काठमाडौं/२९ माघ । ललितपुरकी ३६ वर्षीया रविना महर्जनले शनिबार आफ्नै घरको छतबाट हाम फालिन् । महालक्ष्मी नगरपालिका-४, ओचुहाइटकी रविनाले घरको साढे दुई तलामाथिबाट हाम फालेकी थिइन् ।
हाम फालेर गम्भीर घाइते भएकी उनलाई स्थानीय र प्रहरीले उपचारका निम्ति तत्काल इमाडोलस्थित किस्ट मेडिकल कलेजमा पुर्याएका थिए । शनिबार अपराह्न करिब साढे ४ बजे उनले छतबाट हाम फालेकी थिइन् । पौने ५ बजे सो अस्पतालमा पुर्याइएको थियो । उपचारका क्रममा शनिबारै राति पौने १० बजे अस्पतालले रविनाको मृत्यु भएको घोषणा गर्यो ।
उनलाई अस्पतालमा पुर्याएका प्रहरी कर्मचारीले अर्को खबर पाए-रविनाको ‘बेड रुम’भित्र दुई बालबालिका बेहोस अवस्थामा छन् ।
घटना शंकास्पद हुन सक्ने अनुमानपछि प्रहरी वृत्त सातदोबाटोका डीएसपी उमेश जोशीको नेतृत्वमा समेत टोली रविनाको घरमा पुग्यो । बेहोस अवस्थामा फेला परेका रविनाका ६ वर्षीय छोरा अश्वेत र दुई वर्षीया छोरी रिबा महर्जनलाई पनि प्रहरीले उपचारका निम्ति तत्काल किस्ट अस्पतालमा पुर्यायो ।
अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूको मृत्यु भइसकेको घोषणा गरे । प्रहरीले दुवै अश्वेत र रिबालाई बेलुका करिब ५ बजेर २५ मिनेटमा अस्पताल पुर्याएको थियो ।
छोराछोरीको हत्यापछि आत्महत्या रविनाले छोराछोरीको हत्यापछि आत्महत्या गर्न घरको छतबाट हाम फालेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । रविनाले हाम फाल्दा छिमेकीले समेत देखेका थिए ।
रविनाकी सासू समेत छतमै हुँदा उनले एक्कासि हाम फालेको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । घटनाको थप अनुसन्धान गर्न आइतबार एसपी कार्कीकै कमान्डमा समेत प्रहरी टोली रविनाको घरमा पुगेको छ ।
रविनाले छतबाट हाम फाल्दा उनका् श्रीमान् रवि महर्जन घरमा थिएनन् । उनले मंगलबजारस्थित एउटा पसलमा काम गर्दै आएका छन् । रवि शनिबार पनि बिहानै काममा गएको खुलेको प्रहरीले जनाएको छ ।
रविनाले आफू सुत्ने कोठामा रहेका छोराछोरीको मुख तकियाले छोपेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । त्यसपछि उनले छतबाट हाम फालेको खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले रविनाले छोराछोरीको हत्यापछि आत्महत्या गर्नुको कारणबारे अनुसन्धान जारी राखेको छ । अनुसन्धान खटिएका एक प्रहरी अधिकारीले भने, “छोराछोरीको हत्या रविनाले नै गरेको देखिन्छ । तकियाले मुख छोपेर हत्या गरेको जस्तो छ, देखिन्छ । थप पोस्टमार्टम रिपोर्ट आएपछि भन्न सकिएला ।”
हत्या र आत्महत्याको कारण भने प्रहरीले खुलाउन सकेको छैन । रवि र रविनाबीच सामान्य विवाद भइरहने गरेको खुलेको छ । शनिबार बिहान समेत सामान्य विवाद भएर रवि घरबाट निस्किएको खुलेको छ ।
रविनाको स्वभाव ‘एग्रेसिभ’ हुँदा सामान्य विवादले ठूलो घटना निम्त्याएको आशंका छिमेकीको छ । रविका तीन दाजुभाइ घरका छुट्टाछुट्टै फ्ल्याटमा बस्ने गरेका छन् ।
Your Opnion