ई. इच्छाराज तामाङको सफल व्यवसाय देखि प्रहरी हिरासत सम्म - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ई. इच्छाराज तामाङको सफल व्यवसाय देखि प्रहरी हिरासत सम्म

  • एलिजा बेथ लामा October 24, 2021

काठमाडौँ – ई. इच्छाराज तामाङ पेशाले जलविद्युत इञ्जिनियर हुनुको साथै सफल उद्यमी पनि हुन् ।

 

उनले विसं २०५५ सालमा इन्जिजियरिङ गरिसकेका थिए । त्यसपछि उनले पुल्चोक इन्जिनियरिङ क्याम्पस मा अध्यापन गराउँथे। उनी त्यहाँ करारमा पढाउँथे। त्यही बेला उनी गोरखा सेभिङ एन्ड क्रेडिटमा अध्यक्ष भए। केही समय विक्षिप्त बनेका उनले सहकारी खोल्ने निर्णयमा पुगे। उनले संग्रौला परिवारसँग मिलेर सिभिल सेभिङ एन्ड क्रेडिटको स्थापना गरेका थिए। एक वर्षमै ४ करोड मुनाफा कमाएपछि उनी झनै हौसिएका उनका निकट व्यक्तिहरु बताउँछन्। उनले त्यही बेला बिना निक्षेप र धितो सिभिल ह्योम प्रालीमा लगानी गर्न प्रस्ताव ल्याएका थिए।

 

हाल उनि सिभिल बैंकका अध्यक्ष हुन्। सिभिल होम्स् अर्थात् इच्छाराज तामाङ। इच्छाराज तामाङ अनि नेपाली रियल इस्टेट क्षेत्र। यी सन्दर्भ र अनुक्रमहरु लगभग पछिल्लो दुई दशकभर एक अर्काका परिपूरकजस्तै भए। नेपालमा हाउजिङ-अपार्टमेन्टको संगठित बसाई प्रति आम धारणा बदल्ने बिम्ब नै बन्यो एउटा निजी कम्पनीको स्लोगन – ‘घर भनेकै सिभिल होम्स् !’ तामाङको सानसौकत र ऐश्वर्यको ग्राफ पनि उकालो मात्र चढेको थियो। सभासद नहुँदै डेढ दशकअघि नै पीएसओ लिएर ठाँटका साथ हिँड्ने एकाध व्यवसायीमध्ये उनी पनि थिए। कीर्तिपुरको ट्याङ्लाफाँटमा रहेको उनको घरलाई व्यवसायीहरु ‘ट्याङ्लाफाँट दरबार’ समेत भन्छन्। नभनुन् पनि कसरी, लगभग १० रोपनीको कम्पाउण्डमा २६ हजार वर्गफिटको आलिशान बङ्ग्लोको राजसी बसाई जो थियो उनको।

 

घर मात्र नभएर अफिसमा समेत तामाङको केहि कम छैन । सीटीसी मलमा रहेको आफ्नो अफिस रुमसम्म उक्लिन उनको पर्सनल ‘लिफ्ट’ छ। उनीबाहेक अरुले प्रयोग नै गर्न नमिल्ने गरी अरुबेला लिफ्टमा साँचो लाग्छ, जुन उनका पीएसओले सँगै लिएर हिड्ने गरेका छन्।

 

रसियाबाट इन्जिनियरिङ गरेर फर्किएपछि पुल्चोक इन्जिनियरिङ कलेजमा पढाउँदाका साथीहरुसँग मिलेर २०५७ सालमा सिभिल सहकारी स्थापनाबाट व्यवसायिक दुनियाँमा छिरेका ई. तामाङले केही वर्षको अन्तरालमै आफ्नै बलबुतामा हासिल गरेको यो दरिलो मुकाम कुनैपनि नेपाली व्यवसायीका लागि प्रेरणादायी हो। उनको नेतृत्वमा सिभिल समूहका नौ कम्पनी अर्बौंको कारोबार र स्थिर सम्पत्ति (जग्गा तथा भवनसहित) को स्वामित्व होल्ड गर्ने अवस्थामा पुगे। माथिल्लो राजनीतिक पहुँच समेतका कारण नीतिगत तहसम्म बलियो लबी गर्दै रियल इस्टेट व्यवसाय अनुकूल हुने नीतिहरु ल्याउन पहलका साथै यो क्षेत्रलाई नै नेतृत्व दिन वर्षौंसम्म निर्विकल्प भूमिका उनले खेलेको अहिलेका स्थापित डेभलपरहरु समेत बताउँछन्। आफ्नो डोमेनको व्यावसायमा ‘सबैतिर मिलाउन सक्ने’ चतुर खेलाडीका रुपमा समेत कहलिएका तामाङको व्यवस्थापकीय र नेतृत्व कौशलको तारिफ गर्नेहरुको पनि कम छैन। सँगै, पावर र पैसाको उन्मादले मैमत्त भएर कसैलाई नगन्ने चरम अटोक्रेटिक स्वाभाव चुलिएको भनि उनको आलोचना गर्ने साथी-सर्कलदेखि आफ्नै कम्पनीभित्रका कर्मचारी पनि उत्तिकै छन्।

 

यसो हुँदै गर्दा, तामाङले वर्षौ खर्चिएर आर्जन गरेको प्रतिष्ठा र लिगेसी भने यतिखेर खतरा मा परेको छ । गत असोज १८ मा प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले ठगी आरोपमा पक्राउ गरेपछि भने तामाङको त्यो सबै शक्तिको राप-ताप छेडभरमै सेलाएको छ।

 

तर यो अवस्था रातारात आएको होइन । केही वर्षअघिबाटै तामाङले सिभिल सहकारीको निक्षेप सदस्‍यका हैसियतमा एक व्यक्तिले लिन पाउने कर्जाको अधिकतम सीमालाई नाघेर मुख्यगरी आफ्‍ना चार रियल इस्टेट कम्पनी (सिभिल होम्स, सिभिल इस्टेट, सिभिल अपार्टमेन्ट र सिभिल बिजनेस कम्प्लेक्स) मार्फत घरजग्गामा हाल्न र बैंक ऋणको किस्ता तिर्न प्रयोग गर्न थालेका थिए। त्यहीँबाट उनले आफ्नो खुट्टामा आफै बन्चरो हाने।

७५ जनाको ठगी उजुरी परेपछि पक्राउ परेका ई. तामाङविरुद्ध अहिले ११ सयभन्दा धेरैजनाको चार अर्ब ६१ करोड २५ लाख रुपैयाँभन्दा बढीको बिगो दाबी परिसकेको छ। पक्राउ परेयता पनि ई. तामाङ विरुद्ध दैनिक ४० भन्दा धेरै उजुरी थपिँदै गएको छ, जसको बिगो रकम दैनिक १० करोड हाराहारी छ।

 

उनले सिभिल सहकारीका निक्षेपकर्ताको सात अर्ब रुपैयाँभन्दा बढी रकम नियमविपरित कर्जाका रुपमा लिएर संगठित रुपमा ठगी गरेको आरोप लागेको छ। विभिन्न बैंक र सिभिल सहकारी समेतको गरी कुल ८ अर्ब ६७ करोड रुपैयाँमाथि उनले दुरुपयोग गरेको अनुमान छ।नेपालका ठुलामध्येको ठगी तथा संगठित अपराधको अनुसन्धानका लागि अहिले प्रहरी हिरासतमा रहेका इच्छाराज तामाङलाई उनकै महत्वाकांक्षाले सिध्याएको छ। तर यसको लहरो भने सिभिल समूहका दर्जन हाराहारी व्यवसायहरुमध्येको घर जग्गा सँग जोडिएको छ।

 

ई. तामाङको त्यो महत्त्वाकांक्षाको उडान र यतिबेलाको अवशानको शिलान्यास सिभिल होम्सको चौथो फेजको हाउजिङ परियोजना सुरुआत सँगसँगै भयो, जतिबेला उनका परियोजनालाई पैसा दिन बैंकहरु पनि लाइन लाग्थे।

 

ई. तामाङ नेतृत्वको व्यावसायिक समूह सिभिल ग्रुपअन्तर्गतको सिभिल होम्सले ललितपुरको भैंसेपाटीमा २०५८ सालमा पहिलो परियोजना सुरुवात गर्यो। नेपालमा व्यवस्थित हाउजिङ सँगसँगैजसो सुरु गर्ने तीन कम्पनीमध्ये एक थियो सिभिल होम्स्। संगठित बसाई को अवधारणा त्यतिबेला नेपालमा विल्कुलै नयाँ थियो, तैपनि घरको नक्शा मात्र कोरेर बुकिङ खोल्ने अभ्यास भएको त्यो बेला निर्माण नथाल्दै सिभिलका घरहरु अपेक्षाकृत भन्दा राम्रोसँग बिक्री भए। त्यसबाट हौसिएका उनले काठमाडौंको कलंकीमा दोस्रो र त्यसपछि ललितपुरको सुनाकोठीमा तेस्रो परियोजना पनि ल्याए।

 

त्‍यतिबेलासम्म तामाङले कम्पनी र आफ्नो वित्तीय क्षमता नाघेर कुनै पनि परियोजना गरेका थिएनन्। तर परियोजनामा प्रतिबद्धता जनाएका सामुदायिक सुविधाका संरचनाहरु निर्माण गर्नुपर्ने ठाउँ र ओपन स्पेशका लागि छुट्याइएका प्लट पनि पछि बैंकमा धितो राखेर पैसा चलाएको भनेर परियोजनाका घरधनीहरु आन्दोलनमा उत्रिए। फेज ३ परियोजनाको कम्युनिटी स्पेशको जग्गा धितो राखेर उनले राष्ट्रिय सहकारी बैंकबाट सिभिल होम्सको नाममा १६ करोड कर्जा निकालेका थिए।

 

उक्त कुरा बाहिरिएपछि तामाङ नेतृत्वको सिभिल ग्रुपले बनाएका परियोजनाप्रति ग्राहकको विश्वसनीयतामा केही धक्का पुग्यो गयो । उनका अन्य हाउजिङका घरको बिक्रीमा पनि त्यसले केही अप्रत्यक्ष असर गर्यो।

 

यद्यपि, उनी रोकिएनन्। धापाखेलमा दुईवटा अपार्टमेन्‍ट टावरसहित १७४ घरहरु (कुल २४४ एकाइ) बनाउने गरी चौथो फेजको आवास परियोजनाको आयोजनागरे । त्यो परियोजना ल्याउँदा भने उनको महत्त्वाकांक्षाले तिब्रता हान्न थालिसकेको थियो। उनले एउटै ठूलो हाउजिङ मात्र होइन, एकसाथ धेरैवटा प्रोजेक्टहरु बनाएर सकैसम्म चाँडै आफ्नो रियल इस्टेट व्यावसायको साम्राज्य वृहत् बनाउन चाहे। तर त्यो आफू र आफ्ना कम्पनीको वित्तीय क्षमता अनुसारको जगमा नभएर बैंक तथा सहकारीको पैसामा खेलोफड्को रचेर। उनको कम्पनी तथा उनका कारोबारहरुलाई नजिकबाट बुझ्नेहरुका अनुसार सिभिल होम्सको फेज ३ सम्मका परियोजनाहरु गर्दासम्म उनको ठिकठाक अवस्थामा थिए। सिभिल समूहको वित्तीय स्वास्‍थ्य राम्रै अवस्थामा थियो। परियोजनाका लागि लिएको बैंक कर्जाको सावाँ-ब्याज भुक्तानी पनि समयमै भइरहेको थियो। तर फेज ४ परियोजनादेखि भने उनी ज्यादा महत्त्वाकांक्षी हुँदै गए र त्यो झन्झन् बढ्दै गयो।

 

सिभिल होम्सको फेज ४ परियोजना सुरु भएको धेरै समय भएकै थिएन, उनले फेज ५ को हाउजिङ परियोजना लञ्च गरे। फेज ५ ल्याउँदा त्यसअघिको हाउजिङ (फेज ४) को एक चौथाई पनि निर्माण सकिएको थिएन।

 

यो क्रम त्यतिमै रोकिएन। फेज ५ नबन्दै फेज ६, र एवम् प्रकारले त्यो क्रम पछिल्लोपटक लञ्च गरेको फेज-११ (जोरपाटी, काठमाडौं) सम्म पनि कायमै राह्यो। परियोजना खप्टिँदै जाँदा सिभिलले २०७२ को भुकम्पअघि नै लञ्च गरेका र त्यसपछिका परियोजनाहरुका भने आवास एकाइ (हाउजिङ/अपार्टमेन्ट) अझैसम्म पूर्णरुपमा बिक्री भइसकेका छैनन्।

 

‘अघिल्लो कुनैपनि फेजको आधा पनि काम पूरा नहुँदै नयाँ परियोजना लञ्च हुँदै गयो। त्यसपछि त्यसमा केही गति कम भए पनि त्यतिबेलासम्ममा उनको आर्थिक व्यवहार बिग्रिसकेको थियो।’

 

क्षमताको तुलनामा प्रचलन गरेकाले उनी एकमाथि अर्को हुँदै समस्याको दलदलमा भासिँदै गएको देखिन्छ। एक पूर्व बैंकर पनि यसमा सहमत हुँदै भन्छन्, ‘एक रुपैयाँको पुँजी हुनेले हजार रुपैयाँको व्यापार गर्न खोज्दा के हुन्छ? ई. इच्छाराज तामाङको हकमा पनि भएको त्यही हो। उनले आफ्नो क्षमताभन्दा ठूलो महत्वाकांक्षामा अधिक आशावादी भएर परियोजनाहरुमा हात हाले ।’

 

धापाखेलको फेज ४ भुकम्पअघि आंशिक रुपमा मात्रै सकिएको थियो भने त्यससँगसँगै उनले सितापाइलामा नयाँ परियोजना प्रक्षेपण गरे। काठमाडौंको सुन्धारामा पनि तारे होटलको सुविधासरहको हुने भन्दै महँगो मूल्य राखेर १२ तलाका तीन टावरमा २३९ एकाइको विलासी अपार्टमेन्ट बनाउने गरी त्यसको बुकिङ लिइरहेका थिए, जुन अपार्टमेन्टको त्यतिबेला अन्डरग्राउन्ड तीन तला र माथिका केही तला मात्र उठाउने काम सकिएको थियो।

 

चौथो फेजको धापाखेल परियोजनामै कतिपय घर निर्माणाधीन अवस्थामै थिए भने दुईवटा अपार्टमेन्ट टावरहरुमध्ये एउटा बन्न थालेकै थिएन। कतिपय ग्राहकसँग पूरा पैसा लिइसकेर पनि त्यसको पाँच वर्षसम्म घर दिन नसकेको भन्दै परियोजनाको गेटमै ब्यानर टाँगेर त्यस हारउजिङका ग्राहक आन्दोलनमा उत्रिएका थिए।

 

यसै पनि ठूलो आकारको उक्त परियोजना पूरा नहुँदै भुकम्प गएपछि त्यसबाटै उनको हाउजिङ कम्पनीको नगद प्रवाह बिग्रन थाल्यो। खडा भइसकेको ८० एकाइको अपार्टमेन्ट भुकम्पबाट चर्किएपछि त्यसका बिक्न बाँकी अपार्टमेन्टहरुले लामो समयसम्म ग्राहक पाएनन्। जबकि ८५ एकाइको दोस्रो टावर त अहिले बल्ल बन्ने क्रममा छ भने त्यसका अधिकांश अपार्टमेन्ट युनिट बिक्री भएकै छैनन्। भुकम्पभन्दा ठिक अगाडि लञ्च गरेको सितापाइला हाउजिङ (फेज ७) र त्यसपछि ल्याएको फेज नौ (गोदावरी) का पनि केही युनिट अझै बिक्री हुन बाँकी नै रहेको छ।

 

सिभिल होम्सले आधिकारिक रुपमा भने जोरपाटी परियोजना बाहेक सबैको घर बिक्री भइसकेको बताउने गरेको छ। तर कम्पनीले पछि मूल्यवृद्धि गरेर बेच्नका लागि पनि केही एकाइ होल्ड गरेर राखेको छ ।

 

यसरी त्यसबेला एकसाथ निर्माण अघि बढाएका प्रायः सबै परियोजनाका एकाइको बिक्री भुकम्पपछि धिमा भएपछि सिभिल होम्सको वासलातमा २०६५ सालमै सम्पत्तिभन्दा दायित्व सवा एक अर्ब रुपैयाँ हाराहारीले बढी पुगिसकेको थियो, जुन त्यसपछिका वर्ष पनि थपिँदै गयो। अर्कोतर्फ, त्यतिबेला उनले ८६ करोडभन्दा बढी हाउजिङ बुकिङका नाममा सर्वसाधारणबाट उठाइसकेका थिए। उक्त पैसा तामाङले सम्बन्धित परियोजनामा नभएर अगाडि नै बैंकबाट लिएको कर्जा भुक्तानीमा प्रयोग गरेका छन् । यसबाट उनको कम्पनीले ल्याएका हाउजिङ/अपार्टमेन्ट परियोजना निर्माणको चक्र पनि बिथोलिँदै गयो। ई. तामाङलाई केन्द्रीय अनुसन्धान व्युरोले ठगीको आरोपमा पक्राउ गर्‍यो। व्युरोले उनीसहित ठगीमा संलग्न ४० जनालाई पक्राउ गरेको हो।

 

उनको अध्यक्षता रहेको सिभिल सहकारीबाट ९० प्रतिशत ऋण आफैँ लिएर नतिरेको र रकम हिनामिना गरेको आरोपमा सीआइबीको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो।

 

उनीविरुद्ध ५ वर्षअघि नै उजुरी परेको प्रहरीले जनाएको छ। तर राजनीतिक आडमा शक्ति र सत्ताको उपयोग गरेर उनी जोगिँदै आएका थिए। उनी एमालेका पूर्व सांसद पनि हुन्।

 

उनले सहकारीबाट नियमविपरीत निक्षेपको उपयोग गर्दै आएका थिए। कूल निक्षेपको दस प्रतिशतभन्दा बढी एक सदस्यले कर्जा लिन नपाउने व्यवस्था रहेपनि उनले एक्लै ८० प्रतिशतभन्दा बढी ऋण लिएर दुरुपयोग गरेको बताइन्छ। उनले ८ अर्ब निक्षेपमध्ये एक्लैले ७.५ अर्ब रुपैयाँ लगानी गरेको बताइन्छ। उक्त रकम उनले सिभिल होममा लगानी गरेका हुन्।

 

सहकारी ऐनअनुसार भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको अनुमतिबिना प्रहरीले सहकारीको सञ्चालकलाई पक्राउ गर्न पाउँदैन। सोमबार मन्त्रालयले अनुमति दिएपछि उनि सहित वर्तमान अध्यक्ष र सञ्चालक समितिका अन्य सदस्यहरूसहित १२ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

 

Your Opnion

//