फैलियो हैजा - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

फैलियो हैजा

प्रतिकात्मक तस्बिर

काठमाडौँ/ १६ साउन । यसवर्षको हालसम्म देशभर २० जना बिरामीमा हैजा पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले काठमाडौँ, ललितपुर र कैलालीमा गरी २० जनामा हैजा पुष्टि भएको जानकारी दिए ।

उनले सहरी क्षेत्रमा बढ्दो जनधनत्वसँगै सुरक्षित खानेपानी र पर्यावरणीय स्वच्छतामा कमी तथा बाढीपहिरोका घटनाले पानी तथा सरसफाइका पूर्वाधारमा पार्ने नकारात्मक असरका कारण नेपालमा हैजाको सङ्क्रमण देखिने गरेको बताए ।

अति सङ्क्रामक र शीघ्र फैलिने झाडापखाला भएकाले हैजाको मुख्य लक्षण चौलानी पानी जस्तो दिसा आउने, वाकवाकी लाग्ने, वान्ता हुने र कडा जलवियोजन हुने गर्दछ ।

सङ्क्रमणले गम्भीर अवस्थामा पुर्‍याउँदा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, पिसाबको रङ्ग पहेँलो हुने, रक्तचाप कम हुने, मुटुको धड्कन अनियन्त्रित हुने र बेहोस हुनसक्ने मन्त्रालयका प्रवक्ता बुढाथोकीले बताए ।

‘हैजाका बिरामीलाई तुरुन्तै अस्पताल नपुर्याए ५० प्रतिशतको मृत्यु हुने सम्भावना हुन्छ । हैजा सङ्क्रमितमध्ये ८० प्रतिशतमा कुनै लक्षण विकसित हुँदैन तर उनीहरूको दिसामा पहिलादेखि १० दिनसम्म भिब्रियो कोलेरा ब्याक्टेरिया रहन सक्छ र लक्षण देखिएकामा पनि ८० प्रतिशतलाई मन्ददेखि मध्यमस्तरको लक्षण देखिन्छ । २० प्रतिशतलाई चौलानी जस्तै दिशा हुने र पानीको अभावजस्ता तीव्र लक्षण देखिन्छन्’, उनले भने ।

झिगा लागेको, बासी, सडेगलेको, नपाकेको, चिसिएको खुलास्थानका खाद्यपदार्थ नखान, पानीलाई उमालेर वा क्लेरिन प्रयोग गरेर मात्र प्रयोग गर्न र गराउन, व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिनुका साथै दिशापिसाब गरिसकेपछि साबुन पानीले मिचिमिची हात हुन मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

हैजा के हो, कसरी लाग्छ ?
यो गम्भीर प्रकृतिको झाडापखाला हो । यो भिब्रियो कलेरा नामक जीवाणुका कारण लाग्छ । हैजा लागेमा निरन्तर पातलो चौलानीजस्तो दिसा लाग्छ । जसकारण शरीरमा सोडियम, क्लोराइड (इलेक्ट्रोलाइट्स) जस्ता तत्वहरूको अभाव हुन्छ । समयमै उपचार नभएमा बिरामीको ज्यानै पनि जान सक्छ ।

यसमा पेट दुख्ने र ज्वरो आउने जस्ता लक्षणहरू देखिँदैन । हैजा लागेका प्रत्येक १० व्यक्तिमध्य एक जनामा गम्भीर प्रकृतिको लक्ष्यण देखिने गर्दछ । लक्षण बिनै संक्रमण भएको व्यक्तिमा दिसामार्फत निरन्तर जीवाणु बाहिर निस्किन्छ ।

लक्षणहरू
संक्रमण भएको केही घण्टादेखि पाँच दिन भित्र यसका लक्ष्यणहरू देखिन्छन् । हैजा लागेका व्यक्तिमा यस्ता लक्षणहरू देखिन्छन् स्

– निरन्तर अधिक पातालो दिसा लाग्नु
– पटकपटक वान्ता आउनु
– पेट वा खुट्टाको मासपेशी बाउडिनु
– आँखा गढ्नु, छाला चाउरी पर्नु
– धेरै तिर्खा र थाकान लाग्नु
– धेरै कमजोरीका कारण वेहोस हुनु

रोकथामका उपाय
– सरसफाइमा ध्यान दिने
– संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सावधानी अपनाउने
– फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने
– खाना खानु अघि र शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धुने
– सकेसम्म उमालेको पानी पिउने
– फलफुल तथा तरकारीको प्रयोग गर्नु अघि सफा पानीले पखाल्ने
– पानीको मुहान सफा राख्ने
– शौचालयमा मात्र दिसापिसाब गर्ने

उपचार
– पुनर्जलीय झोलको सेवन गर्ने
– चिकित्सकको परामर्श लिने

हैजा फैलिएको स्थानमा जो कोहीमा संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा समुदायस्तरमै हैजाविरुद्धको खोप दिएर स्थितिलाई नियन्त्रण गर्न सकिन्छ ।

Your Opnion

//