कुनैबेला गाउँनै झिलीमिली पार्ने लघुजलविद्युत् आज आफैँ अँध्यारोतिर - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

कुनैबेला गाउँनै झिलीमिली पार्ने लघुजलविद्युत् आज आफैँ अँध्यारोतिर

काठमाण्डौ :- लघुजलविद्युत् आयोजनाको केन्द्र भनेर चिनिएको बाग्लुङका सबै साना तथा लघुजलविद्युत् आयोजनाबाट उत्पादित बिजुली मिनिग्रिडमा जोड्ने योजना सात वर्षदेखि अलपत्र छ । लघुजलविद्युत् आयोजनालाई मिनिग्रिड बनाएर केन्द्रीय प्रसारण लाइनमा जोड्ने योजना कार्यान्वयन नहुँदा अधिकांश लघुजलविद्युत् आयोजनाको बिजुली खेर गइरहेको छ ।

गलकोट नगरपालिका–१ दुदिलाभाटीमा रहेका छ आयोजनालाई मिनिग्रिडमा जोड्ने लक्ष्यका साथ वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले २०७२ सालमा प्राविधिक अध्ययन तथा सर्वेक्षण गरेको थियो । केन्द्रीय प्रसारण लाइनको विस्तारसँगै गाउँमा सञ्चालित लघुजलविद्युत् आयोजनाको दिगो व्यवस्थापन हुने देखेर उपभोक्ता पनि हौसिएका थिए ।

तर, उक्त मिनिग्रिड परियोजनाले वर्षौं बित्दासमेत गति लिन सकेन । स्थलगत सर्वेक्षण गरेर गएका केन्द्रका प्राविधिक त्यसयता दुदिलाभाटी फर्केनन् ।मिनिग्रिडको चर्चा पनि  सेलाउँदै गयो । उल्टै लघुजलविद्युत् आयोजना रुग्ण बन्न थाले । केही त बन्दै भए ।

गौँदीखोला पहिलो लघुजलविद्युत् आयोजनाका सचिव मोहदत्त सुवेदीका अनुसार अहिले एउटा मात्र आयोजना सञ्चालनमा छ । त्यो पनि राष्ट्रिय प्रसारणको बिजुली नआउँदाका बखत विकल्पका रुपमा मात्र प्रयोग भइरहेको छ । कूल १८ किलोवाट क्षमताको गौँदीखोला दोस्रो आयोजनाबाट मात्र अहिले विद्युत् उत्पादन भइरहेको छ ।

त्यस्तै २४ किलोवाट क्षमताको गौँदीखोला पहिलो, २१ किलोवाटको गौँदीखोला तेस्रो, १५ किलोवाटको गौँदीखोला चौथो, १७ किलोवाटको चिप्लखोला र नौ किलोवाटको काउलेखोला लघुजलविद्युत् आयोजना हाल बन्द अवस्थामा छ । आयोजना बन्द हुँदा करोडौँको लगानी बालुवामा पानी जस्तै भएको छ ।

“मिनि ग्रिडमार्फत केन्द्रीय प्रसारणमा जोड्न हामीले पहल पनि गर्‍र्यौं, लगानी थप्न उपभोक्ता पनि तयार थिए,” सचिव सुवेदीले भने , “पछि केन्द्रले पनि चासो दिएन, मिनिग्रिडको योजना बीचमै तुहियो ।” केन्द्रीय बिजुली आएपछि लघजलविद्युत् आयोजना ओझेलमा परेको उनको भनाइ छ ।

कुनै समय छिमेकी गाउँ टुकीमा निर्भर हुँदा दुदिलाभाटीलाई झिलीमिली पार्ने ती आयोजना आज आफैँ अँध्यारोतिर मिल्किएका छन् । वडाध्यक्ष लालबहादुर रानाले रेखदेख र मर्मतसम्भार नहुँदा लघुजलविद्युत् आयोजना बन्द हुन पुगेको बताए । “केन्द्रीय लाइन आएपछि गाउँका साना आयोजनालाई कसैले पनि हेरेन,” उनले भने ।

केन्द्रमा आयोजनाको अवस्थाबारे जानकारी गराउँदा केन्द्रीय प्रसारण लाइनमा जोड्ने आवश्वासन पाएको वडाध्यक्ष रानाले सुनाए । “निवदेन पठाउनुस्, हामी पहल गर्छौं भन्ने कुरा आएको छ,” उनले भने , “कुनै न कुनै विकल्पमा जानुपर्छ, आयोजनामा परेको करोडौँ लगानीलाई खेर जान दिनु हुँदैन ।”

पूर्ण क्षमतामा चलेमा दुदिलाभाटीका छ आयोजनाबाट हिउँदमा १०४ र बर्खायाममा १६० किलोवाटसम्म बिजुली निस्कन्छ । पहिले ९०० भन्दा बढी घरधुरीले त्यही बिजुली प्रयोग गर्थे । विसं २०६४ मा बनेको ताराखोला गाउँपालिका–२ स्थित दरकाटोखोला लघुजलविद्युत् आयोजना पनि अहिले रुग्ण अवस्थामा पुगेको छ ।

उत्पादन क्षमतामा ह्रास आएर २७ किलोवाटबाट १५ किलोवाटमा झरेको छ । आयोजना व्यवस्थापन समितिका सचिव भीमबहादुर घर्तीले उक्त आयोजनाबाट सय घरमा बिजुली पुगेको बताए । “विद्युत् उत्पादन घट्दै जाँदा आयोजनाको खर्च धान्नै गाह्रो हुन थालेको छ, मर्मतसुधारको पनि खाँचो छ,” उनले भने ।

केन्द्रीय प्रसारण लाइन आए पनि गाउँलेले त्यहीँको बिजुली प्रयोग गर्छन् । ताराखोलामा ३० किलोवाटको छेल्दरखोला र १६ किलोवाटको मपेसखोला साना जलविद्युत् आयोजना पनि सञ्चालनमा छ । मपेसखोलाका उपभोक्ता केशव घर्तीले ४० घरधुरी आयोजनाबाट लाभान्वित रहेको बताए । “केही घरले केन्द्रीय बिजुली बालेका छन्, केहीले यहीको प्रयोग गर्छन्”, उनले भने।

केन्द्रीय प्रसारण लाइनमा नजोड्ने हो भने कुनै पनि बेला यी आयोजना पनि बन्द नहोलान् भन्न सकिन्न । ताराखोलामा नयाँ बनेको ३८० किलोवाटको दरमखोला साना जलविद्युत् आयोजनाको बिजुली भने केही महिनाअघि केन्द्रीय प्रसारणमा जोडिएको थियो ।

ताराखोला–३ मा साढे दुई मेगावाट क्षमताको दरमखोला ‘ए’ जलविद्युत् आयोजना पनि सञ्चालनमा छ । सयपत्री हाइड्रोपावर प्रालिले ५१ करोडको लागतमा उक्त आयोजना निर्माण गरेको हो । त्यसमा ७५ प्रतिशत लगानी गैरआवासीय नेपालीको छ । निजी क्षेत्र र स्थानीयवासीले पनि आयोजनामा लगानी गरेका छन् । त्यस क्षेत्रमा अरू जलविद्युत् आयोजना पनि निर्माणाधीन छन् ।

केन्द्रीय प्रसारण लाइन पुगेसँगै गलकोट नगरपालिका–९ पाण्डवखानीमा रहेको माउखोला लघुजलविद्युत् आयोजनाको भविष्य पनि के हुने हो भन्ने पिरलो यतिबेला थपिएको छ । आयोजनाका अपरेटर खिमप्रसाद नगरकोटीका अनुसार केन्द्रीय बिजुली आए पनि गाउँको आयोजना बन्द गर्नु नहुनेमा उपभोक्ता सचेत छन् ।

“केन्द्रीय बिजुलीको पनि उतिसारो भर नहुने भएकाले यहीँको आयोजनालाई पनि चलाइरहनुपर्छ भन्ने आवाज स्थानीयवासीबाट उठ्ने गरेको छ,” उनले भने । कूल १४ किलोवाट क्षमताको उक्त आयोजनाबाट २३० घरधुरीमा बिजुली पुगेको छ । केन्द्रीय प्रसारण लाइनको पहुँच विस्तारसँगै गाउँलाई उज्यालो दिएका पुराना र साना जलविद्युत् आयोजना विस्थापनमा पर्ने देखिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।

“केन्द्रीय प्रसारण लाइन त जसरी पनि ल्याउनैपर्‍यो, यहाँ भएका लघुजलविद्युत् आयोजनाको व्यवस्थापनमा राज्यले योजना बनाउनुपर्छ, केन्द्रीय ग्रिडमा जोड्ने हो या वैकल्पिक प्रयोगमा जाने त्यसमा स्पष्ट हुनुपर्छ”, उनले भने । तमानखोलामा मात्रै ११ वटा लघुजलविद्युत् आयोजना छन् । तीमध्ये दुई आयोजना बन्द अवस्थामा छन् । चलेका आयोजना पनि पुरानो संरचना, उपकरण, मर्मतसम्भारको अभावजस्ता कारणले जीर्ण बन्दै गएको अध्यक्ष बुढाले बताए ।

“बत्ती मात्रै बाल्न त अहिलेकै आयोजनाले पनि पुगेकै छ, तर उद्योग–धन्दा, ठूला व्यवसाय र यन्त्र, उपकरणका लागि केन्द्रीय विद्युत् नभइनहुने रहेछ,” उनले भने । तमानखोलामा २०५४ सालमा पहिलोपटक लघुजलविद्युत् आयोजना बनेको थियो । तमानसँगै तत्कालीन गाविस सर्कुवा, तङ्ग्राम र पैँयूथन्थापमा लघुजलविद्युत् आयोजनाबाट पहिलोपटक बिजुली बलेको थियो ।

त्यसताका ग्रामीण ऊर्जा विकास कार्यक्रममार्फत लघुजलविद्युत् आयोजना बन्ने गर्थे । विसं २०५६ तिर तमानखोलाको आयोजना उद्घाटन हुँदा संयुक्त राष्ट्र सङ्घका तत्कालीन उपमहासचिव हेलिकप्टरबाट आएको उक्त आयोजना निर्माणमा सहयोगी रहेको स्वयंशक्ति बागलुङका अध्यक्ष वैकुण्ठ सापकोटाले बताए ।

“हामी सदरमुकामदेखि दुई दिन हिँडेर त्यहाँ पुगेका थियौँ, सामानहरु सबै बोकाएर लगेको हो,” उनले विगत सम्झे , “त्यतिबेला गाउँमा बिजुली बल्दा संसारै जितेजस्तो हुन्थ्यो ।” लघुजलविद्युत् आयोजनामा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम, विश्व बैंक लगायतका दाताले आर्थिक सहायता उपलब्ध गराउँथे । पछि केन्द्रमार्फत लघुजलविद्युत् आयोजनाको काम हुन थाल्यो ।

अरू विदेशी दातृ निकाय पनि यसमा जोडिए । सरकार आफैँले पनि लगानी बढाउँदै लग्यो । तत्कालीन जिविस र गाविसले पनि आयोजनामा खर्च गरे ।लघुजलविद्युत् आयोजना बनेकै कारणले फर्निचर, कुटानीपिसानी मिल, कुखुरापालन जस्ता स–साना उद्यम, व्यवसाय गाउँमा चल्न थाले । त्यसले रोजगारी पनि दियो । मानिसहरु आयआर्जनमा जोडिए ।

तमानखोलाको छिमेकी ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र बडिगाड गाउँपालिकाका अधिकांश गाउँ पनि लघुजलविद्युत्कै भरमा छन् ।
यसअघि राष्ट्रिय नवीकरणीय ऊर्जा कार्यक्रमको क्षेत्रीय सेवा केन्द्रका रुपमा रही लघुजलविद्युत्का क्षेत्रमा काम गर्दै आएको धवलागिरि सामुदायिक स्रोत विकास केन्द्र (डिसिआरडिसी) बागलुङका अध्यक्ष ईश्वरलाल राजभण्डारीले छ वर्षयता जिल्लामा नयाँ आयोजना नबनेको बताए ।

“पहिलेका आयोजना कहीँकतै बन्द भए पनि धेरै ठाउँमा पुन: सञ्चालनमा नै छन्, दातृ निकायको सहयोग आउन छाडेपछि केन्द्रले पनि कार्यक्रम रोकेको जनाएको छ”, उनले भने , “सार्वजनिक–निजी ढाँचा अपनाएर काम गर्न सकिन्छ कि ? भन्नेमा कुराकानी त हुन्छ तर बजेट–कार्यक्रम नै नभएपछि केही गर्न सकिने अवस्था रहेन ।”

केन्द्रले आयोजना बनाउँदा ७० प्रतिशतसम्म अनुदान उपलब्ध गराउँथ्यो । त्यसबाहेक अरू साझेदार सङ्घसंस्था, निकाय र उपभोक्ताको पनि आयोजनामा लगानी तथा श्रमदान परेको छ । जिल्ला समन्वय समितिको आँकडाअनुसार जिल्लामा १२० लघुजलविद्युत् आयोजनाबाट झन्डै दुई मेगावाट बिजुली उत्पादन भएको छ भने २२ हजार घरधुरीमा उज्यालो पुगेको छ ।

आयोजनामा दातृ निकाय, सरकार, समुदाय र निजी क्षेत्रको करोडौँको लगानी छ । तत्कालीन जिविसमा रहेको ऊर्जा शाखा निष्क्रिय भएर बन्द भएपछि जिल्लाभरको ऊर्जाको स्थिति झल्काउने विवरण पनि अद्यावधिक राख्न समस्या भएको छ । वास्तविक तथ्य पाउन कठिन छ ।

नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले गत आवसम्ममा लघुजलविद्युत् आयोजनासहित गरेर ९०.७२ प्रतिशत जनसङ्ख्यामा विद्युत् सेवा पुगेको जनाएको छ । केन्द्रका इन्जिनियर प्रकाश काफ्लेले बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा पूर्ण रुपमा केन्द्रीय विद्युत् सेवा पुगेको बताए ।

यस्तै गलकोट नगरपालिका–१० को रमुवा गाउँबाहेक अन्यत्र सबै ठाउँमा बिजुली पुगेको उनको भनाइ छ । “अहिलेसम्म केन्द्रीय प्रसारणको बिजुली नबलेको तमानखोला र निसीखोला गाउँपालिका हो,” उनले भने , “अरू पालिकामा आंशिक रुपमा विद्युतीकरण भएको छ ।”

केन्द्रीय बिजुली नपुगेका पालिकामा पनि विद्युतीकरणका लागि पूर्वाधार तयारीको काम भइरहेको इन्जिनियर काफ्लेले बताए । ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा २०७७ असोजमै केन्द्रीय प्रसारण लाइनको बिजुली पुगेको थियो । ग्रामीण विद्युतीकरण कार्यक्रममार्फत जतिसक्दो चाँडो जिल्लाका दसै पालिकामा केन्द्रीय विद्युत् सेवा पुर्‍याउन केन्द्र लागिपरेको छ ।

इन्जिनियर काफ्लेले केन्द्रीय प्रसारण लाइन पुगेपनि व्यवस्थित रुपमा चलेका लघुजलविद्युत् आयोजनालाई जोगाउन स्थानीयवासीले नै तत्परता देखाउने गरेको बताए । “कतिपय जीर्ण भएका, मर्मतसम्भार गर्नुपर्ने, सञ्चालन खर्च बढी लाग्ने आयोजनाबाट भने व्यवस्थापन पक्ष र उपभोक्ताले पनि हात झिक्न खोजेजस्तो देखिन्छ ।”

नेपाललाई उज्यालो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका लघु तथा साना जलविद्युत् आयोजनालाई दीर्घकालसम्म चल्ने बनाउने दायित्व राज्य र सरोकारवालाको हो । तर, हालसम्म पर्याप्त मात्रामा ध्यान पुग्न सकेको छैन । करिब दुई हजार लघुजलविद्युत् आयोजना अहिले पनि राम्रोसँग चलिरहेका छैनन् । केन्द्रका कार्यकारी निर्देशक मधुसूदन अधिकारीका अनुसार १५ वटा आयोजना ‘आइसियू’मै गइसकेको अवस्था छ ।

साना आयोजना रुग्ण हुनाका पछाडि अनेक कारण छन् । एउटा आवश्यकता हुँदाहुँदै पनि मर्मत गर्न नसकेर रुग्ण भए । सुरुसुरुमा गाउँगाउँमा लघुजलविद्युत् आयोजनाहरु निर्माण हुँदै गए, पछि–पछि विद्युत् प्राधिकरण पनि गयो ।

नागरिक स्वाभाविक रूपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिन खोज्ने भएकाले रुग्ण हुन पुग्ने परियोजनाको सङ्ख्या बढिरहेको छ । सञ्चालनमा रहेका ५० प्रतिशत साना परियोजना त्यो तहमा आउन थालेका छन् । लघुजलविद्युत्हरू १० देखि १५ वर्षसम्मको डिजाइन गरिएको हुन्छ । करिब ५० देखि १०० आयोजना दीर्घकालसम्मका लागि ग्रिडमा जोडेर चलाउन सकिन्छ ।

कूल एक हजार २०० आयोजनाले आफ्नो जीवनमा सेवा दिए । मर्मत गर्न मिल्ने त मर्मत भइरहेका छन् भने केही रुग्ण आयोजना पुन: सञ्चालन गर्न गाह्रो छ । ग्रिडमा जोड्नका लागि त्यस्ता आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँगको साझेदारी गर्न र एउटा प्लान्टलाई जोड्न लागि १० देखि ३० लाखसम्म लगानी आवश्यक पर्छ ।

नीतिगत रूपमा केही काम अगाडि बढेको छ । त्यस्तै स्थानीय सरकारले पनि स्वामित्व लिएर चलाउन सक्छन् । केन्द्रका कार्यकारी निर्देशक अधिकारीले लघुजलविद्युत् आयोजनाको विकास र विस्तारका लागि प्राधिकरणको सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गुरुयोजना तयार गरेको छ । सोही आधारमा थप प्रक्रिया अगाडि बढाइएको छ ।

नवीकरणीय ऊर्जा परिसङ्घ नेपालका अध्यक्ष गुणराज ढकालका अनुसार साना तथा लघुजलविद्युत् आयोजनालाई दीर्घकालीन बनाउनका लागि उत्पादनसँग जोड्नुपर्ने बताउछन । त्यसका लागि ऊर्जाका लागि उद्यम र उद्यमका लागि ऊर्जा भन्ने अवधारणाका साथ सरोकारवालाले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

केन्द्रीय प्रसारण लाइन पुग्यो भनेर साना तथा लघु ऊर्जा केन्द्रहरु बन्द गरिँदा त्यसले लगानी मात्रै नभई प्रविधिसमेत डुब्ने खतरा रहन्छ । विगतमा उज्यालो दिएका ती आयोजनाको हेरचाह नगर्नु बृद्ध भएका बाबुआमाको वास्ता नगरे जस्तै हुने जानकारहरुको भनाइ छ ।
रासस

Your Opnion

//