कपिलवस्तु जिल्ला, वाँणगङ्गा नगरपालिका- ३ गंगोलियामा जन्मेका ई. जीवन अर्यालले श्रीरत्नराज्य लक्ष्मी माविबाट स्कुल, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकबाट डिप्लोमा इन सिभिल इन्जिनियरिङ, द इन्स्टिच्युसन अफ इन्जिनियर्स इंडिया चेन्नाई भारतबाट ब्याचलर इन सिभिल इन्जिनियरिङ र पोखरा विश्वविद्यालयबाट एमएस्सी (कन्सट्रक्सन म्यानेजमेण्ट) गरेका छन् ।
ई. अर्याल नेपाल भ्यालुयर्स एशोसिएसनका केन्द्रीय उपाध्यक्ष, नेपाल इन्जिनियर्स एशोसिएसनका आजीवन सदस्य, सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ इन्जिनियर र काठमाडौँ महानगरपालिकाका पूर्वाधार सल्लाहकारका रुपमा कृयासिल छन् ।
कामका सिलसिलामा बेलायत, दक्षिण कोरिया, चाइना, इजरायल र युरोपका अधिकांश देशको भ्रमण गरेका अर्यालसँग इन्जिनियर्स पोष्ट प्रतिनिधिले गरेको कुराकानीको सम्पादीत अंश प्रस्तुत छ:-
- आफूले अध्ययन गरेको विषय व्यवहारमा लागू गर्दा कत्तिको आत्म सन्तुष्टि मिलेको छ ?
आफूले पढेको विषयमा कार्यरत रहँदा अत्यन्त सन्तुष्ट छु ।
- तपाईं स्थानिय तहमा ईन्जिनियर हुनुहुन्छ । अहिलेको अवस्थमा काम गर्न सजिलो वा असजिलो कस्तो पाउनु भएको छ ?
नियम , कानून र ऐनको परिधिभित्र रहेर काम गर्नु पर्छ । त्यसमा अहिलेसम्म कुनै असहज अवस्था व्यहोर्नु परेको छैन । तथापी अहिलेको अवस्थामा स्थानिय तहमा रहेर काम गर्न केहि अप्ठ्यारा पनि छन् । जनप्रतिनिधिहरु हरेक काम तुरुन्ता तुरुन्तै हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । तर , इन्जिनियरिङ अर्थात् प्राविधिक दृष्टिकोणले तुरुन्त काम नहुने हुन्छ । त्यस्तो अवस्थामा दुवै पक्ष बसेर समाधान खोज्नु पर्छ ।
पूर्वाधारका कामहरु जस्तै ठेक्का पट्टा लगाउँदा निर्माण व्यवसायिले समयमा काम नसिद्ध्याएको र साइटमा विवाद हुँदा आयोजना निर्माणमा ढिलो हुने गर्दछ । यी सबै कुराको समाधानतर्फ जाँदा सोचेको भन्दा बढि समय लाग्नसक्ने हुन्छ ।
- तपाईं धितो मुल्याङ्कन पेशा पनि अंगालिरहनु भएको छ । मुल्याङ्कनको क्षेत्रमा विगतमा र वर्तमानमा के पाउनु हुन्छ ?
धितो मूल्यांकनको काम विगतको तुलनामा अहिले केहि अप्ठ्यारो छ । विगतमा कागजपत्र तथा घर जग्गा मूल्यांकनका दर रेट हाल आउँदा घर – जग्गाको दरभाउ घट्ने, नापी नक्शा तथा अन्य कागजातहरु सोचे जस्तो उपलब्ध नहुने हुँदा इन्जिनियर (मूल्यांकनकर्ता) साथिहरुलाई कठीन भइरहेको छ । आजको अवस्था हेर्दा देशमा सिर्जित आर्थिक तरलता, घर जग्गा विक्री नहुनु, व्यापारीको व्यवसाय राम्रो नहुनु जस्ता कारणले गर्दा दिनप्रतिदिन पहिले गरेको मूल्यांकनमा हालको मूल्यांकन मेल खाँदैन । दिन प्रतिदिन दररेट घटिरहेको हुँदा यसले प्रत्यक्षरुपमा मूल्यांकनकर्तालाई समस्या परिरहेको देखिन्छ । मूल्यांकनकर्ताको काम भनेको जुन धितोको मूल्यांकन गरिन्छ त्यसैलाई आधार बनाएर बैंकले कर्जा दिएको हुन्छ । त्यसको प्रतिफल बैंंकले लिन्छ । आजको मितिमा जग्गाको मूल्य घट्दा इन्जिनियरलाई दुई तिहाई पुगेन भनेर दु:ख दिने काम बैंकबाट भइरहेको छ । यो अवस्था हुनु राम्रो होइन । इन्जिनियरको काम मूल्यांकन गर्ने हो, दररेट घटिबडि मा तुलना गर्ने होइन, बैंकले लगानी गर्दै ध्यान दिनु पर्ने हो समस्या आउदा दोष लगाउने हैन समाधान खोज्ने हो ।
- लामो समयदेखि एनभिएमा आवद्ध हुनुहुन्छ । अहिले उपाध्यक्ष पदमा सक्रिय हुनुहुन्छ । यहाँले एनभिएमा पुर्याउनु भएको योगदान के के हुन् र भावी योजना के छ ?
लामो समयदेखि म एनभिएमा आवद्ध छु । मूल्यांकनकर्ताहरुको हकहितको लागि म लगायत एनभिएका साथिहरु मूल्यांकनकर्ताहरुको हकहितका लागि लड्न तयार छौं । एनभिएले इन्जिनियरहरुलाई समास्य नपरोस भन्ने उद्देश्यले समय समयमा मूल्यांकन सम्बन्धी तालिमको व्यवस्था हेर्दै आएको छ । अबका दिनहरुमा एनभिएबाट थुप्रै कामहरु जस्तै डाटा कलेक्सनदेखि लिएर इन्जिनियरिङ कलेजहरुको पठनपाठनमा मूल्यांकन सम्बन्धी पाठ्यक्रम तयार गरेर जानुपर्छ भनेर हामी विश्वविद्यालयहरुसँग छलफल अगाडी बढाउँदै छौं ।
- तपाईं नेपाल इन्जिनियर्स एशोसिएसनमा पनि सक्रिय हुनुहुन्छ । आउँदै गरेको एशोसिएसनको चुनावमा यहाँको भूमिका के हुनेछ ?
म एसोसिएसनको आजीवन सदस्य छु । अघिल्लो निर्वाचनमा म लुम्बीनी प्रदेशबाट सभापतिको प्रत्यासि थिएँ । विविध कारणले उसबेलाको निर्वाचन परिणाम मेरो पक्षमा नभए पनि मेरो योगदानमा कुनै कमि छैन । खासमा एसोसिएसन सबै इन्जिनियरहरुको पेशागत छाता संगठन हो । नेपालभरि छरिएर रहेका सबै इन्जिनियरहरुको हकहितको लागि मेरो योगदान सधैं रहिरहन्छ ।
अहिलेको अवस्थामा इन्जिनियरहरुको लागि खासै काम हुन नसकिरहेको देखिन्छ । अबका दिनमा इन्जिनियरहरुलाई रोजगार बनाउन, पेशालाई मर्यादित बनाउन, उनीहरुका समस्यालाई समाधान गर्न इन्जिनियरहरुले भोगेका समस्यालाई समाधान गर्ने खालको इन्जिनियरिङ प्राविधिक प्रशिक्षण केन्द्र स्थापना गर्ने मेरो योजना छ । र स्थानिय तहमा मूख्य-मूख्य पदमा इन्जिनियरहरुलाई स्थान दिनुपर्ने देखिन्छ । जस्तोकि स्थानिय निकायमा प्रशासकिय अधिकृत इन्जिनियर हुनैपर्ने जस्ता आवाज उठाउन पर्ने अवस्था छ । म यी आवाजहरु थप मुखरित गराउने कार्यमा तल्लिन छु।
Your Opnion