काठमाडौं उपत्यकामा स्मार्ट शहरको गुरुयोजना अघि बढ्दै, नयाँ घर बनाउन रोक लाग्ने - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Post Special

काठमाडौं उपत्यकामा स्मार्ट शहरको गुरुयोजना अघि बढ्दै, नयाँ घर बनाउन रोक लाग्ने

सांकेतिक तस्बिर

काठमाडौं उपत्यका प्राधिकरणले उपत्यकाभित्र तीन वटा स्मार्ट शहर बनाउने गरी अघि सारेको प्रस्तावित स्मार्ट शहरको गुरुयोजना मन्त्रिपरिषद्मा पठाउने तयारी भइरहेको छ ।

यदि गुरुयोजना मन्त्रिपरिषद्को बैठकबाट पारित भएमा गुरुयोजना लागू भएको क्षेत्रमा घर बनाउनमा रोक लगाइने छ । स्मार्ट सिटीका लागि डिजाइन बनेको क्षेत्रमा घर बन्दा सर्वसाधारणका लागि अलग बाटो, ढल, खानेपानी र बिजुलीजस्ता पूर्वाधारका अलग सुविधा चाहिन्छ । त्यसले स्मार्ट शहरको डिजाइनमा अवरोध सिर्जना गर्ने हुँदा घर बनाउनमा रोक लाग्छ ।

काठमाडौं उपत्यका विकास प्राधिकरणकी सूचना अधिकारी सुष्मा गौतम डिजाइनअनुसार स्मार्ट शहर निर्माणको परियोजना अघि बढेमा उक्त क्षेत्रमा घर बनाउनमा रोक लाग्ने बताउँछिन् । उनकाअुनसार स्मार्ट शहरको योजनाअनुसार अघि सारिएको प्रस्तावित क्षेत्रमा कुनै पनि सार्वजनिक संरचना बनाउन मिल्दैन । त्यस्तो अवस्थामा घर तथा अन्य पूर्वाधारका काम केही समयका लागि रोक्का गरिन्छ ।

‘अहिले हाम्रो शहरमा बनेका र बनिरहेका कतिपय संरचनाहरुमासमेत पर्याप्त बाटो छैन’ इन्जिनियर्स पोस्टसँग गौतमले भनिन्, ‘कतिपय स्थानमा सानातिना गल्ली छन्, त्यहाँ आपतकालिन अवस्थामा दमकल, एम्बुलेन्स जान सक्ने अवस्था छैन । हरेक घडेरीका लागि बाटो पनि पर्याप्त चाहिने हुँदा यदि पूर्णरुपमा स्मार्ट शहर तथा पूर्वाधार विकास गर्दा अवरोध सिर्जना गर्ने गरी घर बनाइनु हँुदैन । त्यसैले प्रस्तावित स्मार्ट शहर बन्ने क्षेत्र वरीपरि बन्ने घरमा रोक लगाइन सक्छ ।’

घर बनाउन रोक लगाउँदा केहि मापदण्डहरु समेत तय हुनेछन् । त्यसो भएमा काठमाडौंमा १० हजार रोपनी, भक्तपुरमा १० हजार रोपनी र बाँकी १ लाख रोपनीको क्षेत्रफलमा बन्ने स्मार्ट शहर क्षेत्रमा घर बनाउन रोक लाग्ने शर्त लागू हुनेछ ।

स्मार्ट शहर गुरुयोजना
उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाभित्र चार वटा स्मार्ट शहर बनाउने गरी डेढ वर्षअघि डिपिआर तयार गरेको थियो । तर ललितपुर महानगरपालिकाले उक्त योजनामा असहमति जनाएपछि ललितपुरको परियोजना सञ्चालक समितिको बैठकबाटै टुंगिएको थियो । त्यसपश्चात प्राधिकरणले काठमाडौं र भक्तपुरमा मात्र स्मार्ट शहर बनाउने गरी गुरुयोजना मन्त्रिपरिषद्मा पठाउने तयारी गर्दै आएको छ ।

प्राधिकरणकी सूचना अधिकारी गौतमकाअनुसार हाल मन्त्रिपरिषद्मा लैजाने गुरुयोजना काठमाडौं र भक्तपुरको विभिन्न तीन स्थान काठमाडौं र भक्तपुरको सीमा क्षेत्रमा १ लाख रोपनी, काठमाडौंमा १० हजार रोपनी रभक्तपुरमा १० हजार रोपनी क्षेत्रफलको परियोजनाको हो ।

यद्यपि, योजना तयार भएकाले मन्त्रिपरिषद्बाट पारित हुनासाथ त्यसलाई अघि बढाउने तयारीमा प्राधिकरण छ । डेढ वर्षअघिदेखि यो परियोजना प्रक्रियामै छ ।

सरकारले २०७४ असारदेखि तीन वर्षका लागि काठमाडौं उपत्यकाभित्र प्रस्तावित ४ वटा नयाँ शहर बनाउन कित्ताकाटमा प्रतिबन्द लगाएको थियो । गत असार ४ गते उक्त समयावधि सकिए पनि मन्त्रिपरिषद्को थप निर्णय नहुँदा उक्त प्रतिबन्द कायमै छ । यदि स्मार्ट शहरको प्रस्तावित परियोजना मन्त्रिपरिषद्बाट पास भएमा प्रस्तावित काठमाडौं र भक्तपुरका स्मार्ट शहर क्षेत्रमा घर लगायत नयाँ भौतिक संरचनामा रोक लाग्ने छ ।

शहरी विकास मन्त्रालयले गत फागुनमा काठमाडौं र भक्तपुरमा बन्ने तीन वटा स्मार्ट शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को सारसंक्षेप सार्वजनिक गरेको थियो । व्यवस्थित शहरीकरणका लागि स्मार्ट शहर योजना उचित भएको र भविष्यमा त्यस क्षेत्रमा भएका स्थानीयलाई फाइदा हुने प्राधिकरणको भनाइ छ । प्रस्तावित तीन स्मार्ट शहरको नाम इशान (काठमाडौंको पूर्वउत्तर तर्फ), आग्नेय शहर (काठमाडौंको पूर्व दक्षिणतर्फदेखि भक्तपुरसम्म) र हरित शहर (काठमाडौंको उत्तरतर्फ) रहनेछ ।

Your Opnion

//