एकतिस वर्षदेखि बलेवा विमानस्थल राजनीति गर्ने थलो बन्दै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

एकतिस वर्षदेखि बलेवा विमानस्थल राजनीति गर्ने थलो बन्दै

काठमाण्डौ :- उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ, बागलुङको बलेवा । विसं २०४८ पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाण्डौ र भैरहवासँग जोड्थ्यो बलेवाले । यहाँ रहेको बलेवा विमानस्थल देशभर बागलुङवासीलाई जोड्ने माध्यम थियो । विसं २०४८ मा पोखरा–बागलुङ राजमार्ग सञ्चालनमा आएपछि बलेवाले जहाज देख्न पाएनन् ।

एकतीस वर्षयता यहाँ रहेको विमानस्थल राजनीति गर्ने थलो बन्दै आएको छ । कहिले गौचरण बनेको चर्चा त कहिले प्रयोगविहीन विमानस्थललाई अन्य कुनै काममा ल्याउनुपर्ने चर्चाहरू भइरहे । तर विमानस्थल न त उपयोग भएको छ न प्रयोग । विमानस्थलको झन्डै सात सय मिटर लामो धावनमार्ग पछिल्लो समय कालोपत्र गरिएको छ ।

चौबिस मिटर चौडा, तारबारले घेरिएको, टर्मिनल भवन मर्मत गरेर रङरोगनसमेत भएको विमानस्थल हवाईजहाजको पर्खाइमा छ । यो विमानस्थलको धावनमार्ग आठ करोड बढी खर्चेर बनेको हो । निर्माणका बेला हतार–हतार गरिए पनि बनेपछि सरोकारवालाले जहाज चलाउने पहल गरेका छैनन् ।

“हिजो गौचरण रहेको विमानस्थल अहिले टल्किने भएको छ, अब जहाज चलाउनुपर्छ”, पूर्व सांसद डा. सूर्य पाठकले भने , “विमान चल्न यात्रु चाहिन्छन्, सडक राम्रो नहुँदा यात्रुको समस्या भएको हो ।” नागरिक उड्डयन प्राधिकरण, बागलुङ नगरपालिका र राजनीतिक दलका नेतृत्वले बनिसकेको विमानस्थलको सदुपयोगबारे चासो राख्नुपर्ने स्थानीय बताउँछन् ।

प्राधिकरणका कार्यक्रम व्यवस्थापक मीनराज ओझाले कालोपत्रपश्चात तत्कालै जहाज सञ्चालन गर्ने जनाउँदै आएकाथिए । तर गत वैशाख–जेठमै विमानस्थलको धावनमार्गलगायतका संरचना तयार भएका भए पनि सहज सञ्चालनमा आउन सकेको छैन् । विमानस्थलबाट जहाज चल्ने सम्भावना अझै नभएको बागलुङ नगरपालिका–१४ का अध्यक्ष चक्रबहादुर खत्रीले बताए  ।

मालढुङ्गादेखि १० किमी दूरीमा पुग्न सकिने विमानस्थलका लागि दुईवटा सडक छन् । तर तीन वर्षदेखि खसेको पहिराले दुवै सडक अवरुद्ध बनाउने गरेको छ । वर्षाका तीन महिना सडक ठप्पप्राय: हुन्छ  । पहिरो पन्छाउने र सडक चलाउन नसक्दा यात्रीले पैदल हिँड्नुपर्ने बाध्यता छ ।

“वर्षाको समयमा सवारी चढेर सदरमुकाम पुग्नै कठिन छ, यहाँ जहाज चल्ने कुरामा कसरी विश्वास गरौँ”, बलेवा पैञ्युपाटाका भवानी रिजालले भने , “पहिले सडक मजबुद बनाउन लाग्नुपर्छ, जहाज नचलाएर त सुख होला र ?” सडकको पहुँच नभएसम्म जहाज चलाएर पनि यात्री लैजान नसकिने नरहेको उनको भनाइ छ ।

सरकारले मालढुङ्गाबाट बलेवासम्मको कालीगण्डकी करिडोरको १० किमी खण्ड कालोपत्र गर्न ठेक्का लगाएको छ । तर यो सडक कहिले कालोपत्र बन्छ भन्ने यकिन छैन । गत असोज १३ गते यो सडक कालोपत्रका लागि ठेक्का खुलेको भए पनि प्रक्रियागत काम बाँकी रहेको भन्दै करिडोर आयोजना कार्यालय पाल्पाले निर्माण व्यवसायीसँग चुनावपछिमात्रै सम्झौता गर्ने योजना बनाएको छ ।

“दसैँमा खुलेको बागलुङ–कुश्मीशेरा सडक तिहारमा खुल्छ कि खुल्दैन थाहा छैन”, जैमिनी नगरपालिका–४ सर्कुवाका तेजेन्द्र नेपाली भन्छन , “गाडीका पट्टा भाँचिने सडक हुँदै जहाज चढ्न यात्रु जाँदैनन् ।” काष्ठमण्डप उमा एण्ड संयुक्त निर्माण कम्पनीले गत वर्ष आठ करोड २४ लाख ३४ हजारमा विमानस्थल कालोपत्र गरेको हो ।

विमानस्थलमा छ सय २० मिटर लामो पक्की नाली, एक हजार पाँच सय मिटर लामो घेराबार र एउटा मुख्य तथा अर्को आपत्कालीन गेट बनेको छ । मैदानको सबै भाग एक किमी दूरीको छ । तर हाल झन्डै सात सय मिटर कालोपत्र गरिएको छ । यहाँ १८ देखि २४ सिट क्षमताका जहाज चल्न सक्छन् ।
रासस

Your Opnion

//