नेपाली सङ्गीतलाई एकपछि अर्को क्षती - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

नेपाली सङ्गीतलाई एकपछि अर्को क्षती

  • बुलु मुकारुङ August 13, 2024
वरिष्ठ सङ्गितकार बुलु मुकारुङ
नेपाली सङ्गीत यति बृहत बन्नुमा अनेकन् कलाकारहरू योगदान रहेको छ । त्यही योगदानका कारण नै कलाकर्मीलाई समाजले आज पनि सम्झिरहने हो । उनीहरूले बनाएर गएको सिर्जनशील सङ्गीतको स्तम्भ आज हामी हेरिरहेका छौं । र अर्को माइलखुट्टी निर्माण गर्ने जमर्कोमा छौ ।
नेपाली सङ्गीतको उठान नेपालकै प्राचीन इतिहास र सभ्यतासँग जोडिएको कुरा विद्वानहरूको आधरणा देखिन्छ । आजको उन्नत नेपाली सङ्गीतको जग–जमिन कम गहिरो छैन । हामीले गोपाल भने पनि अहिर, किरात वा लिच्छवी, मल्ल भने पनि त्यो हिजोको कमाइ थियो । हिजो बिना आज हुनै सक्दैन । फरक यति हो कि सभ्यता, विकास र परिवर्तन सँधै एक ठाउँमा रहँदैन ।
जसरी मान्छेको विश्वव्यापी विचरण हुन्छ । यात्रा वा बसाइ-सराई हुन्छ । र मानिससँगै भाषा, भेष र सङ्गीत सँगसँगै यात्रा गर्दछ सङ्गीत पनि । यो लेख त्यसतर्फ जाँदैन । तर भर्खरै दिवंगत सुर-सङ्गीतकर्मीका ससाना परिचय दिने कोशिस गरिएको छ । यो साउन महिनामा चार जना सङ्गीतकर्मीले बिदा लिनुभयो । यसैले चारै जना प्रतिभा छोटो परिचय यहाँ उल्लेख गर्न गइरहेको छु ।
लक्ष्मीप्रसाद जोशी (एल.पी.जोशी) (वि.सं.१९९३ लक्ष्मी पूजा २०८१ साउन १०)
गायक लक्ष्मी जोशीको पहिलो गीत ‘नेपाली माया नेपालै कस्तो छ’, सरमा सर अक्षरै लेख्ने नेपाली कागजमा’ (२०१३ रेडियो नेपाल) हो । गायक जोशी लोकगायक मात्र नभएर लोकनृत्यकार पनि थिए ।
उनका अन्य चर्चित गीतहरू ‘खिपिमा खिपी बिनायो बाजा मुखैको तालमा बज्दै छ गम्केर रेसम’ (२०१८ रेडियो नेपाल),–स्वर लक्ष्मी जोशी, ‘रिटिङ रिटिङ नबजाऊ बिनायो’,–स्वर लक्ष्मी जोशी, तारादेवी, गङ्गा राणा, सुरेन्द्र श्रेष्ठ ‘ओल्लो खोलो हो पल्लो खोलो’, –स्वर लक्ष्मी जोशी, तारादेवी, गङ्गा राणा,‘बाख्राको पाठोले म्याँ गर्छ’,–स्वर लक्ष्मी जोशी, चन्द्र श्रेष्ठ, ‘केको कोर्को केको कोर्को कुराउनीको कोर्को नि साइँला’,–(२०१९) ‘साँगुरीको डाँडैडाँडा झ¥यो देशी लाहुरे मायालु’ –स्वर लक्ष्मी जोशी, ‘उकाली ज्यानको चप्लेटी ढुङ्गा कान्छी मट्याङ ट्याङ’ (२०२२)–स्वर लक्ष्मी जोशी र उपेन्द्र दुःखी, ‘उकाली ज्यानमा लौ तिर्खा लाग्यो खाऊँ काँकरी चिरेर रेसम’ –स्वर लक्ष्मी जोशी आदि हुन् । उल्लिखित गीतहरूमा अन्य स्थापित तथा चर्चित गायकले साथ दिएका छन् ।
जोशीका बाबु सु।कृष्णमान सिंह जोशी तथा आमा विष्णुकुमारी जोशी हुन् । १७–१८ वर्षको उमेरदेखि नै गीताङ्गे बनेका जोशीले लोकगीत प्रतियोगितामा स्वर्ण पदक–२०१९, २२ र २९ सालमा पनि प्राप्त गरेका छन् । उनको ‘रिटिङ रिटिङ’ नामको क्यासेट एल्बम पनि बजारमा आएको छ ।
सोभियत रुसका नौवटा राज्यमा साङ्गीतिक कार्यक्रम प्रस्तुत गर्न सफल गायक जोशीको एक लोकगीत कृति ‘अनावृत’ (२०६०) पनि प्रकाशित छ । उनका सहकर्मीहरू चन्द्र श्रेष्ठ (गितारवादक), उपेन्द्र दुःखी, गणेश खुँजेली, नवीनकिशोर राई, साथै अनुयायीहरू गङ्गा र जमुना जोशी, देवी राई सप्तु, चन्द्रा राई बिच्छु, ठेम्के राई (मादले) उडिजा राई नृत्यकार, दीपा राई, कीर्ति राई, लक्ष्मी श्रेष्ठ, वीरबहादुर श्रेष्ठ, रघुुनन्दन थापामगर, कृष्णबहादुर आदि धनकुटे कलाकारहरू हुन् । उनलाई मानार्थ डाक्टर उपाधी अलङ्करण (२०८१) गरिएको थियो । उनी हँसिला, रसिला र फरासिला थिए । उनलाई विभिन्न राष्ट्रिय सम्मान, अभिनन्दन तथा नगद पुरस्कारले सम्मान गरिएको थियो ।
गुरुदेव कामत (वि.सं. २०१५ असोज १५–२०८१ साउन १७)
सिराहा जिल्लाको पोखरभिट्टामा जन्मेका गुरुदेव कामतका बुबा लक्ष्मण कामत तथा आमा अगरबत्तीदेवी कामत हुन् । गायनमा सङ्गीतप्रभाकर कामतका पहिलो गुरु जगदेव कामत हुन् । त्यसपछि उस्ताद नथुनी मिझारसँग लामै समय शास्त्रीय सङ्गीत गायन सिकेका थिए । उ।नथुनी मिझार प्रसिद्ध गायक मुरलीघर मिझारका छोरा हुन् ।
वि.सं. २०५१ मा रेडियो नेपालको सङ्गीत प्रतियोगितामा गायनमा प्रथम भएका गुरुदेव अहिले सबैका गायन गुरु भएको पाइन्छ । ‘प्रस्तार’ भाग–१, क्यासेट प्रकाशित गरेका कामतले थुपै्र सम्मान तथा प्रशंसा पनि पाएको देखिन्छ ।
प्रसिद्ध गायक भक्तराज आचार्य, तारादेवी र गोपाल योञ्जनजस्ता अग्रज कलाकार गायक कामतका चुनिन्दा सङ्गीतकर्मी थिए । जो नेपाली सङ्गीतका प्रसिद्ध साधकहरू थिए । उनको गायकी र गलाकारितामा ती कुराहरू प्रतिबिम्बित हुने गर्दछ । तर गायक कामतको गायन नेपाली सुफीशैलीको रहेको थियो । भारतीय गायकसँग तुलना गर्नुपर्दा हामी कैलाश खेरलाई सम्झन सक्छौं ।
शास्त्रीय गायक कामतले भारत, स्विटजरल्यान्ड, जर्मनी, दुबई आदि मुलुकको भ्रमण गरिसकेका छन् । ‘कुन बाटो जाने’ – रचना तथा सङ्गीत भरत लामा, ‘मेरो यति शान्त’ –रचना पुष्पलता आचार्य, सङ्गीत फत्तेमान, ‘तिमीले दिएका चोट’ –रचना सावित्री राउत, ‘आँसु पिउँदै जिन्दगी’ –सङ्गीत दिनेश सुब्बा, आदि गीत गायक तथा सङ्गीतकार गुरुदेव कामतले गाएका छन् । कलाकार कामतलाई विभिन्न सङ्घ–संस्थाले अभिनन्दन तथा सम्मान गरेको थियो । उनी गायनमा धेरै पटक पुरस्कृत भइसकेका कलाकार थिए ।
भीम राई (वि.सं. २०३३ मङ्सिर ७–२०८१ साउन २४)
गुप्तेश्वर, दावाँ, हाल टेम्के–मैयुङ गाउँपालिका, भोजपुरमा जन्मेका भीम राईका आमाबाबु फूलमाया राई र तेजबहादुर राई (सामसोङ इसारा) हुन् । काठमाडौं आइ आर आर क्याम्पसमा आइ ए पढ्न थाले पछि भीम राईलाई गायक बन्ने सुर चलेको थियो । बी.ए. पढ्न थालेपछि साथीभाइले धेरै उक्साएपछि उनी रेडियो नेपालमा स्वर परीक्षा दिन सफल भए । र उनी एक गायक बने ।
गायक राईका ‘हराएछु बाटो मैले’ –रचना हीराकाजी थापा, ‘खै के जिन्दगी हाम्रो’ –रचना÷सङ्गीत कृष्णभक्त राई, ‘भोजपुरैको देउराली डाँडा गाउँ’ –रचना÷सङ्गीत गायक, ‘जिन्दगीमा आज मैले’ –रचना बुद्धवीर लामा, सङ्गीत शम्भु राई, ‘ढाकाको टोपीले’ –रचना कविता राई, सङ्गीत रामकुमार राई, ‘पानी पातैमा’ –सङ्कलक शुभ मुकारुङ, ‘बुद्धको देश’ –रचना किरण अर्याल, ‘नेपाल नै सबैभन्दा’ –रचना किरण अर्याल, सङ्गीत जितेन राई आदि गीत रेडियो नेपालमा रेकर्ड भएका छन् ।
यस बाहेक उनको अर्को प्रतिभा पनि थियो । त्यो हो मार्सल आर्ट । उनले त्यसतर्फ पनि राम्रै तरक्की गरेका थिए । तर उनले कहिल्यै आफू कराँते खेलाडीको रूपमा प्रस्तुत भएनन् । विनम्र बोली चाली थियो उनको । त्यसैले उनलाई अग्रज सङ्गीतकार नातिकाजी, शिवशङ्कर, कोइलीदेवी, तारादेवी साथै मीरा राणा, शम्भुजित बासकोटा आदिले प्रेरणा, हौसला दिएका थिए । नियतीले उनलाई पनि असमयमैं चूड्यो ।
प्रकाश तिमल्सिना (वि.सं. २०४४ वैशाख १–२०८१ साउन २६)
गायक प्रकाश तिमल्सिना दृष्टिविहीन गायक थिए । उनी मीठो आवाजका धनी थिए । उनका ‘दिव्य दृष्टि’ र ‘प्रकाश’ एल्बम प्रकाशित छन् । उनले नेपालका विभिन्न स्थानका साथै कतार, हङकङ आदि मुलुकमा पनि आफ्नो एकल गायन गरिसकेका थिए । उनको गायकी प्रभावशाली रहन्थ्यो । नेपाली सङ्गीत क्षेत्रले धेरै आशा अपेक्षा गरेका युवा गायक तिमल्सिना यति चाँडै महाप्रस्थानमा जान्छन् भन्ने सोचिएको थिएन । तर भयो यस्तै । यो दुखद क्षण हो ।
उनी सुनसरी जिल्लाको प्रकाशपुर गाविसमा भएको हो । एक अब्बल युवा गायकको असामयिक निधन नेपाली सङ्गीत क्षेत्रका लागि ठूलो क्षती पुगेको छ । उनको उम्दा समयमा अर्थात् सङ्गीतका लागि उर्बर उमेरमा नै दिवंगत हुनुले नेपाली सङ्गीत क्षेत्र आहत–मर्माहत बनेको छ । यो अपुरणीय घाटा कतैबाट पनि पुरिन नसक्ने भएको छ । हार्दिक श्रद्धान्जली सबै दिवंगत सङ्गीतकर्मीप्रति । परिवार जनमा हार्दिक समवेदना ।
२०८१ साउन २८,
काठमाडौं ।

Your Opnion

//