भगवानले कहिल्यै तिमी कुन धर्मावलम्बी हो भनेर भन्दैन - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

भगवानले कहिल्यै तिमी कुन धर्मावलम्बी हो भनेर भन्दैन

  • विद्यासागर योञ्जनDecember 23, 2023

 

भगवानले कहिल्यै तिमी कुन धर्मावलम्बी हो भनेर भन्दैन । भगवानले बौद्ध, हिन्दू, मुसलमान र क्रिस्चियन भनेर सोधेको अहिलेसम्म थाह छैन । मनुष्यले सत्कर्म गरी रहेका छन् या छैनन् भनेर अवलोकन मात्र गरीरहनुहुन्छ ।

केही हजार बर्ष अगाडि मानिस अहिले जस्तो धर्मको नाममा बिभाजित थिएनन् । बुद्ध जन्मेको २६०० बर्ष भयो । बुद्ध, जिसस क्राइस्ट्, मोहमद र हिन्दू धर्मका देवताहरु जन्मनु अगाडि धर्मका नाममा बिभाजित भएर मानिसले झगडा, द्वन्द र युद्ध गरेका थिएनन् । त्यस समयमा खाली सनातन धर्मावलम्बि र सनातन बिरोधी मात्र थिए । असल मानिसलाई सनातनी र खराब मानिसलाई सनातन बिरोधीको रुपमा लिन्थे ।

काटमार, लुटपाट , अन्याय, अत्याचार र बेभिचार गर्ने (अहिलेको शब्दमा भनिने अधर्मि,पापी) सबै सनातन बिरोधी थिए भने अधर्मीले गर्ने माथिका सबै कार्य नगरी करुणा, दया र मायाले सजिएर समाजमा शान्ति, सुरक्षा कायम गर्दै दीन, दुखी सबैलाई सहयोग (अहिलेका धर्मात्माले गर्ने कुशल कार्य) गर्ने सबै सनातनी हुन । त्यस समयमा म हिन्दू, तिमी बुद्धिस्ट, क्रिस्चियन र मुसलमान भन्ने थिएनन । यसर्थ धर्मका नाममा कसैले आडम्बर देखाउँछ भने त्यो धर्म नबुझेको आफैं भ्रममा रहेका मानिसले मात्रा गर्द्छन् । प्राकृतिक नियम अनुसार आत्माको लेबलले हेर्न सकेमा सबै मानिस समान छन् ।

एउटा राष्ट्रमा मानिसहरु विभिन्न धर्मावलम्बिका हुन सक्छन । भौतिकबादी, नास्तिक र आध्यात्मबादी सबै प्रकारका मानिसहरु हुनसक्छन् । मुलुक सबै धर्मावलम्बीका जनताको साझा थलो हो । शासन व्यवस्था संचालनका लागि विश्वभर विभिन्न सिद्धान्तमा आधारित संबिधान निर्माण गरेका हुन् सक्छन् । कतिपय मुलुकमा दैबी सिद्धान्तको आधारमा निर्मित सम्बिधान पनि हुन सक्छन् । धर्मनिरपेक्षसहितको शक्ति पृथक्तिकरणको सिद्धान्तमा अधारित संबिधान नै सबैभन्दा राम्रो संबिधानको रुपममा अहिलेका विश्वब्यापी मान्यता रहेको देखिन्छ । संबिधानमा हिन्दु राष्ट्र हुनुपर्छ भन्नु धर्म सापेक्षता भन्नु हो । हिन्दु धर्मको आधारमा कानूनहरु बनाउनु हो । चाहे त्यो धार्मिक स्वतन्त्रता अथवा जस्तो सुकै शब्दले पुकारेको किन नहोस । यसरी बनाईएका कानूनहरु लोकतान्त्रिक शासन पद्दति बिपरित हुन् । धर्म सापेक्षतामा बनेका कानूनहरुले अन्य धर्मावलम्बीहरुका धार्मिक स्वतन्त्रताको हनन गरेका हुन्छन् । ४६ सालको जनआन्दोलन र सशस्त्र जनक्रान्तिबाट रुपान्तरित लोकप्रिय संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यबस्थाको उपहास गर्नु हो ।धार्मिक स्वतन्त्रता पंचायत व्यवस्थाले पनि भनेको थियो । हिन्दु राष्ट्रका नाममा निरंकुस शासन व्यवस्था कायम गरेका थिए । राजालाई बिष्णु अवतारको रुपमा मानेर राजाले बोलेका कुराहरुलाई नै कानून मान्ने र राजा कानूनभन्दा माथि थिए । यस्तै कारण नेपाली जनताले सघर्ष र बलिदान गरे ।

फेरी धर्मलाई साशन पद्दतिमा राख्ने कुरा केही मानिस र नेताहरुले गर्दैमा सम्पुर्ण नेपाली जनताले अलोकप्रिय शासन पद्दतिलाई स्वीकार्नु पर्ने यो कस्तो बाध्यता हो ? फेरी श्वतन्त्रतामाथि अंकुश लगाउनु र जनअधिकार खोसिनु यो कस्तो अवस्था सृजित भएको हो ?

धार्मिक राष्ट्र र धर्म निरपेक्ष राष्ट्रमा बिशाल अन्तर छन । धर्म निरपेक्ष नै धार्मिक स्वतन्त्रता सहितको सबै धर्ममा समानता हो । आज सबै धर्मावलाम्बिले सबैको धर्म समान होस् भन्ने चाहेका हुन् । धार्मिक समानता हुँदा अप्ठ्यारो मान्नु पर्ने के कुरा हो ? आफुले ग्रहण गरेका धर्म अरुको भन्दा माथि नै हुनुपर्छ भन्ने सोच कसरि सहि हो ? जसले धर्म र शासन व्यवस्थाबीच अन्तर बुझेका छन् । ती उच्च बौद्धिक वर्ग र लोकतन्त्रबादी हिन्दुहरु पनि धर्म निरपेक्षताको पक्षम रहेका छन् । किनकि धर्म भनेको व्यक्तिगत रुपमा बिश्वास गरिने आध्यात्मिक विश्वास (पक्ष) मात्र हो । धर्म व्यक्तिगत या संस्थागत रुपमा लिइनु पर्छ । यसलाई शासन व्यवस्थामा गाँसिनु हुन्न किनकि धर्म आधुनिक साशन गर्ने पद्दति होइन ।आज लोकतान्त्रिक क्रान्ति,दर्शन र विज्ञानले विश्वव्यापी रुपमानै धर्मलाई शासन व्यवस्थाबाट अलग गरि सकेका छन् । शासन व्यवस्था सबै धर्म,जात, जाति र धर्मनै नमान्नेहरुका लागि पनि हो भने धर्म व्यक्तिगत रुपमा विश्वास गरिने आध्यात्मिक पक्ष हो ।

आज विश्व जनमत धर्मलाई ऐच्छिक रुपमा लिइनु पर्छ भन्ने पक्षमा रहेका छन् ।धर्म जन्मसिद्ध होइन, जुन धर्मावलम्बीमा जन्म लियो उही धर्म ग्रहण गरिरहनु पर्छ भन्ने पनि होइन । यसलाई बिद्यालयका बिषयहरु जस्तै optional रुपमा लिइनु पर्छ । यो मान्छेको व्यक्तिगत स्वतन्त्रतामा राखिनु पर्छ । अध्ययन पश्चात जुन धर्म राम्रो लाग्यो त्यही ग्रहण गर्न पाउनु पर्छ । यसलाई राज्यले जबर्जस्ती अनिबार्य बनाउनु हुन्न ।

धर्मनिरपेक्षता राष्ट्र भनि अन्तरिम संविधानले टुङ्गो लगाई सकेको बिषयलाई पुन: छलफलको बिषय बनाउनु गलत छ । व्यक्ति र नेताहरुको अदुरदर्शिताले बिकराल समस्या निम्त्याउने गम्भीर भूल हो । धर्मलाई कतिपय नेताहरुले राजनीतिक शक्ति प्राप्तिको हतियारका रुपमा प्रयोग गरि रहेका छन् । दरिद्रताले ग्रसित र पिडामा परेका जनतालाई धर्मका नाममा प्रयोग गरि उनीहरुको नारा बिक्रि गरि आ-आफ्ना मानिसहरुलाई सदनमा पुर्‍याई मोजमस्ती गर्ने साधन बनाएका छन् । ती नेताहरु जसले धार्मिक बिखन्डन निम्त्याई रहेकाछन, उहाँहरुले कति हिन्दु मन्दिर बनाए ,कति हिन्दु दीन दुखिहरुलाई सेवा गरे, हिन्दु धर्मको संस्थागत विकासका लागि योगदान के गरेकाछन् ? अन्तरिम संबिधान (धर्मनिरपेक्षता) बनेका यतिको बर्ष भै सक्यो, हिन्दु धर्मको संरक्षण र प्रचारमा कसले रोक लगायो ? यी सबै धार्मिक विवाद निम्त्याउने हाँस्यास्पद अदूरदर्शी राजनीतिक फोहरी खेलभित्रको संकीर्ण सोचको उपज मात्र हुन् ।

बुद्ध जन्मेको देश बौद् धर्मावलम्बीहरुले बौद्ध धर्म राष्ट्र हुनु पर्छ भन्नु पनि उपर्युक्त हुँदैन । मुलुकलाई आफ्नो स्वार्थकालागि धार्मिक रुपले बिभाजन गर्नु राम्रो होइन ।

मलाई सान्दर्भिक र अनौठो लागेको कुरा देश र जनता भन्दा पनि आज आएर धर्म नै किन प्यारो लागेछ यसको रहस्य बुझ्न सकिन ? नेपाल राष्ट्रको उन्नती नचाहने देशी र बिदेशी शक्तिहरुको खतरनाक खेलको भुमरीमा नेपाल पर्ने सम्भावना भएकोले सबै नेपालीलाई बिचार गर्नु पर्ने अवस्थाको अन्तिम छेउमा पुर्‍याएको छ समयले ।

(लेखक नेपाली काँग्रेसका नेता हुन् । उनी हाल अमेरिकाको क्यालिफोर्नियामा बस्छन् । यो आलेख उनको निजी विचार हो ।) -सम्पादक

Your Opnion

//