बागलुङको काठेखोलामा स्थानीयको सक्रियतामा ब्यूँतिँदै विद्यालय - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

बागलुङको काठेखोलामा स्थानीयको सक्रियतामा ब्यूँतिँदै विद्यालय

काठमाण्डौ :- बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको निर्मल आधारभूत विद्यालयमा तीन वर्षअघि जम्मा १७ जना विद्यार्थी थिए । विद्यालयको खस्कँदो गुणस्तरका कारण अभिभावकहरु सन्तानलाई निजी विद्यालयमा पढाउन सुरु गरेसँगै विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो क्रममा थियो । तर कोरोना महामारीको समयमा गाउँ फर्कनु भएका दीपेन्द्र खत्री विद्यालयको कमजोर अवस्था देखेर चिन्ता लाग्यो ।

उनी विद्यालय सुधारको योजनासहित अघि बढे । केही समयमै खत्री विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चुनिए । अध्यक्ष भएसँगै खत्रीले अभिभावकलाई आकर्षित गर्नका लागि गुणस्तर बढाउन लाग्नुभयो । विद्यालयमा विद्यार्थीको सङ्ख्या बढाउनका लागि खत्रील सदरमुकाममा निजी विद्यालयमा अध्ययन गर्दै आएका आफ्ना तीन बालबच्चालाई फर्काएर सोही विद्यालयमा भर्ना गराए ।

खत्रीको विद्यालय सुधारको अभियानमा स्थानीयले पनि साथ दिए । केही स्थानीयले सन्तान सरकारी विद्यालयमै फर्काए भने आर्थिक स्रोत पनि जुट्न थाल्यो । २०७७ सालमा काठेखोला गाउँपालिकाले विद्यालय गाभ्ने योजना अन्तर्गत जनसेवा प्राविका १२ जना विद्यार्थी भर्ना गर्‍यो । विद्यालय गाभेपछि विद्यार्थीको संख्या २९ पुग्यो । गाभ्ने प्रक्रिया पूरा भएपछि स्थानीयमा आशा पलायो ।

क्रमश: स्थानीयहरुले सन्तान विद्यालयमा भर्ना गर्न थाले । २०१७ सालमा स्थापना भएको विद्यालयमा तीन वर्षमा २६ जना विद्यार्थी थपिएर ४३ पुगेका छन् । प्रधानध्यापक अबिराम थापाका अनुसार २०५२ सालमा हालसम्मकै सबैभन्दा बढी १०० विद्यार्थी पुगेका थिए । तर बसाइसराइ तथा निजी विद्यालयमा आकर्षण बढेसँगै विद्यार्थीको संख्या कम हुँदै गएको थियो ।

तीन वर्ष अघिसम्म बन्द हुने अवस्थामा पुगेको विद्यालय यतिबेला भने बलियो बन्दै गएको छ । हाल गौथली सामूदायिक विकास केन्द्र र धम्जा घर भई विभिन्न स्थानमा छरिनुभएका शिक्षाप्रेमीहरुले जुटाएको आर्थिक रकमबाट विद्यालयमा दुई शिक्षक नियुक्ति समेत गरिएको अध्यक्ष खत्रीले बताए ।

अहिले विद्यालयमा एकदेखि पाँच कक्षासम्म तीन जना शिक्षकको दरबन्दी छ भने दुई जना राहत अनुदान र दुई शिक्षक स्थानीयको सक्रियतामा गरी सात जना शिक्षक तथा कर्मचारी नियुक्त गरिएको छ । कोरोना महामारीको समयमा विद्यालय सुधारको योजना निकै प्रभावकारी भएको र विद्यालयले पुरानै अवस्थामा ल्याउन सफल भएको प्रधानध्यापक थापाको भनाइ छ ।

हाल विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत १८ लाख लागतमा २ कोठे पक्की निर्माणधीन अवस्थामा छ । अपुग रकमका लागि गाउँपालिकासँग माग गरिएको विद्यालयले जानकारी दिएको छ । गौथली सामूदायिक विकास केन्द्रले विद्यालयलाई पाँच लाखको अक्षयकोष स्थापनाका लागि सहयोग गरेपछि स्थानीय क्लव, आमा समूह, भजन समूह, वन समूहलगायतबाट विद्यालयमा दुई शिक्षकलाई कोषको ब्याजबाटै तलब व्यवस्थापन गर्न पुग्ने गरी अक्षय कोषको व्यवस्था मिलाइएको केन्द्रका अध्यक्ष शिव भण्डारीले जानकारी दिए ।

Your Opnion

//