खै अरु अगतिला लागेर हो कि आफैं गतिलो छु भन्ने अहंकार पलाएर हो या आत्मसम्मानको तीनपाने दुरुमपानी चडेर हो ? अरुका कुरा गर्नुभन्दा आफ्नै प्रशंसा सुन्न सुनाउन मन पर्छ मलाई । अरुका गुणगान फलाक्नुभन्दा आफ्नै झ्याली ढोल पिटेको मन पर्छ । अरुले तँ यस्तो उस्तो भनिदियो र ती भनिएका शब्द मेरो कञ्चट तताउने खालका परे भने मेरो हप्तादिनको निद्रा पेस्कीकोरूपमा उतिवेरै सटसुट्ट गायब । हुनत सबै साहित्यकार मजत्तिकै पाइन्दार नहुन पनि सक्छन् त्यसैले तपाइँलाई बेलैमा यो कुराको भलीभाँती भेऊ दिनु कर्तव्य ठानिलियो यो मरिचमार्का चाउरे साहित्यकारले । विराम त पक्कै गरेन होला नि ! किन त भन्दा ऊ आफैलाई महान नभनेर हान् साहित्यकार चैं हूँ भन्ने ढिपी कस्दछ । हान् सात्यिकै रटना रटेर भट्टी अगाडिका ढल नाली र पेटी पौवामा वेलाकुवेला लित्ती कसेर बस्दछ । भन्छ सिर्जनाको मुहान भनेकै हान् हो र सिर्जना जम्मा गर्ने स्रोत भण्डार नै हानको पुङ, ड्म, घ्याम्पो वा कारखाना हो । यो एउटा आफैं प्रभावशाली मनचिनते तिर्थ हो,जसले लुरेलारे स्रस्टालाई भीभसेनको ज्यान दिन्छ । फिस्टालाई हात्तीकै औकातको महान् बनाउँछ । परिआउँदा उसले आफ्ना पूर्ववर्तीदेखि समकालीन साहित्यका महारथीको नाम लिएर प्रशंसाको रथ चडाउँदै विश्व परिक्रमा गराउन पनि अबेर गर्दैन ।
“असारे खलु संसारे कविरेक: प्रजापति: । यथास्मै रोचने विश्वम्” यो असार संसारमा अनन्त शाखावान् वृक्ष काल हो । त्यसका आलि कान्ला र भोक्सी भँड्खारा फड्कदै जाँदा हात लागी हुने चीज साहित्य याने कि कविकर्म रहेछ । त्यसैलाई काव्य भन्दै आए पारखीहरूले अनि त्यसका रचयिता स्रष्टा नै आफ्नो इच्छाअनुसार संसारको निर्माण गर्ने एकमात्र प्रजापति हुन् रे । तर हिजो आजका असली स्रष्टालाई प्रजापति नभनेर जा पति र वेलामौकामा जाया पतिमात्र भन्न थालिएको छ । किन त भन्दा खाँटी कुरा समाउनतिर न लागेर कुकुराति बरलिँने भएकाले तिनीहरूलाई चल्ला या वनकुखुराका सिकारी भनिदिँदा पनि उति फरक पर्दैन ।
हुन त विश्वका होचा, अपठेरा ठाउँ चाहार्ने बानी पनि कविवर्गको मौलिक वर्गीय चरित्रभित्र नै पर्छ । यदाकदा सुराग्रस्त कवि जीलाई के सुर चलेर हो कुन्नि अनौठो र साहसपूर्ण घटनाको आविस्कारै गरि दिनु हुन्छ । कुनै वेला भट्टी अगाडि र टट्टी पछाडिका पेटी बाटो चउरमा योगासन कसेर बस्नु हुन्छ । कुनै वेला बन्द भैसकेको सुरालय अगाडि सुरताल पूर्वक ललनी गाएर थप सुराको माग राख्ने सुरसार कस्नुहुन्छ । एकपटक पोखरा डुल्न जाँदा हानकै सुरमा बेसुरे भएर सेतीको प्रबाह खोज्दै रातको अन्धकारमा हाम फाल्नु भएछ तर लुुकेको सेती कताको फेला पर्नु ? पहरामा लर्किएको बाबियाको झाँङमा अल्झिएर उहाँको कृष काया सांसारिक मायामै झुण्डिएर भित्री सदीच्छा अधूरै रहन गएछ । भोलीपल्ट विहानै परेड खेल्ने सिपाही र मन्दीर जाने भक्तालुले उहँको हारगुहारको भाका सुनेर खोजखवर टोली पठाएपछि माथिको लोकमा अवतरण भएछ । जायाका एकच्छत्रपति भएर निर्माण गर्नु पर्ने सन्ततिमा घोष्ट र टाइपिङ्कको कोराना पसिदिन्छ कहिले । कहिलेभने डेङ्गू पसेर उत्पात मच्चाउने भएको छ । पतिविना नै जायाले सन्तान जन्माउने यो कलिजुगमा कवि पनि प्रजापति न भएर उपेक्षित कित्ताका जा पति बन्न पुगेका हुन् त ? बेर छैन । कतै त जायापति पनि बनेका छन् भने कतै जा पनि छुटेर पकरमात्रै बाँकी रहेका स्रष्टा आफ्नैजस्तो अनुहारले खाली पेट कविता फलाक्नमा सीमित बनेका छन । दिनमा भेटेको समसाले परिश्रमिकको गर्जो समेत टार्नु पर्ने दिन आइदिन पनि सक्छ । असंभव के छ यो संसारमा ᴉ हप्तौ सम्म गिठ्ठा भ्याकुर न भेटेर भोकै बस्न विवस बचचा सुत्केरीको हालत कविले यसै देशका दुर्गम गाउँमा भेटी आएको छ । उहिले इच्छा अनुसारको काव्य संसार तयार गर्ने स्रष्टा हाल आएर समोसाप्रेमी म-हान साहित्यका प्रजापति बन्न पुगेका छन् ।
म साहित्यको सिर्जनमा रमाउने स्रष्टा तँ तिमी तपाइँका साहित्यमा निरर्थक अक्षरको गोदाम मात्र देख्छन् । उनीहरूको ध्यान ध्याउन्न र धारणा भनेकै आफ्नु र आफ्ना लेख रचनाको प्रशंशामा लम्पट टुपी कस्नु हो । म साहित्यमा म दर्शन हावी हुन्छ । स्रष्टाले मै जान्नेसुन्ने मै असल मै ठूलो मै अग्लो मै विचारवान मै सदाचारी अरु सबै दुराचारी पथभ्रष्ट पापाचारी भन्ने ठान्दछन् । म वाद सप्रिएर मपाइँ वादमा परिपाक भएपछि यसको दार्शनिक सतह ऊचनीच दुवै तिर बढ्दै गएको पाउन सकिन्छ । अनि त हानशास्त्रको ठेली नै तयार भएर त्यसको शिक्षा दीक्षाले तिन लोक चौध भुवन ढाक्न वेर मान्दैन ।
म साहित्यमा अरु पनि थुप्रै विशेषता पाइन्छन् । शिर पाउ जामा लगाएर मामाघर धाउने मवादी दर्शनका प्रणेता खाओवादी दर्शनमा जण्ड खाले भेटिन्छन् । जेष्ठ नागरिकको ओर्याइँको मूल स्रोत मवाद हो भने कनिष्ठ बाल बच्चाको हठ धर्मिता पनि मवाद कै उपज हो भन्ने लाग्छ । त्यस्तै मसाहित्यको परिपाकले मपाइँ वादी दर्शनको उत्पति र त्यस्तो दर्शन संसारमा उज्यालो देखाउने इमर्जेन्सी लाइट बन्न पुग्छ ।
अर्काको रचना ठ्याक्कै नपढ्ने पढीहाले पनि बुझ्ने प्रयास नगर्ने अनि अलि अलि बुझीहाले पनि त्यसलाई कागजमसीको हदैसममको दुरूपयोग मान्ने उदात्त बानी हानकविका मौलिक र अलौकिक विशेषता पनि हुन् । अर्कोतर्फ अरुलाई झ्याउ लागेपनि आफ्ना अभावदेखि व्यभिचारीभावसम्मका आफ्ना कविता सुनाएर सभा गोष्ठीमा मनोभञ्जन गर्ने गराउने कर्म पनि म साहित्यका महारथिमा पाइने स्वधर्म र विशेषता हो । बसउठ बोली व्यवहारमा शिष्टता नभएपनि अरुथरी अँगालाभरी विशिष्टता बोकेका यी कविले दौडधूप र प्रोग्राम भ्याउने मामिलामा च्याखुरे लेकको वौडाई नाँचलाई विर्साइ आएका पनि हुन् । म साहित्यमा अरुले उन्नति प्रगति गरेको हेर्न नसक्ने औडाहा आडम्वरको धुँवाले हृदय तातेर बाफिएका कविमाथि हानको मनग्गे प्रभव पर्दा त शरीरको आवरण र सामाजिक लाजसरमको पर्दा पनि बेपर्दा भएर कता हराउँछ कुन्नि ᴉ त्यतिवेर कवि जीको विचार मन मस्तिष्क र सिर्जनक्षमता सक्रियमात्र होइन, सक्षात सृष्टि कर्ता ब्रम्हाजीकै नवअवतारमा उदाएर त्यसैमा लगगू बनेको पाइन्छ । जमुनोत्तरीका हिमचचुचुराबाट कञ्चन चञ्चल झर्ना बनेर ठाडै झरेको भेटिन्छ । धन्य मसाहित्य ! धन्य मवादी नव सिर्जनाका ठेकदार कवि जी ! अर्कोतर्फ सेलिव्रेटी नामका सेलरोटी भरिएका भारी भरकम थुन्सेहरुलाई काँधमा बोकेर धूपधुवार सहित तिनैको महत्व महिमाका बखान छाँट्दै छोटो खल्ती भर्ने मेलोमेसो मिलाउनु महान साहित्यकारको विशेषता नै मान्नु पर्छ । गफ ठट्टाकै भरमा दुनियाको बुद्धिमा बट्टा बिर्को कस्न सक्नु म साहित्यको युगान्तकारी सफलता हो । अग्रगमनको छलाङ पनि हो । किनभने विक्रमले वेताललाई पक्रिएर सेलिब्रेटी बनाउँदा पनि धूर्त बेतालले चक्मा दिँदै भागेको कथा अकथा भन्न पक्कै मिल्दैन । झाडीको रुखमा तुन्द्रुङ्ग झुण्डिएको बेतालमा न्वारानको बल झिकेर कब्जामा लिने अनि फुत्कनै नदिइ कज्याएर बोक्नु महाकथाको पर्याय हो । तर हिजो आज मसाहित्यका पण्डाहरू पाण्डाल थर्काएर आत्मपशंसामा कुर्लीरहेका भेटिन्छन् । हो त नि प्रशंसा नै गर्नु छ भने अर्काको किन गर्ने ? म साहित्यको सारस्वर लहना गहना पनि यही हो कि ।
म साहित्यलाइ छोडेर हान साहित्यको चर्चा गर्ने भएपछि झनै उदेक लाग्दा कुरा थाहा पाइन्छ । हान स्वयं सर्वगुण सम्पन्न पेय पदार्थ भएकाले यसको संसर्गले साहित्य लेख्न पढ्न वाचन र प्रसारण गर्ने कला स्वत: प्रस्फुटित बनेको पाइन्छ । त्यसैका छहरा पचकाले रुझेभिजेको वणीसमेत रसिलो हँसिलो र फरासिलो बन्न सक्छ । हानको सुरमा आपूलाइ महान मान्ने आत्मबल पैदा गर्ने भएकाले हान साहित्यलाई जङ्ग बहादूरको खाँडोसंग तुलना गर्दा पनि त्यति फरक पर्दैन । आआफ्ना पुर्खौली रीतिस्थिति चलनचल्ती अनुसार देउता पितृ सिमे भूमेलाई चडाइने हान बेदका ऋचा र सूक्तहरूमा पनि प्रशंसित बनेको छ ।
प्राचीन कालमा वारुणी सुराआदि नामका विविध ब्राण्डका हान पिएर ढुङ्गा हानेकै भरमा शत्रुलाइ पराजित गर्दै आफ्नो बचाउ गर्नु पथ्र्यो रे । बसोबास र बस्ती विकाससमेत आकाशे छहारीमा रहेको वेला आपूलाई जोगाउने पराक्रम नै मुख्य थियो । घाम पानी बादल बिजूलीको मटु थर्काउने प्रकोपमा थोरै हान लिएर धेरै ठूलो सामथ्र्यै प्रदर्शित गर्नु पर्ने थियो । हान्को सेवामा समर्पित हुँदा अरु साथी भाइ पनि चाहिने भएकोले हान साहित्य पनि समुदाय वादमा आधारित हुन पुग्यो । हान् साहित्यमा युवा वर्गको दुखेको प्रेमरागले चिलाएको मर्म मर्ममा कोर्रा हान्ने र मनका अशान्ति का जराबुटा उखेल्दै वितृष्णका व्यथा र रुग्ण व्याधिघरलाई भताभुङ्ग भत्काउने खूवी सुरक्षित हुन्छ । आकाशतिर फर्किएर दारा नङ्ग्रा चलाउने हात लात पड्काउने इतिहासका धरोहरमाथि वर्वर भाषा चलाउने जो प्रयास हुन्छ त्यो नै नै जो छ सो हान साहित्यको प्रचारमा बाधक मानिन्छ । अर्काको जडौरी भिरेको रचना पुस्तकलाई जवर्जस्ती स्कूल कलेजलाई किनाउने काममा पनि हान् साहित्य अग्रगामी छ । मेरो किताव किन, नकिने हान्छु भन्ने नाराकासाथ चलेको यो अभियान नेपाली समाजलाई अगाडि लग्ने बाइपंखे घाडाकै जोडा बन्ने पक्कै छ । हान साहित्यमा जाँड भाङ चरेस धतुरोसेवीका समस्त चरित्र समावेश गरिने भएकाले समावेशिताको साथै आवेशको सिद्धान्तले पनि यसमा काम गरेको भान हुन्छ । कतै कहिल्यै कुनै कुराको भेदभाव नराखी टाढाका गाउँ र नगीचका शहरदेखिका गलगाँणहरू सबै समेटिने भएकाले हान् साहित्यको व्याख्या विश्लेषण त्यति सहज पनि छैन ।
हान् साहित्यलाई दनक साहित्य भन्दा पनि त्यति फरक पर्दैन किनभने हान्नु बजाउनु दनक दिनु जस्ता कर्महरु हिजो आज समावेशी समाजवादी गणतन्त्रकै कित्ता भित्र पर्दछन् । राज्य पनि त यसो उसो गर्यो कि सुनका टेल लाटलूट गर्न र बन्दूक हान्नै मन पराउँछ । सानातिना नावालक पिउसासंग राज्य आपै मुठभड गर्न रुचाउछ र नभएको मुठभेडलाइ हो बनाउन नानाथरी खरखजानासहितका तानावाना अघि सार्छ । आफ्नो लाज छोप्न अर्काको कट्टु लुट्ने हदसम्म सत्कर्म गरेर अदृश्य सत्ताशक्ति स्वय हान् साहित्यको प्रतिपादक बनेका छ ।
नयाँ वानेश्वर, काठमाडौं
९८४१६४७१८९
Your Opnion