स्याङ्जामा नागरिकता लिनेभन्दा पासपोर्ट लिने बढी - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

स्याङ्जामा नागरिकता लिनेभन्दा पासपोर्ट लिने बढी

फाइल फाेटाे

वालिङ (स्याङ्जा)/ २७ साउन । स्याङ्जामा नागरिकता लिनेभन्दा राहदानी (पासपोर्ट) बनाउनेको सङ्ख्या बढी रहेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट नागरिकता बनाउनेभन्दा राहदानी लिनेको सङ्ख्या पाँच हजारभन्दा बढी रहेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी दीपक पौडेलका अनुसार आव २०८०/८१ मा स्याङ्जाबाट ९ हजार ४८७ जनाले नागरिकता लिएका थिए । सोही अवधिमा चौध हजार ८२२ जनाले राहदानी लिएका छन् ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जा र इलाका प्रशासन कार्यालय वालिङबाट कुल १५ हजार १९३ राहदानी सिफारिस गरिएको थियो । सिफारिस गरिएका राहदानी बनेर आए पनि व्यक्ति लिन नआउँदा सिफारिसभन्दा वितरण थोरै देखिएको हो । गत आवमा राहदानी बनाएकामध्ये ३७१ राहदानी वितरण गर्न बाँकी नै रहेको उनले बताए ।

जिल्ला प्रशासन कार्यालय र वालिङस्थित इलाका प्रशासन कार्यालयबाट नागरिकता तथा राहदानी वितरण हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट आव २०८०/८१ मा प्रतिलिपिबाहेक वंशजका आधारमा र गैरआवासीय नागरिकता चार हजार ९०४ वितरण गरिएको सूचना अधिकारी पौडेलले बताए ।

सोही अवधिमा इलाका प्रशासन कार्यालय वालिङबाट चार हजार ५८३ नागरिकता वितरण भएका थिए । दुवै कार्यालयबाट गत आवमा कुल नौ हजार ४८७ नागरिकता वितरण भएका थिए ।

स्याङ्जाबाट वैवाहिक अंगीकृत नागरिकता २४ वितरण भएका सूचना अधिकारी पौडेलले बताए । स्याङ्जाबाट १९ र वालिङबाट पाँच वैवाहिक अंगीकृत नागरिकता वितरण भएका थिए । कुल चौध हजार ८२२ राहदानीमध्ये स्याङ्जाबाट सात हजार ४४३ र वालिङबाट सात हजार ३७९ वितरण भएका थिए ।

“जिप्रका तथा इप्रकाबाट नागरिकताभन्दा राहदानी लिने सेवाग्राही बढी छन्,” उनले भने, “अध्ययन, रोजगारीका लागि तथा घुम्न जाने, तत्काल आवश्यक नपरे पनि बनाएर राख्ने तथा चाहिँदा तत्काल प्रयोग गर्न पाइने भएकाले पनि राहदानी बनाउनेको सङ्ख्या धेरै देखिएको हो ।”

Your Opnion

//