मध्यपश्चिमाञ्चल विश्वविद्यालयले नेपालमा पहिलो पटक हाइड्रोपावर इन्जिनियर उत्पादन गरेको छ । सुरुमा अध्यापनको अनुमति नलिईक नै अध्यापन सुरु गरे पनि अन्तिम सेमेस्टरको फाइनल रिजल्ट आउने बेलासम्म विश्वविद्यालयले उक्त समस्या समाधान गरेको छ । यसले गर्दा हाइड्रोपावर इन्जिनियरिङका विद्यार्थी पनि निकै खुसी भएका छन् । किनभने उनीहरूले अब हाइड्रोपावर विषयको छुट्टै लाइसेन्स पाउने भएका छन् ।
अर्कोतिर उनीहरू दु:खी पनि उत्तिकै भएका छन् । किन कि लोक सेवा वा अन्य कुनै प्रोजेक्टमा हाइड्रोपावर इन्जिनियर नै भनेर खासै मागिएको पाइदैन । त्यसैले हाइड्रोपावर इन्जिनियरका रूपमा दर्ता भए पनि सिभिल सरह नै इक्युभ्योलेन्ट पाउनुपर्छ भन्ने विद्यार्थीहरूको माग छ ।
हाइड्रोपावर इन्जिनियरिङका विद्यार्थी पास भएर गए पनि भविष्यमा मार्केटमा जाँदा विलीन हुन नपरोस् भन्ने सोही विषयमा भर्खरै पास भएका विद्यार्थी षडानन्द तिवारीको भनाइ छ । ‘हामी विद्यार्थीको मेन फोकस के हो भने मार्केटमा गएपछि हामी त्यहाँ विलीन हुनु भएन,’ उनले इन्जिनियर्स पोस्टसँग भने, ‘लोक सेवा आयोगले ४/५ वर्षको अन्तरालमा १/२ कोटा मात्रै हाइड्रोपावर इन्जिनियरको माग गरेको देखिन्छ । तर, हामीले पढेको सबै कोर्स सिभिल इन्जिनियरिङसँग मिल्छ । त्यसैले हामीले सिभिलसरह नै आवेदन दिन पाउनुपर्छ ।’
थापाथली इन्जिनियरिङ क्याम्पसमा इन्डस्ट्रियल इन्जिनियरिङ पढाइ हुन्छ । उक्त विषयलाई पाठ्क्रम विकास केन्द्र त्रिविले मेकानिकल इन्जिनियरिङको ‘इक्युभ्यालेन्ट’ दिएको छ । अर्थात् मेकानिकल इन्जिनियरिङले जहाँजहाँ आवेदन दिन पाउँछन्, त्यहाँत्यहाँ इन्डस्ट्रियल इन्जिनियरले पनि आवेदन दिन पाउँछन् । तिवारी भन्छन्, ‘ठिक त्यसैगरी हामी काउन्सिलमा हाइड्रोपावर इन्जिनियरिङका रूपमा दर्ता भए पनि सिभिल इन्जिनियरसरह नै आवेदन दिन पाउनुपर्छ भन्ने हाम्रो माग हो ।’
सिभिलको पाठ्यक्रम १ सय ५८ क्रेडिट आवरको छ भने हाइड्रोपावरको १ सय ६९ क्रेडिट आवरको छ । त्योबाहेक हाइड्रोपावरमा पनि ८/९ ओटा विषय सिभिल इन्जिनियरले पढेने नै पढ्नुपर्छ । त्यसैले उनी प्रश्न गर्छन्, ‘हामीले भविष्यका सिभिलसरह प्रतिस्पर्धा किन गर्न नपाउने ?’
त्यसैगरी सोही विश्वविद्यालयबाट हाइड्रोपावर इन्जिनियरिङ पास गरेका बर्मेस चन्द्रवंशीले यस विषयले छुट्टै मान्यता पाए पनि आफूहरूको लागि भविष्यमा जाने बाटो साँघुरो बनाएको भन्दै गुनासो पोखे । उनले प्रश्न गरे, ‘यो विषय पढाउनका लागि त ४ वर्षपछि बल्लबल्ल स्वीकृति पाएको छ । अब हामीलाई लोक सेवामा लड्नका लागि अलि फराकिलो बाटो कहिले बनाउला ?’
आफूहरू पास भएर बाहिर आइसकेपछि कहाँ जाने भन्ने कुनै टुंगो नरहेको उनी बताउँछन् । उनका अनुसार बल्लबल्ल अनुमति पाएको हाइड्रोपावर इन्जिनियरिङले अब यसका लागि नीति नियम, ऐन कानुन कहिले बनाउला र आफूहरू ढुक्कसँग भविष्य सुनिश्चित गर्ने ?’ उनले भने, ‘अब ढिला भइसक्यो । यो काम एक दुई वर्ष पहिले नै हुनुपथ्र्यो । अब हामी यो सर्टिफिकेट लिएर कहाँ जाने ?’
त्यस्तै, हाइड्रोपावर इन्जिनियरिङबाट भखैरै पास भएका विद्यार्थी अग्निप्रसाद शर्माको गुनासो पनि त्यस्तै छ । भन्छन्, ‘अब हामीले हाइड्रोपावर इन्जिनियरिङको छुट्टै सर्टिफिकेट पाउँछौं त्यो निकै खुशीको कुरा हो । तर, हामीले यो सर्टिफिकेट लिएर मात्र के गर्नु । हाम्रा लागि लोक सेवामा भिड्ने बाटो निकै साँघुरो छ ।’
सुरुमा विश्वविद्यालयले आफूलाई धेरै ठूलो स्कोप छ भनेर आकर्षित गरेको, बीचमा एक थोक पढाएर अर्कोको सर्टिफिकेट दिने भनेर आफूहरुको भविष्यमाथि खेलबाड गर्न खोजेको र अहिले मान्यता पायो भनिए पनि आफूहरु कहाँ जाने भन्नेमा अन्यौल रहेको चन्द्रवंशी बताउँछन् ।
विश्वविद्यालयले हाइड्रोपावर इन्जिनियरिङ छुट्टै विषयका रूपमा पढाउने मान्यता पाएर आफूहरुलाई खुशी बनाए पनि भविष्यमा काम गर्न जाने बाटो साँघुरो भएकोमा आफूहरू दु:खी भएको बताउँछिन्, हाइड्रोपावर इन्जिनियरिङबाट भखैरै पास गरेकी ममता थापा । ‘सुरुमा विश्वविद्यालयले हामीलाई यसको क्षेत्र धेरै फराकिलो छ भनेर मोटिभेट गर्यो तर अहिले अब हाइड्रोपावरमा मात्र काम गर्न पाइन्छ भन्ने गरेका छन् । यसले हामीलाई दु:खी बनाएको छ । त्यसैले हामीले लोक सेवामा सिभिल इन्जिनियरसरह प्रतिस्पर्धा गर्न पाउनुपर्छ ।’
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले गर्यो नेपालमा पहिलो पटक हाइड्रोपावर इन्जिनियर उत्पादन
Your Opnion