यसरी सफल भयो नेपालीले बनाएको ‘क्वान्टम रकेट’को पाँचौ परीक्षण - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Aviation

यसरी सफल भयो नेपालीले बनाएको ‘क्वान्टम रकेट’को पाँचौ परीक्षण

इन्जिनियरिङका विद्यार्थी र नेपाली इन्जिनियरको समूहले बनाएको रकेटको पाँचौ परीक्षण सफल भएको छ । १० जनाको समूहले बनाएको ‘क्वान्टम’ नाम दिइएको रकेटको पाँचौ परीक्षण प्रयास सफल भएको हो । यही मंगलबार उक्त रकेटको ‘सुपर सोनिक’ परीक्षण भएको थियो । काठमाडौंको थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा परीक्षण गरिएको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रमार्फत इन्जिनियरिङका विद्यार्थी र नेपाली इन्जिनियरहरूको समूहले सो रकेट बनाएका हुन् । करिब ५ जना इन्जिनियरिङका विद्यार्थी र पाँच जना आविष्कार केन्द्रका इन्जिनियरहरू मिलेर १० जनाको एक टिम बनेको थियो । टिममा मेकानिकल, कम्प्युटर, इलेक्ट्रिकल, इन्डष्ट्रियल आदि क्षेत्रका विद्यार्थी र इन्जिनियरहरूरु संलग्न थिए ।

रकेट निर्माणमा इन्जिनियरिङमा अध्ययनरत मोहन तामाङ, उज्ज्वल ढकाल, रमेश साउद र अमृत ढुंगाना छन् भने इन्जिनियरिङ अध्ययन पूरा गरेका रामहरि चौधरी, शिवनारायण कुँवर, प्रदीप्त शर्मा, ईश्वर श्रेष्ठ, दीपेन्द्र बस्नेत र दानबहादुर घर्तीमगर रहेका छन् । यसअघि सिन्धुलीमा परीक्षण गरिएको तथा इन्जिनियरिङका विद्यार्थीले बनाएको गरुड रकेटको समेत नेतृत्व गरेका कम्प्युटर इन्जिनियरिङका विद्यार्थी मोहन तामाङले क्वान्टम रकेटको पनि नेतृत्व लिएका थिए ।

‘हाम्रो १० जनाको समूह छ । टिमले दिनरात खटेर रकेटमा काम गरेको थियो । हामीले आविष्कार केन्द्रमै बसेर रकेट बनाएका हौं,’ मुख्य निर्माणकर्तासमेत रहेका तामाङ भन्छन्, ‘यो म्याक २ को स्पिड हो । २.१ किलोमिटर उचाइमा पुगेर प्यारासुटबाट झारिएको थियो । पाँचौ पटकको हाम्रो परीक्षण प्रयास सफल भयो ।’

तामाङकाअनुसार रकेटको उचाइ ६.१ फिट छ भने करिब ९ केजी तौल छ । यसमा १.२ केजी इन्धन प्रयोग हुन्छ । परीक्षणका क्रममा सुपर सोनिक रकेट ८ सय ७८ मिटर प्रतिसेकेन्डको गतिमा उडेको थियो । उडानका लागि न्यूनतम ९ सय न्यूटन थ्रस्ट आवश्यक पर्ने हुँदा क्वान्टम रकेट परीक्षणको क्रममा अधिकतम १८ सय न्यूटन इनर्जी दिइएको थियो ।

सामग्री

क्वान्टम रकेट फाइबर ग्लास प्रयोग गरेर निर्माण गरिएको हो । रकेटमा सेन्सरको प्रयोग गरिएको थियो । नेपालभित्रै उपलब्ध भएका सामग्रीहरू र सस्तो सामानअनुसार रकेटको डिजाइन गरिएको थियो । रकेट बनाउँदा काठमाडौं उपत्यकाभित्रै पाइने सामग्रीहरू प्रयोग गरिएको थियो । ‘रकेटमा सस्तो सामग्रीहरू प्रयोग गर्यौं,’ तामाङ सुनाउँछन्, ‘पोटासियम मेगासिल्ड, पोटासियम नाइट्रेट केमिकल र टेवल साइन सुगर सोलिडलाई इन्धनका रूपमा प्रयोग गर्यौं । यी केमिकलहरूलाई मिश्रण गरेर रकेटको क्षमता कति छ ? त्यहीअनुसार बनायौं । रकेटमा जति शक्ति चाहिन्छ सोहीअनुसार अध्ययन गरेर चाहिने सामग्री प्रयोग गरेका थियौं ।’

रकम

रकेटको आकार ६.१ फिट मात्र भएकोले र फाइबर ग्लास प्रयोग गरेर रकेट निर्माण गरिएकाले रकेट कम खर्चमा तयार गरिएको हो । एउटा रकेट बनाउन १० देखि १५ हजार मूल्य लागेको छ । २ महिनाको अन्तरालमा सबै रकेट बनाउन करिब १ लाख रकम खर्च भएको छ । सबै खर्च आविष्कार केन्द्रले जुटाएको हो । तामाङका अनुसार रकेटका लागि हाई एनर्जी प्रोभेलेन्ट केमिकल आवश्यक हुन्छ । सो केमिकल निकै उच्च क्षमताको हुने हुँदा निकै महंगो हुन्छ । यसको मूल्य ५ सय ग्राम बराबर करिब ४० हजार मूल्य पर्छ ।

रकेटलाई थप एड्भान्स बनाउने योजनासहित रकेटमा प्रयोग हुने केमिकल र अन्य सामग्रीबारे हाल आफूहरूले थप रिसर्च गरिरहेको तामाङ बताउँछन् । भन्छन्, ‘रकेटमा प्रयोग हुने केमिकल र सामग्रीबारे थप रिसर्च गर्दैछौं । ताकि भविष्यमा हामीले पनि आफूले बनाउने रकेटमा यस्तोखाले सामग्री पनि प्रयोग गर्न सकौं । हामीले अझै रकेटमा रिसर्च गर्दैछौं । अझै एड्भान्स बनाउँछौं ।’

यसअघिका परीक्षणहरू

आविष्कार केन्द्रले क्वान्टम रकेट प्रोजेक्ट करिब २ महिनाअघि सुरु गरेको थियो । दुई महिनाको अन्तरालमा रकेट बनाएर विभिन्न चरणमा परीक्षण गरिएको थियो । यसअघिको परीक्षण पनि थानकोटमै गरिएको थियो । निर्माणकर्ता तामाङकाअनुसार यसअघिका चारवटा परीक्षणहरू नमिलेर बीचमै दुर्घटना र असफल हुने गरेका थिए । पाँचौ प्रयास भने सफल भएको छ । यो रकेट कुनै प्रतिस्पर्धामा भाग लिन नभई रिसर्चका आधारमा नेपाललाई स्पेस क्याबिनेसन बनाउने उद्देश्य र रकेट प्रविधिमा नेपालमा केही गर्न सकिन्छ कि भन्ने हिसाबले बनाइएको हो ।

यसअघि नेपाली इन्जिनियरिङका विद्यार्थीले ‘गरुड’ नामक रकेट बनाएका थिए । अमेरिकामा हुने प्रतिस्पर्धाका लागि लक्षित गरेर बनाइएको गरुड रकेटको परीक्षण भने असफल भएको थियो । यद्यपि, गरुड रकेटले अन्तर्राष्ट्रिय स्पेस अवार्डमा अनरेबल अवार्ड जित्न सफल भएको थियो ।

गरुड र क्वान्टम रकेटबीच भिन्नता

गरुड र क्वान्टम दुवै रकेटको नेतृत्व मोहन तामाङले गरेका थिए । तामाङका अनुसार क्वान्टम रकेट गरुड रकेटभन्दा फरक रकेट हो । गरुड रकेट इन्जिनियरिङका विद्यार्थीको कलेजको रिसर्च प्रोजेक्टअन्तर्गत हो भने क्वान्टम रकेट भने आविष्कार केन्द्रमा व्यावसायिक हिसाबले अघि बढाउने उद्देश्यले निर्माण गएिको हो । यो अलि बढी खोजअनुसन्धान गरिएको प्रोजेक्ट हो । यो प्रोजेक्ट गरुडभन्दा केहि उन्नत छ र परीक्षण पनि सफल भएको छ । त्यसैले दुवैमा केही भिन्नता छ ।

Your Opnion

//