देश विकासको गतिअनुसार इन्जिनियरको माग बढ्दै जाने होः ई. रामेश्वर रिजाल (अन्तर्वार्ता) - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interview

देश विकासको गतिअनुसार इन्जिनियरको माग बढ्दै जाने होः ई. रामेश्वर रिजाल (अन्तर्वार्ता)

नेपाल इन्जिनियरिङ काउन्सिलका सदस्य एवं कान्तिपुर इन्जिनियरिङ कलेज (केईसी) का प्रिन्सिपल ई. रामेश्वर रिजालले नेपालको इन्जिनियरिङ शिक्षाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । एसोसिएसन अफ इन्जिनियरिङ कजेज नेपाल (एकोन) का पूर्वअध्यक्षसमेत रहेका उनीसँग नेपालको इन्जिनियरिङ शिक्षा र इन्जिनियरिङ क्षेत्रको राम्रो ज्ञान छ । इन्जिनियर्स पोस्टका आइबी चौधरीले उनै रिजालसँग नेपालको इन्जिनियरिङ शिक्षा र इन्जिनियरिङ क्षेत्रका विविध पक्षमा केन्द्रित रहेर कुराकानी गरेका छन्ः

पछिल्लो ५ वर्षमा नेपालमा इन्जिनियरिङ शिक्षाप्रति देखिएको विद्यार्थीको आकर्षणलाई कसरी लिनुहुन्छ ? सन्तोषजनक या फड्को मारेको छ ?
रोजगारीको अवसर र देशको आवश्यकताका हिसाबले प्राविधिक क्षेत्रमा दक्ष जनशक्तिको खाँचो छ । यस हिसाबले धेरै नै आकर्षण हुनुपर्ने हो । तर, त्यस्तो छैन । यद्यपि, निराश हुनुपर्ने अवस्था पनि छैन । सन्तोषजनक नै मान्नुपर्छ ।

विगतको तुलनामा पछिल्लो ५ वर्षको अवधिमा हेर्ने हो भने इन्जिनियरिङ अध्ययन संस्थानमै ३–४ हजारले प्रवेश परीक्षा दिन्थे भने अहिलेको आँकडा हेर्दा ११–१२ हजारभन्दा बढीले फाराम भर्छन् । अन्य विश्वविद्यालयमा पनि त्यही मात्रामा विद्यार्थी गएको देखिन्छ । यसरी तुलनात्मकरुपमा हेर्दा आकर्षण ह्वात्तै बढेको देखिन्छ । तर, विगत ३–४ वर्षको ट्रेन्डलाई हेर्ने हो भने जुन तरिकाले फड्को मार्नुपर्ने हो त्यो चाहिँ छैन ।

विभिन्न इन्जिनियरिङ कन्सल्टेन्सीले नेपालको इन्जिनियरिङ कलेजहरू राम्रा छैनन्, विदेशमा पढ्नुपर्छ भनेर प्रचारप्रसार गरिरहेका छन् । यो साँचो हो ?
राम्रो र नराम्रोको परिभाषा आफ्नै किसिमका हुन्छन् । विश्वस्तरको प्राविधिक शिक्षाको दाँजोमा यदि नेपाललाई तुलना गर्ने हो भने नेपालको शिक्षालाई कसैले कमजोर भनेका छैनन् । यहाँबाट स्नातक गरेर विदेश गएका विद्यार्थी चाहे विश्वविद्यालयमा होस् या लायन एजेन्सीहरूमा अब्बल दर्जाको क्षमता देखाउन सफल भएका छन् । कमिकमजोरी हरेक देशमा हुन्छन् । हरेक क्षेत्रमा हुन्छन् । बरु, त्यस्ता कमजोरीलाई सुधार्दै जानुपर्छ ।

नराम्रो भन्ने ती कन्सल्टेन्सी केवल व्यावसायिक जमात हुन् । जे गर्दा आफ्नो खल्तीमा पैसा आउँछ, उनीहरूले त्यही तर्क गर्छन् । त्यो तर्कमा कति ओजन छ भनेर तपाईं हामीले नै मूल्यांकन गरौं । उनीहरूको यस्तो नकारात्मक प्रचारप्रसारले विद्यार्थीको मनलाई केही मात्रामा डाइभर्ट भने पक्कै गर्छ । तर, अहिलेका विद्यार्थी अलि बढी सचेत र जागरुक छन् । त्यसैले कन्सल्टेन्सीहरूले डाइभर्ट गरे जसरी विद्यार्थीहरू डाइभर्ट भएर पनि जाँदैनन् । हामीले यस्ता कुप्रचारको जवाफ आफ्नो संस्थालाई सबल, गुस्तरीयक बनाएर दिनुपर्छ ।

कोभिड–१९ संक्रमण फेरि फैलिरहेको छ । यसले शैक्षिक सत्रमा कस्तो असर पार्ला ? विद्यार्थी पोहर जस्तै एक वर्ष ग्याप बस्नुपर्ने समस्या हल गर्न आइओईलाई के सुझाव दिनुहुन्छ ?
हामी पढाइलाई अवरुद्ध गर्नुहुँदैन भन्ने पक्षमा छौं । किनभने युवाहरूको जुन सपना छ, त्यो सपनालाई हामीले ब्रेक गरिदियौं भने फेरि जन्माउन गाह्रो हुन्छ । त्यसैले अबको पढाइ प्रविधिमैत्री बनाउँदै लानुपर्छ । चाहे त्यो कक्षा, ल्याब, परीक्षा कन्डक्ट गर्ने सवालमा नै किन नहोस् । त्यसैले आइओईलाईलाई पनि पढाइलाई अवरुद्ध नगरी प्रविधिमैत्री हुँदै जानुपर्छ भन्ने हाम्रो सुझाव हो ।

हाम्रो सबैभन्दा ठूलो चिन्ता भनेको हाम्रा विद्यार्थीहरूको भविष्यको हो । देश विकासमा युवाहरू भनेर मात्रै हुँदैन । युवाहरूलाई जागरुक र उत्साहित बनाउनुपर्छ । त्यसैले हामीले पढाइलाई नरोकी अनलाइन माध्यमबाटै भए पनि कक्षा चलाउने निर्णय गरेका छौं । सम्भव भएसम्म हामी ल्याब पनि अनलाइन नै गराउँछौं । फिल्ड भिजिटका कुरा पछि सहज भएपछि गराउँछौं ।

इन्जिनियरिङका नयाँ विषयहरू आइओईका आंगिक क्याम्पसले मात्र पढाउँछन् । निजी कलेजले पनि ती विषय पढाउनुपर्ने माग छैन तपाईंहरूको ?
माग त कति छ कति । तर, निजी कलेजहरूलाई राज्यले फराकिलो हुन दिने वातावरण सिर्जना गरेको छैन । यस्तो वातावरण बन्नुपर्छ भन्ने माग हामीले निरन्तर राखिरहेका छौं । नयाँ विषयहरू हुन् वा थप कोटाहरू हुन्, त्यसमा हाम्रो माग छ । किनभने निजी कलेजहरू अगाडि बढेनन् भने नेपालको प्राविधिक शिक्षा कमजोर नै देखिने अवस्था छ ।

विषय तथा कोटा थप गर्ने कुरामा उहाँहरू अलिकति पछाडि नै हुनुहुन्छ । कलेजहरूलाई एक्सपान्ड हुन दिनुपर्छ भन्ने नै हाम्रो माग हो । लाखौं विद्यार्थीहरू विदेश जाने अनि यहाँका निजी कलेजहरू भने टाक्सेर बस्नुपर्ने अवस्था छ । यो राष्ट्रिय सोच हुनै सक्दैन । त्यसैले राष्ट्रिय स्वार्थलाई सरंक्षण गर्ने खालको नीति नल्याउने हो भने हाम्रा पदाधिकारीहरूको औचित्य नै समाप्त हुन्छ भन्ने हाम्रो राय हो ।

इलेक्ट्रोनिक्स र इलेक्ट्रिकल विषयको स्कोप राम्रो हुँदाहुँदै पनि विद्यार्थीहरूको आकर्षण यसतर्फ कम देखिन्छ । किन होला ?
वर्तमान समय इलेक्ट्रोनिक्सको जामाना हो । मोबाइल कम्युनिकेसन, इन्टरनेट, अरू खालका अटोमेसनलाई हेर्दा यसको निकै ठूलो माग छ । यति ठूलो माग हुँदाहुँदै पनि यसप्रति आकर्षण कम हुनु भनेको विद्यर्थीमा बुझाइको कमीले हो जस्तो लाग्छ । हुन त हामीले नै यसको महत्वबारे जसरी विद्यार्थीलाई बुझाउनुपर्ने हो, त्यसरी बुझाउन सकेका छैनौं । त्यसैले यतातिर आकर्षण नहुनुमा इन्जिनियरिङ कलेजकै कमिकमजोरी पनि हुनसक्छ ।

उदारहणका रूपमा भारतलाई हेर्ने हो भने त्यहाँ इलोक्ट्रोनिक्सलाई एक नम्बर प्राथमिकतामा राखेको देखिन्छ । त्यहाँ विद्यार्थीहरू पाएसम्म इलेक्ट्रोनिक्स इन्जिनियरिङ नै पढ्न रुचाउँछन् । अहिले नेपालमा सरकारी, अर्धसरकारी अथवा गैरसरकारी जागिर पाएपछि मात्रै म रोजगार भएँ भन्ने खालको परिभाषा गर्ने खालका मान्छेहरू छन् । तर, स्वरोजगार बन्ने क्षेत्रमा जाने हो भने इलेक्ट्रोनिक्स एक नम्बर हुन्छजस्तो मलाई लाग्छ । अहिलेको अटोमेसनको जमानामा इलोक्ट्रोनिक र इलेक्ट्रिकल इन्जिनियरिङकै स्कोप बढी छ ।

अर्को कुरा, विद्यार्थीलाई यतातिर आकर्षण गर्न हाम्रा विकास निर्माणका काम तथा प्रविधि सबैलाई ‘अटोमेटाइज’ गर्न जरुरी छ । यतातिर नेपाल अझै गइसकेको छैन । जबसम्म देशले विकास निर्माणको कामका लागि अत्याधुनिक प्रविधि भित्र्याउँदैन तबसम्म इलोक्ट्रोनिक र इलेक्ट्रिकल इन्जिनियरको माग कसरी बढी हुन्छ ? हाम्रो देशमा अझै पनि सडक, पुलपुलेसा, कुलो, सिँचाइ, भवन निर्माणतिर मात्रै जोड दिइएको देखिन्छ । भवन निर्माण भइसकेपछि ढोकालाई कसरी अटोमेटिक बनाउने, अरु अपरेसनल युनिटलाई कसरी अटोमेटिक बनाउने भन्नेतर्फ धेरै काम हुन सकेको छैन । विकास निर्माण प्रविधिमैत्री भएको खण्डमा पनि यसको माग ह्वात्तै बढ्नेछ ।

प्रवेश परीक्षामा बायोलोजीका विद्यार्थीलाई पनि त्रिविका इन्जिनियरिङ कलेजमा पढ्ने अवसर दिनुपर्छ भन्ने माग पनि हो नि होइन तपाईहरूको ?
‘बायोलोजीकाहरूले २ स्टेप गणित लिएकै हुनुपर्छ’ भन्ने हाम्रो नियममा छ । जसले प्रवेश परीक्षा पास गर्न सक्छ, उसले भर्ना पाउँछ, भनिदिँदा हुन्थ्यो । धेरैजसो बायोलोजीका विद्यार्थी फिजिकल साइन्स पढेका भन्दा अब्बल छन् । यस्तो अवस्थामा बायोलोजीलाई निषेध गरिरहनुपर्छ जस्तो लाग्दैन । बायोलोजी पढेकाले इन्जिनियरिङ पढ्न पाइँदैन भन्ने मान्यता कहाँबाट कसरी राखियो थाहा छैन ।

हामी प्रवेश परीक्षा लिन्छौं । प्रवेश परीक्षामा एउटा सेट स्ट्यान्डर्ड कायम गर्छौं । यति गरिसकेपछि यो पढेकोले भाग लिन पाउने नपाउने भनिरहन पर्दैन जस्तो लाग्छ । यदि हामीले गणितलाई नै बढी प्राथमिकता दिने हो भने प्रवेश परीक्षा मै गणितको प्रश्न अलि बढी राखिदिए पनि हुन्थ्यो । यस्तो नियमले बायोलोजीका विद्यार्थीमाथि पक्कै अन्याय गरेको छ ।

विकासको गति र प्रविधिको विकाससँगै पाठ्यक्रम परिमार्जन हुँदै जानु आवश्यक छ । तर, हाम्रोमा एक दशकअघिदेखिको इन्जिनियरिङ पाठ्यक्रम परिमार्जन हुन सकेको छैन । यसले दक्ष प्राविधिक जनशक्ति उत्पादनमा कस्तो असर पार्छ ?
परिमार्जन नै नभएको भन्न मिल्दैन । तर, रफ्तारमा हुन सकेको छैन । प्रायः हामी इन्जिनियरिङमा के भन्छौं भने एक चक्र (४ वर्ष) पूरा भइसकेपछि पाठ्यक्रमलाई अपग्रेड गर्नुपर्छ । ठ्याक्कै यसरी परिमार्जन हुन सकिरहेको छैन । आइसीटी सेक्टरमा त झन् वर्षैपिच्छे परिमार्जन गरे पनि ढिलो भइसकेको जस्तो छ । त्यसैले अरू इन्जिनियरिङमा पनि अपग्रेड, अपडेट हुन जरुरी छ । पाठ्यक्रम परिमार्जन हुन ढिला हुनुको एउटा मुख्य कारण हो, पाठ्यक्रम ‘रिभ्यु’ हुँदा हामी कतिपय परम्परागत शिक्षण विधि अपनाउने, पुराना विषय छोड्न नसक्ने देखिन्छ । अर्थात् लामो समयदेखि पढाएको विषयप्रति शिक्षकको लगाव हुन्छ, उसले एकैचोटी छोड्न चाहँदैन । त्यसले गर्दा पनि जुन रफ्तारमा यसलाई परिमार्जन गर्नुपर्ने हो त्यसरी हुन सकेको छैन ।

तर, बीसौं वर्षदेखि एउटै पाठ्यक्रम छ भन्ने चाहिँ होइन । सबैको नभए पनि कतिपय विषयको पाठ्यक्रम समयक्रममा परिमार्जन हुँदै आएको छ । पाठ्यक्रम परिमार्जनको प्रक्रिया भने चलिरहेको छ । यो सजिलै परिमार्जन हुने कुरा पनि होइन । केही समय लाग्छ ।

नेपाल इन्जिनियरिङ परिषद्को दायराका विषयमा के भन्न चाहनुहुन्छ ? यसको दायरा अलि फराकिलो नभएको हो कि भन्ने लाग्दैन ?
यसको दायरा फराकिलो हुन जरुरी छ । अहिले विशेषगरी इन्जिनियरिङ परिषद्ले इन्जिनियरिङ शिक्षालाई मात्र नियमन, अनुगमनसँगै गुणस्तरका लागि सल्लाह सुझाव दिन्छ । तर, इन्जिनियरिङ शिक्षा इतर पनि इन्जिनियरिङ छ नि । जस्तै: निर्माण क्षेत्र, परामर्श क्षेत्र, अध्ययन अनुसन्धानका क्षेत्र आदि ।

इन्जिनियरिङका यी सबै क्षेत्रलाई समेट्न परिषद्को ऐनले यसको बाटो खुलाएको छैन । त्यसैले त्यो परमार्जन हुन जरुरी छ । इन्जिनियरिङको सबै क्षेत्रलाई अनुगमन, व्यवस्थापन गर्ने, त्यसको गुणस्तरलाई नियमन गर्ने काम परिषद्ले गर्नुपर्छ भन्ने मलाई लाग्छ ।

आगाामी दिनमा कुनै पनि ठाउँमा इन्जिनियरहरूले आफ्नो पेसागत दक्षता, मर्यादा, धर्म निभाउने कुरामा केही कमिकमजोरी हुँदा परिषद्ले कारबाही गर्ने तहमा जान्छ भन्ने आशा गरौं । यसको क्षेत्र अलि साँघुरो चाहिँ भएकै हो ।

हाल भइरहेको ‘केईसी कन्फरेन्स’ को आवश्यकता र महत्वबारे बताइदिनुस् न ?
हामी प्रत्येक वर्ष एउटा कन्फरेन्सको आयोजना गर्छौं । यसको नाम हो, ‘केईसी कन्फरेन्स’ । यसको मुख्य उद्देश्य हाम्रा शिक्षक, विद्यार्थी, अनुसन्धाताहरूलाई अनुसन्धानका गतिविधिमा प्रवद्र्धन गर्नु हो । उनीहरूको खोजलाई आम मानिससम्म पुर्याउनु हो । किनभने इन्जिनियरिङको क्रेज र प्रतिष्ठा बढाउन हामीले हाम्रो क्षेत्रमा भएका उपलब्धिहरूलाई समाजसम्म पु¥याउन जरुरी हुन्छ । त्यसका लागि केईसी कन्फरेन्सको आयोजना गरिन्छ ।

यसबाहेक एउटा अर्को ‘स्किमा’ अन्तर्राष्ट्रिय कम्फरेन्स पनि छ । हामी त्यसमा पनि आबद्ध छौं । जुन प्रत्येक वर्ष हुन्छ । अघिल्लो वर्ष कोभिड–१९ महामारीका कारण हुन सकेन । यसमा विश्वका करिब ५० ओटा विश्वविद्यालय सहभागी छन् । यो सन् २००८ र २०१५ मा नेपालमा भएको थियो । यसको मुख्य उद्देश्य भनेको विद्यार्थीहरूलाई अनुसन्धानमा रुचि जगाउनु हो ।

विद्यार्थीहरूले इन्जिनियरिङ शिक्षाका लागि केईसीलाई नै किन रोज्ने ? तपाईंहरूका विशेषता के छन् ?
केईसी अरू समकालीन कलेजहरू भन्दा केही कुरामा पृथक छ । पहिलो हो, यो सहरी कोलाहलभन्दा बाहिर शान्त वातावरणमा अवस्थित छ । केईसीमा विद्यार्थीहरू विभिन्न क्रियाकलापबाट विकर्षित हुनुपर्ने अवस्था छैन । अर्को कुरा अभिभावकले एकपटक आफ्ना छोराछोरी पढ्न पठाएपछि ढुक्क हुन सक्छन् ।

अर्को भनेको हामीसँग जुन ‘फ्याकल्टी स्ट्रेन्थ’ छ त्यो समकालीन कलेजको भन्दा हाम्रो अलि बलियो छ । ल्याब एकदमै ‘स्ट्रङ’ छ । पाठ्यक्रमले व्यवस्था गरेको सबै ल्याब केईसीसँग उपलब्ध छ ।

पढाइबाहेकका आकर्षण पनि उस्तै छ । एउटा हो, हामीले अर्गनाइज गर्ने ‘इन्टरनेसनल कन्सोर्टियम’ । यसबाट हामीले हाम्रै करिब १ सय जनाभन्दा बढी शिक्षक तथा विद्यार्थीलाई युरोपका विभिन्न विश्वविद्यालयमा पढ्नका लागि छात्रवृत्तिको अवसर दिलाएका छौं ।

छात्रवृत्ति पाएर कतिले पीएचडी, कतिले मास्टर्स गर्ने मौका पाएका छन् । अर्को कुरा हामी प्राइभेट इन्स्टिच््युट त हौं तर, हामी व्यावसायिक दृष्टिकोणले मात्रै चल्न चाहँदैनौं । प्राज्ञिक मर्यादामा रहेर संस्थालाई चलाउन चाहन्छौं । अर्थात् हामी क्वालिटीलाई महत्व दिन्छौं । सबै कलेजहरूले त्यो गरेका हुँदैनन् ।

सरकार अलिकति उदार हुने हो भने हामीलाई विश्वविद्यालयमा रुपान्तरण हुन कुनै समस्या छैन । किनभने हामीसँग परिसर पनि प्रशस्तै छ । राम्रै कम्प्लेक्स बनाएका छौं । यिनै कुराले हामी अलि पृथक छौं जस्तो लाग्छ ।

Your Opnion

//