काठमाडौँ / १७ साउन । म्याग्दीको मङ्गला गाउँपालिका–४ उपल्लो बुकेनीका दलवीर पुनले बर्खायाममा बेमौसमी बन्दा उत्पादन गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइको उपल्लो बुकेनीमा रहेको एनएमडी कृषि तथा पशुपक्षी फार्ममा बेमौसमी बन्दा उत्पादन भएको हो । ३७ वर्षीय पुनले १५ रोपनी बारीमा ‘ग्रिन क्रोनेट’ जातको बन्दाखेती गरेका छन् ।
‘बेमौसममा खेती गर्न सकिने जातको बन्दा परीक्षणका लागि भित्र्याइएको हो’, उनी भन्छन, ‘वैशाखमा लगाएको बिरुवा हुर्किएर अहिले बन्दाको आकार लिएको छ । साउन पहिलो हप्तादेखि उनले बन्दा बजार पठाउन थालेका छन् । ’पानी खप्न सक्ने र चिसो हावापानीमा गर्न सकिने ग्रिन क्रोनेट जातको बेमौसमी बन्दा खेतीले पुनको फार्म हराभरा भएको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले जिल्लामा पहिलो पटक बर्खायाममा बन्दा उत्पादन भएको बताउँछन् । ‘बन्दा हिउँदे तरकारी बाली हो, अहिले बर्खामा पनि खेती गर्न सकिने जातको विकास भएको छ’, उनी भन्छन्, ‘बेमौसममा उत्पादन भएको बन्दाले बजार र मूल्य राम्रो पाउँछ ।’ तीन वर्षदेखि टमाटरखेती गर्दै आएका पुनले यस वर्ष बेमौसमी बन्दाखेती गरेका छन् । उनको फार्ममा हाल पाँच वटा सेमी हाइटेक टनेलमा टमाटर उत्पादन भएको छ । खुला टनेलमा हावाहुरी र असिनाले क्षति गरेपछि कृषि ज्ञान केन्द्रको सहयोगमा सेमी हाइटेक टनेल बनाएको पुनको भनाइ छ ।
पुन २०५७ सालदेखि २०६८ सालसम्म तत्कालीन माओवादीले सञ्चालन गरेको ‘जनयुद्ध’मा जनमुक्ति सेनाका रुपमा सहभागी भएका थिए । नेकपा माओवादी केन्द्रको वडा कमिटी अध्यक्ष रहेका पुन दहवन शिविरबाट स्वेच्छिक अवकाश लिएपछि करिब पाँच वर्ष रोल्पामै व्यापार, व्यवसाय गरेर बसेका थिए । ७ वर्षअघि घर फर्किएर २१ रोपनी जग्गा किनेर कृषि फार्म स्थापना गरेका हुन् ।
बाख्रापालनबाट फार्म सुरु गरेका पुन ३ वर्षयता टमाटर र बेमौसमी तरकारी खेतीमा केन्द्रित भएका छन् । फार्ममा हालसम्म रु ५० लाख लगानी भएको पुनले बताए । ‘कृषिमार्फत नै समृद्धि हासिल गर्न सकिन्छ भन्ने सोचेर विदेश जान छाडेर यही खेती गरेर बसेको हुँ’, उनी भन्छन्, ‘आम्दानीबाट सन्तुष्ट छु । फार्मको पूर्वाधारमा लगानी विस्तार गरेको छु ।’
बिहान झिसमिसेदेखि साँझसम्म फार्ममा काम गर्ने पुनले आवश्यकता अनुसार स्थानीय मजदुरलाई ज्यालामा काम लगाउँदै आएका छन् । मसलेदार फल टिम्मुरको पनि खेती गरेका पुनको जडीबुटी खेती गर्ने योजना बनाएका छन् ।
‘मसलेदार फल टिम्मुरको खेतीको सुरूवात गरेको छु । अब विस्तारै जडीबुटी खेती गर्ने मेरो योजना छ।’ सिँचाइ सुविधा र चिसो हावापानी भएकाले तरकारी खेती प्रभावकारी भएको छ । सडक पुगे पनि यातायातको असुविधाका कारण ढुवानीमा धेरै खर्च हुने, बजारमा व्यापारीले भनेको मूल्यमा सामान बेच्नुपर्दा समस्या भएको पुन बताउँछन् ।
बेनी, बागलुङमा खपत नभएको तरकारी पोखरा पठाउने गरेका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत तरकारीको बजारीकरण गरेको बताउँछन् । ‘अहिले त जमाना फेसबुकको छ। त्यसकारण तरकारीको फोटो राखेर किनबेच पनि गर्न थालेको छु। तरकारी जजस्लाई मन पर्छ, उहाँहरुले फोन गरेर मगाउँनुहुन्छ।’ पुनको योजना पनि अब अनलाइनबाटै सहज माध्यमले व्यापार गर्ने छ । उनी भन्छन्, ‘ फेसबुकमा हाल्ने बित्तिकै मानिसको फोन आइहाल्छ। अब म यही माध्यमबाट व्यापार बजारीकरण र विस्तार गर्ने सोचमा छु। हेरूँ के हुन्छ। तरकारी बेच्ने राम्रो अनलाइन प्लेटफर्म भैदिए हुन्थ्यो उनको धारणा छ ।
Your Opnion