नेपालको सबैभन्दा ठूलो सौर्य इपीसी कम्पनी हो, कुशल प्रोजेक्ट्स । नेपालमा सुक्खा मौसममा हुने ऊर्जा अभाव घटाउन, विद्युत् आयातमा आत्मनिर्भर रहन, ऊर्जा आयातमा आत्मनिर्भर भई आर्थिक वृद्धि गराउन र नवीकरणीय ऊर्जामार्फत कार्बन उत्सर्जन कम गर्ने लक्ष्य यस प्रोजेक्टले राखेको छ । तराई क्षेत्रमा रहेका बाँझो जमिन प्रयोग गरी सौर्य ऊर्जामार्फत यस प्रोजेक्ट्सले विद्युत् उत्पादन गरिरहेको छ ।
मासिक १९ लाख युनिटभन्दा बढी बिजुली उत्पादन गर्दै
कुशल प्रोजेक्ट्सले सौर्य ऊर्जा परियोजनाहरूको डिजाइन, आपूर्ति, निर्माण र जडान गर्ने गर्छ । तराईका विभिन्न क्षेत्रमा सौर्य ऊर्जा निर्माण जारी राखेको यस प्रोजेक्टले प्रदेश नं. २ स्थित महोत्तरीको ढल्केबरमा १० मेगावाटको सोलार पावर परियोजना निर्माण सम्पन्न गरेको छ । त्यसैगरी राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण पनि सुरु गरिसकेको छ । सन् २०२१ फेब्रुअरी १६ मा सम्पन्न निजी क्षेत्रको लगानीमा बनेको ढल्केबर सौर्य ऊर्जा परियोजना नेपालको सबैभन्दा ठूलो सौर्य ऊर्जा परियोजना पनि हो । जुन इकोपावर डेभलपमेन्ट कम्पनीले निर्माण गरेको हो । हाल उक्त केन्द्रले नेपाल विद्युत् प्राधिकरणलाई प्रतियुनिट ७ रुपैयाँ ३० पैसामा बिजुली बिक्री गरिरहेको छ ।
नेपाली कम्पनी, विदेशी प्राविधिक
नेपालको सौर्य ऊर्जा कम्पनी कुशल प्रोजेक्ट्सका संस्थापक एवं अध्यक्ष राजविराज सप्तरीका प्रशान्त टाटर हुन् । यस कम्पनीका प्रबन्ध निर्देशक भने भारतका सन्दीप अग्रवाल हुन् । इन्जिनियरिङ प्रोक्युरमेन्ट (खरिद) र निर्माणमा आधारित नेपालमा सञ्चालित सोलार परियोजनामा विदेशी प्राविधिकहरू आबद्ध रहेका छन् । जसमा अमेरिका र भारतका इन्जिनियर, परामर्शदाता र विज्ञहरू आबद्ध छन् । प्रबन्ध निर्देशक अग्रवालका अनुसार करिब २५ जना विदेशी प्राविधिक, परामर्शदाता एवं विज्ञको समूह छ भने करिब २ सयभन्दा बढी नेपाली कामदारले कुशल प्रोजेक्टमार्फत काम गरिरहेका छन् ।
‘सौर्य ऊर्जाका निम्ती प्राविधिक, एक्सपर्ट, कन्सल्ट्यान्टका लागि दक्ष टोली चाहिने हुँदा हामीले विदेशीहरू राखेका छौं । उहाँहरूले नेपाली इन्जिनियरहरू र कामदारहरूलाई तालिम पनि उपलब्ध गराइदिनुहुन्छ । तर, देशबाहिरबाट कामदार नबोलाई नेपालकै कामदारहरूलाई रोजगार दिएका छौं,’ प्रबन्ध निर्देशक अग्रवाल भन्छन् ।
अवधारणा
सन् २०१४ र २०१६ मा नेपाल विद्युत् प्राधिकरण, इकोपावर कम्पनी र प्राइम बैंकबीच सौर्य ऊर्जा खरिद सम्झौता (पीपीए) भएको थियो । तर, सम्झौताअनुसार बैंकले सौर्य ऊर्जा उत्पादनमा लगानी गर्न मानिरहेको थिएन भने सौर्य पावर प्लान्टका लागि टेक्नोलोजीको पनि अभाव थियो । २०१६ मे महिनासम्म पनि नेपाल विद्युत् प्राधिकरणलगायत अन्य निकायले पनि सोलारमार्फत विद्युत् उत्पादन गर्न सक्ने विश्वास राखेका थिएनन् । यी विभिन्न लगानीकर्ता र सरकारी निकायहरूले भन्ने गर्थे की, ‘सोलारबाट घरमा बत्ती त राम्रोसँग बन्दैन भने प्रसारण लाइनमार्फत १० मेघावाटको यति ठूलो प्राजेक्ट कसरी सम्भव छ ?’
त्यहीबेला तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले कुशल प्राजेक्टस्का प्रबन्ध निर्देशक सन्दीप अग्रवाल, परामर्शदाता, प्राविधिकलगायतसँग भेटवार्ता गरे । ‘कुलमान सरले मलाई नेपाल बोलाएर भन्नुभयो, ‘सुक्खायाममा नेपालमा जलाशय घट्ने हुँदा हामीले पर्याप्त विद्युत् उत्पादन गर्न सक्दैनौ । लोडसेडिङ भइरहन्छ । कुनै न कुनै विकल्पमा काम गर्नुपर्यो,’ अग्रवाल सुनाउँछन्, ‘र, हामीले सुझाव दियौं कि सोलार प्रोजेक्टले समस्या समाधान गर्न सक्छ । त्यसपछि उहाँले हामीलाई बाँझो जमिन खोज्न भन्नुभयो र नयाँ लगानीकर्तालाई मनाउन भन्नुभयो ।’
त्यसपछि अग्रवालले इकोपावर डेभलपर्सका सञ्चालक एवं निर्देशक नवीन सिंहलाई भेटे । नवीनले बाँझो जमिन देखाइदिए । करिब ५० व्यक्तिको नाममा रहेको ढल्केवरको उक्त बाँझो जमिन लिजमा लिनका निम्ती इको डेभलपर्स र कुशल प्राजेक्ट्सले केही संघर्ष गरे । जग्गाधनीलाई पैसा दिने र गाउँलेलाई सौर्य ऊर्जा उपलब्ध गराउने सम्झौतापश्चात इको डेभलपर्सले उक्त जमिन भाडामा लियो ।
अन्ततः लामो संघर्षपछि लगानीकर्ता, सरकारी निकायहरूलाई मनाएर आफूहरूले काम सुरु गरेको कुशल प्रोनेक्टस्का प्रबन्ध निर्देशक अग्रवाल बताउँछन् । ‘बाँझो जमिनलाई लिजमा लिएपछि हामीले डिजाइन अघि सार्यौं र १० मेगावाटको सोलार पावर प्लान्ट बनायौं,’ प्रबन्ध निर्देशक अग्रवाल भन्छन्, ‘र, हामीले बनाएको ढल्केबर सौर्य ऊर्जा सञ्चालनमा आएपछि १० मेगावाटका लागि नेपाल आत्मनिर्भर बन्न सफल भयो । र अहिले विद्युत् प्राधिकरण पनि एकदम विश्वस्त भएको छ ।’
हाल उक्त सौर्य पावर प्लान्टबाट दैनिक ५५ हजार युनिट विद्युत् उत्पादन क्षमता रहेको छ भने ढल्केबर र जनकपु्र क्षेत्रमा बिजुली वितरण भइरहेको छ । करिब ३० हजार परिवारले ढल्केबर सौर्य पावर प्लान्टबाट उत्पादित विद्युत् उपभोग गर्न पाउनेछन् । ढल्केबर सौर्य ऊर्जा केन्द्रको लागत भने १ सय करोड रहेको छ ।
ढल्केबर सौर्य ऊर्जा उत्पादन केन्द्र सफलतापूर्वक सम्पन्न भएपछि भने हाल गोल्यान, अपी पावर, सीजी ग्रुपलगायत विभिन्न उत्पादक कम्पनीहरू सौर्य ऊर्जामा कुशल ऊर्जासँगै काम गर्न इच्छुक रहेको अग्रवाल बताउँछन् । ‘हाइड्रो प्रोजेक्ट बनाउन १० वर्ष लामो समय लाग्छ, तपाईहरूले ६ महिनामै विद्युत् उत्पादन गरिरहनु भएको छ । त्यसैले हामी लगानी गर्न इच्छुक छौं,’ भन्दै हाल यी कम्पनीहरू सौर्य ऊर्जामा लगानी गर्न इच्छुक देखिन्छन् । यी कम्पनीहरू इच्छुक भएपछि २०२१ डिसेम्बर महिनासम्म निर्माण सम्पन्न र सौर्य ऊर्जा वितरण गर्ने गरी विभिन्न ५ ठाउँमा प्रोजेक्ट सञ्चालन गर्ने सम्झौता गरेर काम अघि बढेको छ,’ प्रबन्ध निर्देशक अग्रवाल सुनाउँछन् ।
ढल्केबरपछि कुशल प्रोजेक्टस्ले रौतहटको चन्द्रनिगाहपुरस्थित ४ मेगावाटको सौर्य ऊर्जा उत्पादनसमेत सुरु गरिसेकेको छ । चार महिनामै तयार भएको रौतहटको उक्त सौर्य परियोजना गत मार्च अन्तिम सातामा निर्माण थालिएको थियो भने गत असार २७ गते राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको थियो ।
चुनौतीहरू
ग्रामीण भेगमा सोलारमार्फत बत्ती बालिन्छ । यद्यपि, नवीकरणीय ऊर्जाको स्वरूप मानिने सौर्य ऊर्जालाई ठूलो मात्रामा उत्पादन र सञ्चालन गर्न भने अझै पनि नेपालमा चुनौतीपूर्ण नै मानिन्छ । कुशल प्रोजेक्टस्लाई पनि सुरुमा नेपाल सरकार र आर्थिक लगानीकर्तालाई विश्वस्त पार्न चुनौती थियो भने दोस्रो कामदारमार्फत प्रोजेक्ट अघि बढाउन । त्यसैले, नेपालमा सौर्य ऊर्जाको परियोजना सुरु गर्न आफूहरूले निकै चुनौती भोग्नुपरेको उनी बताउँछन् ।
‘नेपालमा प्राइम लगानीकर्तालाई आफ्नो पैसा डुब्ने डर भएकोले सुरुमा त लगानीकर्तालाई मनाउन गाह्रो भयो । मैले र संस्थापकले इच्छुक बैंकका सिईओलाई मनायौं,’ कुशल प्रोजेक्टस्मार्फत सौर्य ऊर्जा सफलतापूर्वक अघि बढाउन योगदान पु¥याएका अग्रवाल भन्छन्, ‘दोस्रो, यहाँका व्यक्तिसँग सौर्य ऊर्जा सम्बन्धी टेक्निकल ज्ञान थिएन । हामीले उहाँहरूलाई टेक्निकल ज्ञानबारे १५ दिनजति तालिम दियौं । र, तेस्रो चुनौती भनेको एनईए र डीओडीलाई विश्वस्त पार्नु थियो । हामीले यस नवीकरणीय ऊर्जाबारे ग्यारेन्टी दिएपछि यी निकायहरू तयार भए र प्रोजेक्ट अघि बढ्यो ।’
यति मात्र नभई तराई क्षेत्रमा बढी वर्षा र गर्मी हुने हुँदा प्रोजेक्ट निर्माण गर्नु अर्को चुनौती रहेको उनी बताउँछन् । भन्छन्, ‘तराईमा धेरै पानी पर्ने र गर्मी हुने हुँदा कामदारले मुस्किलले काम गर्न पाउँथे । कोभिडको कारण पनि भारतबाट आवश्यक सामान ल्याउन गाह्रो थियो । विभिन्न चुनौतीका बाबजुद सबै निकायलाई मनाउँदै हाल हामीले लक्ष्यअनुसार नेपालमा सौर्य ऊर्जा उत्पादन गरिरहेका छौं ।’
बहुउपयोगी सौर्य ऊर्जा
प्रबन्ध निर्देशक अग्रवालका अनुसार दिगो अवधारणाअन्तर्गत पर्ने सोलार प्रोजेक्टलाई २५ वर्षसम्म कुनै पनि मर्मत गर्नुपर्दैन । कुशल प्रोजेक्टस्ले सौर्य ऊर्जालाई विद्युत्मा परिणत गर्दै आएको छ भने सौर्य ऊर्जाबाट उत्पादित विद्युत् विभिन्न प्रसारण लाइनमार्फत वितरण गरिरहेको छ । ग्रिन एनर्जीको नामले समेत चिनिने सौर्य ऊर्जाबाट उत्पादित विद्युत् उपभोग गर्दा कार्बन उत्सर्जन पनि कम गर्छ । जेनेरेटर र कोइला प्रयोगमा कटौती गर्छ ।
यति मात्र नभई समुदायस्तरमा सञ्चालन एवं वितरण गरिने यस परियोजनाले विभिन्न फाइदा दिने उनी बताउँछन् । ‘यस परियोजनामार्फत २ सयभन्दा बढी नेपालीले रोजगार पाएका छन्, जग्गाधनी किसानले लिजमा दिँदा हरेक महिना आम्दानी गरिरहेका छन्, केही स्थानीय किसानहरूलाई सरसफाई गर्न रोजगार दिइएको छ । त्यसैले सौर्य ऊर्जासँगै अन्य फाइदा पनि हामीले उपलब्ध गराएका छौं,’ उनी भन्छन् ।
कुशल प्रोजेक्टस्ले आफ्नो कर्तव्यअन्तर्गत परियोजना वरिपरिका सडकहरू निर्माण गरेको छ । सडकको छेउछाउ टहरा थापेर बसेका व्यक्तिका लागि घर बनाइदिएको छ ।
जारी परियोजना र आगामी लक्ष्य
कुशल परियोजनाले हाल ढल्केबरसहित विभिन्न पाँच सौर्य ऊर्जा परियोजनामा काम गरिरहेको छ । यी प्रोजेक्ट केही महिनाको अन्तरालमा सम्पन्न गर्ने लक्ष्य कुशल प्रोजेक्टस्ले राखेको छ । जुनसुकै सौर्य परियोजना सम्पन्न गर्न ४ देखि ६ महिना समयावधि तोकिएको छ ।
नेपाललाई विद्युत्मा आत्मनिर्भर बनाउन तराईमा उत्पादन र देशभर वितरण गर्ने गरी सौर्य ऊर्जामा केन्द्रित रहने आगामी लक्ष्य रहेको प्रबन्ध निर्देशक अग्रवाल बताउँछन् । ‘शहरदेखि ग्रामीण भेग, तराईदेखि हिमालसम्म नेपालमा बिजुलीकै कारण समस्या भोग्नु नपरोस् र विद्युत्का लागि अन्य मुलुकमा निर्भर हुन नपरोस् । विद्युत् उत्पादनमा नेपाल आत्मनिर्भर बनोस् भन्ने हामी चाहन्छौं,’ उनी भन्छन्, ‘त्यसैले हाललाई तराई क्षेत्रमा सौर्य ऊर्जा उत्पादन गरे पनि राष्ट्रिय प्रसारण लाइनमार्फत तराई, पहाड र हिमाली क्षेत्रमा सौर्य ऊर्जा वितरण गर्ने लक्ष्य राखेका छौं ।’
तराईको बाँझो जमिनलाई उपयोग गरेर देशभर सौर्य ऊर्जा वितरण गर्न सकिने उनको भनाइ छ । ‘तराई क्षेत्रमा बाँझो जमिन धेरै छ, जुन पहाडी जिल्लामा छैन । अर्को पहाडमा सौर्य ऊर्जा उत्पादन केन्द्र बनाउन पनि कठिनाई हुने हुँदा तराईमा उत्पादित बिजुली देशभर वितरण गर्न सकिन्छ ।’
Your Opnion