अहिलेको बैंकिङ क्षेत्रको रुपान्तरणमा प्रविधिको प्रयोग कसरी गर्ने ??? - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

अहिलेको बैंकिङ क्षेत्रको रुपान्तरणमा प्रविधिको प्रयोग कसरी गर्ने ???

  • ईन्जिनियर यमकृष्ण पौडेल (पीएचडी स्कलर)January 29, 2022

डिजिटल क्यासलेस सिस्टमको एक परिकल्पना:-

प्रविधिको प्रयोग र समाजको आवश्यकतासगै नयाँ आविस्कारहरुको परिकल्पना र सिर्जना हुन्छ । ढुङ्गे युगदेखि आज एक्काईसौ शताब्दी सम्म आइपुग्दा हामी प्रथम शक्ति र उर्जा (Power and energy), द्धितिय उच्च उत्पादन (Mass Production), तृर्तिय सुचना र प्रविधिमा क्रान्ति (Digital revolution) हुदै चौथो ‍औधोगिक क्रान्ति (Industrial Revolution) मा प्रवेश गरेका छौ । समाजका समस्यासँगै जुध्दै गर्दा विभिन्न काल खण्डमा खास किसिमका विश्व बजारमा तरङ्ग उत्पन्न गर्ने आविस्कारहरु सिर्जित नभएका होईनन्, चाहे त्यो पावर सेक्टर होस वा आइसिटी सेक्टर । ढुङ्गे युगको शुरुवात सगै सामानहरुको साटासाट गरि शुरु भएको वित्तिय बजार अहिले बैङ्किङ प्रणाली सम्म आइपुगेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने आज भन्दा २० बर्ष अगाडि बैङ्किङ कारोवार गर्न मानिसहरु डराउथे, तर आज हरेक नेपालीको एक वा एक भन्दा बढी बैकमा खाता रहेको देखिन्छ । अहिलेको बैङ्किङ क्षेत्रको समस्या र ग्राहकले भोग्नु परेको समस्यालाई समाधान कसरी गर्न सकिन्छ भन्ने परिकल्पना गर्दै सन २००८ मा एउटा सोधपत्र प्रस्तुत भयो । ब्लकचेन र डिजिटल करेन्सीको परिकल्पना सहित प्रस्तुत उक्त सोधपत्रका लेखक सातोसि नाकामोतो (Satoshi Nakamoto) आफैमा को हुन भनेर आजसम्म यकिन गर्न सकिएको देखिदैन यद्यपि उक्त परिकल्पनाले आज विश्व तरङ्गित छ ।

अहिलेको बैङ्किग क्षेत्रको समस्याहरु:-

हाम्रो विश्वव्यापी बित्तिय प्रणालीले दिनमा ट्रिलियन डलरको कारोवार गरि अरबौ मानिसहरुलाई सेवा दिन्छ । ढुङ्गे युगदेखि समयसँगै परिवर्तित हुँदै आएको अहिलेको बैङ्किङ क्षेत्रमा ग्राहकले उच्च कारोवार शुल्क, दोहोरो खर्च, डाटा सुरक्षा र अधिकतम समय लाग्ने जस्ता विविध समस्याहरु झेल्नु परेको छ।उदाहरणको लागी तपाँईले नेपालबाट कुनै पनि बाह्य देशमा पैसा पठाउँदा साधारणतया ४, ५ दिन लाग्ने गर्छ, तत्काल पैसा पठाउन सम्भव छैन । उसो त उक्त पैसा पठाउँदा तपाँईले उच्च बैङ्किङ सेवा शुल्क तिर्नुपर्छ । विशेषगरी थोरै रकम पठाउनु पर्दा त्यो भन्दा बढी त बैङ्किङ सेवा शुल्क बापत विभिन्न मध्यस्त कर्तालाई रकमको ठुलो हिस्सा बुझाउनु पर्ने हुन्छ । अर्कोतर्फ तपाँईको आर्थिक कारोवारको सम्पुर्ण जानकारी बैङ्कसँग हुने र जुनसुकै बेला त्यो सुचना चुहावट हुन पनि सक्छ । ग्राहकको खातामा हेराफेरी भएका र बैंकका कर्मचारीको मिलेमतोमा रकमान्तर, चोरी लगायतका घटनाहरु नभएका पनि होईनन् । यसले ग्राहकको डाटा सुरक्षा र ठगि क्रियाकलाप समेतलाई गम्भिर चुनौति दिएको पाईन्छ । उच्च बैङ्किङ शुल्कले बैङ्कहरुको मुनाफा बढदै जाने र ग्राहकहरु लाभान्भित नहुने स्थिति सिर्जना भएको परिस्थितिमा यिनै समस्याहरुको समाधान गर्ने क्रममा बिकसित भएको एक परिकल्पना हो ब्लकचेन र डिजिटल करेन्सी ।

 

आखिर के हो त ब्लकचेन  ?

हाल मानिसहरुको बुझाईमा ब्लकचेन क्रिप्टो करेन्सी पछाडिको टेक्नोलोजी भनेर लिएको देखिन्छ, जुन कुरा इन्टनेटलाई फेसबुक प्रयोग गर्ने टेक्नोलोजी भनेर बुझे जस्तै हो । वास्तवमा व्लकचेन त्यो होइन यो त एक विकेन्द्रीकृत, डिस्ट्रिब्युटेड, पब्लिक डिजिटल लेजरको एडभान्स ब्लक हो । जुन प्लार्टफर्ममा बिटक्वाइन को निर्माण गरिएको हो । ब्लकचेन पब्लिक लेजर हो र रेकर्डहरु सुरक्षित राख्न यसको प्रयोग गरिन्छ । यसरी धेरै वटा ब्लकहरुको नेटवर्क चेनलाई ब्लकचेन भनिन्छ । यी ब्लकहरु यसरी जोडिएका हुन्छन कि कुनै पनि एउटा ब्लकमा सुचना परिवर्तन गर्दा अर्को ब्लकमा नयाँ रेकर्डहरु स्थान्तरण भएको हुन्छ । साधारण भाषामा बुझ्दा यो ब्लकमा सुचनाहरु सहजै परिवर्तन गर्न सकिदैन । टाइम स्ट्राम्प (Time Stamp) र डिजिटल वाक्स सिल्ड (Digital Wax Shield) को प्रयोग भएको हुन्छ ।

 

किन पपुलर भयो ब्लकचेन ?

बित्तिय सस्थामा देखा परेका समस्याहरु उच्च कारोवार शुल्क (High Transaction Fee), दोहोरो खर्च (Double Spending) , डाटा सुरक्षा र थर्ड पार्टि इन्भल्भमेन्ट (Intermediate) को समाधान गर्न सक्षम भई पारदर्शि (Transparent) उच्च सुरक्षा, पियर टु पियर (Peer to Peer), डेमोक्रेसी र डिसेन्ट्रलाईज (Decentralize) जस्ता बिशेषताहरु भएको हुँदा दिनानुदिन पपुलर हुँदै गएको छ ।

 

ब्लकचेनले कसरी समाधान गर्छ अहिलेको वित्तिय समस्या:-

ब्लकचेन प्रविधि प्रयोग गरी ट्रान्जेक्सन गर्दा थर्ड पार्टी इन्भल्भमेन्ट जस्तै बैंक, गभर्मेन्ट जस्ता मध्यस्तकर्ता आवश्यक नपर्ने भएकोले न्युनतम शुल्कमा सहजै पैसा ट्रान्फर गर्न सकिन्छ । यसरी ट्रान्फर गर्दा न्युनतम समय लाग्छ । जसले उच्च बैङ्किङ शुल्क र समयको बचत गरि ग्राहकलाई प्रत्यक्ष फाईदा पुर्याउछ । अर्को तर्फ इन्क्रिप्सन (Encryption) टेक्नोलोजिको प्रयोग हुँदा डाटा सुरक्षा भइ गोपनियता (Privacy) कायम हुन्छ । थर्ड पार्टी नहुने हुँदा हेराफेरी (Froud Activities) हुदैन र टाईम स्ट्राम्पिङ र डिजिटल वाक सिल्डको प्रयोग भएको हुँदा इन्भर्स रिट्रेसिङ्ग (Trace Back) गर्न सकिने हुँदा यो बढी ट्रान्सप्यारेन्ट देखिन्छ ।उदाहरणका लागी कुनै एक कम्पनीले हाइड्रो पावर निर्माण गर्नका लागी लगानी जुटाउदा आईपिओ (IPO) निकाल्ने गर्दछ । उक्त आइपिओको काम गर्नका लागि बैङ्कसँग सम्झौता गरिएको हुन्छ ।जसमा बैङ्क जस्ता थर्ड पार्टी समावेश हुँदा ठुलो रकम बैङ्कतिर जाने र हाइड्रोपावरमा लगानी कम हुने देखिन्छ । जस्तो कि रु.१०० को आइपिओमा उक्त हाइड्रोपावर कम्पनीलाई रु.९०-९५ मात्र जाने गर्दछ । ब्लकचेनले पियर टु पियर मोडेलमा काम गर्ने हुँदा थर्ड पार्टी इन्भल्भमेन्टको समस्यालाई निराकरण गरि रु. १०० को आइपिओमा रु.१०० नै लगानी हुन्छ ।

ब्लकचेनको आलोचना:-

हाल विश्वमा ब्लकचेनको पक्ष विपक्षमा तर्कहरु प्रशस्त भएको पाईन्छ ।मानिसहरु ब्लकचेनलाई वातावरणीय मुल्य (High Power Consumption), नियमनको अभाव (Unregulated) र भर्चुअल करेन्सी (No FIAT Currency) जस्ता कुराहरु लिएर आलोचना गरिरहेका छन । मानिसहरुमा फोमो (FOMO- Fear of missing Out) को डर देखिन्छ ।

अन्य कुन कुन क्षेत्रमा ब्लकचेनको प्रयोग गर्न सकिन्छ र ?

जानकारहरुका अनुसार इन्टरनेटको आविस्कार भएसँगै सोसल मिडिया, विग डाटा (Big Data), रोवोर्टिक्स (Robotics), आर्टिफिसियल इन्टेलिजेन्स (AI), क्लाउड कम्प्युटीङ (Cloud Computing), इन्टरनेट अफ थिङ्स (IoT) आदीले टेक्नोलोजिकल रिभुलुसन भइ इन्फरमेसन (Information), डिस्ट्रिव्युसन र कम्युनिकेसन (Communication) सँग सम्वन्धित समस्याहरु समाधान गर्न सफल भयो । यद्यपि ट्रर्स्ट (Trust), मध्यस्त कर्ता (Intermediation) सँग सम्वन्धित समस्याहरु समाधान गर्न सकेको थिएन । ब्लकचेनले यी समस्याहरु समाधान गरेको हुँदा यसलाई सेकेन्ड इरा अफ इन्टरनेट (Second Era of Internet) पनि भनिन्छ र यसको उपयोग कृषि, जमिन, ग्रामिण विद्युतिकरण (Rural Electrification), बित्तिय संस्था, चुनाब, अभिलेखिकरण (Documentation) जस्ता क्षेत्रमा प्रयोग गरी उच्चतम लाभ लिन सकिन्छ ।उदाहरणको लागी जमिन एउटाको नाममा र प्रयोग अर्काले गरेको कतिपय उदाहरणहरु देखिन्छन् । ब्लकचेनको प्रविधि प्रयोग गरी मालपोतबाट हुने हेराफेरी रोक्न सकिन्छ ।

निश्कर्ष:-

समस्याको समाधान गर्ने सन्दर्भमा नयाँ आविस्कार हुनु समाजको आवश्यकतासँगै गतिशिल समाजको निरन्तरता पनि हो । प्रविधि समयसँगै परिवर्तित हुन्छ र नयाँले विस्थपित गर्नु प्रकृतिको चक्र नै हो ।प्रविधिलाई ग्रहणगरि आर्थिक, सामाजिक लगायत अन्य पाटोहरु अगाडि बढाउनु नै आजको आवश्यकता हो । विश्व बजारमा अगाडि बढिरहेको ब्लकचेन प्रविधि प्रयोग गरि अगाडि बढन सके नेपालमा पनि बित्तिय क्षेत्रको हाल चलिरहेको प्रणालीमा आमुल परिवर्तन गरि सर्वसाधारणहरु लाभान्वित हुन सक्छन । भोलिको समय डिजिटल क्यासलेस सिस्टम (Digital Cashless System)को नै हुनेछ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ तसर्थ आवश्यक निति नियम निर्माण र नियमन गरि प्रविधिको प्रयोग गरिनु आजको आवश्यकता हो ।

                                             !!!

Your Opnion

//