कुनै व्यवसाय वा प्रविधिको स्तर उकास्ने हो भने सैद्धान्तिक शिक्षा मात्र पर्याप्त हुँदैन । राष्ट्र र जनतालाई समृद्ध बनाउन व्यवसायमा विशिष्ट तालिमको आवश्यकता हुन्छ । यसका लागि कुनै पनि व्यावसायिक शिक्षामा प्रविधि र सिद्धान्त मिश्रित विशिष्ट तालिमको आवश्यकता पर्छ ।
राष्ट्रलाई आवश्यक रहेको प्राविधिक र सीपमुलक जनशक्ति उत्पादनका लागि नेपालमा एक राष्ट्रिय स्वायत्त निकाय विद्यमान छ । जसको नाम हो, ‘प्राविधिक शिक्षा र व्यावसायिक प्रशिक्षण परिषद्’ (सिटीईभीटी) ।सिटीईभीटी प्राविधिक र व्यावसायिक शिक्षा र प्रशिक्षण दिने उद्देश्यले वि.स. २०४५ मा स्थापना भएको हो ।
सिटीईभीटी पाठ्यक्रम
सिटीईभीटीमा तीन तहका पाठ्यक्रम छन्, छोटो समयको डिप्लोमा (सर्ट टर्म), पूर्वडिप्लोमा (प्रि डिप्लोमा) र डिप्लोमा । छोटो समयको डिप्लोमा सामान्य लेखपढ गर्न सक्ने विद्यार्थीहरूका लागि ल्याइएको हो । यसलाई चलनचल्तीको भाषामा ‘भोकेसनल’ पनि भनिन्छ । यो एकदमै थोरै समयावधिको भए पनि विशिष्ट तालिमयुक्त हुने भएकोले व्यावसायिक तवरले प्रभावकारी मानिन्छ । यो तालिम सामान्यतः १ हजार ६ सय ९६ घण्टाको कक्षा दिइन्छ ।
त्यसैगरी, पूर्वडिप्लोमा र डिप्लोमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि ल्याइएको हो । पूर्वडिप्लोमा २ किसिमको हुन्छ । ‘पूर्वडिप्लोमा’ (१८ महिने) र ‘अप्रेन्टिससीप’ (२ वर्षे) । डिप्लोमा अन्यभन्दा लामो समयावधिको हुन्छ । तीन वर्षे डिप्लोमा पनि ३ किसिमको हुन्छ । वार्षिक र सेमेस्टर (६ सेमेस्टरको) ।
सिटीईभीटी पाठ्यक्रम महाशाखाका निर्देशक मिस्टरकान्त मैनालीका अनुसार सिटीईभीटीमा ‘पाठ्यक्रम निमयावली २०४९’ अनुसार पाठ्यक्रम विकास गरिएको छ । पाठ्यक्रमअनुसार सिटीईभीटीले नर्सिङ, एचए, सब–इन्जिनियर जस्ता प्रविधिकहरू उत्पादन गर्दै आएको छ ।
सिटीईभीटीको डिप्लोमा तहको इन्जिनियरिङ
सिटीईभीटीमा तीन वर्षे डिप्लोमा तहमा डिप्लोमा इन सिभिल, सिभिल ब्रिज, मेकानिकल, बायोमेडिकल, बायोमेडिकल उपकरण, आर्किटेक्चर, अटोमोबाइल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, रेफ्रिजिरेसन एण्ड एयर कन्डिसन, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक, हाइड्रोपावर, जियोलोजी, कम्प्युटर र आइटी इन्जिनियरिङ गरी १४ वटा इन्जिनियरिङ कार्यक्रम रहेका छन् ।
किन पढ्ने डिप्लोमा इन इन्जिनियरिङ ?
सामान्यतः इन्जिनियरिङ भन्नाले स्नातक तहको इन्जिनियरिङलाई बुझिन्छ । यो पढ्नका लागि ‘प्लस टु’ विज्ञान विषयमा उत्तीर्ण भएको हुनुहुपर्छ । भूगोल र अर्थले साथ दिएका र पढाइमा प्रवीण भएका विद्यार्थीले स्नातक तहको इन्जिनियरिङ गर्न सक्लान् । तर, ग्रामीण भेगका र विपन्न विद्यार्थीले सदरमुकाम वा काठमाडौं गएर प्लस टु मा विज्ञान तथा स्नातक तहको इन्जिनियरिङ गर्नु अझै नेपालको शैक्षिक क्षेत्रको चुनौती रहँदै आएको मैनाली बताउँछन् ।
मैनाली भन्छन्, ‘सिटीईभीटीले माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण भएका, निर्माण वा प्रविधिको क्षेत्रमा लाग्न चाहेका र अति ग्रामीण क्षेत्रका र आयस्तर कमजोर भएका विद्यार्थीहरूका लागि डिप्लोमा इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ ।’
सिटीईभीटीको पाठ्यक्रम प्राविधिक जनशक्ति उत्पादन गर्नका लागि डिजाइन गरिएको बताउँछन, एक्मी कलेज अफ इन्जिनियरिङका प्रमुख ओमकारनाथ गुप्ता । उनी भन्छन्, ‘मध्यम वर्गीय परिवारका विद्यार्थी जसले डिप्लोमा इन्जिनियरिङ गरेपछि जागिर गर्छु वा व्यवसाय सञ्चालन गर्छु भन्ने सोच बनाएका छन्, तिनीहरूका लागि यो कोर्स उपयुक्त छ ।’
समृद्धिको निम्ति समग्र नेपाललाई नै सीपमुलक बनाउने मूल लक्ष्य लिएको सिटीईभीटी नीति निर्माण, गुणस्तर नियन्त्रण, योग्यता आधारित पाठ्यक्रम तयारी, विभिन्न पेसाको कौशल स्तर विकास, जनताको सीप परीक्षण, अध्ययन अनुसन्धान, प्रशिक्षण अवलोकन जस्ता विविध कार्यहरूमा संलग्न छ ।
मैनालीका अनुसार सर्टिफिकेट लिएपछि निर्माण व्यवसायमा लाग्न, ठेकेदारसँग काम गर्न, उद्यम सुचारु गर्न, सिभिल वा आर्किटेक्चरअन्तर्गतका नक्सा बनाउन, कन्सल्टेन्सी सञ्चालन गर्न, उपकरण मर्मत गर्न जस्ता विविध प्राविधिक क्षेत्रमा लाग्न सकिन्छ । सडक विभाग, भवन निर्माण, सिँचाइ विभाग जस्ता सरकारी निकायमा सब–इन्जनियरको दरबन्दीका माग पनि प्रशस्त छ ।’
गुप्ता भन्छन्, ‘डिप्लोमा इन इन्जिनियरिङ अध्ययन गरेपछि नेपाल सरकारको लोकसेवाअन्तर्गत ५ औं तहमा लड्न पाइन्छ । गैरसरकारी परियोजनाहरूमा पनि सब–इन्जिनियर तहको जागिर पर्याप्त मात्रामा पाइन्छ । उनीहरू सब–इन्जिनियर अथवा ओभरसियर भनेर चिनिन्छन् ।’
डिप्लोमा इन इन्जिनियरिङको महत्व
डिप्लोमा इन इन्जिनियरिङ गरेपछि व्यावसायिक सीप हासिल हुन्छ । सिटीईभीटीको डिप्लोमा इन इन्जिनियरिङ गरेपछि सरकारी र गैरसरकारी संस्थामा आबद्ध हुनेदेखि उद्यम र व्यवसायमा पनि संलग्न हुन सकिने निर्देशक मैनालीको भनाइ छ ।
त्यसैगरी गुप्ता भन्छन्, ‘जुनसुकै विषयमा डिप्लोमा इन इन्जिनियरिङ गरेपछि स्नातक तहको जुनसुकै इन्जिनियरिङ पढ्नका लागि बाटो खुल्छ । जस्तै, डिप्लोमा इन सिभिल इन्जिनियरिङ गरेमा स्नातक तहको कुनै पनि इन्जिनियरिङका लागि योग्य भइन्छ । सिटीईभीटीको डिप्लोमा इन इन्जिनियरिङले प्लस टु विज्ञानसरह मान्छ ।’
प्रारम्भमा आइओईमा दुईवटा ‘इन्टेक’ हुन्थ्यो । ती हुन्, ‘प्लस टु साइन्स’ र ‘डिप्लोमा इन्जिनियरिङ’ । तर, २०५०/५१ सालदेखि नीति परिवर्तन गरेर सो दुई इन्टेक हटाइएको छ । हाल प्लस टु साइन्स र डिप्लोमा इन्जिनियरिङ गरेकाले समान प्रतिस्पर्धा गर्नुपर्ने आइओईका डीन ई. प्रो. डा. शशीधर राम जोशीले जानकारी दिए ।
‘प्लस टु साइन्स र डिप्लोमा इन्जिनियरिङ, दुवै पृष्ठभूमि भएका विद्यार्थीहरूलाई पढाएको छु,’ उनले भने, ‘प्लस टु साइन्स र डिप्लोमा इन्जिनियरिङ गरेका विद्यार्थीहरूको सिद्धान्त नै फरक हुन्छ । डिप्लोमा इन्जिनियरिङ गरेकाहरू ‘ड्रइङ’मा अब्बल भएको र प्लस टु साइन्स पृष्ठभूमिका विद्यार्थीहरू गणितसँग सम्बन्धित विषयहरूमा अब्बल भएको पाएको छु ।’
यही कुरालाई जोड्दै भविष्यमा इन्जिनियर नै बन्ने लक्ष्य छ भने डिप्लोमा इन इन्जिनियरिङ गरेपछि स्नातक तहको इन्जिनियरिङमा लाग्दा राम्रो हुने बताउँछन्, मैनाली । उनी भन्छन्, ‘डिप्लोमालाई एक चरण मान्ने हो भने स्नातक अर्को चरण हो । प्लस टु विज्ञान पढेर इन्जिनियरिङ गर्नु र डिप्लोमा इन इन्जिनियरिङ गरेर इन्जिनियरिङ गर्नु एउटै कुरा हो ।’
प्लस टु विज्ञान पढेर इन्जिनियरिङ गर्नु र डिप्लोमा इन इन्जिनियरिङ गरेर इन्जिनियरिङ गर्नुमा एकतिर फाइदा छ भने अर्कोतिर बेफाइदा पनि छ । किनभने प्लस टु विज्ञान पढ्न २ वर्ष मात्र लाग्छ भने डिप्लोमा इन इन्जिनियरिङ गर्न ३ वर्ष । त्यसैगरी डिप्लोमा इन इन्जिनियरिङ गर्दा इन्जिनियरिङको राम्रो पृष्ठभूमि बनिसकेको हुन्छ भने प्लस टु साइन्स पढेर इन्जिनियरिङ गर्न थप मिहेनत गर्नुपर्छ ।
Your Opnion