ललितपुर रुद्रायणी मन्दिर पुन:निर्माणमा जग खनेर ढुङ्गा भर्ने काम जारी - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका

ललितपुर रुद्रायणी मन्दिर पुन:निर्माणमा जग खनेर ढुङ्गा भर्ने काम जारी

काठमाण्डौ :- ललितपुर महानगरपालिका–२१ खोकनामा अवस्थित रुद्रायणी देवी मन्दिर पुन:निर्माणका लागि जग खन्ने काम सम्पन्न भएर ढुङ्गा भर्ने काम अघि बढेको छ ।

वडावासी जात्रा एवं धान भित्र्याउने आदि चटारोमा व्यस्त भएसँगै सो मात्राको काम सम्पन्न भएको हो । मन्दिर पुन:निर्माणका लागि कूल आठ फिट जग खनेर त्यसमध्ये पाँच फिटमा ढुङ्गा भर्ने काम अघि बढिरहेको रुद्रायणी मन्दिर पुन:निर्माण उपभोक्ता समितिका अध्यक्ष बेखनर महर्जनले बताए ।

उनले भने , “त्यसमा छ इञ्च जति चुन अनि सुर्कीका साथै बालुवा तथा गिटी आदि राखेर ढलान गर्नेछौँ।” मन्दिर पुन:निर्माणमा महानगरपालिका र पुरातत्व विभागले सहयोग गर्ने भनिएको रकममा केही लिएर काम अघि बढाइएको महर्जनले जानकारी गराए ।

दायाँबायाँ आँखीझ्याल रहेको तीन तले झिँगटी छाएको सो मन्दिर विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएको थियो । मन्दिर पूर्णरुपमा जीर्ण भएसँगै पुन:निर्माणका लागि यही जेठमा जनश्रमदानबाट १८औ दिनमा भत्काउने काम सम्पन्न गरिएको कोषाध्यक्ष इश्वर डङ्गोलले बताए ।

उनले भने , “मन्दिर बनाउन लपु महानगरपालिकाले एक करोड २५ लाखका साथै विभागले एक करोड सहयोग गर्ने वचनबद्धता गरेका छन् ।” मन्दिरको झ्याललगायत थाम आदि वस्तु समितिको निगरानीमा राखिएको डङ्गोलले जानकारी गराए ।

मन्दिरका पुराना दलिन अब मात्रै पाँच प्रतिशत प्रयोग गर्न मिल्ने समितिले जानकारी गराएको छ । मन्दिर पुन:निर्माणका लागि दाताबाट लगभग चार लाख सङ्कलन भइसकेको अध्यक्ष महर्जनले सुनाए । “विभागले मन्दिर पुन:निर्माणमा कूल छ करोड चानचुन लाग्ने अनुमान गरिरहँदा स्थानीय इञ्जिनीयरले आठ करोड लाग्ने बताइरहेका छन्”, उनले भने ।

सो मन्दिरमा सार्वजनिक संरचनामा धेरै प्रयोग हुने ‘दचि अपा’ र ‘माँ अपा’ नामक दुई थरिको इँटा बढीमात्रामा प्रयोग भएको पाउँदा ‘माँ अपा’ ल्याइसकेको र अर्को ल्याउन बाँकी नै रहेको बताइएको छ ।

देवी मन्दिर भत्काउँदा भेटिएका केही तामा अनि चाँदीका साथै पित्तलका पैसा र पुन: प्रयोग गर्न मिल्ने आँखीझ्याल तथा थाम उपभोक्ता समितिको निगरानीमा राखिएको जनाइएको छ । ललितपुरको ऐतिहासिक बस्तीमा रहेको सो मन्दिर खोकनाको जात्रा अनि पर्व र नाचसँग जोडिएको छ ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यका साथै पूर्वशहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ साल मङ्सिर १५ गते सो मन्दिरको अवलोकन गरी छिट्टै पुन:निर्माणको काम अघि बढाइने आश्वासन दिएका थिए ।

यसैगरी उक्त मन्दिर पुन:निर्माणका लागि गत भदौ २३ गते ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शिलान्यास गरेका थिए । मन्दिरलाई पुरानै शैलीमा गुणस्तरीयताका साथै निर्माण गर्न आफूहरुले पटकपटक अनुरोध गरिरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको भनाइ छ ।

रुद्रायणी मन्दिर रहेको सो ठाउँ तोरीको तेलका लागि अति प्रख्यात मानिन्छ । उपत्यकाभित्र हिन्दू धर्मावलम्बीको महान् चाड दसैँ नमनाउने स्थानका रुपमा खोकनालाई चिनिन्छ । खोकनामा दसैँ नमनाएर सिकाली जात्रा मनाइने गरिन्छ । सरकारले खोकनालाई आधुनिक शहरमा परिणत गर्न विभिन्न परियोजना अघि सारिरहेको छ ।

खोकना अनि नजिकै रहेको बुङ्मती क्षेत्र मूर्त तथा अमूर्त सम्पदाको धनी भएकै कारण सोलाई सम्पदा बस्ती घोषणा गरिएको थियो । उपत्यकामा मानवबस्तीको सुरुआत खोकनाबाटै भएको स्थानीयको बुझाइ छ ।
रासस

Your Opnion

//