धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

धान पकेट क्षेत्रकै बासिन्दा आयातित चामलमा निर्भर

काठमाडौँ-       तनहुँको व्यास नगरपालिका–८ बर्लाचीका ८१ वर्षीय अग्रज किसान विष्णुप्रसाद ओझालाई बजारबाट किनेर ल्याएको चामलको भातको स्वाद पटक्कै मनपर्दैन । आफ्नै खेतमा उब्जेको धानको भात खाँदै आएका उनी अहिले बजारको चामलको स्वाद मन नपरे पनि खानुपर्ने बाध्यता रहेको बताउँछन् ।

पहिले गाउँमा एउटा घरमा मसिनुको चामल पाक्दा गाउँभर नै बास्ना थाहा हुने गरेको सम्झँदै उनी भन्छन्, “पहिले चामलको स्वाद गुलियो हुन्थ्यो । अहिले स्वाद नै फरक छ । अहिलेको धानबाट आएको चामलको गुलियोपन छैन ।” प्राङ्गारिक मल प्रयोग खेतीपातीमा गर्ने प्रचलन नै हराएको उनी बताउँछन् । विगतमा प्राङ्गारिक मल र गाईवस्तुको मल हाल्दा उत्पादन राम्रो हुनुका साथै स्वादिलो हुने गरेको उनको भनाइ छ ।

ओझा भन्छन्, “ढिँकी, जाँतोमा कुटानीपिसानी गर्ने भएकाले पनि स्वादिलो हुन्थ्यो । अहिले विद्युतीय मेसिनमा कुटानीपिसानी हुँदा स्वाद फरक परेको हो ।” अहिले खेतीपाती गर्न खर्चिलो भएको उनी बताउँछन् । लगानीअनुसारको प्रतिफल हुन छाडेपछि जग्गा बाँझै राखेर बजारबाट चामलको बोरा ओसार्ने क्रम बढ्दै गएको उनको भनाइ छ । उनी भन्छन्, “भकारीको धान निकाल्नु भन्दा बजारको बोरा बोक्न सजिलो मान्छन् मानिसहरु । दु:ख किन गर्छन् र ?”

आफ्नै खेतबारीमा उत्पादन भएको धान किनेर खानुपर्ने अवस्था आएको बताउँदै उनले भने, “अधियाँ गर्ने मान्छे पाइँदैन । खेत बाँझै रहन्छ । आफ्नो खेत ठेक्कामा दिएर उत्पादन भएको धानलाई बजारबाट किनेर चामल खानु परेको छ ।”विगतमा मङ्सिरे धान मात्रै ७० देखि ८० मुरी धान उत्पादन गर्ने उनले केही वर्षदेखि आफूले खेती गर्न नसकेको बताए ।

व्यास नगरपालिका–७ का ८० वर्षीय इन्द्रबहादुर शाहीले उत्पादन गर्न नसकेपछि बजारको चामल किनेर खानुपर्ने अवस्था आएको बताए । “खेतीपाती गर्न सकिदैन । छोराछोरी बजार झर्ने र विदेश जाने गर्दा खेतीपाती गर्दैनन् । भएको जग्गाजमिन बाँझो छ र किनेर बजारको चामल खानुपर्ने बाध्यता भएको छ,” शाहीले भने । बजारबाट किनेको चामलको मूल्य भन्दा उत्पादन लागत बढी हुने हुँदा पनि युवा पुस्ताले चासो दिन छाडेको उनको भनाइ छ ।

कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ कृषि विकास अधिकृत कुलप्रसाद तिवारीले धान उत्पादन बर्सेनि घट्दो क्रममा रहेको बताए । “धान उत्पादन लागत बर्सेनि वृद्धि हुन्छ तर धानको मूल्य वृद्धि नहुँदा धान खेतीमा युवाको चासो छैन,” उनले भने । जिल्लामा जमिन बाँझिने क्रम बढ्दै गएको तिवारीले बताए । “जबसम्म स्थानीय, प्रदेश र सङ्घ सरकारले जमिन बाँझो राख्न नपाउने नीति निर्माण गर्दैनन्, तबसम्म बाँझो जमिन बढ्दै जान्छ ।

चालू आर्थिक वर्षमा तनहुँमा धान उत्पादन वृद्धि हुने भएको छ । धान फुल्ने समयमा वर्षा भएकाले उत्पादन बृद्धि भएको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए । “गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि हुने अनुमान गरेका छौँ”, उनले भने । गत वर्ष आठ हजार २०० सय हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३२ हजार आठ सय २४ मेट्रिकटन धान उत्पादन भएको थियो । यसवर्ष उत्पादन क्षेत्र केही वृद्धि भएको उनले बताए ।

यसवर्ष आठ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ३३ हजार आठ सय ४० मेट्रिकटन धान उत्पादन हुने अनुमान गरिएको तिवारीले बताए । उत्पादन वृद्धि भए पनि पकेट क्षेत्रकै किसानले धान किनेर खानुपर्ने अवस्था रहेको पनि उनले बताए ।

कृषि पेसाबाट विमुख

कृषि पेसामा लागत वृद्धि हुने क्रम रहेकाले यसबाट विमुख हुने किसान बढ्दै गएका छन् । आफैँले उत्पादन गर्नुभन्दा किनेर चामल खान लागत कम पर्ने भएपछि दु:ख गर्न युवा नचाहने बताइएको छ । धान उत्पादनका लागि धेरैखर्च बढ्दा विदेशबाट आयातित चामल किनेर खान किसानले नै थालेको व्यास नगरपालिका–८ बर्लाचीका ७२ वर्षीय अगुवा व्यक्ति दिनानाथ लम्साल बताउँछन् । उनी भन्छन्, “पुरानो परम्परागत खेतीपाती गर्ने प्रचलन छैन ।”
स्थानीय उत्पादित मल, बीउ हराएको र पूर्ण रुपमा आयातित मल, बिउबिजन हुने भएकोले उत्पादन राम्रो भएको देखिने गरेको उनले बताए । धेरै देखिए पनि दीर्घकालसम्मलाई अन्न नपुग्ने गरेको लम्साल बताउँछन् । तराई क्षेत्रमा जस्तो कामदार यहाँ नपाइने उनको भनाई छ । रासायनिक मलको प्रयोगले माटो बिग्रने र उत्पादन घट्ने किसानको बुझाइ छ । विगतमा तनहुँ करिब धान उत्पादनमा आत्मनिर्भर रहेको मात्र होइन, अन्यत्र निर्यात समेत हुने गरे पनि हाल आयात हुने गरेको छ । व्यास नगरपालिकाअन्तर्गत साँगेफाँट, रिस्तीफाँट, सेरा, गजौडे, माझफाँट, सिसाघाट, सत्रसय, घाँसीकुवा, भानु नगरपालिकाको चुँदीफाँट, बाइसजागर, आँबुखैरेनी गाउँपालिकाको ढापटार, बन्दीपुर गाउँपालिकाको याम्पाफाँट, सत्रसयफाँट धान उत्पादनको राम्रा क्षेत्र हुन् ।

त्यस्तै देवघाट गाउँपालिकाको बेटार, म्याग्दे गाउँपालिकाको गुणादी, अकलाफाँट, शुक्लागण्डकी नगरपालिकाको फिर्दीफाँट, क्यान्दीफाँट, मान्द्रेफाँट, भिमाद नगरपालिकाको डुम्रीबँेसी, बुढुवाफाँट, बैडीफाँट, घिरिङ गाउँपालिकाको अत्रौलीफाँट, पुट्टारफाँट, ऋषिङ गाउँपालिकाको पिपलटारफाँटलगायतका क्षेत्रमा धान उत्पादन हुन्छ । धान उत्पादन हुने यी क्षेत्रमा अहिले बस्ती विस्तारसँगै घडेरीका रुपमा खण्डीकरण गर्ने, बाँझो राख्ने क्रमले उत्पादन घट्दै गएको छ ।

रासस

Your Opnion

//