व्यवसायजन्य जोखिम तथा दुर्घटना : रोकथाम र नियन्त्रण  - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

व्यवसायजन्य जोखिम तथा दुर्घटना : रोकथाम र नियन्त्रण 

  • ई. भक्त बहादुर भण्डारीDecember 22, 2021

काठमाडौं-   नेपाली उद्योग र कलकारखानाहरुमा बेला -बेलामा आगोलागीका दु:खद खबरहरु सुन्ने गरेका छौं । उद्योेग भित्र हुने फोहरमैला, कार्य स्थलको कमजोर एर्गोनोमिकल डिजाइन आदि कारणबाट श्रमिक र पेशाकर्मीहरुको स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर परिरहेको हुन्छ । उद्योगहरुमा मेसिन, औजार, उपकरण कार्यस्थलसँग सम्वन्धित विभिन्न जोखिम तथा दुर्घटनाहरुको कारण धेरै श्रमिकहरु घाइते र दीर्घरोगी समेत भएका छन् भने कतिले त ज्यान नै गुमाएका छन् । निर्माण कार्यस्थलहरुमा श्रमिकहरुले विना सुरक्षा जोखिमपूर्ण काम गरिरहेको दृष्यहरुले पनि नेपालमा श्रमिकहरुको स्वास्थ्य सुरक्षाको स्थितिलाई प्रष्टसँग देखाउँछ । यस प्रकारका दुर्घटनाहरुले व्यक्ति, संस्था र समग्र राष्ट्र्रलाई नै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ठूलो मात्रामा आर्थिक, भौतिक र मानवीय क्षति पुर्याइरहेका हुन्छन् । दुर्घटनाका जोखिमहरुलाई समय मै पहिचान गर्न सके जोखिम तथा धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।

व्यवसायजन्य दुर्घटना र जोखिम :

सामान्यतया ‘व्यवसायजन्य दुर्घटना’ भन्नाले कुनै पनि व्यवसायजन्य प्रतिष्ठानको क्रमिक प्रगतिमा बाधा वा हस्तक्षेप गर्ने कुनै प्रकारका अप्रत्यासित घटनाहरुलाई जनाउँदछ । भारतको फ्याक्ट्र्री ऐन, १९४८ अनुसार ‘व्यवसायजन्य दुर्घटना’ व्यवसायजन्य प्रतिष्ठानमा घट्ने घटना हो जसले व्यक्तिलाई चोट पुर्याउँदछ र व्यक्तिलाई सो घटना घटेको समयदेखि ४८ घण्टाभित्र सो काम गर्न सक्ने गरी पुन: फर्किन अयोग्य बनाउँदछ ।” औद्योगिक मनोविज्ञानका प्रख्यात अनुसन्धानकर्ता टि. डव्लु . हेरेलका अनुसार , “व्यक्तिको स्थिर लगातार विशेष लक्षणहरुको परिणाम नै व्यवसायजन्य दुर्घटना हो ।” “व्यवसायजन्य जोखिमु भन्नाले कुनै पनि सम्भावित अवस्थालाई जनाउँदछ जसको कारण कुनै पनि समयमा दुर्घटना घट्न सक्छ । यस्ता जोखिमहरु समयमै नहटाएमा यसले दुर्घटना निम्त्याउन सक्छ ।”

दुर्घटनाका प्रकार र कारणहरु :

सामान्यतया, यस्ता दुर्घटनाहरुलाई मुख्य र सामान्य गरी दुई प्रकारमा विभाजन गरिन्छ । दुर्घटनाबाट पिडित व्यक्तिको मृत्यू हुने वा लामो समयसम्म अशक्त हुने गरी असर पार्ने दुर्घटनाहरु मुख्य दुर्घटनाभित्र पर्दछन् भने सामान्य दुर्घटनाले सामान्य चोटपटकलाई जनाउछ । मुख्यत: कामदारको असुरक्षित काययशैली,असुरक्षित कार्यस्थल र अन्य कारणहरुले गर्दा यस्ता दुर्घटना हुने गर्दछन्। असुक्षित कार्यशैली भन्नाले कुनै कामदारले ज्ञान वा शीपको अभाव, शारीररक समस्या वा आचरणसँग सम्वन्धित केहि कारणले गर्नुपर्ने कार्य सहि तरिकाले नगर्नु भन्ने बुझिन्छ । त्यस्तै गरी,असुरक्षित कार्यस्थल भन्नाले असुरक्षित अवस्थामा रहेका मेसिन, औजार, उपकरणस् जोखिमपूर्ण सामानहरुको असरुक्षित भण्डारण; अनुपयुक्त व्यक्तिगत सुरक्षाका सामानहरु; अनुपयुक्त मनोवैज्ञानिक अवस्था , उचित प्रकाश आद्रता, वायु प्रवाह र तापक्रमको अभाव; विभिन्न प्रकारका प्रदुषणहरु; असुरक्षित र अव्यवस्थित भवन संरचना तथा प्लान्टको ढाँचा आदिलाई जनाउंदछ । अन्य कारणहरुमा व्यवस्थापनको नेतृत्व शैली , उत्प्रेरणा, सुपरिवेक्षण आदि संग सम्बन्धित कारणहरु पर्दछन् ।

विश्व र नेपालमा व्यवसायजन्य दुर्घटनाको अबस्था :

पेशागत स्वास्थ्य सुरक्षाका क्षेत्रमा क्रियाशील संस्था अन्तराष्ट्र्रिय श्रम संगठन  (ILO) का अनुसार संसारमा हरेक वर्ष २.३ मिलियम भन्दा बढी कामदारहरु काम सम्वन्धि दुर्घटना वा रोगहरुको शिकार बन्छन् । यस कारणबाट हरेक दिन झन्डै ६ हजार भन्दा बढी मानिसहरुले ज्यान गुमाउने गर्दछन् । विश्वमा हरेक वर्ष झण्डै ३४० मिलियन व्यवसायजन्य दुर्घटना घट्ने गर्दछन् भने १६० मिलियन काम संग सम्बन्धित बिरामबाट पिडित हुने गर्दछन् । यस प्रकारका दुर्घटनाहरुले निम्त्याउने क्षति विश्वको कुल गार्हस्थ उत्पादनको झण्डै ४ प्रतिशत हुन आउंछ । अन्य उद्योगहरुको तुलनामा खासगरी निर्माण उद्योगमा यस्ता दुर्घटनाहरुको डर उच्च रहेको छ । अरु उमेका कामदारको तुलनामा कम उमेरका र बुढा कामदारहरु अझ बढी जोखिममा रहेको देखिन्छ ।

संयुक्त राज्य अमेरिकाको श्रम विभागले प्रकाशन गरेको पेशागत दुर्घटनासम्वन्धी सन् २०१९ मा व्यवसायजन्य दुर्घटनाको कारण पाँच हजार तीन सय तेत्तिस (५३३३) जना कामदारको मृत्यु भएको छ । China Labour Bulletin का अनुसार सन् २०२० मा चिनमा पेशागत दुर्घटनाको कारण दैनिक जसो करिव ७५ जनाको मृत्यु भएको थियो । सन् २०१७ मा British Safety Council ले गरेको एक अध्ययन अनुसार सोहि वर्षभित्रमा भारतमा व्यवसायजन्य दुर्घटनाको कारण करिव अठचालिस हजार (४८०००) कामदारको मृत्यु भएको थियो । जस मध्ये झण्डै २४.२ प्रतिशत मृत्यु निर्माण क्षेत्रमा भएको थियो । यो संख्या वेलायतको तुलनामा झण्डै २० गुणा थियो । Occupational and Environmental Medicine  जर्नलका अनुसार भारतमा वर्षेनी झण्डै ३८ हजार मृत्यु , १ लाख ८३ हजार चोटपटक र करिव १८ लाख ५० हजार व्यवसायजन्य जोखिमका कारण रोगबाट पिडित हुने गर्छन् ।

नेपालको सन्दर्भमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धमा अनुगमन, प्रशासन र निरीक्षणको कार्य श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र श्रम तथा रोजगार कार्यलयहरुबाट भईरहेको छ । पेशाजन्य सुरक्षासंग सम्वन्धित विविध कानुनी प्रावधान भएपनि कुन अवधिमा के-कति व्यवसायजन्य दुर्घटनाहरु घटे भन्ने यकिन तथ्यांकहरु कुनै पनि सरकारी निकायले प्रकाशन गरेको पाईंदैन । नेपालमा यस्तो विषयमा त्यति धेरै संख्यामा खोज र अनुसन्धान पनि नभएको कुरा तथ्यहरुले देखाउँछन् । समग्रमा अन्य मुलुकको तुलनामा नेपालको व्यवसायिक स्वास्थ्य सुरक्षाको क्षेत्र कानुनी, संस्थागत र प्राविधिक हिसाबले निकै कमजोर रहेको छ ।

दुर्घटनाको रोकथाम र प्राविधिक पक्ष:

यी दुर्घटनाहरु रोकथाम गर्ने धेरै उपायहरु छन्। नेसनल सेफ्टी काउन्सिल, अमेरिकाका अनुसार दुर्घटना रोकथाम तिन वटा ‘E’  मा निर्भर पर्दछ –Engineering, Education र Enforcement: व्यवसायजन्य प्रतिष्ठान भित्र संचालन गरिने कार्य राम्रो संग डिजाइन गरिएको हुनुपर्छ, कामदारलाई सुरक्षित प्रकृयाहरु सिकाइनु पर्छ र सुरक्षासंग सम्बन्धित नियमहरु राम्रोसंग लागु गरिनु पर्दछ । प्रयोग गरिने भवन , जग्गा, मेसिन, उपकरण, सामानहरुको भण्डारण, मानव स्रोत र अन्य फ्यासिलिटी क्षेत्रहरु आदिको योजना र डिजाइन बनाउँदा सुरक्षासम्वन्धी विषयहरुलाई ध्यान दिएर समेट्नु पर्दछ । कामदारहरुलाई सुरक्षा सम्वन्धी सूचनामूलक कुराहरु सिकाउनु पर्छ । ज्याकेट, पन्जा, चस्मा, इयर प्लग जुत्ता आदि जस्ता आदि जस्ता सुरक्षासम्वन्धी आधारभूत वस्तुहरुको उपयुक्त प्रयोग विधि, फाइदा र प्रयोग नगर्दा हुने बेफाइदाको बारेमा सचेत गराउनु पर्दछ । स्वास्थ्य सुरक्षासंग सम्वन्धित प्रचलित अन्तराष्ट्र्रिय मापदण्डहरु छनौट गरी उद्योगले प्रयोग गरेमा धेरै फाइदा लिन सक्छ । औद्योगिक प्रतिष्ठानले कानुनले तोकेका सुरक्षासंग सम्बन्धित विभिन्न विभिन्न प्रकारका सुरक्षाका मापदण्डहरुको प्रभावकारी कार्यान्वयन सम्बन्धमा सरकारी निकायहरुले आवश्यक नियमन गर्नुपर्छ ।

आइ.एस.ओ. ४५००१ : २०१८ ले व्यावसायिक स्वास्थ्य र सुरक्षा (ओ.एच.एस.) व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरु निर्दिष्ट गर्दछ र यसको उपयोगका लागि मार्गदर्शन प्रदान गर्दछ । विभिन्न संगठन र प्रतिष्ठानहरुलाई कामसंग सम्वन्धित चोट र बिरामको रोकथाम गरी सुरक्षित र स्वस्थ कार्यस्थलहरु प्रदान गर्नको लागि समक्ष बनाउन र स्वास्थ्य सुरक्षाको अवस्था सुधार गर्न मद्दत गर्दछ । केहि उद्योगहरुले यस्ता अन्तराष्ट्र्रिय मापदण्डहरु लागु गरिसकेका छन् तर अधिकांश उद्योगहरुले यस्ता प्रकारका मापदण्डहरु प्रयोग गरेको पाइदैन । उद्योगहरुले यस्ता मापदण्डहरु लागु गरी प्रभावकारी कार्यान्वयन गर्ने हो भने जोखिम तथा दुर्घटनाहरुलाई धेरै हदसम्म न्यूनीकरण गर्न सकिन्छ ।

पेशाजन्य जोखिमहरुको पहिचान नै रोकथामको पहिलो पाईला हो । औद्योगिक ईन्जिनियरिङ्गको क्षेत्रमा प्रचलित जोखिम पहिचानका विभिन्न विधिहरुको प्रयोगले दुर्घटना गराउन सक्ने जोखिमहरुको पूर्वानुमान गर्न मद्दत गर्दछ । पहिचान गरेपछि उक्त जोखिमहरु हटाएर सम्भावित दुर्घटनाहरुबाट बच्न सकिन्छ । नेपालमा केहि नगन्य उद्योग बाहेक अधिकांश उद्योगहरुमा यस्ता खालका विधिहरुको अभ्यास र प्रयोग निकै कम देखिन्छ । बिदेशी उद्योगहरुमा भने छुट्टै सुरक्षा ईन्जिनियर खटाईन्छ । नेपालमा औद्योगिक सुरक्षा हेर्ने गरी सुरक्षा ईन्जिनियर वा अन्य प्राविधिकहरु खटाइएको पाईंदैन । यो क्षेत्रमा विशेष ज्ञान र शीप बोकेका औद्योगिक, केमिकल र मेकानिकल ईन्जिनियर जस्ता प्राविधिकहरु देशमै उपलव्ध भएता पनि सो क्षेत्रमा सरकार र निजि क्षेत्र दुबैले यस्ता जनशक्तिलाई परिचालन गर्न सकेको छैन ।आगोलागी र विष्फोटन भएर एकैचोटीमा ठूलो क्षेति भोग्नुभन्दा उद्योगहरुले यस्ता जनशक्ति परिचालन गर्ने हो भने सम्भावित क्षतिलाई धेरै हदसम्म का गराउन सक्छन् ।

 

नेपालमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि कानुनी व्यवस्था:

श्रमिकको व्यवसायजन्य सुरक्षा र स्वास्थ्य अधिकार सुनिश्चित गर्न श्रम ऐन, २०७४ र श्रम नियमावली, २०७५ मा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि नीतिगत व्यवस्था गएिको छ । साथै यस सम्बन्धमा रोजगारदाता, श्रमिक, उत्पादनकर्ता, आयातकर्ता, आपूर्तिकर्ता र जिम्मेवार व्यक्तिको कर्तव्यका साथै प्रतिष्ठानमा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य समिति गठन जस्ता मुख्य प्रावधानहरु समावेश गरिएको छ । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्वन्धमा अनुगमन प्रशासन र निरिक्षणको कार्य श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग र श्रम तथा रोजगार कार्यालयबाट भईरहेको छ । व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि ध्वनि तथा प्रकाशका मापदण्डहरु वि. सं. २०७४ मा जारी गरी लागु गरिएको छ । ईंटा उद्योगमा काम गर्ने श्रमिकका लागि व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धि निर्देशिका, २०७४ जारी भई हाल कार्यान्वयनमा रहेको छ । सुरक्षित एवं.स्वस्थ कार्यस्थलको सुनिश्चतताको लागि नेपाल सरकारले राष्ट्र्रिय व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति, २०७६ ल्याएको छ ।

दुर्घटना रोकथाम तथा नियन्त्रण अबको बाटो :

राष्ट्र्रिय व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति, २०७६ लाई नेपालको पेशागत स्वास्थ्य सुरक्षाको क्षेत्रमा ठूलो कानुनी उपलव्धि मान्नुपर्दछ । यस नितिले राखेका लक्ष्य र उद्देष्यहरु पुरा गर्न लिएका रणनीति र कार्यनीतिहरुको प्रभावकारी कार्यान्वयनमा सरकार केन्द्रित भएर लागेमा यस क्षेत्रमा छोटो समय मै लामो फड्को मार्न सकिने ठूलो सम्भावना देखिन्छ । त्यस्तै गरी निजी तथा गैर-सरकारी क्षेत्रले सरकारसंग सहकार्य र समन्वय गर्दै आवश्यक श्रोत, साधन र प्रविधिको क्षेत्रमा स्वास्थ्य सुरक्षासम्बन्धी आधुनिक विधि तथा अन्तराष्ट्र्रिय मापदण्डहरुको प्रयोगमा जोड दिंदै उपलव्ध प्राविधिक जनशक्तिको प्रभावकारी परिचालन मार्फत यस क्षेत्रका संस्थागत संरचनाहरुलाई सबल बनाउँदै नेपालको बर्तमान पेशागत स्वास्थ्य सुरक्षाको अवस्थालाई सुधार्न महत्वपूर्ण भूमिका खेल्न सक्छन् । देशका विभिन्न प्राज्ञिक संस्थान र तिनका प्राविधिक जनशक्तिलाई समेत खोज र अनुसन्धानमा सहभागी गराउन सके आवश्यक नीति र कार्यक्रमहरुको योजना निर्माण र कार्यान्वयनमा ठूलो मद्दत मिल्ने थियो । स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डहरुलाई संवेदनशील भएर नियमपूर्वक पालना गर्नु हरेक व्यवसायी, श्रमिक, पेशाकर्मी र आम नागरिकहरुको मुख्य कर्तव्य हो । तसर्थ; सरकार,नीजि गैर-सरकारी क्षेत्र र आम नागरिकले आपसी समन्वय र सहकार्य मार्फत पेशागत स्वास्थ्य सुरक्षाको क्षेत्रमा नेपालको उपस्थितिलाई अझ बलियो बनाउन एकजुट भएर लाग्नु आजको मुख्य आवश्यकता हो ।

Your Opnion

//