गाउँछ गीत नेपाली - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

गाउँछ गीत नेपाली

  • बुलु मुकारुङAugust 18, 2024
फाइल तस्बिर
एक शताब्दी लामो सकसपूर्ण जीवन बिताउनु चानचुने कुरा होइन । यो कि त छैटीमैं लेखिएको हुनुपर्छ या त आहार–बिहार नै राम्रो हुनुपर्छ । मान्छेहरू भन्छन् –भाग्यको खेल हो दीर्घायु हुनु त । दीर्घ जीवन हुनसक्छ । तर सिर्जनशील दीर्घजीवन भन्ने अर्कै कुरा हो । यहाँ म लेख मार्फत् उदात्त हुन खोजेको विषय र व्यक्तित्व, सुदीर्घ जीवन बिताएर, आजीवन सिर्जनाका सिँढीहरूमा अनुलोम–विलोम गर्ने व्यक्तित्व उही आदरणीय कवि माधव घिमिरेका बारेमा हो । जसले सँधै नेपाल र नेपालीका हृदयका गीत लेखे ।
‘गाउँछ गीत नेपाली, ज्योतिको पंख उचाली, जय जय जय हे ! नेपाली । सुन्दर, शान्त विशाल’ उल्लिखित यो गीत गाउँमैं रहँदा अगुवा विद्यार्थी दाजु–दिदीहरूले स्कुलमा बिहानको प्रार्थना–सभा (Assembly)मा गाएको सुनेको थिएँ । त्यो गीत मबाट अहिले धेरै टाढाजस्तै भइसकेको छ । र ‘श्रीमान गम्भीर नेपाली’, हुँदै ‘सयौं फूलका थुङ्गा हामी एउटै माला नेपाली’ बोलको राष्ट्रिय गानसम्म आइपुग्दा मस्र्याङ्दी नदीमा धेरै पानी बगिसक्यो । दरौंदी नदीले धेरैवाट धार फेरिसक्यो । हामी यस्तै यस्तै नदीहरू, भिर–पहरा अनि अक्करहरू छिचोलेर गीत–सङ्गीत, वाङ्मय वा ललितकलाको समरमा लड्दै यहाँसम्म आइपुगेका छौं । साधनाको समुन्द्र अथाह हुन्छ ।
‘गाउँछ गीत नेपाली’ गीत कसले रचना गर्याे ? कसले सङ्गीत ? अनि ककसले गाएका हुन् ? म अन्योलमै थिएँ स्कुलमा रहँदा । तर दैनिक त्यही गीत बिहान–बिहान प्रार्थना गायन हुन्थ्यो । चौतीस सालपछि उपत्यका पसियो । काठमाडौ शहरको गतिविधि र पढाइ आरम्भले सर्लक्कै छोयो । नयाँ नयाँ साथीहरू नजिकिए । सम्बन्ध–साइनो बाक्लो हुँदै गयो । ऐतिहासिक त्रिचन्द कलेज जानु, पढ्नु र डेरा फर्किनुको दैनिकी चल्न थाल्यो । यस समय मैले कहिल्यै ‘गाउँछ गीत नेपाली’ गाउनु परेन ।
वि.सं.२०३६ सालपछिको सम्झनाको सेरोफेरोमा छु म । अर्थात् त्यहाँदेखि यता नेपालका गन्यमान्य साहित्यकार तथा सङ्गीतकर्मीहरू देख्ने, चिन्ने र प्रत्यक्ष भेट्ने मौका पाएँ । नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले वादन, अभिनय, नृत्य र गायन विधा–विषयमा तालिमको सूचना गोर्खापत्रले छाप्यो । मैले पनि निवेदन दिएँ र छनौट भई सहभागी हुने अवसर पाएँ । यसपछि नै हो मैले नेपालका धेरै धेरै अग्रज साहित्यकार तथा प्राज्ञिक व्यक्तित्वहरूलाई नजिकैबाट देख्ने र चिन्ने मौका पाएँ । सबभन्दा ठूलो कुरा मैले स्कुले विद्यार्थी हुँदा राष्ट्रिय गीतको रूपमा सुनेको ‘गाउँछ गीत नेपाली’, गीत कवि माधव घिमिरेको हो भन्ने जानकारी पाएँ ।
कमलादी स्थित नेपाल राजकीय प्रज्ञा–प्रतिषठानमा सङ्गीतको तालिम लिँदा पूरा एक वर्ष (२०३६ देखि ३७) बित्यो । वाद्य–सङ्गीत प्रशिक्षण दैनिक लिन बिहान ७ बजे कमलादी पुग्नुपथ्र्यौ । हाम्रा गुरू प्रशिक्षकहरू गोपालनाथ योगी (वादन), अम्बर गुरुङ (गायन), हरिहर शर्मा (नाटक), राधेश्याम प्रधान (नृत्य) आदि थिए । वैकल्पिक तालिम दिनेहरू श्याम परियार, मोहनकृष्ण परियार, प्रचण्ड मल्ल, नारायणदेवी प्रधान, शकुन्तला गुरुङ, दीपक जंगम आदि थिए । मलाई थाहा थिएन त्यहाँ कुलपति, उपकुलपति, सदस्य सचिव र सदस्यहरू पनि हुन्छन् भन्ने ।
बिस्तारै जानकारी हुँदै गयो । त्यस क्रममा ‘गाउँछ गीत नेपाली’का रचनाकार माधव घिमिरे (उपकुलपति) नै हो भन्ने पक्कापक्की भएपछि कवि÷गीतकार घिमिरे मेरो हृदयको गद्धी–चौतारोमा लेखिएको ढुंगे–सिलोटमा आवद्ध हुनुभयो । मेरो बाल मनोविज्ञानमा रहेका पुराना छाप अनि भ्रम हटे ।  हुँदै गरेको वय उमेरले भिन्न सोच बनायो । पूर्वातीत दृष्यहरू सम्झना भएर सल्बलाउन थाले । र नयाँ प्रत्यक्ष सानिध्यताले फरक महसुस गरायो ।
ने.रा.प्र.प्र.द्वारा सञ्चालित तालिम सकिनु अघि नै हामी प्रशिक्षर्थीहरूले ‘इन्द्रेणी सांस्कृतिक परिवार’ बनाएका थियौं । त्यसको नेतृत्व साथीहरूले मलाई दिएका थिए । शोभा श्रेष्ठले उपाध्यक्ष, सचिव सुनिल पोखरेल, कोषाध्यक्ष समन्त कंशाकार र अरु साथीहरू शैलेन्द्र सिमखडा, सावित्री ठकुरी, शिशिर श्रेष्ठ, सुदेश शर्मा, ध्रवेशचन्द्र रेग्मी, मानबहादुर गुरुङ, विजया गिरी, राजु सिलवाल, लाक्पाग्याल्जेन शेर्पा, पूर्णबहादुर थापा, सुमित्रा श्रेष्ठ, श्याम खड्गी, कुमार श्रेष्ठ, सङ्गीता शर्मा आदि सबै सदस्य थिए ।
तालिम समापनको प्रमाण–पत्र लिने अर्थात् दिक्षान्त समारोहका दिन प्रज्ञा–प्रतिष्ठानको हलमा एउटा भव्य साङ्गीतिक कार्यक्रम पनि हामीले प्रस्तुत ग¥यौ । सबै एक वर्ष प्रशिक्षण लिने कलाकारहरूको मात्रै प्रस्तुति थियो । त्यहाँ जागिरे कलाकारहरू थुप्रै भए पनि उनीहरू दर्शक दिर्धामा थिए । नाच, गीत, नाटक र वादनको प्रशिक्षार्थी संयोजन खुबै मिलेको थियो । करिब डेढ घण्टाको साङ्गीतिक प्रस्तुति हाम्रा निम्ति उल्लेखनीय रह्यो ।
कार्यक्रम हेरिसकेपछि कुलपति लैनसिंह वाङ्देल, उपकुलपति माधव घिमिरे र सदस्य–सचिव विजय मल्लले सम्वोधन–समीक्षा गर्नुभएको थियो । स्याबासी अनि प्रशंसाका पर्राले हामी पुलकित भएका थियौं । हामीलाई कला प्रशिक्षण गर्ने गुरूहरू भन्दा नि ठूला व्यक्तित्व प्राज्ञहरू हुनुहुँदो रहेछ भन्ने ज्ञान हामीलाई भएको थियो । र हामीले तालिमको प्रमाण–पत्र लिई आ–आफ्नो बाटो लागेका थियौं ।
हो, यही थियो कविवर माघव घिमिरेज्यूसँगको सानिध्यता । त्यही समयकालमा बालकृष्ण सम, हरिभक्त कटवाल, सिद्धिचरण श्रेष्ठ, केदारमान व्यथित, भूपी शेरचन, धर्मराज थापा, पूर्णप्रकाश नेपाल यात्री, ईश्वरबल्लभ, नयराज पन्त, नीरविक्रम प्यासी, आदि धेरै मुर्धन्य साहित्यकार व्यक्तित्वहरूलाई मैले नजिकैबाट देखेको, भेटेको र चिनेको थिएँ । माथि उल्लिखित स्रष्टा–सर्जकहरू आज कीर्तिशेष भइसक्नु भएको छ । प्राज्ञ तुलसी दिवस, रामशरण दर्नाल आदि लोकबाजाका अध्येता माउहरूलाई प्रज्ञा–प्रतिष्ठानकै परिसर आउँदा–जाँदा बिस्तारै जान्ने मौका पाएँ ।
तालिम सकिएपछि हामीले ‘राष्ट्रिय नाचघर’, ‘बुढानीलकण्ठ स्कुल’ र ‘महेन्द्र भवन’ स्कुलमा पनि टिकट सो सांस्कृतिक कार्यक्रम गरेर आय–आर्जन गरेका थियौं । राष्ट्रिय नाचघरका जी.एम. नारायणगोपाल थिए । शिक्षा तथा संस्कृति मन्त्री केशरबहादुर विष्ट थिए । यसको प्रसङ्ग भिन्न र लामै भएकाले यति नै । हामीले बुढानीलकण्ठ स्कुलमा साङ्गीतिक कार्यक्रम गर्दा एक विद्यार्थीको रूपमा कक्षा छ मा पढ्दै गरेका युवराज दीपेन्द्रले पनि भुइँमा बसेर साथीहरूसँगै त्यो कार्यक्रम हेरेका थिए । जुनबेला राजा वीरेन्द्रको राजकाज–रजगज थियो । बाहिर गरिएका कार्यक्रमा भने हामीसँग जोडिन आएका कलाकार गायिका हिरादेवी राई, गायक सूर्य थुलुङ, सितार वादिका विद्या लामा (मुकारुङ), नृत्यकार रेणु लामा आदि हुन् । जो नेराप्रप्रकै कर्मचारी कलाकार पनि थिए ।
वि.सं.२०३७ सालमैं ‘शकुन्तला गीति नाटक’का गीतहरू प्रतिष्ठानकै हल (मञ्च)मा रेकर्ड भएको थियो । त्यस गीतिनाटकका सङ्गीत निर्देशक नेपाल कला भूषण चन्द्रराज शर्मा र मुख्य गायक÷गायिका नारायणगोपाल, तारादेवी आदि थिए । ‘शकुन्तला गीति नाटक’का रचना उपकुलपति माधव घिमिरेको भएकाले पनि रेकर्डिङका बेला उहाँ सँधै आउनु हुन्थ्यो, चुपचाप सुन्नुहुन्थ्यो र समाप्तीसम्म बसेर जानुहुन्थ्यो । उक्त गीतिनाटक प्रदर्शनको ओपेनिङ सो राजा–रानीलाई पनि प्रदर्शन गराइएको थियो ।
गीतिनाटकका सहगायक–गायिकाहरू सूर्य थुलुङ, तारा थापा, हिरादेवी राई, ज्ञानु राणा र घिमिरेज्यूकै जेष्ठ सुपुत्री शान्ति घिमिरे आदि थिए । गीतिनाटकका मुख्य पात्र नारायणदेवी प्रधान, हरिबहादुर थापा थिए भने अन्य पात्रहरू सावित्री शर्मा, श्रीहरि श्रेष्ठ, श्याम खड्गी आदि थिए ।
गीतिनाटकका अन्तिम चरणका गीतहरू रेकर्ड हुँदा एउटा घटना घटेको थियो । मुख्य गायक तथा आयोजक प्रज्ञा–प्रतिष्ठानको द्वन्द्व भयो । सादय, गीत गाएको पारिश्रमिकमा हुनुपर्छ । र मुख्य गायक नारायणगोपालले गीतिनाटकको पछिल्लो भाग गीत गाउन  आएनन् । हिजोआजको जस्तो रेकर्डिङ पद्धति भए सजिलै हुन्थ्यो । तर त्यसबेला सबै म्युजिसियन वादकहरू प्रत्यक्ष रूपमैं उपस्थित भई गायन–वादन सँगसँगै गाउनु, बजाउनु पर्ने हुनाले त्यो समस्या आइ लागेको थियो ।
पछिल्ला गीतहरू एक चलेका पुरुष गायक जो नारायणगोपालको कपिस्वर निकाल्थे उनको स्वरमा गीत रेकर्ड भए तापनि उनको नाम गोप्य गरियो । पारिश्रमिक भने पाए उनले । ती घटना म किन लेखिरहेको छु भने ती रेकर्डिङमा मेरो श्रीमती विद्या लामा मुकारुङले सितार वादन गरेकी थिइन् ।
नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानले प्रत्येक वर्ष आयोजना गर्ने ‘कवि गोष्ठी’मा सहभागी रहने थुप्रै अग्रज तथा समकालीन कविहरू र कविहरूका कविता वाचन–प्रस्तुति खुवै रोचक हुने गदथ्र्यो । म कवि नभए पनि कविताले मलाई श्रोताको रूपमा तानिसकेको थियो । त्यस वर्षको शिर्षक थियो ‘आधारभूत आवश्यकता’ । गोष्ठीको संयोजक कवि तथा उपकुलपति माघव घिमिरे हुनुहुन्थ्यो । आयोजकका तर्फबाट कवि घिमिरेले ‘आधारभूत आवश्यकता’ शिर्षकको बेजोड कविता वाचन गर्नु भएको थियो । यस्तो कविता सुन्ने अहोभाग्य मैले पाएको थिएँ । आज सम्झँदा खुशीले फुरुङ्ग हुन्छ । विगत विगतै भए तापनि बलियो याद भएर आउँछ ।
र त्यो कविता सम्झन्छु –
‘तोपचरीको गुँडै राम्रो इसानतिर दैलो
भाइको भने घरै छैन कहाँ खेल्नु भैलो ।
रामराज्य हुने थियो यति इच्छा पुगे
मेरो मन दुख्छ हजुर भाइको मन दुःखे ।’ आदि
सच्चालीस सालको परिवर्तन पछि दरबारबाट आउने शिर्षक रोकियो । नत्र त्यो भन्दा अघि अर्थात् पञ्चायत व्यवस्था रहँदासम्म राजदरबारबाट आएकै शिर्षकका आधारमा कविता रचना गरी प्रतियोगितामा कविहरूले भाग लिनु पर्दथ्यो । कविहरू स्वतन्त्र थिएनन् । पुरस्कृत कविहरूलाई राजाकै बाहुलीबाट नगद तथा प्रमाण–पत्र प्रदान हुने चलन थियो । ती दिनहरू इतिहासको खोपीमा बन्द भइसके । आजको राजनीतिक परिवर्तनले अनेकन् पुराना चलन–प्रचलनलाई विसर्जन गरिसक्यो । कविहरू कविता लेख्न स्वतन्त्र छन् । कुनै विषय वा सन्दर्भको दरकार रहँदैन । तर शब्दको संख्या भने राखिएकै देखिन्छ ।
त्यही समयकालमा कवि माघव घिमिरेले ‘मालती–मंगले’ गीतिनाटक रचना गर्नुभयो, र त्यसको सङ्गीत निर्देशन अम्बर गुरुङले । वाद्यवादकहरू क्रमशः गोपालनाथ योगी, सुशीला अमात्य, लीलाबहादुर गुरुङ, श्याम परियार, मदन परियार, प्रकाश गुरुङ, होमनाथ उपाध्याय, विद्या लामा, विजय सुनाम, केशव सुनाम, मोहनकृष्ण परियार, आदि थिए । यस गीतिनाटकका मुख्य गायक–गायिका नारायणगोपाल र तारादेवी नै थिए । अभिनयमा मुख्य पात्र हरिबहादुर थापा र लक्ष्मी श्रेष्ठ थिए । उक्त गीतिनाटक अत्याधिक सफल र चर्चित भयो । गीतिनाटकका गीत र सङ्गीतको संयोजनले ‘मालती–मंगले’ प्रभावशाली बन्यो । जनबोली र मेरा मनमा समेत रहिरहेका गीतहरू –
‘ढोका खोल मालती ढोका खोलन
ढोका खोल्नु पहिले केही बोलन ।’
या
‘आजभोलि दुख्दैन गोडा मैनो काँडो टेके पनि
रुन्छ मन चिरिन्छ छाती जोडी ढुकुर देखे पनि ।’
छत्तीस सालदेखि चालीस सालसम्म प्रज्ञा–प्रतिष्ठानमा प्रदर्शित चर्चित भएका गीतिनाटक ‘सिम्मा’–निर्देशक रायन, –‘मालती–मंगले’, नाटकहरू ‘स्मृतिको पर्खालभित्र’, ‘सन्त्रास र जिन्दगी’–लेखक विजय मल्ल, नाटक निर्देशक हरिहर शर्मा, ‘रातको प्रथम प्रहर’–निर्देशक प्रताप सुब्बा, आदि हुन् । त्यसबेला चर्चित र दर्शकको रोजाइमा परेका गीतिनाटककै कुरा गर्ने हो भने ‘शकुन्तला’, ‘सिम्मा’, ‘मालती–मंगले’ नै हुन् । यसपछि गीतिनाटकको युग समाप्तै भए सरह भयो । तर चालीस सालपछि नाचघर र सभागृहमा पनि केही नाटकहरू प्रदर्शित गरिएका थिए ।
कवि, गीतकार माधव घिमिरेको रेडियो नेपालबाट प्रसारण भएका साथै जनजीवनमा लोकप्रिय भएका थुप्रै गीतमध्ये केही गीतहरूका प्रसङ्ग यहाँ उल्लेख गर्न सान्दर्भिक रहला । नारायणगोपालको स्वर तथा नातिकाजीको सङ्गीतमा रहेको ज्यादै चर्चित गीत –
‘आज र राती के देखेँ सपना मै मरी गएको
बतास बिना फूलको हाँगा भुइँ झरी गएको ।’
यसरी नै कवि, गीतकार माधव घिमिरेद्वारा रचित पुराना साथै चर्चित गीतहरू –
‘सय र पत्री फूलै र फुल्यो बाबाको बारीमा
अचेलभरि हृदय मेरो डाँडाको पारिमा ।’
उल्लिखित गीत गायिका दावा ग्याल्मोले गाएकी हुन् भने सङ्गीत अशोक राईको हो । सङ्गीतकार तथा गायिका दुवै दार्जीलिङका कलाकार हुन् । अर्को यस्तै लोकप्रिय गीत हो तारादेवीको स्वर तथा नातिकाजी र शिवशङ्करको सङ्गीतमा रहेको गीत –
‘फूलको थुँगा बगेर गयो गंगाको पानीमा
कहिले भेट होला नि राजै यो जिन्दगानीमा ।’
कवि, गीतकार माधव घिमिरेका अन्य अनेकन् गीतहरू चर्चित गायक–गायिकाहरूले नै गाए तापनि चर्चा–परिचर्चा हुन नसकेका गीतहरू पनि छन् । जस्तै ‘आजभोलि’–स्वर पुष्प नेपाली, सङ्गीत नातिकाजी, ‘बसी राम्रो देउराली त’–स्वर नारायणगोपाल, सङ्गीत नातिकाजी आदि हुन् ।
कुलपति भइसकेपछि माधव घिमिरे लगायत समकालीन प्राज्ञहरूलाई व्यवस्था परिवर्तन र समयले पाखातिर लगायो । प्राज्ञिक क्षेत्रमा पनि हुलमाल होहल्ला हुन थाल्यो । र समय अवघि नपुग्दै कुलपति घिमिरेको टिमले नै राजिनामा दिनुपयो । तथापि, प्राज्ञ सदस्य नयराज पन्तले भने राजिनामा गरेनन् । आफ्नो पूरा समय अवघिसम्म काम गर्न भ्याए र निवृत्त भएका थिए ।
राष्ट्रकवि माधवप्रसाद घिमिरे (वि.सं.१९७६ असोज ७–२०७७ भदौ २)लाई ‘नइ प्रकाशन’ काठमाडौंले ‘राष्ट्रकवि’ वि.सं. २०५५ सालमैं घोषणा गर्दै उपाधी शब्दालङ्करण गरेको थियो । त्यसपछि ‘नेपाल सरकार’ले भने वि.सं. २०६० सालमा आधिकारिक स्वीकृति गरेको थियो ।
उमेरको उकालो निक्कै उक्लिए पनि राष्ट्रकवि घिमिरेले सामाजिक कार्यक्रममा अतिथि, प्रमुख अतिथिको भूमिका निर्वाह गरिरहनु भयो । ती भेट भन्दा अन्य प्रयोजनमा हाम्रो भेट हुन सकेको थिएन । तर म ‘राष्ट्रकवि’ज्यूको गीत, कविता वा कुनै पनि कृतिहरूका आँखा चिम्लेर समर्थन गर्ने व्यक्ति थिएँ र आज पनि छु । मेरो एकल सङ्गीतको सी.डी.एल्बम ‘जखम’को अनावरण राष्ट्रिय नाचघरको ठूलो हलमा भएको थियो ।
सोही कार्यक्रमका लागि अनुरोध गर्न लैनचौर स्थित घरमा जाँदा गीतकार सुरेश घिमिरे निश्चिन्त, गीतकार नरेश भट्टराई (एफ.एम.कार्यक्रम सञ्चालक), केही फोटोग्राफरहरू र ‘जखम’ एल्बमका गीतकार डी.आर.उपाध्याय आदि पुग्यौं । धेरै अघिदेखि नै राष्ट्रिकविले मलाई चिनेका हुनाले देख्ने बित्तिकै ए बुलु मुकारुङ ! भनेर डाक्नुभयो । साथीहरू आश्चर्यानुभूतिले हाँसिरहे । ‘राष्ट्रकवि’ज्यूको जेष्ठ सुपुत्री शान्ति दिदीले बुबालाई ओखती ख्वाउनु हुँदैथ्यो र बसौंन ! भन्ने आग्रह गर्नुभयो । मैले दिदीलाई नमस्कार गरेँ । दिदीले मेरो बारेमा भन्दा विद्या (मेरी श्रीमती)को के हाल खबर छ ? भनेर सोध्नु भएको थियो । हाम्रो सम्बन्ध पारिवारिक नभए पनि लगभग नजिकको थियो ।
सुकीर्तिशेष राष्ट्रकविका बारेमा संस्मरण लिपिवद्ध गर्दा म झण्डै पैंतालीस वर्षअघि पुग्छु । तर कतिपय सम्झना मेरा स्मृति पटलबाट विलुप्त भइसके । उहाँको शालीन स्वभाव र कविता उस्तै उस्तै हुन् भन्दा अत्युक्ति हुँदैन । नेपाली झर्रो लोकशब्दमा विलेपित भएर झ्याउरे लयमा लेखिएका गीतहरूले नेपाली जनमनको हृदय खिचेको–खैंचिएको देखिन्छ । जसलाई गीति आकर्षण भन्नुपर्ने हुन्छ । जसमा गायक–गायिकाले आ–आफ्ना मीठा स्वरकण्ठार्पण गरिदिँदा झन् अझै माधुर्यता बढोत्तरी भएको पाइन्छ ।
सुकीर्तिशेष राष्ट्रकविका गीति कृतिहरू अब्बल हुनु र चर्चित–लोकप्रिय बन्नुमा गीतले सरक्कै नेपाली लोकजीवन अँगाल्नु नै हो भन्ने मलाई लाग्दछ । सरल शब्दमा तेजिलो तुकबन्दी, हृदय तलसम्म प्रभाव छोड्न सक्ने सामथ्र्य सुकीर्तिशेष राष्ट्रकवि माधव घिमिरेका गीति कारितामा मात्रै पाइने उनको विशेषता हो, थियो भन्ने मेरो ठम्याइ रहेको छ ।
चाबहिल–७,
लामोपोखरी मार्ग–२३६,
काठमाडौं, नेपाल ।

Your Opnion

//