निर्माणाधिन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

निर्माणाधिन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान तीव्र

काठमाण्डौ :- उत्तरी रसुवास्थित टिमुरे क्षेत्रमा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको उपकरण जडान कार्य तीव्ररूपले अगाडि बढेको छ । एक सय ११ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सन् २०१३ बाट चरणबद्वरूपमा अगाडि बढेको सो आयोजनाको सुरूङ खन्नेलगायतका संरचना निर्माण गरी उपकरण जडानलाई उच्च प्राथमिकता दिइएको हो ।

आयोजना आयोजना प्रमुख सत्यराम ज्याख्वका अनुसार उपकरण जडानकार्य ६० प्रतिशत पूरा भएको र बाँकी काम २०७९ भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम अगाडि बढिरहेको छ । उपकरण जडानका लागि दैनिक एक सयभन्दा बढी दक्ष जनशक्ति परिचालन भइरहेका छन् ।

उपकरण जडानमा भोइथ इण्डिया कार्यरत रहेको र उसको काम सन्तोषजनक तवरले अगाडि बढिरहेको इलेक्ट्रिकल इञ्जीनियर सन्तोष अधिकारीले जानकारीदिए । भोटेकोसी खोलाको बाँध तथा चार हजार एक सय ८५ मिटर लामो हेडरेस सुरुङ एवं विद्युत्गृहसमेतका संरचना निर्माण सम्पन्न गरी उपकरण जडानको काम अगाडि बढेको हो ।

केही वर्ष अगाडि भएको इन्धन अभाव, समय–समयमा गइरहने वर्षायामको हिले तथा हिउँदयामको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भइरहँदा निर्माण सामग्री ढुवानीमा असर, विसं २०७२ को भूकम्प असरले पहरा फेदको बाहिरी भागमा लामो समयसम्म हिँडडुल तथा काम गर्नसमेत जोखिम, भोटेकोसीमा गत वर्ष आएको बाढी, कोभिड सङ्क्रमण असरजस्ता विविध समस्याकै कारण विद्युत् उत्पादनमा ढिलाइ भएको बताइन्छ ।

१३ अर्ब ६० करोडको लागतमा सन् २०१७ मै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण अगाडि बढाइएको सो आयोजना समयमा सम्पन्न गर्न विविध कठिनाइका कारण ढिलाइ भएको हो । आयोजना निर्माणको समयावधि लम्बिन गएकाले महँगीको तुलनामा निर्माण लागत केही अंशले बढ्ने प्राविधिकले बताएका छन् ।

विसं २०७९ भित्रैमा परीक्षण उत्पादन गर्ने अठोट गरिए पनि हालसम्म राष्ट्रिय प्रसारण लाइन तयार नहुँदा उत्पादित विद्युत् केही समयका लागि खेर जाने हो कि भन्ने प्राविधिकमाझ चिन्तासमेत बढेको देखिएको छ । उपकरण जडानका साथसाथै उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा पठाउन टिमुरेबाट आमाछोदिङ्मो गाउँपालिकाको थाम्बुचेतमा रहने विद्युत् हबमा लैजाने अन्तरिक प्रसारण लाइन निर्माणसमेत भइरहेको वातावरणविज्ञ तेज साउदले जानकारी दिए ।

आयोजनाले उत्पादन गरेका विद्युत् काठमाडौँ पुर्‍याउन राष्ट्रिय प्रसारण लाइन निर्माणको अन्तिम चरणमा पुगेको बताइएको छ ।
रासस

Your Opnion

//