हिक्मत आत्महत्या गर्ने इन्जिनियर हुँदै होइनन्, घटनाको छानबिन होस् - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
local government

हिक्मत आत्महत्या गर्ने इन्जिनियर हुँदै होइनन्, घटनाको छानबिन होस्

  • ई. पर्वत पौडेलJuly 14, 2021

मोबाइल चलाउँदै गर्दा सोमबार दिउँसो इन्जिनियर्स पोस्टमा ‘बिहान कार्यालय गएका गाउँपालिकाका इन्जिनियर बुढाले गरे दिउँसो आत्महत्या’ शीर्षकमा खबर पाएँ । तर, मैले सो खबर पत्याउन सकिन । भुलबस मेरा साथी बुढाको फोटो पो पर्यो कि भन्ने लाग्यो । हतारहतार समाचार खोलेँ ।

समाचारमा उनको पुरा नाम र कार्यालयको नाम पनि लेखिएको थियो, हिक्मत बुढा, तुर्माखाँद गाउँपालिका, अछाम । त्यसपछि भने नपत्याइरहन सकिन ।

देशको लागि सेवा गर्न प्रतिष्ठित पदमा स्थानीय निकायमा कार्यरत इन्जिनियरले आत्महत्या गरेको भन्ने कुरा म कल्पना पनि गर्न सक्दिन । किन भने हिक्मत उसको जस्तो नाम छ, त्यस्तै आँट र व्यवहार थियो । मैले बुझेअनुसार मेरो प्यारो साथी हिक्मत आत्महत्या गर्ने खालको मानिस हुँदै होइन ।

हामी इन्जिनियरिङ पढ्दा सँगै चार वर्ष बित्यो । हामी सँगै बस्यौँ पनि । विशेष गरी हाम्रो समूहमा पाँच जना थियौँ, हिम्मत, म, जनक, दामोदर र कर्ण बहादुर । पाँच जनामध्ये पनि हिक्मत र म कहिल्यै पनि छुट्टिएरु अलग बेञ्चमा बसिएन । सधै सँगै एउटै बेञ्चमा बस्ने, घरमा आउने जाने गर्ने, अति नै मिलनसार हिक्मतलाई नजिकबाट चिनेको कारणले पनि म सजिलै अनुमान लगाउन सक्छु कि यो आत्महत्या होइन ।

हिक्मत मभन्दा करिब ५ वर्षले जेठो थिए । हामी एक अर्कालाई बाजे–नाति भन्ने गर्थ्यौँ । उनी मेरो लागि एक मेन्टर पनि थिए । धेरै कुराहरूमा सरसल्लाह दिन्थे । सधै सकारात्मक सोच भएका उनले नकारात्मक कुरा कहिल्यै गरेनन् । सानो उमेरमा आफ्नो बाबालाई गुमाएका उनी एकदम जिम्मेवार, मेहेनती र मिलनसार थिए ।

पढ्दा जहिले पनि हामीलाई गाइड गर्थे, नराम्रो कुरा कहिले गर्ने थिएनन् र हामीलाई पनि कहिले नराम्रो कुरा सिकाएनन् । हामीले कुनै नराम्रो कुरा गर्दा गाली गर्थे । कलेज पढ्दा पनि कहिल्यै कसैसँग झगडा, मनमुटाब भएन । मैले बुझेअनुसार हिक्मत हिम्मत हार्ने मानिस हुँदै होइनन् । यही साउनमा काठमाडौँ आउँछु होला नाति भन्थे । यदि आउन पाएन भने दसैँ–तिहारको बीचमा कोहलपुरतिर भेट्ने सल्लाह भएको थियो ।

करिब एक महिना अगाडि मसँग कुराकानी भएको थियो । असारको समयमा एकदम धेरै कार्य व्यस्तता भएको भन्ने गुनासो पनि गरे । साथी सरकारी जागिरे, त्यसमाथि असारको चपेटो होला भनेर मैले पनि खासै फोन गरिन ।

ई. पर्वत पौडेल

एकदम असल साथी, मिहेनती अनि इमानदार इन्जिनियरलाई मैले र उसको परिवारले मात्र गुमाएका छैनौँ, सिंगो देशले नै एउटा इन्जिनियर गुमाएको छ । एक असल साथी गुमाएकोमा म अत्यन्तै दु:खी छु । हिम्मत जस्तो मिलनसार, कर्तव्यनिष्ठ, लगनशील साथी पाउन गाह्रो हुन्छ । मलाई यो आत्महत्या हो जस्तो लाग्दैन किन कि बेलाबेला कुरा हुँदा पनि स्थानीय तहमा काम गर्न गाह्रो हुने रहेछ नाति भन्ने गर्थे उनी । मेरो साथीलाई कुन हदसम्मको गाह्रो भएको रहेछ, त्यो त उनको रहस्यमय मृत्युले नि बतायो । साथीले ज्यान त गुमाए तर आत्महत्याको कारण देखाएर घटनामा छानबिन नहुनु यस्ता तमाम निर्दोष इन्जिनियरहरूको लागि दु:खको विषय हो ।

यो घटना रहस्यमय भएको हुँदा सत्य तथ्य छानबिन गरी कोही दोषी भए कडा भन्दा कडा कारबाहीको माग गर्दछु । यस्ता रहस्यमय घटनाहरुको नेपाल इन्जिनियर्स एसोसिएसनले पनि छानबिन गर्नु पर्छ र तुरुन्त सम्बन्धित निकायमा छानबिनको माग गर्नका लागि पहल गर्न अनुरोध पनि गर्न चाहन्छु ।
मेरो प्यारो साथी, तिमी रहेनौँ । यतति छिटो छाडेर गयौ कि तिमी साँच्चिकै बाजे पनि त हुन पाएनौँ । तिम्रो आत्माले शान्ति पाओस् साथै शोकाकुल परिवारप्रति ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन् । तिमीप्रति हार्दिक श्रद्धाञ्जली साथै परिवारजनमा गहिरो समवेदना अर्पण गर्दछु ।
अलबिदा बाजे !

Your Opnion

//