‘स्थानीयले महिला इन्जिनियरलाई मुस्किलले पत्याउँछन्’ - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Feature

‘स्थानीयले महिला इन्जिनियरलाई मुस्किलले पत्याउँछन्’

स्याङ्जाको हरिनास गाउँपालिकामा सब–इन्जिनियरका रूपमा कार्यरत छिन्, विनिता पौडेल । २०७६ फागुनबाट सब–इन्जिनियरका रूपमा नियुक्ती लिएकी ई. पौडेल गाउँपालिकाकी स्थायी कर्मचारी हुन् । उनले पश्चिमाञ्चल क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेकी छन् ।

हरिनास गाउँपालिकामा प्राविधिहरूको एउटा समूह छ । उक्त समूहको उनी एक मात्र महिला इन्जिनियर हुन् । ई. विनिता आफ्ना पुरुष सहकर्मीसँगै फिल्डमा खटिन्छिन् । ‘स्थानीयहरूले साइटमा आएर काम सिकाइदिनुपर्यो भन्नुभयो भने त्यसका लागि फिल्डमा जानुपर्छ,’ उनी सुनाउँछिन्, ‘साइटमा के–कस्ता काम भइरहेका छन् । स्थानीयले बुझे–नबझुेको विषयमा अन्तरक्रिया गर्छौं । त्यसबाहेक हामी आफैं पनि कुनै ठाउँमा समस्या देखिए आफैं साइटमा पुगेर अवलोकन गरेर फर्किन्छौं ।’

बाटो, सडक, सिचाइँ कुलो, खेलमैदान बनाउन कार्यपालिकाले हरेक वडापालिकाका लागि बजेट छुट्याएको हुन्छ । कार्यालयको नियम र कार्ययोजनाअनुसार सबैलाई कामकाज बाँडफाँट गरिएको हुन्छ । सोहीअनुसार ई. विनिताको पनि वडापालिकामा आफ्नै भूमिका छ ।

कार्ययोजनाअनुसार उनी आफ्ना सहकर्मीहरूसँगै पहिलो चरणमा कार्यक्षेत्रको भ्रमण, हेरफेर र उपभोक्ता समितिसँग छलफल गर्छिन् । छलफमार्फत उपभोक्ता समितिका सदस्यहरूसँग उनीहरूका आवश्यकता र मागबारे बुझ्छिन् । ई. विनिताको कार्यदलले स्थानीयको माग र आवश्यकताबमोजिम कार्ययोजना कत्तिको उपयुक्त छ ? त्यसबारे बजेटअनुसार प्रोजेक्टको स्टिमेट गर्छ । त्यसपछि उपभोक्ता समितिका सदस्यहरू योजना सम्झौताका लागि पालिकामा पुग्छन् । सम्झौता गर्दै स्टिमेट लिन्छन् । र, यसरी विकास निर्माणको काम अघि बढ्छ ।

‘उनीहरूले काम सुरु गर्छन् र हामीले सही तरिकाले काम गर्नुस् भन्दै सुझाउँछौं,’ ई. विनिता सुनाउँछिन्, ‘काम सुरु भएपछि हामी बेलाबेलामा साइट भिजिट गर्छौं । उनीहरूले गरेको कामको अवलोकन गर्छौं । यसबाहेक गाउँपालिकामा ठेक्कापट्टाको काम पनि हुन्छ । आफ्नो कार्यक्षेत्रभित्र पर्ने कार्ययोजनाको जिम्मा मैले पनि लिनुपर्छ । ती कामहरूबारे हेरफेर गर्नुपर्छ ।’

महिला इन्जिनियरलाई चुनौती

हरेक विकासोन्मुख मुलुकका महिलाहरूले विभिन्न चुनौती र समस्याका बाबजुद आफ्नो भूमिका निर्वाह गरिरहेका हुन्छन् । नेपालमा पनि महिला इन्जिनियरहरूको विभिन्न समस्या र चुनोती पार गर्नुपर्ने अवस्था छ । ग्रामीण भेगमा डाँडाकाँडा भएका कारण बस्तीहरू छिरोलिएका हुन्छन् । यस्तो अवस्थामा सबैतिर सहजै र सधै राम्रो पहुँच हुँदैन । त्यसैले ग्रामीण क्षेत्रका स्थानीय तहहरूमा यस्तखाले विभिन्न चुनौती र समस्याहरू महिला इन्जिनियरहरूले भोग्नुपर्ने ई. पौडेल बताउँछिन् ।

‘सुन्दा सामान्य नै लाग्छ तर हामी महिला प्राविधिकको मुख्य चुनौती भनेको फिल्डमा पुग्नु र फर्किनु हुन्छ,’ उनी भन्छिन्, ‘किनकी कतिपय ग्रामीण भेगमा गाडीको पहुँच हुँदैन । पहुँच भएका स्थानहरूमा वर्षायामका बेला बाटो बिग्रेर समस्या भइदिन्छ । फिल्डमा खटिनु आफ्नो जिम्मेवारी भए पनि कहिलेकाहीँ अरूको सहयोग माग्नुपर्ने हुन्छ ।’ फिल्डमा खटिँदा उत्पन्न हुने अवरोध नै मुख्य समस्या र चुनौती रहेको उनी बताउँछिन् ।

स्थानीय तहमा अरू पनि समस्या कायम रहेको उनले महसुस गरेकी छन् । महिला इन्जिनियरसँग पुरुष इन्जिनियर जत्तिकै ज्ञान, सीप र योग्यता भए पनि समाजले छुट्याइदिने फरकबारे उनले प्रत्यक्ष महसुस गरिसकेकी छन् । ‘वर्तमान समयमा केही मात्रामा महिलालाई स्वतन्त्रता भए पनि महिला इन्जिनियर पुरुष जस्तै योग्य हुँदा पनि स्थानीयहरूले त्यसलाई नमानेको देखिन्छ,’ आफ्नो भोगाइबारे ई. विनिता सुनाउँछिन्, ‘गाउँघरतिर काम गर्दा यदि हामीले पुरुष जत्तिकै योग्यता हासिल गरेको भए पनि त्यहाँका मानिसमा ‘यसले सरहरूभन्दा कम जानेकी छे कि ?’ भन्ने शंका गर्छन् ।’

महिला इन्जिनियरलाई पत्याउँनै मुस्किल

स्थानीय तहमा स्वास्थ्य क्षेत्रमा कार्यरत महिला पुरुष दुवैलाई विश्वास गर्छन् । उनीहरूले भनेको सहजै विश्वास गर्छन् । तर, इन्जिनियर भनेकै सिभिल इन्जिनियर भन्ने बुझाई भएको हाम्रो नेपालमा स्थानीयहरूले महिला इन्जिनियरहरुमाथि सहजै विश्वास गर्दैनन् । यद्यपि, स्थानीय तहमा कार्यरत महिला इन्जिनियरको संख्या कम भएकोले महिला इन्जिनियरलाई मुस्किलले विश्वास गर्ने ईं विनिता बताउँछिन् । ‘स्थानीय तहमा महिला इन्जिनियरहरू यसै पनि कम छन् । विगत दुई वर्षदेखि मात्र स्थानीय तहमा महिला इन्जिनियरहरू पठाउन थालिएको छ,’ उनी भन्छिन्, ‘स्थानीयहरूले इन्जिनियरिङ क्षेत्रमा काम गर्ने महिलाहरूलाई भने हत्तपत्त विश्वास गरिहाल्न नसक्ने रहेछन् । कहिलेकाहीँ पुरुष सहकर्मीहरू उपस्थित नहुँदा म फिल्डमा खटिन्छु । त्यस्तो अवस्थामा स्थानीयलाई मनाउन गाह्रो हुन्छ । कतिपय अवस्थामा स्थानीयहरूले ‘तपाई महिला हो, तपाईंले जान्नुहुन्न’ भनेर भाव व्यक्त गर्छन् ।’

यस्तो बेला विनितालाई ‘गाउँघरतिर रुढीवादी सोच अझै पनि कायमै रहेछ भन्ने लाग्छ । यद्यपि, स्थानीयहरूले आफूले अह्राएको काम गरिदिँदा उनी खुशी हुन्छिन् । ई. विनिताका अनुसार सामान्यतया महिला इन्जिनियर भइसकेपछि कतिपय जोखिमयुक्त ठाउँहरूमा पुग्न पनि महिला इन्जिनियरहरूलाई गाह्रो हुन्छ । कहिलेकाहीँ सर्भे गर्न जाँदा, बाटो सडक मापन गर्न जाँदा हामीलाई महिनावारीको समय पर्छ । यस्तोबेला हाम्रो सट्टा पनि पुरुष सहकर्मी नै खटिनुपर्ने हुन्छ । यसले गर्दा पनि हामीमाथि विश्वास कम भएको हुन सक्छ ।

कार्यालयमा सहयोगी साथीहरू पाएकोमा उनी खुशी पनि छिन् । ‘अफिसमा सबै युवा पुस्ता साथीहरू भएकोले काम गर्ने वातावरण सहज छ । विभेदको महसुस हुँदैन,’ उनी भन्छिन्, ‘सरहरूसँगै फिल्डमा जान्छु । बिरामी पर्दा, महिनावारी हुँदा पनि आराम गर्ने मौका पाउँछु । जसले गर्दा महिला इन्जिनियर भए पनि अहिलेसम्म काममा सहज छ । कामलाई सहज रूपमा लिने गरेको छु ।’

समाधान के हुन सक्छ ?

हाम्रो जस्तो भौगोलिक कठिनाइ भएका मुलुकहरूमा चाहे पुरुष होस् या महिला सबैलाई कार्यक्षेत्रमा खटिन समस्या हुन्छ । तैपनि यसको सम्भावित समस्या समाधान के हुन सक्छन् त ? ई. पौडेल भन्छिन्, ‘हामीले आफ्नो तर्फबाट शतप्रतिशत कोसिस गरे पनि कहिलेकाहीँ विभिन्न कारणवश कार्यक्षेत्रमा खटिँदा मोटिभेसन नै खस्किन सक्छ । कार्य क्षेत्रमा खटिने पुरुष इन्जिनियरहरू जस्तै हामी पनि खटिन सक्छौं । तर, त्यसका लागि फिल्डमा खटिनुअघि विशेष तालिम उपलब्ध हुन जरुरी छ । तालिमले महिला इन्जिनियरहरूको आत्मबल पनि बढ्छ । आममानिसलाई पनि बुझाउन सहज हुन्छ । काममा जानुअघि तयारी अवस्थामा बस्न सकिन्छ र जस्तोसुकै समस्यसँग पनि जुध्न सकिन्छ ।’

Your Opnion

//