मनाङ बाह्य पर्यटकको भ्रमण गन्तव्य - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

मनाङ बाह्य पर्यटकको भ्रमण गन्तव्य

काठमाण्डौ :- बाह्य पर्यटक नेपाल आउने क्रममा विशेषगरी मनाङलाई मुख्य गन्तव्य बनाएर आउने गरेको पाइएको छ । प्राङ्गारिक खाद्य पदार्थ, प्राकृतिक रहनसहन, रमणीय वातावरणको अवलोकनका लागि मनाङ देशकै प्रसिद्ध गन्तव्यको स्थल मानिन्छ । बाह्य पर्यटक विशेषगरी नेपाल भ्रमण तालिकासहित आउँदा मनाङलाई भ्रमणको मुख्य सूची बनाएर आउने गर्दछन् ।

सबैभन्दा उचाइमा रहेको तिलिचो ताल र थोराङ्ला पास हुँदै हिमाली क्षेत्रको अवलोकन र मनोरम दृष्यको अनुभव संगाल्ने लक्ष्यका साथ उनीहरु यहाँ आउने गर्दछन् । साहसिक खेल मन पराउने पर्यटकका लागि मनाङलाई मुख्य गन्तव्यस्थलकै रुपमा लिने गरिन्छ । अघिल्ला दुई वर्ष भने कोभिडको सङक्रमणले पर्यटक आगमन ठप्प भयो ।

गत आर्थिक वर्षमा भने कोभिडको सङ्क्रमण केही मथ्थर हुँदै गएपछि हिमाली जिल्ला मनाङ भित्रिन बाह्य पर्यटकको सङ्ख्या बढेको छ । आव २०७७/७८ भन्दा आर्थिक वर्ष २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएको तथ्याङ्क देखिन्छ । यस अवधिमा नेपालमा भित्रिने कूल दुई लाख ८५ हजार तीनसय ६३ बाह्य पर्यटकमध्ये मनाङमा मात्रै सात हजार २० पर्यटक भित्रिए ।

आर्थिक वर्ष २०७८/७९ मा पुरुष चार हजार सातसय ४९ र महिला दुई हजार दुईसय ७० गरी कूल सात हजार २० बाह्य पर्यटक मनाङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार गत आवको कात्तिक, चैत र वैशाखमा बढी विदेशी पर्यटक मनाङ भित्रिएका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीमा अनुमति प्रवेश लिएको आधारमा यस तथ्याङ्क सङ्कलन गरिएको हो ।

आव २०७८/७९ को साउनमा दुई, भदौमा २०, असोजमा तीनसय २२, कात्तिकमा एक हजार १५, मङ्सिरमा तीनसय ६६, पुसमा ८६, माघमा ५१, फागुनमा पाँचसय २८, चैतमा दुई हजार ४७, वैशाखमा एक हजार नौसय ३६, जेठमा चारसय ८५ र असारमा एकसय ६२ पर्यटक भित्रिएको तथ्याङ्कमा उल्लेख छ । “जिल्लामा बाह्य पर्यटक भित्रिँदा जिल्लाको आम्दानी पनि वृद्धि हुन्छ ।

बाह्य पर्यटकलाई अनुमतिविना प्रवेश दिइँदैन भने आन्तरिक पर्यटकको भने तथ्याङ्क राखिएको हुँदैन । शुल्क नलिए पनि तथ्याङ्क राख्ने व्यवस्था गर्नुपर्छ”, उनी भन्छन । आव २०७७/७८ मा कोभिड सङ्क्रमणका कारण मनाङमा कूल छसय तीन बाह्य पर्यटक भित्रिएको एक्यापले जनाएको छ । जिल्लामा सबैभन्दा धेरै सार्क राष्ट्रबाट पर्यटक भित्रिएका छन् । वर्षायाममा सवारीसाधन आवतजावतमा समस्या हुने भएकाले पर्यटक घट्दा अझै पदमार्ग सुनसान भएको छ ।

सबैभन्दा बढी फ्रान्स, जर्मनी, इटलीलगायतका देशका नागरिक मनाङको भ्रमणमा आउने गरेको एक्यापले जनाएको छ । अब वर्षायाम सकिएपछि आगामी भदौ १५ गतेदेखि पर्यटक बढ्न थाल्नेछन् । पर्यटक हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नुका साथै मनाङबाट थोराङ्लापास गरी मुस्ताङ पुग्ने गर्दछन् ।

थोरालाङ्ला पास गरी मुस्ताङ हुँदै पोखरा पुग्नेगरी अन्नपूर्ण पदमार्गमा केही पर्यटक पदयात्राका लागि आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी पाँच जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् भने पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित पैदलयात्राको सुरुआत गर्दछन् ।

पर्यटकबाट चार लाख ५२ हजार राजस्व

हिमाली जिल्ला मनाङमा भित्रिने पर्यटकबाट छ महिनाको अन्तरालमा चार लाख ५२ हजार राजस्व सङ्कलन भएको छ । सन् २०२२ जनवरीदेखि जुन १४ सम्म जिल्लामा पर्यटक प्रवेशगर्दा सो परिमाणको राजस्व सङ्कलन भएकोहो। विश्वपर्यटन बजारका महत्वपूर्णमध्ये पर्यटकीय क्षेत्रको एकमा यस अन्नपूर्ण पदमार्ग मानिन्छ ।

जनवरीदेखि १४ जुनसम्म मनाङमा कूल पाँच हजार ५६ पर्यटकले प्रवेश गरेको एक्यापको पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले जानकारी दिए । यस अवधिमा एक हजार छसय ६२ जना पर्यटकले मनास्लु र अन्नपूर्णमार्फत फर्किएका थिए । छ महिनाभित्र एकसय दुई पर्यटक अनुमतिबिना जिल्लामा प्रवेश गरेको उनले बताए ।

उनका अनुसार सार्क राष्ट्रका ४० जना र अन्य ६२ जना गरी एकसय दुई पर्यटक अनुमतिबिना नै मनाङ प्रवेश गरेको पाइएको छ ।अनुमतिबिना मनाङ प्रवेश गर्ने सार्क राष्ट्रका पर्यटकलाई प्रतिव्यक्ति दुई हजार र अन्य राष्ट्रबाट आएका पर्यटकलाई प्रतिव्यक्ति छ हजार जरिवाना लिएर प्रवेश गर्न दिइएको उनले बताए ।

सार्क राष्ट्रका पर्यटकलाई एक हजार र अन्य मुलुकका पर्यटकलाई तीन हजार मनाङ प्रवेशका लागि शुल्क तोकिएको एक्यापले जनाएको छ । सोही अवधिमा मनाङमा पर्यटक आएका थिएनन् । कोरोनाको पहिलो, दोस्रोबाट प्रभावित भएपछि दोस्रो कोरोना सङ्क्रमण जोखिम कम भएसँगै बिस्तारै चहलपहल हुन थालेको पनि पुन:कोरोनाको तेस्रो लहरले पदमार्ग सुनसान भएको छ ।
रासस

Your Opnion

//