देश बनाउन राजनैतिक इन्जिनियरको खाँचो छः ई. मिलन पाण्डे (अन्तर्वार्ता) - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interview

देश बनाउन राजनैतिक इन्जिनियरको खाँचो छः ई. मिलन पाण्डे (अन्तर्वार्ता)

विवेकशील साझा पार्टीका संयोजक हुन्, ई. मिलन पाण्डे । इन्जियिनरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसबाट सिभिल इन्जियिनरिङमा डिग्री हासिल गरेका पाण्डे सुरुवाती चरणदेखि नै विवेकशीलको राजनीतिमा सक्रिय छन् । एक प्राविधिक ब्यक्ति भएको नाताले देशको विकास र पार्टीको रणनीति तय गर्ने सवालमा उनीसँग पक्कै फरक विचार हुनुपर्छ । इन्जियिनर्स पोस्टका कृष्ण आचार्यले पाण्डेको सोही फरक विचार बुझ्ने प्रयास गरेका छन् । प्रस्तुत छ, उनीसँग इन्जियिनरिङ, राजनीति र विवेकशीलको रणनीतिका बारेमा गरिएको कुराकानीको सम्पादित अंशः

एक सिभिल इन्जिनियरको रुपमा तपाईंको राजनीतिक यात्रा कस्तो भइरहेको छ ?
रोचक भइरहेको छ । प्लस टूमा साइन्स पढेर मैले फिजिक्स लिएर बीएस्सी र पछि सिभिल इन्जिनियरिङ गरेँ । प्राविधिक शिक्षाले कुनै काम गरिसकेपछि नतिजामुखी, समाधानमुखी या भनौँ परिणाममुखी हुनुपर्छ भन्ने कुरा सिकाएको छ । अर्थात, इन्जियिनरिङले मलाई समस्याको गहिराइमा पुगेर त्यसको समाधान निकाल्न सिकाएको छ ।

तपाईंको राजनीतितर्फको रुचि कसरी बढ्यो । पहिल्यैदेखि राजनीतिमा आउने सोच बनाउनुभएको थियो या कुनै घटनाक्रमले यसतर्फ तान्यो ?
मैले बीएस्सी त्रिचन्द्र कलेजमा पढेँ, इन्जियिनरिङ थापाथली क्याम्पसमा पढेँ । यी दुई भनेका नेपालमै धेरै राजनीतिक गतिविधि हुनेमध्येका क्याम्पस हुन् । इन्जिनियरिङ कलेजकै कुरा गर्ने हो भने साथीहरु कुनै लक्ष्य, उद्देश्य या भनौँ संकल्पबिना राजनीतिमा होमिने गरेको मैले देखेँ । इन्जिनियरिङमा राजनीति गरिरहेका एक जना मेरा साथीलाई तपाईंको भविष्यको लक्ष्य के हो भनेर मैले सोध्दा उनले प्रचण्डलाई भेट्ने आफ्नो लक्ष्य रहेको सुनाए । त्यसदिन मलाई राजनीति कति फितलो धरातलमा भइरहेको रहेछ भन्ने आभास भयो । त्रिचन्द्र र थापाथलीको राजनीतिलाई नजिकबाट नियाल्ने मौका पाएपछि देश बिगार्ने पनि यही राजनीति हो भन्ने लाग्यो र यस्तो राजनीतिक म गर्दिन भन्ने संकल्प कसेँ । पछि विवेकशील पार्टीको जन्म भयो । अन्य राजनीतिभन्दा फरक हुने भएपछि देशमा चलिरहेको राजनीतिलाई बदल्नुपर्छ भनेर म सुरुवाति चरणदेखि नै यतातिर लागेँ ।

विकास, निर्माणमा इन्जिनियरहरुको भूमिकालाई निकै महत्वका साथ लिइन्छ । इन्जिनियरलाई देश विकासको संवाहक पनि भनिन्छ । तर, राजनीति गरेर इन्जिनियरले देशका लागि केही गरेका उदाहरण खासै छैनन् । किन होला ?
नेपालमा उत्कृष्टतालाई खासै स्थान दिएकोजस्तो मलाई लाग्दैन । कुनै पार्टीको नेता हुनका लागि पैसा चाहिन्छ, पावर चाहिन्छ, ब्यापारी, माफियाहरुसँगको सम्बन्ध चाहिन्छ । यदि कसैको गुलामी गर्नुपर्छ, चाकरी गर्नुपर्छ र माफियाहरुसँग साँठगाँठ गर्नुपर्छ भने इन्जिनियरहरु राजनीतिमा किन आउने ? त्यसैले धेरै डाक्टरहरु राजनीतिमा आएर आफ्नो मर्यादालाई कुल्चन चाहनुहुन्न । इन्जियिनरले पनि यसतर्फ सोच्नुपर्छ । बरु म सय वटा राम्रो घर बनाउँछु, बरु म क्वालिटीको सडक बनाउँछु, बरु म देश विकासको योजना कोर्छु र यसमै सन्तुष्ट हुन्छ भन्ने सोच्ने हो भने उनीहरुले पनि देशका लागि धेरै गर्न सक्छन् भन्ने मलाई लाग्छ ।

बजारलाई हेर्ने हो भने अधिकांश इन्जिनियरहरु कुनै पार्टीको भातृ संगठन, शुभेच्छुक संस्था होस् या अन्य कुनै रुपमा राजनीतिमा जोडिएकै छन् । तर, उनीहरुले इन्जियिरको हक, हितका लागि या पूर्वाधार विकासका खासै भूमिका निर्वाह गरेको पाइँदैन । यसको अर्थ राजनीतिले इन्जिनियरलाई बिगारेको भन्ने हो ?
राजनीतिले इन्जियिनरलाई पनि बिगार्यो अनि राजनीति बिगार्ने पनि इन्जियिनरहरु नै हुन् । तपाईंले भनेका इन्जिनियरिङ संगठनले हामी बुद्दिजीवी हौँ, हामी फ्रेस माइन्ड हौँ, हामी हाम्रो पार्टीको राजनीतिलाई एउटा उचाइमा पुर्याउँछौँ भन्न सकिरहेका छैनन् । यसो नहुनुमा पनि राजनीतिक संस्कार नै दोषी होजस्तो लाग्छ । केपी ओली, शेरबहादुर देउवा होस् या प्रचण्ड, उनीहरुले यो देशमा रेल ल्याउन सम्भव छ कि छैन भनेर इन्जियिनरलाई बोलाएर कहिल्यै सोध्दैनन् । कार्यकर्ताले जे बोले पनि ताली पिट्छन् अनि तनक्क ज्यान तन्काएर उत्साहित हुँदै रेल र पानीजहाजका कुरा गर्छन् । यी योजनाहरु कुनै योजनाकारसँग छलफल गरेर आएका योजना होइनन् । भनेपछि मास देखेर भिड्किएका नेताहरुले बिगार्दै गरेको यो देशलाई इन्जिनियरहरुले पनि बचाउन सकिरहेका छैनन् । अर्को कुरा, नेताहरु सबै कुरा मलाई आउँछ भन्ने सोच्छन् । यो सबैभन्दा ठूलो रोग हो । सबै कुरा मलाई आउँदैन, विकास, योजना र नीतिका कुराहरुमा विज्ञहरुसँग छलफल गर्नुपर्छ भन्ने मनसायले काम गर्ने हो भने देशको विकास हुन्छ । मैले धेरै देशहरुको अध्ययन गरेँ, त्यहाँ के देखियो भने नेताहरुले विज्ञहरुसँग सल्लाह लिँदा रहेछन् । यहाँ त सल्लाहकार पनि यस्ता छन्, जसको सल्लाह लियो भने गर्न लागेको काम झन् बिग्रन्छ ।

त्यसो भए भनिदिनुस्, राजनीतिमा लागेर इन्जिनियरले देश विकासमा कस्तो भूमिका निर्वाह गर्न सक्लान् ?
धेरै गर्ने पर्दैन । अहिले पनि एउटा मात्र कुरा गर्न चाहन्छु । देशमा सबै पार्टीको एउटै योजना छ, समृद्दी । यो योजनालाई साकार पार्नका लागि इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुन्छ । इन्जिनियरले समृद्द देशको गुरुयोजना बनाएर त्यसको कार्यान्यनका लागि पहल गर्ने हो भनेमात्र पनि धेरै परिवर्तनहरु सम्भव छ । योजना र दिशाबिहीन देशलाई सही ट्रयाकमा ल्याउनु इन्जियिनरको सबैभन्दा महत्वपूर्ण भूमिका हो । अहिलेलाई यत्ति गरे पुग्छ ।

सरकारी सेवामा रहेका इन्जिनियरहरु आफ्नो जिम्मेवारीप्रति अलि गम्भीर नभएका हुन्जस्तो लाग्दैन ? बारम्बार घुससहित अख्तियारले समाइरहको छ नि ?
अहिलेसम्म संसार बनाएका मान्छेहरु हेर्ने हो भने इन्जिनियरहरु नै हुन्छन् । फेरि अर्कोतर्फ, ओसामा बिन लादेनजस्ता संसार बिगार्ने मान्छे पनि इन्जिनियर नै हुन्छन् । त्यसैले, देशको संस्कार, अवस्था, माहोल, सुशासनको अवस्था, र आफ्नो वरिपरीको वातावरणले पनि यी कुराहरुको निर्धारण गर्छ । देशको कानुनमा पनि धेरै कुरा भर पर्छ । पावरमा भएको मान्छेले आफ्नो आसेपासेलाई जोगाउने प्रवृत्तिले गर्दा पनि भ्रष्टाचारका घटना बढिरहेका छन् । अदालतमा मुद्दा पर्यो भने देशको कानुनले के भन्छ भन्दा पनि मेरो मुद्दा कुन वकिलले हेर्छ, कुन न्यायाधीशले फैसला गर्छ भनेर हेर्नुपर्ने अवस्था छ ।
कतिपयले सेवा–सुविधा कम भएका कारण घुस खाने अवस्था आयो पनि भन्नुहोला । तर, सेवा–सुविधा कम हुँदैमा शिक्षक, इन्जियिनर र डाक्टरहरु बिग्रनुपर्छ भन्ने मलाई लाग्दैन । कम र बढी भन्ने कुरा, एक लाख पनि कम हो र १० हजार पनि बढी हो । इन्जियिनरिङ गरेर योग्यता हासिल गरिसकेपछि समाजले पनि सोही अनुरुप अपेक्षा गरेको हुन्छ । सेवा–सुविधा कम भएको हो भने राज्यलाई भन्नुपर्यो तर, तलब कम छ मैले घुस खान पाउनुपर्छ भन्न मिल्दै–मिल्दैन ।

प्राविधिक तथा इन्जियिनरहरुको आवश्यकता बढ्दै जानु भनेको देशले पनि विकासको गति लिइरहेको छ भन्ने संकेत हो । तर, हाम्रोमा त प्राविधिक तथा इन्जिनियर जागिर नपाएर कि विदेश कि अर्को क्षेत्रमा पलायक हुने अवस्था छ नि ?
केही साथीहरु इन्जिनियरिङ गरेपछि विदेश जान सहज हुन्छ भनेर पनि इन्जिनियरिङ पढ्छन् । तर, केही भने देशमा राम्रो काम पाइएन भनेर पनि पलायन हुनुहुन्छ । धेरै साथीहरुले मलाई, ‘मिलन यो देशमा इमानदार भएर बस्नै सकिँदैन’ भन्नुहुन्छ । भन्नुको मतलब, तपाईंले घुस नखाइकन बस्न सक्ने माहोल नै छैन । एउटा मन्त्रालयमा काम गर्ने मेरा एक जना मित्र हुनुहुन्थ्यो । उहाँ त्यहाँभित्रको घुस र लेनदेनको अवस्था हेरेर डिप्रेशनमा पुग्न लाग्नुभएको थियो । भनेपछि हामीले देशमा सुशासनको माहोल नै बनाउन सकिरहेका छैनौँ । इन्जिनियरहरुको क्षमता पहिचान नै गर्न सकिरहेका छैनौँ । यसो हुँदा विदेश जाने या अर्को क्षेत्रमा पलायन हुने अवस्था आइरहेको छ ।

सरकारले इन्जिनियरहरुलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ । उनीहरुलाई परिचालन गर्ने सरकारको कुनै रणनीति नभएको, उनीहरुलाई नपत्याएको या भनौँ प्राविधिक जनशक्तिको महत्व महसुस नगरेको हो ?
हो । यदि यो देशमा साच्चीकै रेल चाहिन्छ भन्ने लाग्थ्यो भने सबैभन्दा पहिला विश्वविद्यालयहरुसँग सल्लाह गरेर रेल ५ वर्षमा आउँछ र त्यो संचालन गर्न इन्जिनियर, प्राविधिक कति आवश्यक पर्छ भनेर पूर्वतयारीमा लाग्नुपर्ने हो । देशलाई आवश्यक इन्जिनियर, प्राविधिको उत्पादन गर्नतर्फ अघि बढ्नुपर्ने हो । समृद्दि भनिराख्दा अब आउने विकासका योजनामा कति प्राविधिक चाहिन्छ भनेर अध्ययन गर्नुपर्ने हो । यदि म हुन्थेँ भने यसै गर्थेँ । सरकारको काम–कारबाही हेर्ने हो भने उनीहरुले हावातालमा विकासका योजना चलाइरहेका छन्, प्राविधिकहरुको महत्व बुझेका छैनन् । गफ र भाषणको आधारमा देश बन्ने होइन । त्यसका लागि त प्राविधिक जनशक्ति परिचालन गर्नुपर्छ र उनीहरुको योजना, रोडम्याप र एक्सन प्लानमा काम गर्नुपर्छ ।

लामो समयसम्म इन्जिनियरिङ शिक्षाको पाठ्यक्रम परिवर्तन हुन नसक्नु, इन्जिनियरिङ शिक्षा सैद्दान्तिक ज्ञानमा बढी केन्द्रित हुनुजस्ता समस्याले यस क्षेत्रमा कस्तो जनशक्ति उत्पादन गर्ने अपेक्षा गर्न सकिएला ?
जहिल्यै सिद्दान्त बढाएर कक्षामा नोट दिएर सीप विकास हुन्छ त ? ४ वर्ष इन्जियिनरिङ पढेपछि पनि हामीमा एकदमै न्यून व्यवहारिक ज्ञान छ । भ्रमण भनेर कलेजबाट कतै लगे पनि घुमघामको भन्दा अरु वातावरण हुँदैन, सिक्ने माहोल निकै कम हुन्छ । कुनै बनिरहेको भवन, सडक वा कुनै प्रोजेक्टमा लिएर जाने, योजना बनाउन लगाउने, काम सिक्न लगाउने, कमजोरीहरु औँल्याउन लगाउने एकदमै कम गराइन्छ । मैले इन्जियिनरिङ अध्ययन संस्थान (आइओई) को आंगिक क्याम्पसमै पढेको हो । त्यहाँको शिक्षासमेत सैद्दान्तिक थियो । इन्जिनियर बनेर फिल्डमा जाँदा आत्मविश्वास लिएर जान सकियोस् न । सर्टिफिकेटमा ए प्लस छ, डिस्टिन्सन छ, तर उसले न कुनै योजनाको ड्राफ्ट तयार पार्न सक्छ न फिल्डमा गएर सानो काम गर्छ सक्छ भने प्राविधिक शिक्षा हासिल गरेको के काम ?

तपाईं आफै पनि एक इन्जिनियर भएको नाताले तपाईंको पार्टीले इन्जिनियरहरुलाई कसरी समेट्छ ? समेटेर राजनीति गर्न मात्र सिकाउँछ कि देश विकासको मार्ग निर्देश गर्ने कुरामा पनि केन्द्रित गर्छ ?
अहिले हाम्रो एउटा अनुसन्धान विभाग बनेको छ । जहाँ, एउटा प्राविधिकहरुको टोली छ । डाक्टर र इन्जिनियरहरुको त्यो टिमले हामीले जति पनि कुरा गर्यौँ त्यसलाई ‘फ्याक्ट र फिगर’ मा लिएर आउँदै हुनुहुन्छ । भन्नुको मतलब हाम्रो पार्टीमा रहेका प्राविधिक ब्यक्तिहरुको भूमिका अहिले देशको अवस्थालाई यथार्थको धरातलमा टेकाउने काममा केन्द्रित छ । हामी सरकारमा नभएकाले हामीले देश विकासमा प्रत्यक्ष हस्तक्षेप गर्न नसके पनि विभिन्न योजनाहरु बनाएर मार्ग निर्देश गर्ने काम थालिसकेका छौँ । हामीले पार्टीको घोषणापत्र बनाउँदा होस् या योजनाहरु सार्वजनिक गर्दा इन्जियिनरहरुसँगको सहकार्यलाई विशेष ध्यान दिन्छौँ । स्थानीय तहको निर्वाचनमा धेरै पार्टीहरुको घोषणापत्रमा मोनोरेल र मेट्रोरेल पर्यो । तर, हाम्रो पार्टीमा रेलकै विज्ञ हुँदासमेत हामीले रेल ल्याउने कुरा गरेनौँ । किन कि हामीलाई थाहा थियो, ५ वर्षको कार्यकालमा रेलको सपना पुरा गर्न सकिँदैन । यसका लागि कम्तिमा पनि १० वर्ष लाग्छ । त्यसैले हामीले गफको भन्दा पनि कामको राजनीति गर्ने भएकाले यथार्थ र धरातलमा टेकेर अघि बढिरहेका छौँ ।

अरु भन्नुपर्ने केही छ कि ?
व्यवस्था परिवर्तनको युग हो भने गफ र भाषण गरेको आधारमा नेतृत्व गर्न सकिएला । तर, विकास नै गर्ने हो र समृद्दि नै ल्याउने हो भने भाषणले मात्र पुग्दैन । मानिसलाई बुझाउने कलासम्म भाषण ठिक होला तर त्यसमा ठोस योजना, रोड म्याप र एक्सन प्लानहरु भर्न सकेनौँ भने भाषण गफमा मात्र सीमित हुन्छ । त्यसैले अबको राजनीतिमा याथार्थता चाहिन्छ । त्यसका लागि विकास बुझेको मान्छे चाहिन्छ । एक जना मानिसलाई धनी बनाउन लाग्यौँ तर, उसलाई शिक्षित बनाउन सकेनौँ भने आर्थिक विकासको मात्र कुनै अर्थ रहँदैन । अस्पताल बनाउने तर, अस्पताल जानुपर्छ भन्ने चेतना जगाउन सकिएन भने अस्पताल बनाउनुको मात्र के अर्थ रहन्छ र ! त्यसैले नेपाल अब नयाँ चरणमा छ र यो चरणबाट अर्को चरणमा जानका लागि विकास र समृद्दि बुझेको नेतृत्व देशलाई आवश्यक छ ।

फोटो\भिडियोः सचिन शर्मा

Your Opnion

//