महोत्तरीको भङ्गाहासम्म रेल सेवा विस्तारको तयारीले स्थानियमा उत्साह - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

महोत्तरीको भङ्गाहासम्म रेल सेवा विस्तारको तयारीले स्थानियमा उत्साह

काठमाण्डौ :- महोत्तरी, जयनगर–जनकपुर–कुर्था खण्डमा सञ्चालित रेल सेवा थप विस्तारको कुराले महोत्तरीमा उत्साह छाएको छ । नेपाल रेल्वे कम्पनीले अब एक महिनाभित्रै सेवा महोत्तरीको भङ्गाहासम्म विस्तार गर्ने बताएसँगै यस भेगका सर्वसाधारणमा खुसी छाएको हो । हाल जयनगर–जनकपुर–कुर्था खण्डको ३५ किलोमिटरमा सञ्चालित रेल सेवा अब थप १७ किमीमा विस्तार गरिने कम्पनीले तयारी गरेको हो ।

धनुषाको अन्तिम स्टेशन कुर्थाबाट अब रेल सेवा महोत्तरी प्रवेश गरेर चाँडै भङ्गाहासम्म विस्तार गरिने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताएपछि यहाँका लोहारपट्टी, बलवा, भङ्गाहा र बर्दिबास नगरपालिका एवं पिपरा गाउँपालिकाका दर्जनौँ बस्तीमा रेल चढ्न पाइने कुराले उत्साह छाएको हो ।

“अब त भङ्गाहाको बिजलपुरा स्टेशनसम्म चाँडै रेल चल्छ रे”, बर्दिबास नगरपालिका–७ प्रेमनगरका पाका सामाजिक कार्यकर्ता ७० वर्षीय रामेश्वर महतोले भने , “अब जनकपुर हुँदै भारतीय बजार जयनगरसम्म हाम्रो दैनिक आवतजावतमा सहजता हुनेछ ।” बर्दिबास–७ को प्रेमनगर, वडा नं ९, १२ र १३ का क्रमश: पशुपतिनगर, जुडीटोल र भेडियारीटोल बस्ती रेल्वेको बिजलपुरा (भङ्गाहा) स्टेशनबाट टाँसिएका बस्ती हुन् ।

त्यसैगरी लोहारपट्टी, बलवा र भङ्गाहा नगरपालिका एवं पिपरा गाउँपालिकाका ४० भन्दा बढी बस्ती रेल्वेका कुर्था–बिजलपुरा (भङ्गाहा) खण्डका स्टेशनहरु पिपराढी, लोहारपट्टी, सिङ्ग्याही र भङ्गाहा (बिजलपुरा) सँग जोडिएका छन् । कुर्था–बिजलपुरा खण्ड रेल सेवा विस्तार हुनासाथ दुग्ध उत्पादन र तरकारी उत्पादनमा उर्वर मानिने बलवा, भङ्गाहा र लोहारपट्टी नगर क्षेत्रका किसान आफ्ना उत्पादनले तत्काल जनकपुरमात्र नभएर भारतीय बजार पनि पाउने आशले उत्साहित भएका हुन् ।

भर्खरै बिजलपुरासम्म रेल सेवा विस्तारका लागि महाप्रबन्धक झाको नेतृत्वमा सुरक्षा र प्रशासनिक निकायका प्रमुखसहितको टोलीले स्थलगत निरीक्षण अवलोकन गरेपछि अबचाहिँ रेल चढ्न पाइने भयो भन्ने यस भेगका सर्वसाधारणमा आस जागेको छ । वर्षौँदेखि रोकिएको रेल सेवा सञ्चालनको सपना अब पूरा हुने आस पलाएको भङ्गाहा–१ कविलासाका रामशङ्कर मण्डल बताछन ।

अब आफ्ना कृषि उपज सोझै जनकपुर र भारतीय बजार जयनगरसम्म तुरुन्तै पुर्‍याउन सकिनेमा मण्डलले खुसी व्यक्त गरे । जयनगर–बर्दिबास रेल्वे विस्तार परियोजनाको पहिलो खण्ड जयनगर–कुर्थाको ३५ किलोमिटर दूरीमा गत चैतमै सेवा सञ्चालन भइसकेको छ । परियोजनाको दोस्रो खण्ड कुर्था–भङ्गाहामा सेवा सञ्चालनका लागि सबै भौतिक संरचना तयार रहेका हुँदा अब साउनभित्रै रेल चलाइने कम्पनीका महाप्रबन्धक झाको प्रतिबद्धता छ ।

“अब दोस्रो खण्डमा रेल सेवा सञ्चालनमा भौतिक तयारी पूर्ण छ, बस् संरचना तयार गर्ने निर्माण कम्पनीले हामीलाई भौतिक संरचना हस्तान्तरण गर्न बाँकी छ”, महाप्रबन्धक झाले भने , “हस्तान्तरण प्रक्रियाका काम अघि बढेका छन्, अब साउनभित्रै दोस्रो खण्डमा सेवा सञ्चालन गर्न सकिन्छ ।” दोस्रो खण्डमा रेल चल्न थालेपछि यो परियोजनाभित्रको ५२ किमी दूरीमा सेवा पुग्नेछ ।

बिजलपुराबाट बर्दिबाससम्मको तेस्रो खण्डको १८ किमी दूरीमा पनि दोस्रो खण्डमा सेवा सञ्चालन भएलगत्तै निर्माणकार्य अघि बढ्ने महाप्रबन्धक झाको भनाइ छ । अहिलेसम्मको कामको प्रगतिले यही साउन ३० गते (अगष्ट १५ तारिख)का दिन सेवा विस्तार गरिने तयारी रहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

भारतको इर्कन कम्पनीले निर्माण गरेको दोस्रो खण्डको संरचना सो पक्षले हस्तान्तरण गर्नासाथ सेवा विस्तारको मिति तय गरिने महाप्रबन्धक झाको भनाइ छ । “अब परियोजनाको कामले गति लिएको हुँदा तेस्रो खण्ड (बिजलपुरा–बर्दिबास)को निर्माणकार्य पनि चाँडै सुरु गरिनेछ”, महाप्रबन्धक झाले सञ्चारकर्मीसँगको कुराकानीमा भने , “अब निर्माण कार्य अघि बढाउन अड्चन छैनन् ।”

यसअघि तेस्रो खण्डको जग्गा मुआब्जा समयमा नहुँदा निर्माण काम अघि बढ्न सकेको थिएन । “अब प्रस्तावित जग्गा रेल्वेको नक्सामा आइसकेको छ, पहिलेका जग्गाधनिले धमाधम मुवाब्जा लिइरहेका छन्, तेस्रो खण्डको काम छिट्टै सुरु हुन्छ”, उनले भने । सन् २०१० मा भारत सरकारको आर्थिक सहयोगमा रेल सञ्जाल विस्तार गर्न भारत सरकारसँग सम्झौता भएको थियो ।

भौतिक पूर्वाधार तथा रेल्वे लिक निर्माणको ठेक्का पाएका भारतीय इर्कन इन्टरनेशनल कम्पनीले सन् २०११ जनवरीदेखि निर्माणकार्य थालेको थियो ।तीन खण्डमा निर्माण काम गरिने तालिकाअनुसार पहिलो र दोस्रो खण्डको निर्माण कार्य सम्पन्न भएपछि अब तेस्रो खण्डको काम थालिने तयारी बढेको हो ।

गत चैत १९ गते भारतको दिल्लीस्थित हैदराबाद हाउसबाट प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा पहिलो खण्ड (जयनगर–जनकपुर–कुर्था)को रेल सेवा सञ्चालनको भर्चुअल माध्यमबाट हरियो झण्डा देखाएर उद्घाटन गरेकाथिए । त्यसयता जयनगर–जनकपुर–कुर्थासम्म दैनिक दुईपटक रेल सेवा सञ्चालन हुँदै आएको छ ।

अब बिजलपुरासम्म रेल सेवा सुरु भएपछि यसको सेवा दूरी ५२ किलोमिटर हुनेछ । भारत सरकारको सात अर्ब २० करोडको आर्थिक सहयोगमा ब्रोडगेज रेलवे विस्तारको काम सुुरु गरिएको हो । विसं १९९४ जुद्ध शम्शेरका पालामा सुरु भएको बिजलपुरा–जनकपुर–जयनगर ५२ किमी रेलमार्ग विसं २०५८ को बर्खे भेलले बिग्हीपुल (लोहारपट्टी, महोत्तरी) भत्काए पछि सेवा जनकपुर–जयनगर ३५ किलोमिटरमा सीमित भएको थियो ।

पछि ब्रोडगेज रेल्वे विस्तारको काम थालिएपछि त्यो सेवा पनि रोकिएको थियो । सन् २०१९ भित्रै रेल सञ्जाल विस्तारको निर्माण काम सम्पन्न गरिने प्रारम्भिक लक्ष्य लिइएको थियो । मुलुकको राजनीतिक उतारचढाव, बाढी प्रकोप र जग्गा मुआब्जा निर्धारणमा भएको ढिलाइले समयमा काम सम्पन्न गर्न नसकिएको रेल विभागले जनाएको छ ।

नेपालमा पहिलो रेल सेवा विसं १९८४ मा चन्द्रशम्शेरको पालामा रक्सौल–अमलेखगञ्ज सुरु भएको थियो । नेपाल र भारत सरकारबीच सन् २०१० मा भएको रेल विस्तार परियोजनासम्बन्धी सम्झौता भएर यो काम अघि बढेको हो । सम्झौतामा जग्गा नेपाल सरकारले उपलब्ध गराउने र निर्माणसम्बन्धी सम्पूर्ण खर्च भारत सरकारले गर्ने सम्झौताअनुसार अहिलेसम्म ५२ किमी दूरीभित्र रेल्वे ट्र्याक, स्टेशन भवन, पुलपुलेसा, खानेपानी, विद्युत्लगायतका सबै संरचना भारतले बनाएको हो ।

अब तेस्रो खण्डमा पनि निर्माण काम भारतले गर्नेछ । यस परियोजनामा भारत सरकारले सात अर्ब २० करोड रकम सहयोग गर्ने सम्झौता भएको थियो । तालिकाअनुसारको अवधिभित्रै निर्माणकार्य सम्पन्न हुन नसक्दा पछिल्लो मूल्यवृद्धिले लागत बढाएको छ ।
रासस

Your Opnion

//