उड्नु पर्छ
अब
कागजको जहाज झैँ होइन
निमेषमा उड्ने
अनि
मुन्टो लुकाएर घुम्दै तल खस्ने
पखेटा फरफर पारेर
चिल जस्तै माथि माथि पुग्नु छ
किनभने स्वतन्त्रता सबैभन्दा माथि हुन्छ
जहाँ
छेक्ने र छेकिने केही हुन्न
सट्टामा देखिने हुन्छ
माथि आकाश र नीलो जुन
तल खोच र पखेरा
हेर त ति पखेरा तिनै हुन्
जहाँ तिमी समाजका भारीले किचिएर
सन्तापका रापले थिचिएर
घुँडा मुन्टा धस्दै धस्दै
ठस ठस पाइला सारिरहेकी थियौ
समानता भन्ने के हो थाहै नपाइ
एकदिन
सुख पाउनेछु भन्ने आशमा
आफैलाई बिर्सिरहेकी थियौ
गालाहरू चाउरी परुन्जेल
सुखका दिन आएनन्
बरु दिन र रात तिनै पुरुषले बनाएका
लक्ष्मण रेखाहरूका स्वागतमा
तुलसीका मठमा दियो जलाइरहेकी थियौ
मन्दिर र आँगनमा धुप सल्काइरहेकी थियौ
मस्दिजमा पाठ पढिरहेकी थियौ
र
चर्चको दैलोमा पुग्दासाथ छातीमा हातले क्रस बनाएर
मैन जलाइरहेकी थियौ
उठ !
तुलसीका मोठका दीयोहरुले अँध्यारो भगाइरहेका छन्
धुपहरुले मधुर बास्ना छाडिरहेका छन्
नया नया कलेबरका पुस्तकहरूले
सृजना र चेतनाको आगो बालिरहेका छन्
मैनहरु अचेल चर्चमा मात्र नभै
आत्मा भित्र पनि बलिरहेका छन्
र
मनको अँध्यारो फ्याँकिरहेका छन्
आउ हातेमालो गरौँ
स्वतन्त्रता सबैभन्दा माथि छ
छाती थापेर आउ
आँखा खोलेर आउ
तिमी बाट हामी बन्नुछ
र
स्वतन्त्रताको स्वाद चाख्नु छ
यसका लागि हाम्रा आवाजहरू बुलन्द हुनुपर्छ
र हाम्रै हातले कानुनका क हरू लेखिनुपर्छ ।
आउ तिमी र हामी मिलौँ
एकबाट अनेक बनौँ ।
Your Opnion