लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडीको वैकल्पिक मार्ग निर्माण गरिँदै - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडीको वैकल्पिक मार्ग निर्माण गरिँदै

काठमाण्डौ : – लगातारको वर्षाका कारण अवरुद्ध बनेको साँफे–मार्तडी राजमार्गको अम्कोटमा पहिरो बग्न नरोकिएपछि वैकल्पिक मार्ग निर्माण सुरु गरिएको छ । बुढीगङ्गा नगरपालिका–२ को बल्दे हुँदै अम्कोटको गाउँबाट द्वारीको राजमार्ग सडकमा मिलान गर्ने गरी वैकल्पिक बाटो निर्माण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साँफे–मार्तडी सडकखण्डको पहिराबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिकमार्ग निर्माण थालिएको हो । एक साताभित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी यही साउन १७ गते भएको सहमतिअनुसार बिहीबारदेखि काम सुरु भएको सडक डिभिजन कार्यालय साँफेबगरले जनाएको छ ।

बुढीगंगा नगरपालिका, स्थानीय जग्गाधनी र सडक डिभिजन कार्यालय साँफेबीचको वैकल्पिक मार्ग निर्माण गर्ने त्रिपक्षीय सहमति भएको थियो । बल्दे क्षेत्रमा पहिरो जान थालेको चार वर्षपछि वैकल्पिक बाटो निर्माणको काम अघि बढेकोहो । नगरपालिकाले थालेको जग्गाधनीसँगको छलफल पछि नयाँ बाटो निर्माणका लागि जमिन दिन स्थानीय तयार भएका हुन् ।

उनीहरुले मुआब्जा नलिएर नै सडक निर्माण गर्न दिने साउन १५ गतेमात्र लिखित सहमति गरिसकेका छन् । निर्माणको काम सडक डिभिजन कार्यालयकै मेसिनमार्फत गरिने डिभिजन कार्यालय प्रमुख राजेश यादवले बताउनुभयो । स्थानीयले जमिन नि:शुल्क दिने, सडक निर्माणको लागत सडक डिभिजन कार्यालय अछामले व्यहोर्ने र सहजीकरण नगरपालिकाले गर्ने सहमतिमा निर्माणको काम अघि बढेको हो ।

बल्देकै अवरोधका कारण साँफे–मार्तडी सडक बर्सेनि बर्खायाममा चार महिना अवरुद्ध हुने गरेको छ । बल्देको घुम्तीबाट बल्दे आटीचौर सडक भएर कन्र्सन बाजुराको कार्यालय अगाडिलाई नै जिरोप्वाइन्ट बनाएर सडक निर्माण सुरु गरिएको छ । पुरानै रुटको सडक थप खन्दा माथिको बस्ती नै नरहने अवस्था आएकाले गाउँमाथिबाट सडक लैजान दिने सहमति गरिएका स्थानीयको भनाइ छ ।

सडकले मुआब्जा दिएकोभन्दा तीन गुणा बढी जमिन सडककै नाममा काटिएको छ । सडक निर्माणकै कारण सिङ्गो अम्कोट बस्ती नै उठिबास हुने गरी पहिराको जोखिममा रहेकाले पुरानै रुटमा थप जमिन काटेर बाटो निर्माण गर्न नदिने अडान स्थानीयको छ । वैकल्पिक मार्ग निर्माणको जिरो प्वाइन्टबाट काम सुरु भएपछि यातायातका साधन नियमित सञ्चालन हुने यहाँका स्थानीयमा आशा पलाएको छ ।

वैकल्पिक मार्ग निर्माण हुन सके तत्कालको पहिराले अवरुद्ध सडक सञ्चालन हुने छ । सदरमुकाम नै सडक सम्पर्कबाट विच्छेद हुने अवस्थाको अन्त्य र अल्पकालीन समाधानका लागि वैकल्पिक बाटो नै उपयुक्त निकास हुने देखिएको छ ।

तत्कालीन गृहमन्त्री रामबहादुर थापासहितको टोलीले नै राजमार्गको रुट नफेरिने गरी अर्को विकल्प खोज्न दिएको निर्देशनपछि सडक डिभिजन कार्यालयले डिपिआर तयार पारिसकेको छ । तर डिभिजन कार्यालयले तयार पारेको डिपिआर मन्त्रालयमै थन्किएको छ ।

१२ करोड लागत अनुमानसहित थप चार किलोमिटर मार्ग निर्माणको फाइल पाँच वर्षदेखि मन्त्रालयमा थन्किएको डिभिजन कार्यालय अछामका प्रमुख राजेश यादवको भनाइ छ । सडक निर्माण सकिएको दुई वर्षपछि पैमाको पहिराका कारण राजमार्ग सडक भत्किन थालेको हो । निर्माण भएको दुई वर्षसम्म राजमार्ग नियमित सञ्चालन भए पनि पछिल्लो ६ वर्षदेखि उक्त सडक वर्षाका कारण अवरुद्ध हुँदै आएको थियो ।
रासस

Your Opnion

//