किन खस्किंदै छ इन्जिनियरिङ्ग पेशाप्रतिको रुची र सम्मान ! - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

किन खस्किंदै छ इन्जिनियरिङ्ग पेशाप्रतिको रुची र सम्मान !

  • ई. नरेन्द्रसिंह भण्डारीOctober 1, 2023
ई. नरेन्द्रसिंह भण्डारी

विभिन्न पेशाहरुमध्ये एक प्रतिष्ठित पेशा हो इन्जिनियरिङ्ग । आजभन्दा केहि समय अगाडिसम्म इन्जिनियरहरुलाई समाजको बौद्धिकवर्ग, सम्मानित पेशाको रुपमा हेरिन्थ्यो। परिवारको कुनै सदस्य इन्जिनियर, डाक्टर छ भने समाजले त्यो परिवारलाई हेर्ने नजर अर्कै थियो। समाजमा कसैको ठूलो घर र परिवारको आम्दानी राम्रो छ भने पक्कै यो घरका छोराछोरी इन्जिनियर, डाक्टर छन् होला भन्ने गरिन्थ्यो। हिजोसम्म इन्जिनियर बन्छु भन्दा पुग्थ्यो भने आज इन्जिनियर बनेपछि के गर्ने १ पैसा कसरी कमाउने १ भन्ने नयाँ बोझ थपिएको छ।

गाउँको कुनै एउटा प्रोजेक्टमा एकजना इन्जिनियर आउँदा वल्लोपल्लो तीन गाउँमासमेत चर्चा हुन्थ्यो । इन्जिनियर यो मितिमा गाउँमा आउँदै छ रे भन्ने गाउँभरी हल्ला हुन्थ्यो । स्थानीयहरू प्रतिक्षामा हुन्थे । तर आज परिस्थिति फेरिएको छ । इन्जिनियर फिल्डमा पुग्दा उपभोक्ता, निर्माण व्यवसायीलाई फोन गर्दै कुरेर बस्नुपर्ने अबस्था इन्जिनियरहरुको छ । मैले, जिल्लाको यो इन्जिनियरलाई चिनेको छु भन्ने व्यक्तिको समाजमा अर्कै फूर्तिफार्ती हुन्थ्यो तर अहिले बिस्तारै इञ्जिनियरिङ्ग पेशाप्रतिको यो मानक भत्किएको छ ।

यस्तो किन भइरहेको छ त ? इन्जिनियरलाई १० वर्षअघि जुन सम्मान र पहिचान थियो, त्यो विस्तारै घट्दै गएको छ । कुनै पेशाप्रतिको सम्मान घट्नुका धेरै कारणहरु हुन्छन् । एउटा मात्रै कारणले यस्तो अवस्था बन्दैन ।

पेशामा संलग्न रहनेले नै पेशालाई सम्मान नगरेको अवस्थामा समाजले सम्मान दिनसक्ने अवस्था पनि रहँदैन । ५ हजार घुससहित फलानो पालिकाको इन्जिनियर समातियो, असार महिनामा अख्तियारको कार्यालय इन्जिनियरले भरियो जस्ता समाचार किन आइरहेका छन् ? के यस्ता समाचारले इन्जिनियरको गरिमा बढाउला ? पछिल्लो समयमा रंगेहात समातिनेमा इन्जिनियर, सव–इन्जिनियर र असिस्टेन्ट सव–इन्जिनियरको तथ्यांक हेर्नुहुन्छ भने सम्भवत: एक नम्बरमै पर्छ ।

त्यस्तै पैसाको प्रलोभनमा फाइल बोकेर होटलदेखि, व्यापारी, ठेकेदारको घरसम्म पुग्ने प्रवृत्तिका कारण पनि इन्जिनियरप्रति समाजमा नकारात्मक असर परिरहेको छ । छिटो पैसा कमाउने सोचमा गलत काम गरेर आफ्नो र सिंगो इन्जिनियरिङ्ग क्षेत्रको मान, मर्यादाको ख्याल नगर्ने साथीहरुका कारण पनि यस्तो समस्या आइरहेको छ ।कतिपय खराब साथीहरूको व्यवहार र कुनियतले गर्दा बिस्तारै इन्जिनियरिङ्ग पेशाप्रति समाजले गर्ने मान–सम्मान खस्कँदैछ । काममा अविश्वास पैदा हुँदैछ, रक्सी र भाले नखाई र गोजीमा दुई–चार पैसा नराख्दि इन्जिनियरले बिल पास गर्दैनन् भन्नेहरु हरेक वडा–वडामा भेटिन थालेका छन् । समाजमा इन्जिनियरको हिजो जुन छवी थियो आज त्यसमा कमी आउनुमा यस क्षेत्रले भोग्दै गइरहेको बदनामी पनि एउटा मुख्य कारण हो ।

अझै राज्यको पुर्नसंरचनापछि इन्जिनियरहरु वडा वडामा कार्यरत रही सेवा दिइरहेका छन् । राज्यको लागि यो एउटा निकै राम्रो र फाइदाको बिषय हो । आफूभन्दा असक्षम जनप्रतिनिधिहरु र टोले नेताहरुबाट दैनिक हेपिनु, दबिनु र अपमानित हुनुपर्ने अबस्था इन्जिनियरहरुको छ।

इन्जिनियरिङ्ग मूल्य मान्यता र नम्स अनुसार इन्जिनियरले काम गर्न पाइरहेका छैनन् । आफ्नो क्षमता, सिकाई र अनुभवको उपयोग गर्न पाइरहेका छैनन। इञ्जिनियरिङ्ग ‘इथिक्स’ले नदिने कामहरु कार्यसम्पादन गर्दिन भन्दा इन्जिनियररुले शारिरिक र मानासिक आक्रमण भोगिराख्नु परेको छ। यसरी काम गरिराख्नुभन्दा चोकमा किराना पसल खोलेर बस्छु, कि बिदेश गएर भाँडा माझेर बस्छु भन्ने स्थितिमा प्राय: इन्जिनियरहरु पुगेको अवस्था छ ।

अर्को पक्ष पनि छ । पैसा धेरै कमाउनेलाई बढी इज्जत गर्ने सामाजिक मनोविज्ञान छ । प्रविधिको परिवर्तनसँगै पैसा कमाउने त्यस्ता धेरै बाटा आएका छन् , खाएको र हल्ला गरेको भिडियो मात्र पोस्ट गर्ने युट्युबरले दिनरात नभनी मेहनत गर्ने र दिमाग खियाउनेले भन्दा निकै धेरै पैसा कमाइरहेका छन् । पहिला इन्जिनियरलाई बढी सम्मान किन थियो भने उसले अरूले भन्दा धेरै पैसा कमाउँथ्यो । पक्कै पनि पैसा धेरै कमाउने र आर्थिक हैसियत माथि भएकालाई नै समाजले बढी सम्मान दिन्छ । यो समाजले मान्छेलाई मापन गर्ने चिज भनेको पैसा भएको छ । प्राविधिक कामभन्दा अरू सरल बाटोहरूबाट बढी पैसा आर्जन गर्नेहरू समाजमा बढेका छन् । एउटा इन्जिनियरले महिनामा ३०र३५ हजार कमाउँछ भनेपछि आफूभन्दा कम अब्बल मानिएकाहरूले सरल तरिकाले त्योभन्दा धेरै गुणा बढी कमाउन थालेपछि स्वाभाविक रूपमा इन्जिनियरमाथि दबाव थोपरिएको हुन्छ । त्यसले पनि इन्जिनियरिङ्गप्रतिको दृष्टिकोण विगतको जस्तो रहन सकेन ।

मुख्य कुरा बौद्धिकता, अध्ययन र अनुसन्धान भन्दा पैसा, शक्ति र राजनीतिलाई समाजले बढी महत्व दिइरहेको छ । यसैकारण खस्किंदै छ बौद्धिक वर्गप्रतिको मानसम्मान, इज्जत र रुचि ।

राज्यको पुनर्संरचनापछि इन्जिनियरहरु वडा वडामा कार्यरत रहि सेवा प्रवाह गरिरहेका छन् । राज्यको लागि यो निकै राम्रो र फाइदाको विषय हो । तर आफूभन्दा असक्षम जनप्रतिनिधिहरु र टोले नेताहरुबाट दैनिकजसो इन्जिनियरहरु हेपिनु, दबिनु र अपमानित हुनपर्ने अवस्था विद्यमान छ अहिले ।

Your Opnion

//