नेपालको विकासमा सूक्ष्म ढङ्गले योगदान पुर्याईरहेका हेल्प फर नेपाल-स्वीटजरल्याण्डका मार्क हेरिटियर/फिलिप रिसेलसँग काठमाडौँको ठमेलस्थित एक ईको रिसोर्टमा इन्जिनियर्स पोष्टकालागि सूर्यप्रसाद कोइरालाले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ :
- कहिलेदेखि नेपालमा यहाँहरु सामाजिक कार्य गरिरहनु भएको छ र ?
नेपालमा हामी विगत २८ वर्षदेखि निरन्तर सेवा र सहयोग गरिरहेका छौं । सन् १९९५ देखि शुरु भएको थियो हाम्रो नेपालसँगको आत्मिय सम्बन्ध ।
- नेपालमा सामाजिक काम गर्न यहाँहरुलाई के कुराले प्रेरित गरेको हो र ?
ट्रेकिङमा जाँदा यहाँका मानिसहरुले पोखरीको फोहर पानीलाई सिधै घरमा लगेर पिउने गरेको देखेपछि हामीलाई अचम्म लाग्यो । किनकी त्यो कुनै प्रशोधन गरिएको पानी थिएन । त्यस्तो व्याक्टेरीयासहितको पानी पिउँदा उनीहरुलाई अस्वस्थ गरिरहेको थियो । तर पनि उनीहरु परिस्थितीजन्य बाध्यतामा थिए त्यो पानी पिउन । हामीलाई के लाग्यो भने यिनीहरुलाई सफा पानी व्यवस्था गर्न पाए कत्ति राम्रो हुन्थ्यो ।
हामीले उनीहरुलाई शुद्ध पिउने पानीका लागि ब्यवस्था गर्यौ र औषधी उपचारको लागि केही सानोतिनो मद्दत पनि गर्यौं । त्यसपछि पनि उनीहरु बिरामी परे । खासगरि बिरामी हुनुको श्रोत खराव पानी थियो । हामीलाई लाग्यो पानीको मुहानबाटै सफा पानीको ब्यवस्था मिलाउन सके हुन्थ्यो भन्ने लागेर स-साना पानीका योजनामा सहयोग गर्ने निधो गर्यौं र सोही अनुसार खानेपानीका कार्यक्रमहरु सञ्चलन गर्यौं ।
- नेपालमा काम गर्दा सम्झनलायक अथवा सन्तुष्टि दिने के काम भयो, जसले तपाईंहरुलाई आनन्द मिलेको छ ?
मानिसहरुको नाजुक स्वास्थ्यस्थिति र कमजोर आर्थिक अवस्था थियो । कसैले पनि उनीहरुलाई सहयोग गरिरहेका थिएनन् । कतैबाट पनि सहयोग नभइ रहेको देख्दा उनीहरुलाई सहयोग गर्न हामी उत्प्रेरित भयौं । नेपालका विकट गाउँहरुमा धुवाँ पास नहुने घरका चुलाहरुमा बसेर खाना बनाउँदाको परिणामस्वरुप उनीहरुमा श्वासप्रश्वासको समस्या निम्तिएको थियो । उक्त समस्याका कारण धेरै बालबालिकाहरुले अकालमा ज्यान गुमाउनु परेको थियो ।
त्यही अवस्थालाई मध्यनजर गर्दै हामीले धुवाँरहित चुल्हो वितरण गर्ने सोच बनायौं र सोही अनुसार उनीहरुलाई सुधारिएको चुल्हो वितरण गर्ने तयारीकासाथ हामीले स्वीटजरल्याण्डमा केही सहायता रकम संकलन गर्यौं ।
स्वीटजरल्याण्डमा प्राप्त सहयोग रकमबाट हामीले सुधारिएको चुलो वितरण गर्यौं र उनीहरुलाई रोगबाट बचाउन थोरै बल पुर्यायौं । यो कामबाट हामीलाई धेरै नै सन्तोष मिलेको छ ।
अर्को कुरा नेपालमा पर्यटकिय क्षेत्रभन्दा पनि बाहिरी क्षेत्रमा धेरै समस्या देख्यौं र हामीले गैरपर्यटन क्षेत्रका गाउँहरु हाम्रा सेवाको प्राथमिकतामा परे । सुधारिएको चुल्हो, शुद्ध पिउने पानीका योजना, न्यानोका लागि ब्ल्याङकेट, औषधी, विद्यालय भवन र शौचाय निर्माणमा हामीले उल्लेख्य काम गरिरहेका छौं ।
- नेपालको कुन कुन जिल्लामा यहाँहरुको सहायता फैलिएका छन् ?
डोल्पा, जुम्ला, मुगु, धादिङ, काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोकमा हाम्रा कार्यक्रमहरु विस्तारित छन् ।
- भविष्यमा यहाँहरुको थप नयाँ केही योजना पनि छन् कि ?
हामी यो योजना भविष्यमा पनि निरन्तरता दिइराख्न चाहन्छौं । मेरो र साथिहरुको स्वास्थ्यले साथ दिएसम्म सहयोग गर्छौं। नेपालका यी योजनाहरु धेरै महत्वपूर्ण छन् । जसकारण धेरै नेपालीहरुले फाइदा लिइरहेका छन् ।
- नेपालमा यहाँहरु कुनै गैरसरकारी संस्थामार्फत काम गर्नु हुन्छ वा सिधै काम गर्नु हुन्छ ?
हामी कुनै पनि नेपाली गैरसरकारी संस्थाहरुसँग आवद्ध छैनौं । अप्ठ्यारो र आवश्यक ठाउँ पहिचान गरि सिधै काम गर्छौं । तीन जनाले प्रोजेक्ट चलाएका छौं । यसमा कसैसँग जोडिएर हामीले अहिलेसम्म काम गरेका छैनौं ।
- नेपाली जनतालाई सुलभ र प्रभावकारी भएका यी परियोजनाबाट कत्तिको सन्तुष्ट हुनुभयो त ?
निश्चय पनि हामी खुशी र सन्तुष्ट छौँ । हामीबाट भएको सहयोग प्रभावकारी छ । मृत्यूदर घटेको छ । स्वास्थ्यमा सकारात्मक प्रभाव परेको छ । सुरक्षित खानेपानी पाएका छन्। २० वर्ष अगाडि दिएको चुल्हो अझै पनि प्रयोग भैराखेको छ ।
हिजो मात्र फोनमा कुरा गर्दा चुल्हो चलिरहेको छ । यी कुराहरु सुन्दा हामी धेरै खुशी छौं । अर्को बर्ष दुई सयभन्दा बढि घरलाई सहयोग गर्ने वाचा पनि हामीले गरेका छौं ।
अर्को कुरा सुधारिएको चुल्हो नेपालमै बनेको हो । लामो समय चल्ने खालको छ । एउटा चुल्हो करिब १८ केजी तौलको छ । अहिलेसम्म हामीले दुई हजारभन्दा बढी चुल्हो वितरण गरिसकेका छौं ।
- अन्त्यमा, यहाँहरुको योजना सीमान्तकृत वर्गमा मात्र केन्द्रीत हो कि अन्यलाई पनि हो ?
सबैलाई समानरुपले वितरण गरेका छौं । जहाँ हामी काम गरिरहेका छौं ती ठाउँका सबै नेपाली विपन्न छन् । बिना भेदभाव सहयोग गरिरहेका छौं । न्यून आय भएकालाई पहिलो प्राथमिकतामा राखेर दिइरहेका छौं ।
मूख्यतया: यहाँका मानिसहरुको खुल्लापन, सादा जीवन, मिलनसार व्यवहारले हामीलाई आकर्षित गर्छ । यहाँका मानिसहरुका सहयोगी भावना र दयालुपनको हामी प्रशंसक हौं । हाम्रा परियोजनाको मुख्य उद्देश्य नेपालाई सहयोग गर्ने भएकोले पनि होला यहाँ आकर्षित भइरहन्छौं । यहाँका हिमाल र ठाउँहरु एकदमै राम्रा छन् । तर पनि यो मुख्य कुरा होइन । विपन्नहरुलाई सहयोग गरेपछी हामीलाई झन् आनन्द र प्रेरणा मिल्छ ।
अझ महत्वपूर्ण कुरा यो बर्ष हामीले ब्लड क्यान्सरबाट पीडित एकजना बिरामीलाई आर्थिक सहयोग गर्यौं । यो हाम्रालागि धेरै नै खुसिको कुरा हो ।
Your Opnion