खतरनाक छ, इन्जिनियरिङबिना हुने पूर्वाधार निर्माण - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Engineering

खतरनाक छ, इन्जिनियरिङबिना हुने पूर्वाधार निर्माण

असारको अन्तिम साता बाजुराको दुर्गम हिमाली गाउँपालिका वडा न ५ क्युडी गाउँ नै चिराचिरा पर्यो । इन्जिनियरिङबिना आफूखुसी डोजरले बाटो खन्दा क्युडी गाउँका करिब ९४ परिवार नै विस्थापित भए । इन्जिनियरको उपस्थित र इन्जिनियरिङ विधिबिना निर्माण गरिने पूर्वाधार कत्तिको खतरनाक हुन्छ भन्ने देखाउन यही उदाहरण काफी छ ।

जेठ र असार महिनामा देशभर करिब १६० सडक र ३० पुलमा क्षति पुगेको छ । ती सडक र पुलमा क्षति पुग्नुमा बाढी र पहिरोलाई दोष दिए तापनि अन्य प्राविधिक कमजोरीबारे पनि अध्ययन हुन आवश्यक छ । नत्र सामान्य वर्षाको भार थाम्न नसक्ने संरचना निर्माण प्रक्रिया वा निर्माण सामग्रीको दोष हुने कुरामा दोमत छैन ।

यस्ता समस्या अधिकांश स्थानीय तहहरुमा हुने गरेको जानकारहरु बताउँछन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका पूर्वाधार विकास शाखामा कार्यरत सब–इन्जिनियर हरि बहादुर खत्रीको बुझाईमा अधिकांश स्थानीय तहमा इन्जिनियरलाई नसोधी, इन्जिनियरिङ विधिबिना पूर्वाधार योजनाहरु अघि बढ्ने गर्छन् । पूर्वाधार विकासअन्तर्गत पर्ने सडक, बाटो, भवन निर्माण, पुल, खानेपानी आदी योजनाहरु अघि सार्दा इन्जिनियरिङ विधिलाई प्राथमिकतामा राखेको पाइदैन ।

आफू कार्यरत नगरपालिकामा पनि त्यस्तै समस्या विद्यमान रहेको खत्री बताउँछन् । ‘यहाँ भएका योजनाहरु टेन्डरजस्तै भएका छन् । पहुँचमा रहेका व्यक्तिहरुले आफ्नो पेशाजस्तै ठानेर योजनाहरु अघि बढाउने गर्छन्’ इन्जिनियर्स पोस्टसँग उनी थप्छन्, ‘योजनालाई बाँडफाँड गर्छन् । यहाँका मानिसहरुले पूर्वाधार योजनालाई दिगो विकास र सेवामुखीभन्दा बढी रोजगारी दिने र आर्थिक स्रोतको रुपमा लिने गर्छन् । जसले गर्दा समस्या सिर्जना भएको देखिन्छ ।’

उनको भनाइलाइ आधार मान्ने हो भने, नगरपालिकामा आउने योजनाहरुको अध्ययन र सर्वेक्षण कम हुने गर्छन् । यसरी प्राविधिक विषयको ज्ञान भएका इन्जिनियरहरुले पनि आफूसँग भएको ज्ञान र सीपको प्रयोग गर्न पाइरहेका छैनन् ।

‘प्रविधिको अभावमा हामीले योजनालाई प्राविधिक तरिकाले अघि बढाउन सकिरहेका छैनौँ । कतिपय अवस्थामा हामी इन्जिनियरले आफूसँग भएको ज्ञान र सीप प्रयोग गर्ने ठाउँ नै हुँदैन’ सब–इन्जियिनर खत्री थप्छन्, ‘अप्राविधिकको निर्देशनमा काम गर्नुपर्ने अवस्था छ । जुन स्थानीय तहको मुख्य समस्या हो ।’

उनका अनुसार प्राविधिकले आफूसँग भएको ज्ञान र सीपको आधारमा योजनालाई प्रभावकारी बनाउनेतर्फ ध्यान दिन खोज्दा पनि इन्जिनियरिङ विधिमार्फत काम गर्न सक्ने अवस्था स्थानीय तहमा छैन । ‘पूर्वाधार निर्माणको काममा बुझाउँदा–बुझाउँदै पनि उहाँहरुको आफ्नै ढिपि हुन्छ । आफ्नै तरिकाले काम गर्न खोज्नुहुन्छ । यसरी निर्माण हुने योजनाले भविष्यमा समस्या निम्त्याउँछ’ खत्री भन्छन् ।

यद्यपि, विगतका वर्षहरुमा भन्दा केही सुधार भने देखिएको उनको भनाइ छ । ‘पूर्वाधारका योजनामा लक्ष्यअनुसार उल्लेखनीय रुपमा सुधार नभए पनि विगतभन्दा केही सुधार भने देखिएको छ’ उनी भन्छन्, ‘तर काम गर्दा अपनाइने पुरानै शैलीका कारण अझै पनि समस्या भने विदितै छ । हामीले प्राविधिक ज्ञान र विधिअनुसार सुधार्ने र व्यवस्थापन गर्ने कोसिस भने गरिरहेका छौँ ।’

खतरा छ
कुनै पनि पूर्वाधार विकास आयोजनामा इन्जिनियरको मुख्य भूमिका हुन्छ । इन्जिनियरिङ विधिमार्फत पूवार्धार विकासका योजनालाई अघि बढाउन, पूर्वाधार विकासमार्फत मानिसका आवश्यकता र चाहनाहरु पूर्ती गर्न, दिगो विकास गर्नका निम्ति इन्जिनियरको भूमिका र इन्जिनियरिङ विधि महत्वपूर्ण मानिन्छ । नेपालजस्तो विकासोन्मुख एवम् पूर्वाधार विकासको सन्दर्भमा भौगोलिक जटिलता भएको मुलुकमा पूर्वाधार विकास गर्दा इन्जिनियरिङ तथा आर्किटेक्चरल विधि प्राथमिकतामा राखिनुपर्छ । तर ग्रामिण क्षेत्रमा यस्तोखाले अभ्यास भने विरलै हुने गरेको पाइन्छ । जसका कारण नेपालका पूर्वाधार निर्माण असफल तथा खतरनाक रहने गरेको विज्ञहरु बताउँछन् ।

‘पाक शास्त्र नजानेकोले रेष्टुरेन्टमा पकाउन थालेपछि रेष्टुरेन्ट कतिन्जेल चल्छ ? संस्कृतसम्बन्धि ज्ञान नभएको पण्डितले हिन्दु धर्मअनुसार कसैको बिहे गराइदिनु पर्यो भने कसरी गराउँला ?’ उदाहरणमार्फत व्याख्या गर्दै वरिष्ठ इन्जिनियर आमोदमणि दिक्षित भन्छन्, ‘कहिल्यै घर नबनाएको डकर्मीलाई महल बनाउन लगाउँदा कस्तो महल बन्ला ? पूर्वाधार विकासमा पनि ठ्याक्कै यस्तै प्रशंग लागू हुन्छ । पूर्वाधारमा वरिपरीको परिवेश, स्थिति, आवश्यकता, सम्भाव्यता, आफ्नो हैसियत नबुझिकन इन्जिनियरबिना इन्जिनियरिङ काम गराउन खोज्दा दुर्घटना निम्तिन्छ ।’

वरिष्ठ इन्जिनियर दिक्षितकाअनुसार कुनै पनि पूर्वाधार विकासका आयोजनाहरु इन्जिनियरिङ विधिमा आधारित हुन्छन् । इन्जिनियरबिना इन्जिनियरिङ काम गर्दा राजनीतिज्ञ, कर्मचारी, प्रशासनिक व्यक्ति, सिडियो, एलडिओ आदी आफै खटिन थाल्यो भने सडक र बाटो बन्ला, संरचनाहरु त ठड्याउन सकिएला तर ती संरचना र बनेका पूर्वाधारहरु न कार्यात्मक हुन्छन् न त दिगो नै ।

इन्जिनियर्स पोस्टसँग दिक्षित भन्छन्, ‘इन्जिनियर र इन्जिनियरिङ विधिबिना बनेका इन्जिनियरिङ काम (पुर्वाधार विकास)को कुनै मूल्य हुँदैन । औचित्य हुँदैन । इन्जिनियरबिना प्रशासक, सचिव, ओभरसियर, राजनीतिज्ञ, मन्त्री, नगरपालिका, गाउँपालिका अध्यक्ष आदीले गरेको इन्जिनियरिङ काम खतरनाक हुन्छ । त्यसैले इन्जिनियरिङ काम भनेको इन्जिनियरिङ विधिमा आधारित रहेर इन्जिनियरले गर्ने हो ।’

पूर्वाधार विकासका योजनामा इन्जिनियरिङ विधि र इन्जिनियरको महत्वपूर्ण भूमिका भएझै कतिपय अवस्थामा आर्किटेक्चरल डिजाइन र आर्किटेक्टको पनि महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले पूर्वाधार विकासका योजनामा आर्किटेक्चरल डिजाइनलाई पनि जोड दिनुपर्ने बताउँछन्, स्काफका पूर्व अध्यक्ष वरिष्ठ आर्किटेक्ट राजेश थापा ।

‘पुर्वाधार योजनामा इन्जिनियर र इन्जिनियरिङ विधि महत्वपूर्ण भएझै आर्किटेक्ट र आर्किटेचरल डिजाइनको भूमिका तुलनात्मक रुपमा कम हुन्छ । कस्तो अवस्थामा आर्किटेक्ट र आर्किटेक्चरल डिजाइन चाहिने/नचाहिने भन्ने पूर्वाधार योजनाको प्रकारमा भर पर्छ’ इन्जिनियर्स पोस्टसँग उनी भन्छन्, ‘दिगो पूर्वाधार विकासका लागि आर्किटेक्टले अवधारणा दिन सक्छ । आर्किटेक्चरल डिजाइनमार्फत पूर्वाधार संरचानाहरु कार्यात्मक, प्रभावकारी र दिगो बनाउन आर्किटेक्टको भूमिका पनि अहम् हुन्छ ।’

यतिमात्र नभई पूर्वाधार योजना निर्माण गर्दा आर्किटेक्टहरुले संरचनालाई कलात्मक र सुन्दर बनाउन पनि सहयोग गर्छन् । ‘संरचनालाई कार्यात्मक, प्रभावकारी र दिगो बनाउन अवधारणा बनाएझै कुनै पनि संरचनाको कलात्मक मूल्यलाई न्याय दिन आर्किटेक्टले महत्वपूर्ण भूमिका खेल्छन्’ उनी थप्छन्, ‘खानेपानी, सिँचाई, पुल डिजाइन आदीमा इन्जिनियरको भूमिका बढी हुन्छ । तर ती संरचनाहरुलाई सुन्दर बनाउन आर्किटेक्टको भूमिका रहन्छ । त्यसैले भूमिका सानो–ठूलो जस्तो भए पनि पूर्वाधार योजना निर्माणलाई सुन्दर, दिगो र कार्यात्मक बनाउन आर्किटेक्टको भूमिका पनि रहन्छ ।’

आर्किटेक्चरल अवधारणा र इन्जिनियरिङ विधिबिना पुर्वाधार विकास योजना अन्य व्यक्तिको भरमा छोड्न नहुने उनको सुझाव छ । यसो गर्दा भौतिक, मानवीय तथा आर्थिक क्षति बेहोर्नुपर्छ ।

Your Opnion

//