काठमाडौं/ ३ साउन । नेपालको निजामती कर्मचारी प्रशासनको इतिहासमा २६ जना पुरुष मुख्यसचिव बनिसक्दा बल्ल पहिलो पटक एउटी महिला लीलादेवी गड्तौला कायम मुकायम भएरै भएपनि सो पदमा आसिन हुन पुगेकी छिन् ।
तत्कालीन मुख्य सचिव डा। वैकुण्ठ अर्याल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्धा दर्ता गरेसँगै रिक्त हुन पुगेको मुख्यसचिव पदमा गत असार १० गतेदेखि वरिष्ठतम् सचिवको हैसियतकी उनलाई निमित्तको जिम्मेवारी दिइएको थियो भने निमित्त मुख्य सचिव बनेको २० दिनपछि उनी असार ३१ गतेको ओली मन्त्रीपरिषदको निर्णयबाट कायम मुकायम मुख्यसचिव बनेकी हुन् ।
आगामी भदौ १४ गते उनले निजामती कर्मचारी जीवनबाट अवकाश पाउँने भएकोले यसबीच सरकारबाट कुनै अर्को निर्णय नभए उनी सो दिनसम्म कामु मुख्यसचिवको भूमिकामा रहने छिन् ।
ज्ञातव्य छ, २०४१ सालमा चन्द्रकला किरण नेपालको प्रथम महिला सचिव बनेकी थिइन् भने ४० वर्षपछि २०८१ सालमा आएर लीला गड्तौला नेपालको पहिलो महिला मुख्यसचिव (कामु) भइन् । सरकारले चाहेमा उनी यस अवधिमै कन्फर्म मुख्य सचिव पनि बन्न सक्नेछिन् र त्यसको सम्भावना पनि निक्कै बलियो रहेको छ ।
लीलाले २०५२ पुसमा शाखा अधिकृत भई निजामती सेवामा प्रवेश गरेकी हुन् । तेह्रथुमको सिंहवाहिनी मा.वि.बाट विद्यालय तहको अध्ययन पुरा गरेकी उनले नेपाल ल क्याम्पसबाट बी.एल. उत्तीर्ण गरी काठमाडौँ स्कुल अफ ल बाट ‘मानव अधिकार तथा लैङ्गिक न्याय’ विषयमा एल.एल.एम. र राजनीति शास्त्रमा एम.ए. गरेकी छिन् । उनी २०७७ कात्तिकमा नेपाल सरकारको विशिष्ट श्रेणी (सचिव) मा बढुवा भएकी थिइन् ।
उनको जन्म तेह्रथुम जिल्लाको पिप्ले (हाल : म्याङ्लुङ न पा.-४) मा २०२३ भदौ १५ गते भएको थियो।
Your Opnion