नेकपा (माओवादी केन्द्र)ले गलकोटको विकासबारे अर्थमन्त्रीलाई ध्यानाकर्षण - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

नेकपा (माओवादी केन्द्र)ले गलकोटको विकासबारे अर्थमन्त्रीलाई ध्यानाकर्षण

काठमाण्डौ :-गलकोट नगर क्षेत्रको विकासबारे नेकपा (माओवादी केन्द्र)ले अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’लाई ध्यानाकर्षण गराएको छ । आज गलकोट, हटियामा आयोजित अन्तक्र्रिया कार्यक्रममा पार्टीको नगर कमिटीले अर्थमन्त्री शर्मासमक्ष विविध विषयमा मागपत्र बुझाएको हो ।

गलकोटमा इलाका प्रशासन कार्यालय स्थापना, स्मार्ट सिटी निर्माण र मध्यपहाडी पुष्पलाल लोकमार्ग कालोपत्रलगायतका विकास योजना यथाशीघ्र कार्यान्वयनमा ल्याउन अर्थमन्त्रीको ध्यानाकर्षण गराइएको माओवादी केन्द्रका नगर इञ्चार्ज फमलाल निउरेले जानकारी दिए ।

“हामीले पहिलेदेखि नै उठाउँदै आएका माग र मुद्दालाई अर्थमन्त्रीसमक्ष मौखिक र लिखित दुवै माध्यमबाट राख्यौँ”, उनले भने , “प्रस्ताव अघि बढाउनेदेखि बजेट व्यवस्थापनका सन्दर्भमा सकारात्मक पहल लिने प्रतिबद्धता मन्त्रीज्यूबाट आएको छ ।”

यसक्रममा अर्थमन्त्री शर्माले गलकोटसहित समग्र जिल्लाको विकासमा सरकारले ध्यान दिने बताए । गलकोटमा इलाका प्रशासन कार्यालय स्थापनाको माग केही वर्ष अघिदेखि नै उठ्दै आएको छ । उक्त माग लिएर दुई वर्षअघि राजधानी पुगेको जनप्रतिनिधिसहितको सर्वदलीय टोलीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत मन्त्रीहरूलाई भेटेको थियो ।

गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई कार्यक्षेत्र तोकेर कार्यालय खोल्ने भनिए पनि त्यो अझै कार्यान्वयनमा आउन सकेको छैन । सरकारी तवरबाट आश्वासन पाए पनि मागको सुनुवाइ नभएको गलकोटवासीको गुनासो छ । इलाका प्रशासन कार्यालय गलकोटमै खुलेमा नागरिकता बनाउनेदखि मालपोत र नापीको सेवा लिन घण्टौँ लगाएर सदरमुकाम धाउनुपर्ने सर्वसाधारणको बाध्यता हट्ने थियो ।

सरकारले देशका विभिन्न ठाउँमा बनाउने भनेको स्मार्ट सिटीको योजना गलकोटमा पनि पार्नुपर्ने माग अर्थमन्त्री शर्मासमक्ष राखिएको नगर इञ्चार्ज निउरेले बताए । यस्तै मार्ग खुलेको दुई दशक बढी भइसक्दा पनि कालोपत्र हुन नसकेको मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाँधे खण्ड कालोपत्र र गलकोट क्षेत्रको सडक सुधारका लागि पनि ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

पाँच वर्षअघि कालोपत्र भएपनि लोकमार्गको घोडाबाँधे–हटिया खण्ड नियमित मर्मत सुधार नहुँदा रुग्ण अवस्थामा पुगेको छ । सो अवसरमा नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यसमेत रहेका अर्थमन्त्री शर्माले पार्टीको आन्तरिक परिस्थिति, आसन्न राष्ट्रिय सम्मेलनलगायतका विषयमा नेता, कार्यकर्तालाई जानकारी गराएका पार्टी नगर कमिटीले जनाएको छ । कार्यक्रममा (माओवादी केन्द्र)का जनप्रतिनिधिलगायत नेता, कार्यकर्ताको उपस्थिति थियो । लोकमार्ग भएर रुकुम जाने सिलसिलामा अर्थमन्त्री शर्माले गलकोटको कार्यक्रममा भाग लिएका थिए ।

रासस

Your Opnion

//