शिलान्यासमै सीमित अस्पताल निर्माण - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

शिलान्यासमै सीमित अस्पताल निर्माण

  • तिलाचन पाण्डेAugust 8, 2024
तस्बिर गाेरखापत्र

तम्घास/ २४ साउन । हतारमा शिलान्यास गरिएका १५ शय्याका अस्पताल निर्माणमा विलम्ब गरिएको छ । २०७७ साल मङ्सिर १५ गते तामझामका साथ शिलान्यास गरेका अस्पतालको अवस्था कतै शिलान्यासमै सीमित छन् भने कतै निर्माणमै अन्योलको स्थिति देखा परेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले देशभरका ३९६ स्थानीय तहमा एकै दिन अस्पतालको शिलान्यास गर्ने निर्णय अनुसार गुल्मीमा शिलान्यास भएका अस्पतालको अवस्था दयनीय छन् ।

उतिखेर केन्द्रीय मन्त्री, पूर्वमन्त्री, प्रदेश स्तरका मन्त्री र प्रदेश सभा सदस्यले गाउँ गाउँमा पुगेर एकै दिन दुईरतीन वटा अस्पतालको शिलान्यास गर्न आतुर भए । शिलान्यास भएको झन्डै चार वर्ष पुग्न लाग्दा पनि थुप्रै स्थानीय तहका अस्पताल निर्माणको कामले गति लिन सकेको छैन ।

शिलान्यासमै सीमित छत्रकोट

छत्रकोट गाउँपालिकाको १५ शय्याको अस्पताल तत्कालीन लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले शिलान्यास गर्नुभयो । वडा नं ४ शृङ्गामा अस्पतालको शिलान्यास गरेको झन्डै चार वर्ष पुग्न लाग्दासमेत अस्पताल बन्ने नबन्ने अन्योल छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले शिलान्यास गरिएको जग्गा भवन मापदण्ड अनुसार नभएकाले लामो कसरतपश्चात् जग्गाको व्यवस्थापन गर्ने काम सम्पन्न भएको जानकारी दिए । जग्गा प्राप्तिको काम सम्पन्न भई डिपिआर तयार भएको र डिपिआर स्वीकृत कसले गर्ने भन्नेबारेमा केन्द्रमा अन्योल रहेका कारण समस्या भएको उनको भनाइ छ ।

मालिकाको बोलपत्र हुँदै

मालिका गाउँपालिका-४, अर्खबाङमा पूर्वमन्त्री तथा सङ्घीय सांसद गोकर्णराज विष्टले तामझामका साथ अस्पतालको शिलान्यास गरे । उक्त शिलान्यास गरिएको अस्पताल शिलान्यासमै मात्र सीमित भएको छ । शिलान्यास गरिएको जग्गामा मापदण्ड नपुगेको र अस्पताल निर्माण कार्य हुन नसक्ने भएकाले नजिकै जग्गाको व्यवस्थापन गरी यस वर्ष टेन्डरको प्रक्रियामा रहेको प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिए ।

धुर्कोटमा बल्ल सुरु

धुर्कोट गाउँपालिकाको धुर्कोट रजस्थलमा अस्पताल निर्माणका लागि खनिएको बेस ९घडेरी मा० पहिरो आएका कारण निर्माण अगाडि बढ्न सकेको थिएन । गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलका अनुसार लामो समयको कसरतपश्चात् मन्त्रालयबाट डिपिआर र नक्सा परिवर्तन गरी आएकाले अस्पतालको निर्माण कार्य सुरु गरिएको छ । पूर्वमन्त्रीसमेत रहेका गोकर्णराज विष्टले शिलान्यास गरेको अस्पताल निर्माणको जिम्मा रविना-अर्जुन-न्यु लिजा जेभीले १३ करोड बढीको लागतमा पाएको छ ।

इस्मामा २३ प्रतिशत काम

इस्मा गाउँपालिका-४, दोहलीस्थित गुरुङगाडेमा १५ शय्याको अस्पताल निर्माण २३ प्रतिशत भौतिक प्रगति भएको छ । प्राविधिक सहायक सन्तोष थापाका अनुसार केही दिनभित्रमा पहिलो तलाको ढलान गर्ने गरी काम अगाडि बढेको छ । पहिलो तलाको ढलान सम्पन्न हुँदा ३० प्रतिशत भौतिक प्रगति हुने छ । १० करोड ८५ लाख ३६ हजारको लागतमा सुनिल-समीर निर्माण सेवाले निर्माणको जिम्मा पाएको छ ।

रुरुक्षेत्रमा ७० प्रतिशत काम

रुरुक्षेत्र गाउँपालिकाको वडा नं १ को रातामाटामा निर्माणाधीन अस्पतालको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेका अनुसार भौतिक र आर्थिक प्रगति करिब ७० प्रतिशत भएको छ । यस आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको उहाँको भनाइ छ । अस्पतालको लुम्बिनी प्रदेशका तत्कालीन सामाजिक विकासमन्त्री सुदर्शन बरालले शिलान्यास गरेका हुन् । प्रकृति-पिटिआर-अधिकारी-राजेश्वरी जेभी सन्धिखर्कले १४ करोड ४२ लाख ८२ हजार ६५९ रुपियाँको लागतमा अस्पताल निर्माणको जिम्मा पाएको छ  ।

कालीगण्डकीमा ४० प्रतिशत भौतिक प्रगति

तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बाजागाजा र तामझामका साथ शिलान्यास गरेको अस्पतालको करिब ४० प्रतिशत भौतिक प्रगति भएको छ । गाउँपालिकाको वडा नम्बर ३, कनौटामा करिब साढे १२ करोडको लागतका खिम्ती-श्रेष्ठ-अन्जना जेभीले अस्पताल निर्माण गरेको छ । अस्पतालको करिब ४० प्रतिशत भौतिक प्रगति भएको इन्जिनियर सत्यनारायण राईले जानकारी दिए । अस्पतालको शिलान्यास गरेलगत्तै मन्त्री ज्ञवाली हेलीमार्फत पोखरा हुँदै मन्त्रीपरिषद्को बैठकमा सामेल हुन हतारमा काठमाडौँ फर्किएका थिए ।

सत्यवती गाउँपालिकामा १५ शय्याको अस्पताल वडा नं ६, जोहाङमा निर्माण अन्तिम तलाको ढलान तयारी भइरहेको छ । पालिकाका इन्जिनियर आशिष भट्टका अनुसार ६५ प्रतिशत भौतिक प्रगति सम्पन्न भएको छ । १२ करोड रुपियाँभन्दा बढीको लागतमा आशिष-योगेश्वर जेभी काठमाडौँ निर्माण सेवाले निर्माण कार्यको जिम्मा पाएको छ । मदाने गाउँपालिका-६, पुर्कोटदहमा अस्पताल निर्माणको भौतिक प्रगति ६५ प्रतिशत सम्पन्न भएको छ । प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीका अनुसार ६५ प्रतिशत भौतिक प्रगति र ६० प्रतिशत आर्थिक प्रगति भएको छ । हिमदुम-एसी निर्माण कम्पनी बागलुङले १२ करोड ४८ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको छ  । मुसीकोट नगरपालिका-७ मा १५ शय्याको अस्पतालको निर्माण ७५ प्रतिशत भौतिक प्रगति भएको स्वास्थ्य शाखा प्रमुख डिबी जिसीले जानकारी दिनुभयो । उक्त अस्पतालको निर्माणको जिम्मा खिम्ती-श्रेष्ठ-कालीगण्डकी जेभीले पाएको छ । ११ करोड १० लाख २६ हजार १०८ रुपियाँ लागतमा अस्पताल निर्माण हुने छ ।

भुक्तानी नपाएको गुनासो

गुल्मी दरबार गाउँपालिका-३ को झाँक्री डाँडामा १५ शय्याको अस्पताल निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न भए पनि एक करोड ३५ लाख रुपियाँ भुक्तानी नभएको निर्माण व्यवसायीले गुनासो गरेका छन। बिकोइ-अर्जुन-न्यु लिजा जेभीले १२ करोड ९४ लाखमा अस्पताल निर्माणको जिम्मा पाएको थियो । चन्द्रकोट गाउँपालिका-४, शान्तिपुरमा पनि अस्पताल निर्माण सम्पन्न भएको छ । कुल १३ करोड ६६ लाख ४४ हजार ७३६ रुपियाँमा तुल्सीभक्त-अर्जुन बिल्डर्स जेभीले निर्माण सम्पन्न गरेको छ । अस्पताल निर्माणको सम्पन्न भए पनि करिब दुई करोड रकम आफूले पाउन बाँकी रहेको निर्माण व्यवसायी लक्ष्मी खनालले बताए ।

चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी शिव ज्ञवालीका अनुसार गत वर्ष नै कार्य सम्पन्नको प्रतिवेदनसहित सम्बन्धित मन्त्रालयमा भुक्तानीका लागि पत्र पठाएको बताए । गोरखापत्र

Your Opnion

//