आइओईले अनलाइन माध्यमबाटै भए पनि दशैंअगावै सबै परीक्षा गर्ने, बहु वैकल्पिक प्रश्न आउने - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Education

आइओईले अनलाइन माध्यमबाटै भए पनि दशैंअगावै सबै परीक्षा गर्ने, बहु वैकल्पिक प्रश्न आउने

इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) ले दशैंअगावै सम्पन्न गर्ने गरी परीक्षा सञ्चालन गर्ने भएको छ । शैक्षिक शत्र नलम्बयाउन दशैंअगावै स्नातक र स्नात्तकोत्तरका सबै फाइनल परीक्षा सम्पन्न गर्ने आइओईले जनाएको छ ।

यस विषयमा आइओईले मंगलबार आइओईअन्तर्गतका विभिन्न विद्यार्थी समूहबीच छलफल गरेको थियो । भर्चुअल माध्यमबाट भएको छलफलमा करिब २ हजार विद्यार्थीले आफ्नो सहभागीता जनाएका थिए ।

आइओईले दशैंअगावै सबै (रेगुलर र ब्याक) परीक्षा सम्पन्न गर्ने गरी परीक्षा तालिकासमेत सार्वजनिक गरिसकेको छ ।

तालिकाअनुसार स्नात्तकोत्तरको परीक्षा यही साउन ३१ गतेदेखि सुरु हुनेछ भने स्नातक तहका विद्यार्थीको परीक्षा भदौ २१ गतेदेखि सञ्चालन हुँदैछ ।

स्नातक र स्नात्तकोत्तर गरी करिब १९ हजार विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् । लकडाउन नभएको खण्डमा भौतिक रुपमा र लकडाउन भएको खण्डमा अनलाइन माध्यमबाट परीक्षा सञ्चालन गर्ने आइओईले स्रोतले इन्जिनियर्स पोस्टलाई जानकारी दियो । तर, आइओईका विद्यार्थीमा भने परीक्षा भौतिक रुपमा हुने या वैकल्पिम माध्यममार्फत हुने भन्नेमा अन्योलता छाएको छ ।

तालिकाअनुसार जुनसुकै हालतमा पनि परीक्षा दशैंअगावै सम्पन्न गर्ने गरी तयारी भइरहेको आइओईका सहायक डीन ई. प्रा.डा. सुशील वज्राचार्यले जानकारी दिए ।

‘परीक्षा नजिकिए पनि कसरी हुन्छ भन्नेबारे कतिपय विद्यार्थीमा अझै अन्योलता छ’ इन्जिनियर्स पोष्टसँग उनले भने, ‘हामीले दशैं अगाडि नै परीक्षा सम्पन्न गर्ने गरी शैक्षिक क्यालेन्डर पनि सार्वजनिक गरिसकेका छौँ । चालु सेमेस्टरको सबै परीक्षा दशैं अगाडि सम्पन्न हुनेछन् । अर्को सेमेस्टरको पठनपाठन मंसिर १ गतेदेखि सुरु हुनेछ ।’

आशिंक कलेजका विद्यार्थीले शुल्कबारे चलाएको आन्दोलनले परीक्षामा असर नपर्नेसमेत उनले स्पष्ट पारे ।

लकडाउनअघि सार्वजनिक गरेको शैक्षिक क्यालेन्डरलाई आइओईले परिमार्जन गरेको छ । परिमार्जित तालिकाअनुसार आगामी मंसिर १ गतेदेखि स्नातक र स्नात्तकोत्तर तहको नयाँ सेमेस्टरको पठनपाठन सुरु हुनेछ । यसअघि चैतमा सञ्चालन हुनुपर्ने सबै परीक्षा आइओईले गत वर्ष पुसमा सञ्चालन गरेको थियो ।

परीक्षा सञ्चालन भएदेखि सम्पन्न हुन करिब ६ महिना समय लागेको थियो । यसवर्ष भने अर्कै मोडलमार्फत अघि बढ्ने आइओई सहायक डीन वज्राचार्यले बताए । ‘यसअघि परीक्षा र पठनपाठन सञ्चालनमा लकडाउनले असर पुगेको थियो’ उनले भने, ‘तर अब यो वर्ष भने विगतमा जस्तो हुँदैन । सेमेस्टरको पठनपाठन सम्पन्न गरेर मात्र परीक्षा लिने र अर्को सेमेस्टरको पठनपाठन सञ्चालन गर्छौँ । पठनपाठन पनि लकडाउन भएमा अनलाईन र लकडाउन नभएमा भौतिक रुपमै सञ्चालन हुन्छ । लकडाउन नभएमा हामीले भौतिक माध्यमलाई प्राथमिकतामा राख्छौँ ।’

यसरी परीक्षा सञ्चालन गर्दा विद्यार्थीले समयमै आफ्नो पढाई गर्न सक्षम हुने उनको विश्वास छ ।

आइओईले परीक्षा र पठनपाठन विभिन्न मोडालिटीमार्फत सञ्चालन गर्नेछ । यसबाहेक मिक्स मेथोडमार्फत पनि परीक्षा सञ्चालन गर्ने योजना आइओईको छ । विद्यार्थीको शैक्षिक वर्ष नलम्यबाउन आइओईले ४ वर्षको कोर्ष समयमै सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

‘सरकारले लकडाउन घोषणा नगरेसम्म भौतिकरुपमा सञ्चालन गर्ने र परीक्षा सञ्चालन भइरहँदा लकडाउन घोषणा गरिए पनि परीक्षा रोकिँदैन’ वज्राचार्यले इन्जिनियर्स पोस्टसँग भने, ‘परीक्षा तालिकाअनुसार तोकिएकै समय र मितिमा वैकल्पिक माध्यम (अनलाइन)मार्फत परीक्षा सञ्चालन हुन्छ । हामीले मिक्स मेथोडबाट पनि परीक्षा सञ्चालन गर्ने गरी पूर्णतयारी गरेका छौँ ।’

मिक्स मेथोडअनुसार अनलाइन र अफलाइन दुवै तरिकाले परीक्षा हुन्छ । सैद्धान्तिक परीक्षा अनलाईनमार्फत भए पनि अनलाइनमा असम्भव रहेका व्यवहारिक परीक्षा भौतिक रुपमा हुन्छ ।

अनलाइन परीक्षा भएमा ‘एमसिक्यु’
आइओईले कम्प्युटरमा आधारित रहेर भौतिक रुपमा कक्षा सञ्चालन गर्दै आएको छ । यदि अनलाइनमार्फत परीक्षा सञ्चालन हुने भएमा त्यसका लागि मल्टिपल च्वाइस क्वेसन एमसिक्यु (बहु वैकल्पिक प्रश्न) मार्फत परीक्षा लिनेछ ।

अनलाइन परीक्षा सञ्चालन भएमा प्रशिक्षार्थीको लागि आइओईले प्रवेश परीक्षा पनि घरबाटै दिन मिल्ने गरी व्यवस्था गरेको छ । आइओईले भौतिक तथा अनलाइन दुवै माध्यमको लागि प्रश्नपत्र समेत निकाल्न सुरु गरिसकेको छ । त्यसैले देशभर रहेका आइओईका सबै विद्यार्थीलाई परीक्षाको लागि तयारी अवस्थामा रहन सहायक डीन प्रा.डा वज्राचार्यले आग्रह गरेका छन् ।

‘हामी दुवै अवस्थाको लागि तयारी अवस्थामा छौँ’ इन्जिनियर्स पोस्टसँग उनले भने, ‘वैकल्पिक माध्यमको लागि पनि त्यही तालिका हुन्छ । आइओईले भौतिक रुपमा हुने परीक्षाको प्रश्नपत्र बनाइसकेको छ भने वैकल्पिक परीक्षाको लागि पनि प्रश्नपत्र बनाउन थालिसकेको छ । त्यसैले दशैंअघि जसरी भए पनि परीक्षा हुनेहुँदा सबै विद्यार्थी भौतिक र वैकल्पिक माध्यम दुवैको लागि तयारी अवस्थामा बस्नुपर्छ ।’

Your Opnion

//