आइओईले २०७५ देखि इलेक्ट्रोनिक्स इन्जिनियरिङको पाठ्यक्रम परिमार्जन गरेपछि विद्यार्थीको आकर्षण ह्वातै बढेको देखिन्छ । पाठ्यक्रमपछि डिग्रीको नाम पनि ‘इलोक्ट्रोनिक्स एण्ड कम्युनिकेसन’ बाट ‘इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड इन्फरमेसन’ भनेर राखिएको छ ।

विभिन्न कन्सलटेन्सीले नेपालको इन्जिनियरिङ कलेज राम्रा छैनन् भनेर प्रचारप्रसार गरिरहेका छन् नि । यो साँचो हो ?

यसलाई साँचो वा झुटोभन्दा पनि परिप्रेक्ष के हो भन्ने कुरा प्रष्ट पार्न चाहन्छु । हाम्रो यहाँको कुनैकुनै विश्वविद्यालयमा कोर्ष तोकिएको समयमा नसकिने समस्या देखिन्थ्यो । इन्जिनियरिङको कोर्ष ४ वर्षको हो । तर, कहिलेकाहीँ समयमा परीक्षा नभईदिने, ४ वर्षमा सकिनुपर्ने कोर्ष ढिला भइदिने आदि समस्या थियो । तर, मेरो विगत २० वर्षदेखिको अनुभवमा त्रिवि अन्तर्गतको कलेजहरूमा आजसम्म कुनै पनि यस्तो समस्या पाइनँ ।

शैक्षिक क्यालेनडरमा तोकिएको समयमै कोर्ष सकाएर डिग्री प्रदान गरेको पाइन्छ । त्यसैले कन्सल्टेन्सीवालाहरूले नेपालको शिक्षामा बढी राजनीति हुन्छ, समयमा कोर्ष सकिँदैन भनेर विद्यार्थी समक्ष आफ्नो प्रचारप्रसार मात्र गरेको हुन सक्छन् । तर, म यसलाई राम्रो प्रचारप्रसारको रूपमा भने लिन्नँ ।

हाम्रो शिक्षा प्रणाली सैद्धान्तिक ज्ञानमा बढी केन्द्रित मानिन्छ नि ?

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विश्वका ख्याती प्राप्त विश्वविद्यालयका पाठ्यक्रमको आधारमा डिजाइन गरिएको पाठ्यक्रम हो । एउटा कुरा हामीले के बुझ्न जरुरी छ भने इन्जिनियरिङ शिक्षामा ४ वर्षमा इन्जिनियरिङ सम्बन्धी आधारभूत कुरामा स्पष्ट हुनुपर्छ । जुन सैद्धान्तिक ज्ञानले मात्रै दिन्छ । किनभने सैद्धान्तिक ज्ञान बलियो भए मात्रै ‘प्रयोगात्मक’ ज्ञान हासिल गर्न सकिन्छ । नत्र अभ्यासले मात्रै पोख्त हुने हो भने एउटा इन्जिनियर र प्राविधिक सीप सिकेर आएको व्यक्तिबीच कुनै फरक हुँदैन । वास्तवमा इन्जिनियरिङका लागि सैद्धान्तिक ज्ञानको एकदमै खाँचो छ ।

यसको अर्थ सैद्धान्तिक ज्ञानमा मात्रै बढी केन्द्रित हुनुपर्छ भन्ने चाहीँ होइन । अभ्यासलाई पनि सँगसँगै लैजानु त पर्छ नै । वास्तवमा हाम्रो पाठ्यक्रममा अभ्यास पक्षको अलि कमी छ । कार्यक्षेत्रमा जाँदा विद्यार्थी अलमलमा परेको देख्दा अभ्यासमा हामी साँच्चै नै चुक्यौं कि जस्तो लाग्छ । त्यसैले अब प्रयोगात्मक शिक्षालाई बढाउनका लागि अन्तर्राष्ट्रिय बजारको अध्ययन गरेर नै समयसमयमा पाठ्यक्रम परिमार्जन गर्न जरुरी छ ।

इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन र इलेक्ट्रिकल विषयमा स्कोप राम्रो हुँदाहुँदै पनि विद्यार्थीको यसतर्फ आकर्षण कम छ । किन होला ?

प्रायः विद्यार्थी वर्तमानमा बजार कतातिर गइरहेको छ ? त्यो अवलोकन गरेर पढ्न आइरहेका हुन्छन् । तर, ऊ अहिले पढे पनि ४ वर्षपछि ‘पासआउट’ हुने हो । त्यतिबेलाको बजारमा केको माग हुन्छ त, त्यो सोचेर पढ्नुपर्ने हो । विद्यार्थीको सोचमा यही कुराको कमी छ । अरूको देखासिकी गर्ने ‘माइन्डसेट’ (प्रवृति) छ । अर्थात् उनीहरूले भविष्यमा इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड इन्फर्मेसन र इलेक्ट्रिकलको माग वा बजार बढी हुन्छ भन्ने बुझेका छैनन् र उनीहरूको रुचि त्यतातिर छैन ।

विदेशमा हेर्ने हो भने कक्षा ८/९ देखि नै उनीहरूका लागि एउटा ‘मेन्टर’ राखिएको हुन्छ । जसले बच्चाको सबै कुरा सुक्ष्म ढंगले अवलोकन गरिरहेको हुन्छ र उसको खुबी पत्ता लगाउँछ । हाम्रो शिक्षा प्रणाली त्यस्तो छैन । अभिभावक पनि त्यस्तै अन्योलमा हुन्छन् । त्यसैले विद्यार्थी तथा अभिभावकमा जनचेतना जगाउन जरुरी छ ।

आइओईअन्तर्गतको प्रवेश परीक्षा प्रणालीमा केही त्रुटि भएका कारण त्रिविबाट सम्बन्धन प्राप्त कलेजमा विद्यार्थी कोटा भरिँदैन भन्ने छ । कमजोरी कहाँ छ ?

म सबैभन्दा पहिले प्रवेश परीक्षाको समयावधिलाई औल्याउन चाहन्छु । प्रवेश परीक्षा करिब २ हप्ता जस्तो चल्छ । यो नै यसको कमजोरी हो । तर, यो बाध्यता पनि हो । अनलाइनमार्फत परीक्षा हुने भएपछि कम्प्युटर सेट पनि प्रशस्तै चाहियो, जुन आइओईको क्षमताले मात्रै पनि भ्याउँदैन । जसले गर्दा विद्यार्थीहरू आत्तिने, धैर्यता नराख्ने मैले पाएको छु ।

अर्को भनेको भर्ना गर्ने तालिका एक महिना लामो अवधिको छ । यसले गर्दा विद्यार्थीले मेरो र्‍याङ्कले सिट पाउँछ कि पाउँदैन भनेर द्विविधामा हुन्छन् । त्यसैले त्रिवि बाहेकका विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज र नेपालका अरू विश्वविद्यालयका कलेजमा भर्ना गर्ने प्रचलन एकदमै बढेको छ । बेलैमा सम्बन्धित निकायले भर्ना गर्ने तालिकालाई छोट्याउन सक्यो भने केही हदसम्म कोटा रित्तै हुने समस्या हट्छ कि जस्तो लाग्छ ।

त्यसैगरी आइओईले कलेज र विषयलाई प्राथमिकतामा राखेर छान्ने प्रणाली यदि ल्याउन सक्यो भने सबै विद्यार्थीको रिजल्ट एकैचोटी प्रकाशित गर्न सकिन्छ । जसले गर्दा समय पनि छोटो हुन्छ र विद्यार्थी पनि ढुक्क हुन्छन् । उनीहरूले आफ्नो हिसाबले कलेज र कार्यक्रम छान्न पाउँछन् ।

विकासको गति र प्रविधिको विकाससँगै पाठ्यक्रम परिमार्जन हुँदै जानु आवश्यक छ । तर, हाम्रोमा एक दशकअघिदेखि इन्जिनियरिङ पाठ्यक्रम परिमार्जन हुन सकेको छैन । यसले दक्ष प्राविधिक जनशक्ति उत्पानमा कस्ता असर पार्छ ?

पाठ्यक्रम परिमार्जन हुन नसक्नु विडम्बनाकै कुरा हो । यसले केही हदसम्म पक्कै पनि असर पार्छ । तर, आइओईले पाठ्यक्रमको परिमार्जन प्रक्रिया अघि बढाइसकेको छ । अर्को वर्षसम्ममा परिमार्जित पाठ्यक्रम आउँछ भन्नेमा हामी विश्वस्त छौं । परिमार्जन भएन भने पनि दक्ष इन्जिनियर उत्पादनका लागि अर्को उपाय खोज्नैपर्ने हुन्छ । नत्र दक्ष प्राविधिकको उत्पादनमा कमी आउँछ, जसले गर्दा रोजगारीका अवसर पाउन गाह्रो हुन सक्छ ।

यस्तो बेलामा कसरी समयसँगैको शिक्षा दिने भन्नेमा कलेजको मुख्य भूमिका रहन्छ । किनभने ४ वर्ष पढाएर उसको हातमा एउटा सर्टिफिकेट थमाइदिने मात्रै कलेजको काम होइन । त्यसैले पाठ्यक्रम जे छ छँदै छ त्योसँगै तालिमलाई विशेष ध्यान दिनुपर्छ । यसैलाई मध्यनजर गर्दै हामीले विद्यार्थीलाई विभिन्न किसिमका तालिम पनि दिइरहेका छौं ।

इन्जिनियरिङ शिक्षा क्षेत्रमा वर्तमान अवस्थामा देखिएका मुख्य समस्या र चुनौती केके हुन् जस्तो लाग्छ तपाईंलाई ?

समग्र इन्जिनियरिङ क्षेत्रमा देखिएको पहिलो समस्या उद्योग वा बजार र एकेडेमियाबीच सहकार्य नहुनु हो । उद्योगमा अहिले कस्तो ट्रेन्ड चलिरहेको छ ? कस्तो उत्पादनको जरुरी छ ? त्यसलाई बुझ्न जरुरी छ । उहाँहरूले कलेजसँग समयसमयमा सहकार्य गर्नुभयो भने सजिलो हुन्छ । यसलाई आधार मानेर पछि कलेजले आफ्नो पाठ्यक्रमलाई परिमार्जन गर्न पनि सजिलो हुन्छ । पढिएका सैद्धान्तिक कुरालाई अभ्यासमा ल्याउन नसक्नु अर्को समस्या हो ।

विद्यार्थी तथा कलेज कसरी पास गर्ने भन्ने मानसिकता बढी देखिन्छ । यो अर्को ठूलो समस्या हो । विद्यार्थीमा बुझेर पढ्नेभन्दा घोकेर बढी नम्बर ल्याउने र विदेश पढ्न जाने भन्ने खालको सोच मात्रै आएको देखिन्छ । यसले व्यवहारिक वा प्रयोगात्मक ज्ञान दिँदैन । जसले गर्दा दक्ष जनशक्तिको उत्पादन हुन पाउँदैन ।

त्यसैगरी विश्वविद्यालयलगायत सम्बन्धित निकायले सिट संंख्या थप गर्नतिर जोड दिन सकेको छैन । जसले गर्दा सिट बढाएर पनि गुणस्तरीय शिक्षा दिन सक्ने कलेजहरूले पनि बढाउन सकेका छैनन् । यो पनि एउटा ठूलो समस्या हो ।

त्यस्तै यस क्षेत्रको अर्को समस्या भने कलेजमा हुने अनावश्यक विद्यार्थी राजनीति हो । अन्य विदेशी डिग्री दिने कलेजलाई हेर्ने हो भने उनीहरूले जति पनि विद्यार्थीलाई जुनसकै बेला भर्ना लिन सक्छन् । नेपालमा वर्षमा एकपटक भर्ना लिने प्रणाली छ । त्यसैले यो पनि एउटा चुनौतीको रूपमा छ ।

विद्यार्थीले इन्जिनियरिङ शिक्षाका लागि सगरमाथा कलेज नै किन रोज्ने ? यस कलेजको विशेषता केके हुन् ?

यो कलेजको मुख्य विशेषता भनेको यहाँ अनुभवी शिक्षकहरूको समूह हुनु हो । यहाँ करिब २१/२२ वर्षदेखि शिक्षण र इन्जिनियरिङ क्षेत्रमा अनुभव समेटेका शिक्षक छन् । सबै विषयका विशेषज्ञ छन् । त्यसैगरी हामीले विद्यार्थीको ‘पर्सनल केयर’ मा बढी ध्यान दिन्छौं । अर्थात् आन्तरिक परीक्षाको नतिजा प्रकाशित भइसकेपछि प्रतिक्रिया दिने, अभिभावकसँग छलफल गर्ने आदि गरिन्छ ।

हामीले सैद्धान्तिक र व्यवहारिक दुवै खालको शिक्षा बराबर दिइरहेको छौं । यसका लागि गुणस्तरीय सुविधासम्पन्न ल्याब छन् । ल्याबमा हुने सबै उपकरण गुणस्तरीय छन् । अर्थात् हामीले गुणस्तरलाई पैसासँग कहिल्यै जोडेका छैनौं । एउटा दक्ष इन्जिनियर उत्पादनमा जोड दिइरहको छौं । त्यसैले यो विद्यार्थीका लागि शिक्षा हासिल गर्ने एउटा राम्रो कलेज हो ।

त्यसैगरी सगरमाथाले स्थापनाकाल देखि नै ‘करिअर सेन्टर, ट्रेनिङ एण्ड प्लेसमेन्ट युनिट’ खडा गरेर पाठ्यक्रमबाहेक बजारलाई ध्यानमा राखेर चार वर्षमा सबै संकायमा ३/३ ओटा ट्रेनिङ दिइरहको छ । हरेक वर्ष नेपालभरिका आईटी कम्पनीसँग सहकार्य गरी कार्याशाला गोष्ठि सञ्चालन गर्छ । समयसमयमा अतिथि शिक्षक बोलाएर आफ्नो क्षेत्रको अनुभव दिने गरेको छ ।

त्यस्तै यो कलेजले प्रत्येक वर्ष ‘सगरमाथा टेक्नो फेस्ट’ को आयोजना गर्दै आइरहेको छ । जसमा विद्यार्थीहरूले आ–आफ्ना प्रोजेक्ट वर्क प्रदर्शन गर्ने मौका पाउँछन् । विद्यार्थीलाई सञ्चालन गरेर ‘सगरमाथा क्लब’, ‘आईटी क्लब’, ‘मिडिया क्लब’ आदि पनि छन् । यसरी सबै सुविधा भएकोले यस कलेज रोज्दा फरक पर्दैन ।

विद्यार्थीलाई सैद्धान्तिक शिक्षा प्रदान गर्ने मात्र नभएर भविष्यमा रोजगारीका अवसरसमेत सिर्जना गर्ने कार्यमा कत्तिको जिम्मेवार हुनुहुन्छ ?

विद्यार्थीले भविष्यमा रोजगारी पाए कि पाएनन् भन्ने कुरामा कलेजले जिम्मेवारी त लिनैपर्छ । किनभने हामी विद्यार्थीका अभिभावक पनि हौं । हामीले विद्यार्थीलाई रोजगारीका अवसर कुन कुन क्षेत्रमा छ भनेर औल्याइदिने काम गर्छौं । जुन सगरमाथा कलेजले गर्दै पनि आइरहेको छ । यसमा विद्यार्थीको क्षमतामा पनि भर पर्छ ।

सगरमाथा विद्यार्थीको भविष्य र रोजगारीका लागि हरपल तत्पर छ । यही कुरालाई मध्यनजर गर्दै हरेक वर्ष ‘सगरमाथा जब फियर’ को पनि आयोजना गर्दै आएका छौँ । जुन फियरमा देशभरिका पासआउट विद्यार्थीले रोजगारीका अवसर प्राप्त गर्न सक्छन् ।

Your Opnion

//