३०३५ सालमा नेपाल दूरसंचार प्राधिकरणमा जागिरे भएका इन्जिनियर विश्वनाथ गोयल ३४ वर्षे सेवा अवधिमा कार्यकारी निर्देशकसम्मको पदमा पुगे । हाल शिवम् सिमेन्ट उत्पादन गर्ने एचआर गोयल ग्रुपका अध्यक्ष रहेका उनीसँग नेपाल आउल निगमको प्रबन्ध निर्देशक भएर काम गरेको अनुभन पनि छ । उनकै पालामा पेट्रोलियम पाइपलाइनको सम्झौता भएको थियो । देशको अग्रणी कम्पनी एचआर गोयल ग्रुप, दूरसंचार र इन्जिनियरिङ क्षेत्र अनि उनको ब्यक्तिगत जीवनबारे इन्जिनियर्स पोस्टका लागि कृष्ण आचार्यले गरेको कुराकानीको सम्पादित अंशः
तपाईंहरु आफूलाई निर्माण र ट्रेडिङ व्यवसाय संचालन गर्ने नेपालको पहिलो ग्रुप ठान्नुहुन्छ । यसका आधार के हुन् ?
हामी ट्रेडिङ क्षेत्रबाट उद्योगतर्फ मुभ भएका हौँ । पहिला नेपालमा सिमेन्टको उत्पादन हुँदैनथ्यो । मेरा भाइहरुले भारतबाट ल्याएर नेपालमा बेच्नुहुन्थ्यो । त्यो बेला भारत सरकारले नेपाललाई कोटा दिन्थ्यो, यति टन सिमेन्ट दिने भनेर । पछि भारतमा सिमेन्ट सहज हुँदै गएपछि त्यहाँबाट सिमेन्ट ल्याएर नेपालमा बिक्री वितरण थालियो । त्यही सुरुवातको क्रममा नेपालमै सिमेन्ट उत्पादन किन नगर्ने भन्ने सोच बनायौँ र सानो सिमेन्ट प्लान्ट लगाउने भयौँ । सोही सोचअनुसार शिवम् सिमेन्टको जन्म भएको हो । पहिला आयातमा केन्द्रित र पछि उत्पादनमा केन्द्रित भएर नेपालमा सिमेन्टको सहजताका लागि हाम्रो भूमिका नै यसका आधारहरु हुन् ।
तपाईंहरु सिमेन्टसँगै कन्स्ट्रक्सन केमिकलको क्षेत्रमा पनि केन्द्रित हुनुहुन्छ । केमिकल क्षेत्रमा चाहिँ कसरी आकर्षित हुनुभयो ?
विभिन्न क्षेत्रमा सिमेन्टको प्रयोग गर्दा फरक–फरक ढाँचा र परिपाटी अपनाइन्छ । बाटो बनाउँदा सिमेन्ट प्रयोग गर्दा चाँडै सेट होस् भन्ने चाहना हुन्छ । कतै कंक्रिटको बाटो चाँडो सम्पन्न होस् भन्ने हुन्छ । निर्माणको क्रममा कतै फास्ट सेटिङ चाहिन्छ, कतै स्लो सेटिङ चाहिन्छ । टनेल बनाउँदा फरक किसिमको सिमेन्ट चाहिन्छ । आवश्यकताअनुसारको गुण सिमेन्टमा ल्याउन विभिन्न किसिमका किमिकलको प्रयोग गरिन्छ । त्यसैले हामीले एउटा ‘सपलिमेन्ट्री विजनेश’ को रुपमा केमिकल व्यापार सुरु गरेका हौँ । यो खासै ठूलो ब्यापार त होइन तर, सिमेन्ट किन्ने हाम्रा ग्राहकहरुलाई यसले सेवा उपलब्ध गराएको छ ।
नेपालको विकासमा नेतृत्वदायी भूमिका खेल्ने लक्ष्य राख्नुभएको छ । खासमा तपाईंहरुको योजना के हो ?
नेपालमा सरकारको काठमाडौं, हेटौडा र उदयपुरमा गरी तीन वटा सिमेन्ट उद्योग थियो । हामीले घर बनाउने समयमा सिमेन्ट किन्न सोर्स लगाउनुपथ्र्यो । नेशनल ट्रेडिङमा सय बोरा सिमेन्ट माग गर्यो भने ५० बोरा दिन्थ्यो । त्यो पनि पैसा जम्मा गरेर क्यूमा बसेको कैयौँ दिनपछि । कति सरकारी योजनाहरु सिमेन्ट नपाएर रोकिन्थे । समयमा पुरा हुँदैनथे । आज सिमेन्ट क्षेत्रमा नेपाल आत्मनिर्भर भएको छ । अझ आवश्यकता भन्दा माथि नै गइसकेको छ । यो एउटा ठूलो उपलब्धी हो र यसको जस शिवम् सिमेन्टलाई पनि जान्छ । यसरी हामीले समयको माग र आवश्यकताअनुसार अन्य क्षेत्रमा पनि देशलाई आत्मनिर्भर बनाउनुपर्छ भन्ने सोच बनाएका छौँ । यसका लागि हाम्रो सोच र चाहनाले मात्र पनि हुँदैन । सरकारले पनि त्यो खालको वातावरण बनाइदिनुपर्छ ।
अर्को कुरा नेपालमा अझै उद्योगमैत्री वातावरण बन्न सकेको छैन । सरकारी निकायमा निकै सुस्त काम हुन्छ । स्थानीयले आन्दोलन गर्छन् । चन्दा र आतंक फैलाइन्छ । यसतर्फ सरकारी पक्षले ध्यान दिएर उद्योगमैत्री वातावरण बनाउने हो भने देशको विकास अझ चाँडो हुन्छ र हाम्रो योगदान पनि अझ बढी हुन्छ । अर्थात, सरकार हामीसँग हातेमालो गर्न तयार हुने हो भने हामी हाम्रो लक्ष्यअनुसार देश विकासमा केन्द्रित हुन सक्छौँ ।
शिवम् सिमेन्ट हुँदाहुँदै र यसले एउटा उचाईं लिँदालिँदै होङ्सी र सप्तकोशीको उत्पादन किन थाल्नुभयो ?
सिमेन्टको एउटा क्षेत्र हुन्छ, सोही क्षेत्रभित्र उत्पादन बेच्नुपर्छ । जुन एउटा उद्योगबाट सयदेखि डेढ सय किलोमिटर क्षेत्रमा मात्र पुर्याउनुपर्छ । त्योभन्दा टाढा पुर्याउने प्रयास गर्नुभयो भने आर्थिक भार बढ्छ र सिमेन्टको मूल्य पनि बढी हुन्छ । त्यसैले सिमेन्ट उद्योग फरक–फरक क्षेत्रमा हुनुपर्छ, जसले नेपालको सबै भौगोलिक क्षेत्रलाई कभर गर्न सकोस् । त्यसैले हामीले उद्योगअनुसार कोर एरिया बनाएका हौँ ।
नेपालमा सिमेन्ट उद्योग धेरै भइसकेका छन् । उत्पादन पनि आवश्यकताभन्दा बढी नै छ । सोअनुसार खपत बढाउन के गर्नुपर्ला ?
सिमेन्ट भनेको निर्माणसँग जोडिएको पदार्थ हो । नेपालमा अझै निर्माण धेरै गर्नुपर्ने छ । अहिले बाटोको निर्माण राम्रो भइरहेको छ । पहिला नेपालमा सिमेन्ट उपलब्ध नभएका कारण पीच बाटो निर्माण हुन्थ्यो भने अब सिमेन्टको उत्पादन बढेसँगै हामी कंक्रिटको बाटो निर्माणमा केन्द्रित हुनुपर्छ । किन भने अलकत्राको बाटोमा लगानी कम भए पनि ४–५ वर्षभन्दा टिक्दैन । कंक्रिटको बाटो एक पटक बनाउने हो भने २० वर्षसम्म हुन्छ । त्यसैले सरकारले देशको उत्पादनलाई खपत गर्नेगरी यसतर्फ विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
सिमेन्टमा प्रयोग हुने चुन ढुंगाबाहेक अत्यावश्यक कच्चा पदार्थको नेपालमै उत्पादन हुँदैन । जिप्सन, आइरन ओरजस्ता पदार्थ नेपालमा छैनन् या यसतर्फ कसैले ध्यान नपुर्याएर हो ?
जिप्सन नेपालमा भुटान र भारतबाट आउँछ । आइरन ओरको नेपालमा खानी रहेको कुरा बाहिर आए पनि उत्खनन् हुन सकेको छैन । त्यसबाहेक बक्साइड भारतबाट आउँछ । तर, यसको बिकल्पमा नेपालमा भएको रातो माटोको प्रयोग गर्न सकिन्छ । यसको केमिकल र कम्पोजिसन परीक्षण भएको छैन, गर्न सकिन्छ । सरकारले फलाम कारखाना चलाउने भनेर उद्योग दर्ता गरेको छ । तर, त्यहाँ भएका कच्चा पदार्थको गुणस्तर राम्रो नभएको सुनेको छु । यदि गुणस्तर बढाउने पक्षमा ध्यान दिने हो भने हामी पनि सहकार्य गर्न तयार छौँ । कच्चा पदार्थको सम्भावनाको कुरा गर्दा विभिन्न अध्ययनले सम्भावनाको संकेत गरिसकेका छन् । यसमा विशेष ध्यान दिने हो र यहिँ उत्पादन थाल्ने हो भने हामीले पनि स्वदेशी कच्चा पदार्थ प्रयोग गथ्र्यौँ र सिमेन्टको मूल्य पनि केही सस्तो हुन्थ्यो होला ।
उद्योगहरुले प्रदुषण फैलाउँदा मानवीय स्वास्थ्यमा असर परेको भन्ने गुनासोहरु पनि आइरहेका छन् नि ? तपाईंहरु किन संवेदनशील हुनुहुन्न ?
उद्योग, कलकारखाना खोल्दा प्रदुषण शून्य हुन्छ भनेर म भन्दिन । तर, त्यसलाई सकेसम्म बढीभन्दा बढी प्रविधिमैत्री बनाउन सक्यो भने कम भने पक्कै हुन्छ । हामीले हाम्रा उद्योगहरुमा त्यसको अभ्यास गरेका छौँ । अर्को कुरा, विकास पनि चाहिने र साइड इफेक्ट पनि हुनै हुँदैन भन्ने कुरा जाहेज हुँदैन । किन कि घरमा खाना पकाउँदा पनि प्रदुषण निम्तन्छ । प्रदुषण निम्तन्छ भनेर खाना पकाउन नछाडेजस्तै विकासका लागि देशमा उद्योगहरु आवश्यक छ ।
शिवम् सिमेन्ट खोल्दा सो क्षेत्रमा जग्गाको मूल्य कठ्ठाको ३० हजार रुपैयाँ पनि थिएन । अहिले ३० लाख भइसक्यो । गाउँका सबैले ट्रक, ट्रिपर किनिसके, सबैले जागिर पाइसके, पसल खोलिसके । अहिले सो गाउँ र आसपासका गाउँका मानिसहरु प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा हाम्रो उद्योगसँग जोडिएका छन् । त्यसैले उद्योगलाई देशको विकाससँग जोडेर हेर्ने हो भने यसका सानातिना कमजोरीभन्दा ठूला फाइदाहरु धेरै छन् । यसो भन्दैमा फेरि उद्योगहरु पनि आफ्नो जिम्मेवारीबाट भाग्न पनि मिल्दैन ।
अब तपाईंको ब्यक्तिगत जीवनमा जाऊँ । तपाईंमा इन्जिनियरिङ पढ्ने सोच कसरी आयो र जागिर यात्राको सुरुवात कसरी भयो ?
सानैदेखि म यसतर्फ आकर्षित थिएँ । इन्जिनियरहरु घरहरु बनाउँथे, निर्माणको काममा देखिन्थे । त्यो देख्दा म पनि यस्तै बन्छु भन्ने लाग्थ्यो । परिवार पनि सकारात्म नै थियो । अमृत साइन्स क्याम्पसबाट बिएस्सी गरिसकेपछि भारत गएर ट्रान्स कम्युनिकेशन इन्जिनियरिङ पढेँ । त्यतिबेला नेपालमा ट्रान्स इन्जिनियरहरुको अभाव थियो । त्यसपछि म नेपाल दूरसंचार प्राधिकरणमा जागिरे भएँ । त्यस्तै, २०३५ सालतिरको कुरा हो ।
दूरसंचार पहिला नेपाल सरकारको विभाग थियो । म जागिरे हुँदा संस्थानमा परिणत भइसकेको थियो । तर, काम गर्नलाई यसलाई जुन खालको स्वतन्त्रता चाहिन्थ्यो, सरकारको हस्तक्षेप हुँदासम्म गाह्रो थियो । त्यसपछि यसलाई कम्पनीमा रुपान्तरण गरियो । त्यतिबेला दूरसंचारको सेवा लिनलाई लामो समय कुर्नुपथ्र्यो । गाउँमा टेलिफोन ५ सय लाइन चाहिएको हुन्थ्यो, हामी भने सय लाइन जडान गथ्र्यौँ । यो क्यू १० वर्षको हुन्थ्यो । यसरी हामीले यसमा निजी क्षेत्रलाई सहभागी बनायौँ र यसको विकास छिटो हुँदै गयो । प्रविधि र नीतिका कारण दूरसंचार आज देशको अग्रणी कम्पनी भएको छ ।
तपाईंले दूरसंचारमा ३४ वर्षे सेवामा तल्लोस्तरदेखि कार्यकारी निर्देशकसम्मको अनुभव संगाल्नुभयो । यस दौरान के–कस्ता सुधारका काम गर्न सकेँ भन्ने लाग्छ ?
म सेवामा प्रवेश गर्दा नेपालमा ५ हजार टेलिफोन समेत थिएनन् । मैले सेवा छाड्दा १ करोडभन्दा बढी टेलिफोन थिए । हामीले प्रत्येक नेपालीले टेलिफोन पाउने वातावरण तयार गर्यौँ । फाइबर प्रोजेक्टका कारण टेलिफोन सस्तो भयो । नेपालभित्रै पनि विभिन्न ठाउँमा कुरा गर्न एक मिनेटको १०–१२ रुपैयाँ लाग्थ्यो । विदेश कुरा गर्न १२० रुपैयाँ लाग्थ्यो । डलर १० रुपैयाँ हुँदा १२० रुपौयाँ लाग्ने कुरा अहिलेको पुस्तालाई पत्याउन गाह्रो छ तर, सत्य यही हो । अप्टिकल फाइबरपछि इन्टरनेट आयो । अहिले ५ जी इन्टरनेटमा हामी गइरहेका छौँ । अर्थात, नेपालको आवश्यकता र विश्वमा प्रविधिको गतिलाई हेरेर हामीले फोन र इन्टरनेटको विकास तथा विस्तार गरेका छौँ । सडक नपुगेको ठाउँमा पनि टेलिफोन र इन्टरनेट पुग्नु हामीले प्राप्त गरेको भनेको ठूलो उपलब्धी हो भन्ने मलाई लाग्छ ।
तपाईं आफै पनि एक इन्जिनियर भएको हिसाबले नेपालको विकास, निर्माण र प्रविधि क्षेत्रमा इन्जिनियरहरुको प्रयोग, उपस्थिति र भूमिकालाई कसरी लिनुभएको छ ?
पछिल्लो दशकमा इन्जिनियरिङ शिक्षामा धेरै प्रगति भएको छ । पहिला हामीलाई इन्जिनियरिङ पढ्न नेपालमा इन्जिनियरिङ कलेज थिएनन् । नीजि क्षेत्रमा जागिर नै थिएन । आफ्नो कम्पनी खोल्ने कुरा त सपनामा पनि सोच्न सकिँदैनथ्यो । अहिले यी सबै कुरा सम्भव भएका छन् । यो भनेको त विकास हो नि । अर्थात, नेपालको विकास भइरहेको छ । यहाँ राजनीतिक स्थिरता हुन सक्यो भने हामी धेरै अगाडि बढ्न सक्छौँ । सम्बन्धित निकायको जिम्मेवार सिटमा बस्ने ब्यक्तिले देशको विकास गर्नुपर्छ भन्ने कुरालाई आत्मसाथ गर्यो भने हामी एकदमै अगाडि बढ्छौँ । भन्नुको मतलब, हामी तपाईंले भनेका क्षेत्रमा इन्जिनियरहरुको प्रयोग सही ढंगले हुन सकिरहेको छैनौँ ।
चीनमा धेरै राजनीतिज्ञ इन्जिनियर छन् । रसियामा धेरै मन्त्री इन्जिनियर छन् । चीनमा निर्माण धेरै गर्नु थियो र उनीहरुले धेरै इन्जिनियरलाई मन्त्री बनाए । किन कि इन्जिनियरहरुले विकासमा सही भिजन राख्न सक्छन् र कामलाई प्रोत्साहन दिन्छन् । रसियामा पनि यही भएको छ । नेपाल प्रशासकबाट बढी गाइडेड छ । अझ पहिला त इन्जिनियर सचिव हुने वातावरण नै थिएन । यसका लागि धेरै लडाइ गर्नुपर्यो । तर, अझै पूर्ण छैन । इन्जिनियर विकास निर्माणकै लागि जन्मिएका हुन् । उनीहरुलाई अवसर नै नदिने हो भने कसरी हुन्छ विकास ? प्रशासकको काम नियन्त्रण गर्ने हो । ‘लेस गभर्नेन्स’ को कुरा आइरहेका बेला प्राविधिकलाई प्रशासकले कन्ट्रोल गर्न खोज्ने हो भने विकास कसरी हुन्छ ?
अहिले हेर्नुस् न, पुनर्निर्माण प्राधिकरणमा इन्जिनियरको नेतृत्व भएको कारण त्यसले धैरै राम्रो काम गरेको छ । यदि नेतृत्वमा प्रशासनको सचिव र सह–सचिव हुन्थ्यो भने प्राविधिक पक्षमा यति धेरै काम हुँदैनथ्यो होला । मलाई अस्पतालको डाइरेक्टर बनाइदिने हो भने मैले के गर्न सक्छु र ! त्यस्तै हो ।
भनेपछि तपाईंको योग्यता भएको क्षेत्रमा तपाईंलाई कुनै जिम्मेवारी दिने हो भने त्यसलाई सफल बनाउनुहुन्छ ?
हामी कृषि प्रधान देशका नागरिक हौँ । तर, अर्बौँ रुपैयाँको चामल भारतबाट आउँछ । आलु, प्याज र लसुन आउँछ । यी सबै कुरामा त देशलाई आत्मनिर्भर बनाउन सक्छौँ नि । म के भन्छु भने, हामी मानिसको जीवनसँग प्रत्यक्ष जोडिने सय वटा अत्यावश्यक कुराहरुको सूची तयार पारौँ । खाद्य पदार्थ, माछा–मासु, औषधि, कपडा, तरकारी आदि । यी प्रोडक्टमा देशलाई कसरी आत्मनिर्भर बनाउने भन्ने एउटा योजना बनाऊँ । आज सिमेन्टमा देश आत्मनिर्भर छ भने खाद्यान्न, कपडा र औषधिमा पनि हुन सक्छ । मलाई एउटा कुनै प्रोजेक्ट दिओस्, म ३–४ वर्षमा त्यसमा देशलाई आत्मनिर्भर बनाउँछु । यो कुरा मेरो आत्मविश्वास र काम गर्नुपर्छ भन्ने भावनाले भनिरहेको छ । यो भावना सबैमा हुनुपर्छ ।
तस्बिर\भिडियोः सचिन शर्मा\इन्जिनियर्स पोस्ट
Your Opnion