स्थानीय तहमा कार्यरत इन्जिनियर वा प्राविधिकलाई काममा समस्या आउनुको मुख्य कारण भनेको प्राविधिक र जनप्रतिनिधिबीचको असमझदारी भएको इन्जिनियरहरूको भनाइ छ । त्यसैले स्थानीय तहमा आयोजना गुणस्तरीय र दिगो बनाउका लागि कसैले कसैलाई दबाब नगरी नियमसंगत ढंगले जानु उपयुक्त हुन्छ । यसै विषयमा कर्णाली प्रदेशअन्तर्गतको सल्यानको शारदा नगरपालिकामा कार्यरत इन्जिनियर तुफान जी. जंग केसीसँग छोटो कुराकानी गरिएको छ :
स्थानीय तहमा इन्जिनियरलाई काम गर्न कतिको सहज वा असहज छ ?
सहज भन्न त मिल्दैन । तर, त्यस्तो गाह्रो पनि छैन । मुख्य कुरा के हो भने स्थानीत तहका जनप्रतिनिधिहरू जनताबाट चुनिएका हुन्छन् । उहाँहरूले जनताको कुरालाई टार्न सक्दैनन् र कतिपय अवस्थामा भौतिक संरचनमा हामीलाई मिलाइदिन आग्रह गर्छन् । त्यसमा हामीले उहाँहरूलाई सबै टेक्निकल कुरा सम्झाएर काम अगाडि बढाउन सल्लाह दिन्छौं । उहाँहरू मान्नुहुन्छ । त्यसैले उहाँहरूको कुरालाई यदि प्राविधिकले दबाबका रूपमा लिएनन् भने त्यसलाई असहज भन्न सकिँदैन । समग्रमा खासै असहज भने छैन ।
तपाईं कार्यरत स्थानीय तहमा पर्याप्त इन्जिनियर वा प्राविधिक छन् ?
शारदा नगरपालिकाको जम्मा जनसंख्या करिब ३० हजारभन्दा माथि छ । स्वीकृत दरबन्दीअनुसार २ जना इन्जिनियर पनि हुनैपर्छ । तर, अहिले स्थायी रूपमा कार्यरत छु भने एक जना इन्जिनियर करारका रूपमा काम गरिरहनु भएको छ । त्यसैले पर्याप्त नै छन् भन्नुपर्छ ।
यस नगरपालिकाअन्तर्गत १५ ओटा वडाहरू छन् । यहाँ हामी २ जना इन्जिनियर, ३ जना सब–इन्जिनियर र ८ जना असिस्टेन्ट इन्जिनियरहरू छन् । एक जनाले २ ओटा वडा हेर्ने गरी कामको बाँडफाँट गरिएको छ । यस किसिमले हेर्ने हो भने पर्याप्त नै छौं ।
स्थानीय तहमा प्राविधिकहरू प्रशासनको दबाबमा काम गर्नुपर्छ भन्ने गरिन्छ ? यो साँचो हो त ?
प्रशासन प्रमुखले सबै कुरामा चासो लिनु स्वाभाविक नै हो । यहाँको कुरा गर्दा उहाँहरू प्राविधिक कुरा बुझ्न कोसिस चाहिँ गर्नुहुन्छ । हामीले पनि उहाँहरूलाई जसरी भए पनि बुझाउने कोसिस गर्छौं । त्यसैले उहाँहरूलाई ‘कन्भिन्स’ गराउन भने केही समय लाग्छ ।
प्रशासन प्रमुखलाई प्राविधिक कुरा बुझाउँदा–बुझाउँदै उहाँहरूले आयोजनाको काममा ढिलासुस्ती हुन जान्छ । अर्थात् स्थानीय तहमा प्रायः जसो काम ढिलासुस्ती हुनुको एउटा मुख्य कारण भनेको प्रक्रिया हो । प्रक्रिया पनि निकै ढिला हुन्छ । प्रक्रिया पूरा भएपछि हाकिमहरूलाई प्राविधिक कुरा बुझाउँदा ढिलासुस्ती हुन जान्छ । प्राविधिकका लागि यो पनि एक महत्वपूर्ण चुनौती हो । तर, दबाब नै भन्ने चाहिँ छैन ।
तपाईं कार्यरत स्थानीय तहको गौरवको आयोजना के–के हुन् ?
श्रीनगर बजार यहाँको मुख्य व्यापारिक केन्द्र हो । त्यही नजिक शान्तिनगरमा एउटा मोटरेबल पक्की पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । जुन यस नगरपालिकाको गौरवको प्रोजेक्ट हो । यसको लम्बाइ ५० मिटर रहेको छ । यसको बजेट करिब ५ करोड बराबरको छ । नगरपालिकाकै लगानीमा अर्को मुख्य प्रोजेक्ट भनेको जिल्ला अस्पतालको ठूलो भवन निर्माण सम्पन्न भएको छ । त्यसैगरी करिब डेढ करोडको लागतमा मार्के–खैराबाङ–श्रीनगर जोड्ने बाटोमा कालोपत्रको काम भइरहेको छ ।
नगरपालिकाले इन्जिनियर वा प्राविधिकको क्षमता विकासका केही कार्यक्रम ल्याएको छ ?
स्थानीय तहमा सबैभन्दा बढी खड्किएको कुरा यही हो । स्थानीय तहमा कार्यरत इन्जिनियर वा प्राविधिकका लागि यो अति नै आवश्यक कुरा हो । हामी लोक सेवाबाट नाम निकालेर पोस्टिङ भएर आयौं । सुरुमा हामीलाई नगरपालिका काम कसरी हुन्छ ? केके गरिन्छ ? भन्ने कुनै ‘आइडिया’ थिएन । अनुभवीलाई खासै समस्या भएन होला ।
एउटा मैले अनुभव गरेको कुरा हो भने, स्थानीय तहमा नियमअनुसार वा आधुनिक डिजाइनअनुसार नभई परम्परागत शैली मै विकासका निर्माणको काम गरेको पाएँ । नयाँ नयाँ डिजाइनका कुरा कसरी ल्याउने, प्रशासनिक व्यक्तिहरूलाई कसरी बुझाउने भन्ने सम्बन्धी कुनै कक्षा वा तालिा दिइँदैन । त्यसै पनि तालिम वा सेमिनारको एकदमै खाँचो छ ।
यदि हामीलाई बेलाबेलामा यसबारे तालिम दिइयो भने स्थानीय तहका जनप्रतिनिधि र प्रशासन प्रमुखलाई पनि हामीले सजिलै कन्भिन्स गर्न सक्छौं ।
एक प्राविधिक भएको नाताले स्थानीय तहलाई तपाईंको केही सुझाव छ ?
सबैभन्दा पहिले मेरो सुझाव प्राविधिकहरूलाई नै छ । त्यो भनेको ‘यदि कुनै प्राविधिक स्थानीय तहमा गइसकेपछि उसले सबैभन्दा पहिले जनप्रतिनिधिहरूलाई कसरी नियमअनुसार सहयोग गर्ने भनेर बुझ्न जरुरी छ ।’ त्यसपछि मेरो अर्को सुझाव जनप्रतिनिधिहरूलाई छ । त्यो के भने, ‘जनिप्रतिनिधिहरूले पनि कर्मचारी वा प्राविधिक भनेका हामीलाई सहयोग गर्नका लागि आएका हुन् । हामीले पनि प्राविधिकहरूलाई नियमभन्दा बाहिर गएर दबाब दिनुहुन्न’ भन्ने बुझ्न जरुरी छ । मेरो सुझाव यही दुइटा हो ।
Your Opnion