राजा महेन्द्रको पालामा १ घण्टामा डिजाइन, सवा १ लाखमा तयार भएको चाकुपाटको गुड्ने घरको कथा - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Post Special

राजा महेन्द्रको पालामा १ घण्टामा डिजाइन, सवा १ लाखमा तयार भएको चाकुपाटको गुड्ने घरको कथा

पछिल्लो समय ‘गुड्ने घर’ले प्रख्यात छ, ललितपुरको चाकुपाटस्थित पाटनढोका र इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) नजिकै निर्मित पाङ्ग्रे घर । बाहिरबाट झट्ट हेर्दा उक्त घर पाङ्गा तथा शुन्यमाथि अडिएजस्तो देखिन्छ । हरियो रंगले पोतिएको भवनको बाहिर पनि हरियाली बगैँचा छ । चारैतिर खुला छ । दुई तले भवनका झ्यालहरु निकै चौडा छन् । केवल ४ पिल्लरमाथि बनेको गुड्ने घरभित्र ६ फिट चौडाई भएका कोठा छन् भने ति कोठाका लागि ३ मिटर लम्बाइसम्म तानिएको छ । गुड्ने घरमा हाल आइओईले आफ्नो परीक्षा नियन्त्रण विभागको कार्यालय राखेको छ ।

पाङ्ग्रे घरको कथा
राजा महेन्द्र वीर विक्रम शाहले नेपालमा सन् १९५५ देखि १९७२ सम्म आफ्नो शासन चलाएका थिए । राजा महेन्द्रले आफ्नो शासनकालमा राणाकालिन र परम्परागत आर्किटेक्चरभन्दा बढी मोर्डन आर्किटेक्चरलाई प्राथमिकतामा राखेको बताइन्छ । उनले आफ्नो पालामा अर्थात् सन् १९६० को दशकदेखि नेपालमा परम्परागत संरचनाभन्दा फरक मोर्डन आर्किटेक्चर भित्राएको पढ्न र सुन्न पाइन्छ । त्यसताका मोर्डन आर्किटेक्चरमा बेद प्रसाद लोहनी, प्रभिङ्गमान सिंह प्रधान, शंकर नाथ रिमाल, रोवर्ट विज, शिव राज पन्त, गंगाधर भट्टको मुख्य भूमिका रहेको थियो । सन् १९६० मा बनेको सरस्वती सदनलाई नेपालको पहिलो कंक्रिट भवन तथा मोर्डन आर्किटेक्चरको रुपमा लिइन्छ र सोहिताका बनेको थियो, पाङ्ग्रे घर ।

सन् १९६४ अर्थात् ५७ वर्षअघि निर्माण भएको पाङ्ग्रे घरका रचनाकार हुन्, पञ्चायतकालका इन्जिनियर तथा आर्किटेक्ट शंकरनाथ रिमाल । ‘सुन्दर, आकर्षक, कलात्मक, कार्यात्मक, दिगो, भूकम्प प्रतिरोधी र सांकेतिक विषयवस्तुहरु यस घरका मुख्य विशेषता हुन् । साथै, त्यसबेला पाङ्ग्रे घरले सकारात्मक/नकारात्मक दुवै तरिकाले चर्चा कमाएको थियो’ इन्जिनियर्स पोस्टसँग रिमाल भन्छन्, ‘त्यसबेला मोर्डन आर्किटेक्चरसहितका घरहरु आम जनताको हैसियतभन्दा बाहिर हुन्थे । त्यसैले त सबैतिर घरहरुको सकारात्मकभन्दा नकारात्मक चर्चा बढी हुन्थ्यो । नयाँ इन्जिनियरिङ विधिभन्दा बढी भ्रष्टहरुले बनाएका घर भनेर चिनिन्थे । एकाध बन्ने यस्ताखाले घरहरु सबैको नजरमा हुन्थे ।’

घर बन्दाको सुरुवाती अवस्था ।

राजा महेन्द्रको पालामा शंकरनाथ रिमाल दरबारका इन्चार्ज र एक्लो भाइस (सहायक) इन्जिनियर थिए । राजा महेन्द्रको पाला (२०१८) मा दरबारमा जागिर सुरु गरेका उनले राजा महेन्द्रको मृत्यु (२०२७) भएसँगै राजीनामा दिएका थिए । करिब १० वर्षसम्म उनले दरबारको इन्जिनियरकै रुपका काम गरेका थिए । दरबारका सचिव, भारदार र अन्य कर्मचारीहरुसँग झै राजा महेन्द्र र ई. रिमालबीच राम्रो सम्बन्ध थियो । इन्जिनियरिङ तथा आर्किटेक्चरल विषयवस्तुसँग परिचित भएझै १० वर्षको अन्तरालमा ई. रिमाल राजा महेन्द्रको आनीबानी, स्वभावसँग पनि उत्तिकै परिचित थिए । उनको बुझाईमा राजा महेन्द्रको पालामा गरिब मन्त्रीहरु हुन्थे । मन्त्रीहरुसँग पर्याप्त पैसा हुँदैनथ्यो । कसैले घुस खाए र बदमासी गरेको थाहा पाएमा राजा महेन्द्र स्वयम्ले भुत्लाईदिन्थे । घुस खाने र भ्रष्टाचार गरेको प्रमाण पाउँदा वित्तिकै तूरुन्तै कारबाहि गर्थे । राजाले कारबाही गर्ने र ठाउँको ठाउँ भुत्ल्याउने डरले दरबारका कर्मचारी र मन्त्रीहरुले भ्रष्टाचार गर्दैनथे । तर राजा महेन्द्र जति कठोर उत्तिकै दयालु र उदार स्वभावका भएकाले त्यसताका घर नभएका, पैसा नभएका दरबारिया र कर्मचारीहरुलाई सहयोग पनि गर्थे । राजाले मन्त्री र दरबारियाहरुको औकात हेरेर पैसा दिन्थे । जग्गा पनि सस्तो थियो ।

‘त्यसबेला ‘घर बनाउन पाइन भन्ने’ दरबारीयाहरुको घर राजाले नै बनाइदिन्थे । जग्गाको करिब ४ हजार रुपैयाँ रोपनी थियो । त्यो बेला मेरो तलब ५ सय थियो । त्यसताका ४ हजार पनि ठूलो रकम हुन्थ्यो’ उबेलाको समय सम्झिदै रिमाल भन्छन् ।

राजा महेन्द्रको पालामा खड्ग बहादुर सिंह गृहमन्त्री थिए । खड्ग बहादुरसँग ससुरालीले दिएको प्रशस्त जमिन थियो । कैलालीमा ससुरालीले दिएको जमिन बेचेर काठमाडौंमा जग्गा किनेका थिए । सिंहले ललितपुरको चाकुपाटमा ३ रोपनी जग्गा किनेका थिए । आफुसँग प्रशस्त जमिन भए पनि ‘घर बनाउने पैसा छैन’ भन्दै राजाका सचिव र दरबारियामार्फत उनले राजासमक्ष खबर पठाए । राजा महेन्द्रले औकात हेरेर पैसा दिने हुँदा घर बनाउन मन्त्री खड्गबहादुरलाई पनि १ लाख दिए । लगत्तै खड्गबहादुरले घर बनाउने प्रक्रिया अघि सारे ।

१ घण्टामा डिजाइन, सवा १ लाखमा निर्माण
राजा महेन्द्रले पैसा दिएपछि मन्त्री खड्ग बहादुरले घर त बनाउने भए तर घरको डिजाइन कसले बनाइदिने भन्ने मुख्य प्रश्न थियो । किन कि त्यसबेला दरबारमा घरको डिजाइन गर्ने व्यक्तिहरु न्यून थिए । युवा, जागरुक र छिटो काम सम्पन्न गर्ने व्यक्तिको रुपमा शंकरनाथ रिमालको नाम अघि थियो ।

‘म दरबारमा इन्जिनियरको रुपमा कार्यरत भएकाले डिजाइन गर्दा मेरो नाम लिएपछि राजालगायत सबैले चिन्थे’ आर्किटेक्ट एवम् इन्जिनियर रिमाल सम्झन्छन्, ‘त्यसपछि घरको नक्सा बनाउन खड्गबहादुर म कहाँ आउनुभयो । मैले बन्छ भनेर पठाइदिएँ ।’

रिमालले मन्त्री खड्गबहादुरको घरको नक्सा बनाउने जिम्मा पाए । ‘मन्त्रीको घरको लागि कस्तोखाले नक्सा कोर्ने’ भन्नेबारे रिमालको दिमागमा अनेक अबधारणाहरु आउँथे । तर दरबारका इन्चार्जसमेत भएकोले रिमालले राजा र मन्त्रीलाई देखाउने गरी तत्काल मूर्त रुपसहितको नक्सा भने कोरेका थिएनन् । यद्यपि, रिमालले मन्त्रीको घरको डिजाइनको नक्सा १ घण्टामै तयार पारेका थिए ।

१ घण्टामै डिजाइन तयार भएको र सवा १ लाखमा बनेको घरको रोचक कथा रिमाल इन्जिनियर्स पोस्टलाई सुनाउँछन्– एक हप्तापछि मेरो घरको नक्सा बन्यो कि बनेन, म हेर्न आउँ भन्दै खड्गबहादुरले फोन गर्नुभयो । मैले नक्सा बनाउनै सुरु गरेको थिइनँ’ रिमाल सुनाउँछन्, ‘तैपनि फोनमा ‘नक्सा बन्यो’ भनिदिएँ । ‘उसोभए, १ घण्टापछि म आउँछु’ भन्नुभयो । मैले ‘आउनुस्’ भनिदिएँ । यता नक्सा नबने पनि मैले घर बन्ने जग्गा हेरिसकेकोले त्यसको लागि कस्तो डिजाइन उचित होला भन्नेबारे मनमनै थोरै योजना बनाएको थिएँ घरको लागि ठ्याक्कै यही डिजाइन बनाउने भन्नेबारे भने योजना थिएन । अब मन्त्री नै आउने भनेपछि एक घण्टाभित्रमा घरको प्लान, अवधारणा र परिप्रेक्षअनुसार दिमागमा भएको केही योजना र तत्काल सोचेर मैले घरको तल रथको पाङ्ग्रोको अवधारणासहित पाङ्ग्रे घरको स्केच तयार पारेँ ।’

घरको नक्सा हेर्न मन्त्री खड्गबहादुर १ घण्टापछि आइपुगे । ‘मैले नक्सा देखाउँदा उहाँले ‘१ घण्टामै कोरेर बनाएजस्तो छ’ भन्नुभयो । ‘हैन कहाँ १ घण्टामै नक्सा बन्छ मैले उल्टै प्रश्न गरेँ’ रिमाल सुनाउँछन् ।

वास्तवमा १ घण्टामै घरको नक्सा तयार भएको थियो । नक्सा सामान्य घरको नभई पृथक अर्थात्, मोर्डन आर्किटेक्चर, सांकेतिक घर, आर्कषक घरको थियो । रिमाल सुनाउँछन्, ‘१ घण्टामै पाङ्ग्रे घरको डिजाइन तयार गर्नु असम्भव र चुनौतीपूर्ण द्ुवै थियो । तर त्यसबेला एकखालको प्रेरणा थियो । केही अवधारणा पहिलेदेखि नै थियो भने मन्त्रीलाई दिएको बचन काट्न पनि नमिल्ने थियो । त्यसबेला म निकै छिटो काम गर्ने इन्जिनियर र आर्किटेक्टको रुपमा पनि चिनिन्थेँ । त्यसैले पनि १ घण्टामै डिजाइन तयार गर्न सफल भएँ । सुरुमा रफ नक्सा नै भए पनि मन्त्रीलाई चित्त बुझ्यो । नक्सा लिएर राजालाई देखाउनु भयो । राजा महेन्द्रलाई मोर्डन आर्किटेक्चर औधि मन पर्ने हुँदा राजालाई मैले बनाएको पाङ्ग्रे घरको नक्सा मन पर्यो ।’

त्यसबेला राम्रो घर बन्न करिब १ लाख रकम भए पुग्थ्यो । तर मोर्डन आर्किटेक्चरमा आधारित घरको नक्सा मन पराएपछि राजाले मन्त्री खड्गबहादुरलाई घर बनाउन सवा १ लाख रुपैयाँ दिए । सवा १ लाख लगानी र करिब ६ महिनाको अन्तरालमा खड्गबहादुर सिंहको निजी घर निर्माण भयो । पाङ्ग्रे घर नाम दिइएको उक्त घर नौलो र नयाँ इन्जिनियरिङ विधिसहित बनेको थियो । घर निर्माणका लागि आवश्यक पर्ने सिमेन्ट, स्टिल, डण्डी, छडलगायत निर्माण सामग्री नेपालबाहिरबाट ल्याइएको थियो ।

पाङ्ग्रे घरबाट गुड्ने घर
मोर्डन आर्किटेक्चरमा घुलमिल भएको अहिलेको पुस्तालाई मोर्डन आर्किटेक्चर खास नलाग्न सक्छ । तर जुनबेला नेपालमा मोर्डन आर्किटेक्चरको अभ्यास थालिएको थियो त्यसबेला मोर्डन आर्किटेक्चरको अवधारणामा बनेका भवनहरु आम मानिसको केन्द्रमा हुन्थे । चाहे कुलिन घरानियाबीच होस् या त्यसबेला छापिने पत्रिकाहरुका पानामा होस्, मोर्डन आर्किटेक्चरकै टिप्पणी हुने गर्थे । गरिब जनताहरुले मोर्डन आर्किटेक्चरमा आधारित कंक्रिटका घरहरु बनाउन सक्दैनथे । जोसँग बढी पैसा हुन्थ्यो, मोर्डन आर्किटेक्चरको घर उसले मात्र बनाउन सक्थ्यो । आधुनिक शैलीका घरहरुलाई जो कोहीले नोटिस गर्थे । पाङ्ग्रे घर यतिबेला मानिसहरुको स्मरणबाट हटाउन थाले पनि त्यसताका सबैको नजरमा हुन्थ्यो ।

अहिलेजस्तो कंक्रिट जंगल नभएको त्यसबेला नयाँ बानेश्वर (हालको एभरेष्ट होटेल)बाट पनि पाङ्ग्रे घर गुड्न आँटेको रथजस्तो देखिन्थ्यो । शंकरनाथ रिमालले घरको डिजाइन बनाउँदा पाङ्ग्रे घर नाम दिए पनि विस्तारै घरले आफ्नो नाम फेर्यो । ‘मैले पाङग्रे घर नाम राखेको थिएँ । जनताले पाङ्ग्रा भएको घर त गुड्नुपर्यो । कुनै न कुनै दिन गुडेर बागमतिमा त आउँला नि भनेर व्यङ्ग्य र ठट्टा गर्न थालेपछि त्यो घर गुड्ने घरको नामले नै प्रख्यात भयो । हाल सबैले गुड्ने घर भनेरै चिन्छन्’ इन्जिनियर्स पोस्टसँग उनी सुनाउँछन् ।

मन्त्रीदेखि, राजदूतावास हुँदा परीक्षा नियन्त्रण कार्यालयसम्म
पाङ्ग्रे घरका सिर्जनाकार रिमालकाअनुसार पाङ्ग्रे घर बनिसकेपछि मन्त्री खड्गबहादुर सिंह लामो समयसम्म बसेनन् । सिंहले आफ्नो निजी घर जर्मन दूतावासलाई भाडामा दिए । पाङ्ग्रे घरमा करिब ४ वर्षसम्म जर्मन दूतावासको पहिलो सेक्रेटरी बसे । मन्त्रीले घरबाट मासिक ३ हजार भाडा उठाउँथे । भाडाको उक्त रकम मन्त्रीको मासिक तलबभन्दा बढी थियो । यता दूतावासको पहिलो सेक्रेटरीले जर्मनबाटै फर्निचर, स्कल्पचर मगाएर मोर्डन आर्किटेक्चरमा हुनुपर्ने विशेषतासहित घरको बाहिरी र भित्रि आवरण सजाएका थिए । ‘जर्मन सेक्रेटरीले मलाई पनि बेलामौकामा बोलाउँथे । म पनि आउने–जाने गर्थेँ’ विगत सम्झदै रिमाल सुनाउँछन्, ‘उनले बारी–बगैँचा बनाएका थिए । मोर्डन आर्किटेक्चरभित्र पर्ने गार्डेन, फर्निचर सबैथोक थियो । उनको जीवनशैली पनि आधुनिक नै थियो ।’

त्यसबेला बनेका आधुनिक शैलीका घरहरुलाई राजनैतिक धारबाट व्याख्या विश्लेषण गर्न थालियो । विभिन्न आलोचना हुन थाले । ‘चौतर्फी आलोचनापश्चात त्यसबेला सुर्यबहादुरले ‘मन्त्री भएर मन्त्रीको औकातभन्दा माथिको घरमा बस्ने ?’ भनेपछि खड्गबहादुरले पाङ्ग्रे घर बेच्नुभयो’ रिमाल सुनाउँछन्, ‘आइकोनिक घर कुनै व्यक्ति तथा निजी संस्थालाई बेच्दा ध्वस्त हुने डरले इन्जिनियरिङ अध्ययन संस्थानले पाङ्ग्रे घर किन्यो । आइओईले घरको वास्तविक स्वरुप विगारे पनि राम्रोसँग व्यवस्थापन नगरे पनि अहिलेसम्म राखेको छ । आइओईबाहेक अरुले लिएको भए त्यो घरको नामनिशाना बच्दैनथ्यो ।’

बलियो
२०७२ सालको भूकम्पले सानो क्र्याक पनि देखा नपरेको पाङ्ग्रे घर गुणस्तरिय निर्माण सामग्रीको प्रयोग, उपयुक्त इन्जिनियरिङ विधि, अन्तर्राष्ट्रिय तथा राष्ट्रिय भवन संहितामा आधारित मापदण्ड र अनुशासनमा रहेर बनाएको हुँदा हालसम्म पनि बलियो रहेको शंकरनाथ रिमाल बताउँछन् । भन्छन्, ‘नेपालभित्र गुणस्तरिय निर्माण सामग्री उत्पादन हुँदैनन्थ्यो, बाहिरबाट ल्याइएका निर्माण सामग्रीहरु प्रयोग गरिएको थियो । माटो परीक्षण, क्युब हु्न्थे । उचित मापदण्ड, नियम, आचारसंहितामा आधारित रहेर घरको डिजाइन तयार गरिएको थियो । त्यसैले बलियो भयो ।’

रिमाल अझै पनि कुनै संरचना डिजाइन गर्दा भूकम्पको कारण घरभित्र बस्ने व्यक्तिको ज्यान जानु हुँदैन भन्नेमा विश्वास राख्छन् । ‘कहाँ कत्रो भूकम्प आउँछ, त्यो अन्दाज गर्न सकिँदैन । तर कमसेकम मेरो मुख्य उद्देश्य भनेको आफूले बनाएको घरभित्र बस्ने मानिसको ज्यान जोगिनुपर्छ । भाग्ने समय पाउनुपर्छ भन्ने थियो’ इन्जिनियर्स पोस्टसँग उनी सुनाउँछन्, ‘त्यसबेला त्यहाँ काम गर्दा माटो परीक्षण, क्युब टेस्ट सबै गरेर काम थालेका थियौँ । सबैखाले कंक्रिट सामग्रीको परीक्षण गरेका थियौँ । भवनसम्बन्धि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम गरेका थियौ । त्यसैले बलियो भयो ।’

Your Opnion

//