इन्जिनियर बुढाको देहान्त– हत्या कि आत्महत्या ? - Engineers Post
ND Engineering & Builders (P) LTD.
× Home Main News Post Special Global Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर :६४६२०  : सिभिल : २७७६२ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८७४० / कम्युटर : ८७१० / मेकानिकल : ६१३६ / आर्किटेक्ट :२६०४ / इलेक्ट्रिकल : २९७३ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २३७१ / इन्र्फमेसन टेक्नोलोजी :१०३३ / एरोन्यूटिकल : ५३९ / इन्डस्ट्रियल : ४९२ / बायोमेडिकल : ४२६ / एग्रीकल्चर :४१७ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Post Special

इन्जिनियर बुढाको देहान्त– हत्या कि आत्महत्या ?

अछामको तुर्माखाँद गाउँपालिकामा कार्यरत इन्जिनियर हिक्मत बहादुर बुढा कार्यालय नजिकैको डेरामा सोमबार झुण्डिएको अवस्थामा फेला परे ।

बिहान कार्यालय पुगेका उनी ११ बजेर ३० मिनेटमा कार्यालयबाट निस्किएका थिए । कार्यालयकै एक प्राविधिक फाइलमा हस्ताक्षर गराउन जाँदा उनी झुण्डिएको अवस्थामा भेटिएको र उनले प्रहरीलाई खबर गरेको भन्ने छ ।

संचार माध्यममा बुढाले आत्महत्या गरेको खबर आइरहे तापनि उनको हत्या भएको हुनुसक्ने या आत्महत्या नै हो भने के कारणले आत्महत्या गरे भन्ने विषय यतिबेला बहसमा आएको छ ।

उनलाई आत्महत्या गर्न बाध्य पारिएको हो वा होइन भन्ने छानविन हुनुपर्ने भन्दै विभिन्न इन्जिनियरिङ संगठनले विज्ञप्तिसमेत निकालेका छन् । प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन)ले प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, ‘असार मसान्त सकिनै लाग्दा घटेको घटनाले पेशागत मूल्य मान्यता भित्र रहेर काम गर्ने इन्जिनियरहरुको कार्य सम्पादन, सार्वजनिक सेवा प्रवाहमाथि चुनौती सिर्जना भएको छ । घटनाको छानविन गर्न जिल्ला प्रशासन कार्यालय अछामसँग हाम्रो जोडदार माग छ ।’

हिक्मतसँगै एउटै कलेज पढेका उनका नजिकका मित्र अंकराज बुढा पनि उनको आत्महत्याले शंका उब्जाएको बताउँछन् । ‘हामीले एउटै कलेजमा इन्जिनियरिङ पढे पनि हिक्मत मेरो भाइ हो । उसलाई मैले नजिकबाट चिनेको छु’ इन्जिनियर्स पोस्टसँग उनी भन्छन्, ‘घटना आत्महत्या भनिएको छ । तर बिनाकारण कसैले आत्महत्या गर्न सक्दैन । यतिबेला असार पनि चलिरहेको छ । विभिन्न कामको दबाबका कारण स्थानीय निकायमा यस्ताखाले घटनाहरु घटिरहन्छन् । स्थानीय तहमा जनप्रतिनिधिहरुले हुँदै नभएको कामहरु गर्न लगाउने र पछि फस्ने पनि हुन्छ । त्यसैले यस घटनाले शंका उब्जाएको छ । आत्महत्या नै हो भने पनि यसको कारण के भन्ने प्रश्न उठाएको छ ?’ अंकराजको नजरमा हिक्मत निकै साधारण, लगनशिल र शालिन स्वभावका व्यक्ति थिए ।

उता, जिल्ला प्रहरी कार्यालय अछामले घटनाको छानविन तथा अनुसन्धान अघि बढाएको छ । घटनास्थलमा घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिए तापनि थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी तुल्सीराम आर्याल बताउँछन् ।

‘हिजोको घटनाको प्रारम्भिक अनुसन्धानले झुन्डिएरै आत्महत्या गरेको देखाएको छ’ इन्जिनियर्स पोस्टसँग उनी भन्छन्, ‘उनको आत्महत्याबारे थप अनुसन्धान थालिएको छ । शव पोष्टमार्टमका लागि पठाएका छौँ । यसको रिपोर्ट आउन अझै समय लाग्नेछ । रिपोर्टबाट पनि धेरै कुरा थाहा हुन्छ ।’

यतिबेला सामाजिक संजालमा हिक्मत बुढाको हत्या कि आत्महत्या भन्नेबारे विभिन्न बहस चलेको छ । सामाजिक संजाल प्रयोगकर्ताहरुले बुढाको आत्महत्याको घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग राखेका छन् ।
करिब ३० वर्षीय ई. बुढा उक्त गाउँपालिकामा २०७६ माघदेखि इन्जिनियरको रुपमा कार्यरत थिए । उनको परिवारमा आमा, दाइ, दुई भाइ, भाउजु र भाइ बुहारी छन् । उनको बुबा भने छैनन् ।

उनका काका पर्ने रविन्द्र शाहीले बुढा आत्महत्या गर्ने खालको मान्छे नभएको भन्दै सत्य–तथ्य छानबिन गर्न माग गरेका छन् । हाल काम विशेषले भारत गएका उनले इन्जिनियर्स पोस्टसँग कुरा गर्दै भने, ‘उसले आत्महत्या गरेको कुरा पत्याउनै गाह्रो भइरहेको छ । गरेकै भए पनि पक्कै कुनै कारण या दबाब हुनुपर्छ ।’

आफूसँग ३ दिनअघि कुरा भएको बताउँदै उनले भतिजले कार किन्ने कुरा गरेका थिए । उनी सम्पन्न परिवारका सदस्य हुन् । उनले भने, ‘घर आउनुस् अनि सल्लाह गर्नुछ भनेको थियो । एक उत्कृष्ट र सम्पन्न परिवारमा यस्तो घटना हुँदा शंक उब्जिएको छ ।’

सहकर्मी इन्जिनियरको नजरमा बुढा
तुर्माखाँद गाउँपालिकाका इन्जिनियर तिलक चलाउने मृतक हिक्मतबहादुर बुढाका सहकर्मी थिए । उक्त गाउँपालिकामा चलाउने २०७४ सालदेखि कार्यरत छन् । आफूभन्दा पछि गाउँपालिकामा जागिर थालेक बुढा चलाउनेको नजरमा कस्ता थिए त ? उनकै शब्दमा:

म २०७४ सालदेखि गाउँपालिका कार्यालयमा कार्यरत छु । हिक्मत सरले २०७६ माघदेखि यहाँ जागिर सुरु गर्नुभएको थियो । मेरो नजरमा हिक्मतले आत्महत्या गर्नुपर्ने कुनै कारण थिएन । उहाँलाई कामको कुनै दबाब र भार पनि थिएन । उहाँलाई सघाउन हामी पनि कार्यालयमै थियो । मिलिजुली कामहरु गरिन्थ्यो । कार्यालय समय सकिएपछि म आफ्नै घर जान्थेँ । उहाँ भने कार्यालय नजिकै डेरामा बस्नुहुन्थ्यो । हामी कार्यालयमा हुँदा होस् या बाहिर हुँदा प्राय हाम्रो उठबस भइरहन्थ्यो । उहाँले कामबारे होस् या अन्य विषयमा खासै तनाव लिनुहुन्न्थ्यो । मैले उहाँको बानी व्यवहार नजिकबाट चिने र बुझेअनुसार आत्महत्या गरेर मर्नुपर्ने कारण केही पनि देख्दिन । यस घटनाप्रति म अनविज्ञजस्तै भएको छु । यो घटना हामी सबैका लागि अनपेक्षित भएको छ ।

मैले गत जेठमा सँगै काम गर्ने विभाग छाडे पनि आफूले सघाउने काममा सघाइन्थ्यो । म विदामा भएको हुँदा घटना घट्ने दिन म कार्यालयमा थिइनँ । तर बुझ्दै जाँदा बिहान कार्यालयमा हाजिर लगाएर दिउँसो १२ बजेतिर ‘खाना खान जान्छु’ भन्दै निस्कनुभएको रहेछ । अरु बेला भनेकै समयमा फर्किने मान्छे लामो समय बितेपछि ‘कार्यालय किन फर्किनुभएन’ भनेर खोजी गर्न जाँदा झुण्डिएको अवस्थामा फेला पर्नु भएछ । बिहान कार्यालय आउँदा पनि सबै साथीहरुसँग गफगाफ भएको रहेछ । अरु दिनझै सामान्य अवस्थामा आउनु भएको रहेछ । तर अचानक उहाँले त्यस्तो निर्णय लिनुहुन्छ होला भन्नेबारे कसैले कल्पनासमेत गरेका थिएनन् । कसैले आत्महत्या गर्नुअघि विभिन्न संकेत दिन्छन् भन्छन्, तर उहाँले त्यस्तो कुनै संकेत नै दिनुभएन । हिक्मत सर अरु दिन पनि कोही कसैसँग झर्किने, रिसाउने, तनावमा बस्ने केही थिएन । हामीसँग हुँदा कहिलेकाहिँ ‘काम कसरी भ्याउने ?’ चाँहि भन्नुहुन्थ्यो ।

उहाँ डेरामा कार्यालय सहयोगीसँगै बस्नुहुन्थ्यो । कार्यालय सहयोगी पनि हिजो कोठामा हुनुहुन्नथ्यो । घटना घट्नुभन्दा दुई–तीन घण्टाअघि हिक्मत सरले आफूले सापटी लिएको सबै रकम पनि बुझाउनु भएको रहेछ । रासनको उदारो रकम पनि बुझाउनु भएको रहेछ ।

हिक्मत सर अविवाहित हो । पैसा, कामको दबाब, पारिवारिक कारण आत्महत्या गरेको विश्वास नै लाग्दैन । आत्महत्या किन गरेको होला ? यो प्रश्न निकै जटिल छ ।

Your Opnion

//