राजनीतिक झमेलामा पोखरा विश्वविद्यालय : डीनदेखि विभागीय प्रमुखसम्म सबै काम चलाउ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

राजनीतिक झमेलामा पोखरा विश्वविद्यालय : डीनदेखि विभागीय प्रमुखसम्म सबै काम चलाउ

पोखरा विश्वविद्यालयमा लामो समयदेखि डीन, रजिस्टार, इन्जिनियरिङ संकायका विभागीय प्रमुख, परीक्षा नियन्त्रकलगायत अन्य थुप्रै पदमा पूर्णकालीन नियुक्ति हुन सकेको छैन । ३\३ महिनाका लागि अस्थायी अर्थात् काम चलाउन नियुक्ति गर्यो, फेरि हटायो यस्तै प्रक्रिया करिब १०\१२ महिनादेखि चल्दै आएको छ । एकातिर कोरोना महामारीका कारण शैक्षिक अवस्था अन्यौलमा परेका बेला अर्कोतिर विश्वविद्यालयको यस्तो गतिविधिले विद्यार्थीको भविष्यमाथि झनै खेलवाड पुग्ने देखिन्छ ।

यस्तै गतिविधिलाई निरन्तरता दिँदै विश्वविद्यालयले गत बिहीबार डीन र प्रिन्सिपल गरी दुई पदमा पुनः काम चलाउन (३ महिनाका लागि) नियुक्ति गरेको छ । डीनका रूपमा राजेशकुमार ठकुराठी नियुक्त भएका छन् भने प्रिन्सिपलका रूपमा ललितविक्रम राना ।

विश्वविद्यालयमा पूर्वडीन बुद्धिराम जोशी भन्छन्, ‘मेरो कार्यकाल २०७६ फागुन २७ मा सकिएको थियो । त्यतिबेलादेखिको रिक्त पद बल्ल नियुक्ति पाएको छ त्यो पनि ३ महिनाका लागि मात्र ।’

उनका अनुसार एकातिर विश्वविद्यालयले धमाधम भर्ना कार्यक्रम खोलिरहेको छ । अर्कोतिर पूर्णकालीन रूपमा महत्वपूर्ण पदमा नियुक्ति गर्न सकिरहेको छैन । यो त सरासर विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने काम नै हो । ‘यहाँ रजिस्टार पनि २ महिनाअघि नियुक्त भए ती पनि ३ महिनावाला नै हुन्,’ उनले थपे ।

उपकुलपतिले नै यसप्रति चासो नदिएको या राजनीतिक भागबण्डा नमिलेका कारण यस्तो नियुक्ति नभएको हुन सक्ने जोशीको बुझाइ छ । ‘पूर्णकालीन नियुक्तिका लागि रजिस्टार पनि छैन रजिस्टार नभएपछि कार्यकारी बैठक बस्न सकेन कार्यकारी बैठक नबसेसम्म नियुक्ति गर्न मिल्दैन । किनभने दैनिक कार्य सञ्चालन गर्ने भनेकै रजिस्टारले हो,’ उनले भने, ‘पूर्णकालीन रजिस्टार नियुक्त हुन नसक्नु नै यसको मुख्य समस्या हो ।’

विश्वविद्यालयका उपकुलपति प्रेमनारायण आर्याल पनि पूर्णकालीन नियुक्ति हुन नसकेकोमा राजनीतिक भागबण्डा नमिलेकै कारण रोकिएको स्वीकार्छन् । उनका अनुसार करिब एक वर्ष भइसक्यो पूर्णकालीन डीनको नियुक्ति हुन सकेको छैन । १३ महिनापछि मुस्किलले डीनको नियुक्ति भएको उनले बताए ।

‘मेरो काम प्रधानमन्त्री तथा विश्वविद्यालयमा कुलपतिले यसलाई नियुक्त गर भनेपछि सिफारिस गरिदिने काम हो,’ उपकुलपति अर्यालले भने, ‘सरकार पक्ष र प्रतिपक्षबीचको समझदारी हुन नसकेर पूर्णकालीन रूपमा नियुक्ति हुन सकिरहेको छैन । मैले गरेर हुने भएको भए मैले गरिसक्थेँ ।’ अहिलेको राजनीतिक अवस्था हेर्दा यो समस्या झन् कति लम्बिने हो कुनै टुंगो नभएको उनले बताए ।

उपकुलपति अर्यालका अनुसार ३ महिनासम्मको नियुक्त भएका रजिस्टार र परीक्षा नियन्त्रकको समय पनि यही महिनामा सकिँदैछ । अब फेरि के हुने हो, पूर्णकालीन आउँछन या फेरि काम चलाउ भन्न सकिने अवस्था छैन । यसले गर्दा विद्यार्थीको भविष्यमाथि खेलवाड हुँदै गएकोमा उनी पनि सहमत छन् । यो समस्यालाई समाधान गर्न कुलपतिलाई बारम्बार भन्दा पनि नसुनेको गुनासो गर्छन्, उनी ।

भन्छन्, ‘प्रधानमन्त्री तथा कुलपति ज्यूलाई भेटेर यो समस्या टुंगो लगाइदिनुस धेरै पटक भनेँ तर उहाँले म सल्लाह गर्छु भन्नुभयो अरू केही बोल्नुभएन । उहाँले प्रतिपक्षको नेता शेरबहादुर देउवासँग सल्लाह गरेर टुंगो लगाउँछौँ भन्नुभएको छ । कहिले टुंगो लाग्छ त्यो उहाँहरूले नै जानुन् ।’

त्यसैगरी, पोखरा विश्वविद्यालयका एक प्रोफेसर तथा ई. विश्वविद्यालयमा पूर्णकालीन नियुक्ति नभएसम्म अस्थायी नियुक्ति हुनु ठिकै भएको तर, यो प्रभावकारी नहुने बताउँछन् । उनी भन्छन्, ‘दीर्घकालीन योजना बनाउनका लागि त पूर्णकालीन नियुक्ति भएको राम्रो । तर, डाइरेक्टर नभएको अवस्थामा विद्यार्थीहरूले सर्टिफिकेट नपाउने, कन्ट्रोलर नभएको अवस्थामा विद्यार्थीको जाँच रोकिने, रजिस्टार नहुँदा फ्याकल्टीका कर्मचारीहरूले तलब नपाउने जस्ता विभिन्न समस्या देखापर्छन् ।’

Your Opnion

//