सिमेन्टको मूल्य २ सयसम्म घट्यो, ७५ प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Industry

सिमेन्टको मूल्य २ सयसम्म घट्यो, ७५ प्रतिशत इँटा उद्योग बन्द हुने अवस्थामा

कोभिड–१९ महामारीले ल्याएको आर्थिक मन्दी र पूर्वाधार निर्माण कार्यमा भएको शिथिलताको मुख्य असर सिमेन्ट र इँटा उद्योगमा परेको छ । जसको कारण सिमेन्टको उत्पादन बढी र बजारमा खपत कम भइरहेको देखिन्छ भने इँटा उद्योगहरु धमाधम बन्द हुने अवस्थामा छन् । खपत कम हुँदा उद्योग व्यवसायीले सिमेन्टको मूल्य घटाएका छन् । इँटा उत्पादनको सिजन सुरु हुँदासमेत कुनै तामझाम छैन ।

सस्तियो सिमेन्ट
विगतका केही वर्षहरुमा झँै यो वर्ष पनि विभिन्न कारण सिमेन्टको मूल्य लगातार घटिरहेको छ । सिमेन्ट उद्योगबाट मागभन्दा उत्पादन बढी भएपछि सिमेन्टको मूल्य सस्तिएको नेपाल सिमेन्ट उत्पादन संघका अध्यक्ष धु्रव थापा बताउँछन् । ‘सिमेन्टको पछिल्लो अवस्था नाजुक नै छ भन्नुपर्छ’ थापा भन्छन्, ‘अघिल्लो वर्षको तुलनमा यो वर्ष उत्पादन र बिक्री निकै कम भइरहेको छ ।’

हाल ३५ प्रतिशत मात्र सिमेन्ट उत्पादन भइरहेको छ भने मूल्य पनि अघिल्लो वर्षको भन्दा २० देखि ३० प्रतिशतले घटेको छ । उत्पादन बढी र बजारको माग कम भएकाले सिमेन्टको मूल्य घटेको व्यवसायीहरु बताउँछन् ।

सिमेन्टको मूल्य प्रतिबोरा सयदेखि २ सयसम्म घट्दा सिमेन्ट उद्योगमा यतिबेला ‘प्राइस वार’ चलिरहेको छ । बजारमा प्रतिस्पर्धा बढी भएकाले व्यवसायीले उत्पादित सिमेन्ट घाटामा बेचिरहेको अध्यक्ष थापा सुनाउँछन् ।

‘नेपालमा उत्पादन हुने सिमेन्ट विदेशमा निर्यात हँुदैन । आन्तरिक प्रतिस्पर्धा हुन्छ’ उनी भन्छन्, ‘अचेल त झन् नयाँ प्रविधिसहित आएका सिमेन्ट उद्योगले सस्तोमा बजारमा सिमेन्ट पठाउँछन् । यस्तोखाले प्रतिस्पर्धाले सिमेन्टको मूल्य घटाउने मात्र होइन, चुनौतीसमेत थपेको छ ।’

नेपालमा हाल करिब ४१ भन्दा बढी नेपाली सिमेन्ट उद्योग संचालनमा छन् । ती उद्योगको उत्पादन क्षमता वार्षिक २० मिलियन टन छ । तर, हाल ७ मिलियन टन पनि मुस्किलले उत्पादन भइरहेको व्यवसायीहरु बताउँछन् ।

‘खासमा हाम्रो बजारमा जति माग छ, त्यसको दोब्बर खपत हुन्छ । तर अहिले स्थिति भिन्न छ’ अध्यक्ष थापा भन्छन्, ‘गत वर्ष १० मिलियन टन बजारको माग थियो । आर्थिक वर्ष ७६/७७ मा ८/९ मिलियन टन मात्र उत्पादन भयो । यो वर्ष पनि ७ मिलियन टनभन्दा बढी उत्पादन हुँदैन । बजारको माग घटेपछि सिमेन्ट उत्पादन कम हुन्छ । सिमेन्ट स्टकमा रह्यो भने पनि कम मूल्यमा बेच्नुपर्ने हुन्छ ।’

२५ प्रतिशत इँटा उद्योगमात्र चल्ने अवस्थामा
काठमाडौं उपत्यकालाई उदाहरणको रुपमा हेर्ने हो भने गत वर्ष कतिपय इँटा उद्योगहरु संचालनमा अनेक लफडा भए । गत मंसिरमा ती उद्योगहरुले वातावरण प्रदुषण गरेको भन्दै संचालन गर्न नदिने कुरा भयो । फागुनमा कतै स्थानीय तह त कतै सरोकारवालाहरुले केही इँटा उद्योग बन्द गर्न दबाब दिए । तर, फागुन अन्तिमदेखि इँटा उद्योग पुनः संचालनमा आए । चैतदेखि लकडाउन भयो । मजदुरहरु घरतिर लागे । जसकारण इँटा उत्पादनमा समस्या भयो ।

इँटाको उत्पादनमा नै कमी आएकाले इँटा उद्योगीसँग अघिल्ला वर्षहरुमा जस्तो यस वर्ष धेरै इँटा स्टकमा छैन । नेपाल इँटा उद्योग व्यवसायी महासंघका बद्री कार्की आफूहरुसँग १० लाख इँटा स्टकमा हुनसक्ने अनुमान लगाउँछन् । यो महासंघ आवद्ध नेपालका ७ सय इँटा उद्योगमा आधारित अनुमान मात्र हो । संघमा आवद्ध नभएका ५ सय इँटा उद्योग पनि छन् । समग्रमा हेर्ने हो भने व्यवसायीहरु २० लाखभन्दा बढी इँटा स्टकमा रहेको बताउँछन् ।

पछिल्लो समय नेपाल इँटामा आत्मनिर्भर छ । विदेशमा निर्यात नभए पनि उत्पादित इँटा नेपालमै खपत भइरहेका छन् । नेपालमा संचालित उद्योगले वर्षमा करिब ३ देखि साढे तीन अर्बसम्म इँटा उत्पादन गर्छन् ।

यस वर्ष इँटाको उत्पादन नै कम भएकाले इँटाको मूल्यमा भने खासै घटबढ भएको छैन । अघिल्ला वर्षहरुमा जस्तै प्रतिगोटा १५ देखि १७ रुपैयाँमा इँटा बिक्री भइरहेको व्यवसायीहरु बताउँछन् ।

यस वर्ष इँटा उद्योगको समस्या भने अर्कै छ । कार्की भन्छन्, ‘पछिल्लो रिपोर्ट हेर्दा यो वर्ष २५ प्रतिशत मात्र इँटा उद्योगहरु चल्नेजस्तो देखिन्छ । काठमाडौंमा १० प्रतिशत मात्र उद्योग चल्ने अवस्था छ । यो भनेको निकै कम हो ।’ इँटा उद्योगमा काम गर्ने अधिकांश मजदुर भारतीय थिए । लकडाउनको समयमा स्वदेश फर्किएका उनीहरु अझैसम्म आइपुगेका छैनन् । पूर्वाधार निर्माण कार्य खासै नभएकाले इँटाको माग पनि धेरै छैन । जसले गर्दा इँटा उत्पादनको सिजन सुरु हुँदा पनि इँदा उत्पादन कार्य सुरु भइसकेको छैन ।

साथै, विभिन्न प्रविधिमा आधारित रहेर प्रि–कास्ट, विभिन्न ब्लकको उत्पादन र माग बढिरहेकाले पनि परम्परागत शैलीमा उत्पादित इँटा र सिमेन्टको माग घटिरहेको छ ।

Your Opnion

//