काठमाडौँ / १८ भाद्र । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ्ग अध्ययन संस्थानमा शुल्क बढाइएपछिको विवाद समाधान हुन सकेको छैन। यही विवादका कारण आइतबारदेखि तोकिएको वार्षिक परीक्षा पाँच दिनपछि सारिएको छ।
इन्जिनियरिङ्ग अध्ययन संस्थानले भदौ १७ देखि तय गरेको स्नातक तह चौथो वर्षको सातौं सेमेस्टरको परीक्षा शुल्क वृद्धिको विरोधमा विद्यार्थी अनशन बसेकै कारण सार्नु परेको संस्थानले जनाएको छ ।
आर्थिक रूपमा नराम्रोसँग टाट पल्टिने अवस्थामा पुगेको संस्थान सञ्चालनका लागि गत आर्थिक वर्षमा संस्थानले ९ करोडको ऋण बोक्नु परेपछि एक सय ७६ दशमलव ७८ प्रतिशतले शुल्क वृद्धि गरेको थियो।
पुल्चोक इन्जिनियरिङ्ग कलेजका स्ववियु सभापतिको नेतृत्वको टोली विद्यार्थी आन्दोलनमा रहेकाले अध्ययन गर्न समय नपुगेको र यही अवस्थामा परीक्षा हुँदा धेरै विद्यार्थी फेल हुने अवस्था रहेको भन्दै परीक्षा महाशाखा र कलेजमा तालाबन्दी गरेपछि संस्थान परीक्षा सार्ने सहमति पुगेको थियो । तालाबन्दी खुल्यो र परीक्षा अब भदौ २२ गतेदेखि हुने तय भएको छ ।
यसरी तय गरिएको वार्षिक परीक्षा विद्यार्थीको आन्दोलनकै कारण सार्नु इन्जिनियरिङ्ग अध्ययन संस्थानका लागि घातक हुने शैक्षिक क्षेत्रका विज्ञहरु बताउँछन् । त्यसै पनि त्रिभुवन विश्वविद्यालयभित्र बेथितिको चाङ छ। अर्कातिर विद्यार्थीकै आन्दोलनका कारण परीक्षा सार्नु संस्थानका लागि घातक सावित हुने संकेत हो ।
संस्थान अन्तर्गतका आंगिक क्यम्पसको शुल्क दुई लाख ८० हजारबाट बढाएर सात लाख ७५ हजार पुर्याएकोप्रति संस्थानका आंगिक कलेजका विद्यार्थी विरोध जनाउँदै आन्दोलनमा उत्रिएका हुन् । संस्थानले आंगिक कलेजहरू सरकारी स्वामित्वमा भए पनि सरकारले प्राविधिक शिक्षामा लगभग शून्य लगानी गरेकोले कलेज धान्न मुस्किल परेको भन्दै २७ वर्षपछि शुल्क वृद्धि गर्नु परेको थियो ।
पूर्वाधार, सेवासुविधा, बिजुली, बत्ती, पानी, भान्सेको खर्च सरकारले दिँदैन। साथै चालक, कुचिकार र कार्यालय सहायकको समेत खर्च सरकारले दिँदैन । खर्च धेरै छ, संस्थान धान्नै मुस्किल परेको छ। यस्तै अवस्था रहे मंसिरदेखि शिक्षक कर्मचारीलाई तलब खुवाउन नसक्दा संस्थान बन्द गर्नुपर्ने अवस्था आउने देखिन्छ ।
Your Opnion