धादिङ/ ३० चैत । धादिङको नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने नागढुंगा टनेलको बैशाख ३ गते ‘ब्रेक थ्रू’ गरिने भएको छ ।
साथै २०८२ को नयाँ वर्षदेखी भने सुरुङमार्गबाटै दुईतर्फी रुपमा गाडी संन्चालनमा ल्याउने गरी काम भैरहेको छ । नयाँ वर्षको बैशाख ३ गते २ बजे टनेल ब्रेक थ्रू गर्ने कार्यक्रम रहेको छ । सो ब्रेक थ्रू समारोहमा सहभागी हुने अतिथिलाई भने पौने १ बजेसम्म आइपुग्ने गरि निम्तो पठाइएको छ । उक्त कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट टनेलको ब्रेक थ्रु हुने सडक बिभाग स्रोतले बताएको छ ।
२ हजार ६८८ मिटरको मुख्य टनेलमा अब २ मिटर खण्डमात्रै खन्न बाँकी छ । बैशाख ३ गते त्यो खण्डमा ब्लास्ट मार्फत सुरुङ प्वाल पारिने जनाइएको छ ।
यस सुरुङमार्गमा मुख्य र रेस्क्यु गरी दूई टनेल छन् । रेस्क्यु टनेल गत साउन २२ गते नै ब्रेक थ्रू भइसकेको छ ।
मुख्य सुरुङमार्गको ब्रेक थ्रु गर्ने योजना गत फागुन २३ गतेलाई तय गरिएको भएतापनि सो क्षेत्रका स्थानीयहरुको अवरोध गरेका कारण फागुन ६ देखि १ महिनासम्म निर्माण कार्य रोकिएको थियो । चैत ५ गते स्थानीयसँग सहमति भएसँगै चैत ६ बाट पुनः काम सुरु गरिएको थियो । त्यसपछि अहिले मुख्य टनेलको ब्रेक थ्रू गर्न लागिएको हो ।
करिब २३ अर्ब लगानीमा रहेको यस परियाजना नेपालकै पहिलो आधुनिक सुरुङमार्ग हो । जसमा जापान सरकारको सहयोग नियोग ९जाइका०को १६ अर्ब ६३ करोड रुपियाँ सहुलियत ऋण छ । यो आयोजना बनाउन २०१९ सेप्टेम्बरमा जापानकै निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेशनबीच सुरुङ निर्माणको ठेक्का सम्झौता भएको थियो ।
आयोजनाको निर्माण कार्य भने २०७७ पुसबाट मात्रै सुरु भएको हो। त्यसको साढे ३ बर्षमा आयोजनाको मुख्य सुरुङ ब्रेक थ्रू हुन लागेको हो । ब्रेक थ्रू गर्ने समारोहमा नेपाल सरकार, जापानीज दुतावास, जाइका, निर्माण कम्पनी लगायतका निकायको उच्च अधिकारीहरु उपस्थित हुने भएका छन् ।
यद्यपि, सुरुङमार्ग सञ्चालनमा आउन भने अझै एक बर्ष समय लाग्नेछ । अहिले सुरुङ मार्ग ब्रेक थ्रु मात्रै हुन लागेको हो । भित्री सडक कालोपत्रे गर्ने, भित्ता ढलान गर्न, अक्सिजनको मात्रा मिलाउने, लाइट जडान गर्ने, तापक्रम मिलाउने लगायतका फिनीसीङको काम गर्न ६ महिना समय लाग्ने प्राविधिकको भनाई छ ।
निर्मार्णको सम्पूर्ण काम सकिएपछि सुरुङमार्गलाई स्टेबल बनाउन करिब ६ महिनाको समय यत्तिकै राख्नुपर्छ । त्यसपछि मात्रै सुरुङमार्ग सञ्चालनमा ल्याउन सकिने आयोजनाका प्राविधिक टोलीले जनाएका छन् । यसै अनुरुप २०८२ सालको सुरुबाटै आयोजना सञ्चालनमा आउने अनुमान गरिएको छ । यो आयोजना बनेपछि धादिङको नौबिसे हुँदै काठमाडौं प्रवेश गर्ने सवारीको यात्रा छोटिने छ ।
Your Opnion