भक्तपुरको मध्यपुरठिमी क्षेत्रमा मेलम्ची खानेपानी वितरण सुरु भएको छ । मध्यपुरठिमी नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्यांकीमार्फत बुधबारदेखि उक्त खानेपानी वितरण सुरु गरिएको हो ।
भक्तपुरका क्षेत्र नं. २ का सांसद एवं पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार संयुक्त रूपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण सुरु गरिएको हो । केही दिनभित्रै मध्यपुरठिमी क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ ।
मध्यपुरठिमीभित्र पानीको अभाव भएका लोकन्थली, कौशलटार, गठ्ठाघर, बालकुमारी, चपाचो, नगदेशलगायतका ठाउँलाई प्राथमिकतामा राखी खानेपानी वितरण गर्ने जनाइएको छ । त्यसैगरी नीलबराहीमा थप पानी ट्यांकीसमेत निर्माण हुनेछ ।
मध्यपुरठिमी नगरपालिकाको करिब ४ करोड र खानेपानी बोर्डको गरी करिब ६ करोडमा नयाँ पाइप लाइन विस्तार भएको र करिब १९ करोडको लागतमा ट्रयाक लाइन विस्तार गरिएकाले मध्यपुरठिमीमा मेलम्चीको पानी चुहावटको सम्भावना कम हुने बताइएको छ ।
Your Opnion