नेपाल इन्जिनियर्स एसोसिएसन (नेईए) ले ३३ औं कार्य समिति, दोस्रो प्रदेश कार्यकारिणी समिति र नेईएबाट नेपाल इन्जिनियरिङ काउन्सिलमा प्रतिनिधित्व गर्ने ५ सदस्यहरुका लागि बैशाख २४ गते तोकेको निर्वाचन कोरोना संक्रमणका कारण रोकियो ।
त्यसपछि संसद विघटन गरेर राष्ट्रपतिले काक्तिकमा देशको मध्यावधि चुनाव तोकिएपछि नेईए निर्वाचनबारे कुनै छलफल नै हुन पाएन । तर, सर्वोच्च अदालतले संसद पुनस्र्थापना गरेसँगै यतिबेला इन्जिनियर तथा आर्किटेक्टरुको ध्यान नेईए निर्वाचन कहिले हुन्छ भन्नेमा केन्द्रित छ ।
यसै सन्दर्भमा इन्जिनियर्स पोस्टले बैशाख २४ मा तोकिएको नेईए निर्वाचनमा अध्यक्षको उम्मेदवार बनेकासँग निर्वाचन कहिले हुनुपर्छ भनेर सोधेको छ । अधिकांशले अब नेईएले ढिला नगरी नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।
सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को तर्फबाट अध्यक्षको उम्मेदवार बनेका ई. डा. हरि बहादुर दर्लामी भदौमा चुनाव गर्नेगरी नेईएले तयारी थाल्नुपर्ने बताउँछन् । तत्काल स्टेक होल्डरहरुको बैठक बसालेर नेईएले चुनाव गराएर आफ्नो जिम्मेवारी पुरा गर्नुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘भोलि फेरि कोरोना महामारीको अवस्था आउन सक्ने अवस्थालाई मध्यनजर गर्दै अनलाइन भोटिङको पनि पूर्वतयारी गरेर अब चुनावको मिति तय गर्नुपर्छ । नेईएले यसअघि नै अनलाइन भोटिङका लागि हामी तयार छौँ भनिसकेको अवस्थामा कसरी हुन्छ अब चुनाव गर्नैपर्छ ।’
प्रोग्रेसिभ इन्जिनियरिङ प्रोफेसनल्स एसोसिएसन नेपाल (पेपान) बाट अध्यक्षको उम्मेदवार बनेका ई. डा. सुरज लामिछाने नेइएले निर्वाचन छिटोभन्दा छिटो गराउनुपर्ने बताउँछन् । इन्जिनियर्स पोस्टसँग उनले भने, ‘नेईएका पदाधिकारी पनि चुनावलाई अगाडि बढाउनुपर्छ भन्नेमा रहेको मैले बुझेको छु । तर, के कसरी भन्ने विधिका कुरा चाहिँ अलिकति निर्णय गरिनसकेको स्थिति छ । त्यसैले सम्भवत: कोरोनाको दोस्रो लहर घट्दो परिस्थितिमा चुनावी प्रक्रिया अघि बढ्नुपर्छ ।’ नेईए स्टेक होल्डरसँग निर्वाचनको विषयमा के गर्ने भन्नेबारे छलफल गरेर एउटा निस्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ ।
नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन (निओन) बाट अध्यक्षका उम्मेदवार बनेका ई. डा. हरि राम पराजुलीको विचार भने फरक छ । भदौमा चुनाव गर्छु भने पनि हुने सम्भावना कम रहेको बताउँदै उनी मंसिरसम्म जसरी हुन्छ चुनाव गर्नेगरी अघि बढ्नुपर्ने बताउँछन् ।
भन्छन्, ‘कोरोनाको अवस्था के हुने हो थाहा छैन । भदौमा गर्छु भनेर फेरि त्यही कोरोनाको कारण चुनाव सार्नुभन्दा अब नसर्नेगरी एउटा मिति तय गरेर अगाडि बढ्नुपर्छ ।’ हाल सबैले भ्याक्सिन नलाइसकेको अवस्थामा कोरोना संक्रमणको दर नघटेमा चुनाव हुने सम्भावना आफूले नदेखेको उनी बताउँछन् ।
पराजुली नेईएले अनलाइन भोटिङमार्फत चुनाव गर्न सक्ने हो भने चाँडो हुनसक्ने तर आफूले त्यस्तो संकेत नपाएको तर्क गर्छन् । ‘प्राविधिक क्षेत्रको नेतृत्व गर्ने संस्थाले अनलाइन भोटिङमार्फत चुनाव गर्ने विषयमा पनि ध्यान दिनुपर्छ’ उनी भन्छन् ।
डेमोक्रेटिक तराई इन्जिनियर्स सोसाइटी, राष्ट्रिय इन्जिनियर्स संघ र नेपाल भ्यालुयर्स एसोसिएसन (एनभीए) का अध्यक्ष ऋषि कोइरालाको सहभागीतामा बनेको गठबन्धनबाट अध्यक्षको उम्मेदवार बनेका ई. दिलिपकुमार झा नेईए ३२ औं कार्य समितिको कार्यकाल मंसिरमा सकिएको र विशेष परिस्थितिमा ६ महिना कार्यकाल लम्बाउन सक्ने प्रावधानअनुसारको समय पनि जेठमा सकिएकाले अब तत्काल निर्वाचन गर्नुपर्ने बताउँछन् ।
पहिला–पहिला नेईए निर्वाचन भदौमै हुने गरेको स्मरण गर्दै अहिलेको अवस्थामा पनि भौतिक उपस्थितिमा नभए अनलाइन भोटिङका आधारमा भए पनि भदौमा निर्वाचन गर्नुपर्ने उनको भनाइ छ ।
इन्जिनियर्स पोस्टसँग झा भन्छन्, ‘नेईएले चुनाव नगरेर आफ्नो कार्यकाल लम्बाउन खोजेको देखिन्छ । नत्र गत चैतको चुनाव नसारेको भए भइसक्ने थियो । अब कुनै बहाना चल्दैन । प्रविधिको प्रयोग गरेर भए पनि भदौमा चुनाव गर्नैपर्छ ।’ यसका लागि नेईएले तत्काल स्टेक होल्डरहरुको बैठक बोलाउनुपर्ने उनी बताउँछन् ।
त्यस्तै, इन्जिनियर समाज नेपालबाट अध्यक्षको उम्मेदवार बनेका ई. राजेन्द्र प्रसाद हाडा नेईए निर्वाचन तत्काल हुनुपर्ने भए पनि निर्वाचन हुने विषयमा आफूलाई शंका लागेको बताउँछन् । उनी भन्छन्, ‘अवस्था सहज हुँदै गएको छ । अब तत्काल चुनावको मिति तय गर्नुपर्छ र भोलि अवस्था असहज भएमा अनलाइन भोटिङ गर्नेगरी तयारी गरिनुपर्छ ।’ अहिले सबै मोबाइल र इन्टरनेटको पहुँचमा हुने हुँदा यसअघि नेईएले अनलाइन भोटिङको तयारी गरिसकेको भनेअनुसार एक महिनाको समय लिएर निर्वाचन गर्नुपर्ने उनको भनाइ छ ।
Your Opnion