सपना पछ्याउँदा घरबारविहीन युवा यसरी बने गुगलको चर्चित सफ्टवेयर इन्जिनियर र र्यापर - Engineers Post
advanced college of engineering
× Home Main News Post Special Nation Jobs Nea election
  तथ्यांक
कुल इन्जिनियर : ६१३०० : सिभिल : २४०७४ / इलेक्ट्रिोनिक्स एन्ड कम्युनिकेसन : ८२३९ / कम्युटर : ७६९३ / मेकानिकल : ४९५६ / आर्किटेक्ट : २३९२ / इलेक्ट्रिकल : २६०४ / इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स : २०५१ / इन्र्फमेसन टेक्नोलोजी :८१५ / एरोन्यूटिकल : ४९६ / इन्डस्ट्रियल : ४४० / बायोमेडिकल : ४२६ / एग्रीकल्चर : ३८२ / जियोमेटिक्स : ३६३ / इलेक्ट्रोनिक्स : २८४ / इन्र्भारमेन्ट : २६२ / अन्य : ८०७ /  स्रोतः नेइका
Interesting

सपना पछ्याउँदा घरबारविहीन युवा यसरी बने गुगलको चर्चित सफ्टवेयर इन्जिनियर र र्यापर

हाम्रो समाजले उच्च दर्जाको पदको मान्यता दिएको इन्जिनियर बन्न त्यति सहज छैन । सहजै इन्जिनियर बन्न मात्र होइन इन्जिनियर बन्ने सपना देख्न पनि यात धनी वर्गमा जन्मिएको हुनुपर्छ या त मध्यम वर्गीय परिवारमा जन्मेको ट्यालेन्टेड । तर जहाँ इच्छाशक्ती हुन्छ, त्यहाँ न पैसाले रोक्छ न त इन्जिनियर बन्ने सपना बोकेको व्यक्तिको पृष्ठभूमिले नै ।

यस्तै इन्जिनियर बन्ने सपना बुनेका युवाका लागि एक प्रेरणादायी कथा बनेको छ, एक घरबारविहीन युवाको कथा । अमेरिकाको ब्रोक्टोनस्थित घरबारविहीन एक युवा चर्चित सफ्टवेयर इन्जिनियर र र्यापर बनेका छन् ।

अमेरिकाको म्यासाच्युटस्ति ब्रोक्टनका ब्रान्डन टोरीको आफ्नो घर छैन । उनी सानैदेखि ब्रोक्टन सेल्टर होममा बस्छन् । सेल्टर होममै हुर्केका टोरीले एयरफोन कानमा घुसाएर बारम्बार सुन्ने र गुन्गुनाउने एउटै गीत हो, ‘गेट रिच अर डाई ट्राइन’ । किशोरावस्थामा टोरी आफैले सेल्टर होममा बस्दाबस्दै भित्तामा एक कम्प्युटरको पेन्ट बनाएका थिए ।

तिनै टोरी यतिबेला गुगलको सिनियर सफ्टवेयर इन्जिनियर र एक चर्चित र्यापर बनेका छन् ।

आफ्नो किशोरावस्थाभर भित्तामा आफैले बनाएको कम्प्युटरको पेन्टजस्तै एक कम्प्युटर बनाउनु, आफूले बनाएको कम्प्युटरबाट पढ्न, ह्याकिङ र कोडिङ गर्न सिक्नु उनको जीवनको अभिन्न हिस्सा थियो । साथै आफूजस्तै घरबारविहीन र आर्थिक अवस्था नाजुक अमेरिकनहरुको वास्तविकता र्यापमार्फत प्रस्तुत गर्नु पनि उनको जीवनको अर्को ठूलो पाटो थियो ।

‘मेरो परिवारको आर्थिक अवस्था निकै नाजुक थियो । बस्नलाई आफ्नो घर थिएन, छाक टार्न पैसा थिएन’ टोरीले भनेका छन्, ‘तर अवस्था जस्तोसुकै भए पनि मेरो मस्तिष्क भने सधै ह्याकर बन्ने र कोडिङबारे धेरैभन्दा धेरै ज्ञान सिक्नेमा केन्द्रित हुन्थ्यो । त्यसैले म आफैले फरक भाषामार्फत कसरी कोडिङ गर्ने भन्नेबारे सिकेँ । सानै उमेरमा पनि म ह्याकिङ र कोडिङको मामिलामा राम्रो थिएँ ।’

कम्प्युटरले दिलाएको सफलता
टोरी पनि सेल्टर होमका अन्य बालबालिका पढ्ने ब्रोक्टन हाई स्कुलमा भर्ना भएका थिए । स्कुले जीवनमा नरमाएका उनले शिक्षकले दिएको होमवर्क भने स्कुलमै पुरा गरेर बुझाइदिन्थे । आफूले स्कुलमै होमवर्क गरेर बुझाउनुको कारण बताउँदै उनी भन्छन्, ‘जसको घर नै छैन, बारम्बार आफ्नो घर नहुनुको पीडाले सताइरहन्छ, उसलाई होमवर्क (गृहकार्य) भनेर दिइन्थ्यो । आफैमाथि बज्रपात हुने गरि दिइने त्यस्तो अवस्थामा होमवर्कबारे कसले सोच्न सक्छ ? त्यसैले स्कुलमै होमवर्क भ्याएर बुझाइदिन्थँे । मेरो जीवन नै अस्थिर चलिरहेको बेला मलाई होमवर्क र स्कुलभन्दा वित्तिकै रिस उठ्थ्यो ।’

तर टोरी स्कुलमा छिटो होमवर्क बुझाउने विधार्थीको रुपमा चिनिन्थे । सोही कारण उनले हाइ स्कुलबाट स्याटमा राम्रो नम्बर ल्याउन सफल भए भने जोन अविगेल आलम्स स्कोलरसिपमा नाम निकाले । यो सफलता भने उनले सन् २००५ मा हाई स्कुलबाट ग्राजुयट भएपछि हात पारेका थिए ।
घरबारविहीन भएर सेल्टर होममा बस्नुपरेका टोरी संसार ओगटेको प्रविधिबारे अचम्मित हुन्थे । प्रविधिभन्दा आफू कैयौँ दुरी पछाडि रहेको महसुस गर्थे ।

उनले पाएको स्कोलरसिप नै उनको जीवनको टर्निङ प्वाइन्ट बनिदियो । उनले केही वर्षका लागि ब्रोक्टनबाट छुट्निुपर्यो । स्कोलरसिप मार्फत उनी युनिभर्सिटी अफ म्यासाचुसेट्स एम्हस्र्टमा इन्जिनियरिङ संकायमा भर्ना भए ।

युनिभर्सिटीबाट उनले कोडिङ र ह्याकिङसम्बन्धी भरपुर फाइदा लिने सोच त बनाए तर उनको पुरानो बानीका कारण शैक्षिक कक्षाहरुमा राम्रो गर्ने प्रोत्साहन भने पाएनन् । किन कि कम्प्युटर इन्जिनियरिङको कक्षामा टोरी कालो जातका व्यक्ति थिए जो घरबारविहीन पनि थिए । कक्षामा उनी सधै पछाडि बस्थे । कालो जातका एक जना बाहेक उनले अन्य साथीहरु बनाएका थिएनन् ।

‘मेरो साथी कालो जातकै भएकोले हामी दुईबीच धेरैथोक समानता थियो । हामी दुईजना मात्र कलेजका सबै विधार्थीको नजरमा फरक थियौँ । हाम्रो दोस्ती अघि बढ्यो । मलाई सहज भयो’ आफ्नो कलेज अनुभवबारे टोरीले सुनाएका छन् ।

यसरी वास्तविक पढाईको यात्रा सुरु गरेका टोरीले अन्तत: सन् २०१० मा इन्जिनियरिङ डिग्री पुरा गरेपछि एक इन्जिनियरको रुपमा राम्रो जागिर पाए । नाजुक आर्थिक अवस्था बेहोर्नु परेको परिवारका लागि उनी एक आर्थिक सहारा बने ।
इन्जिनियरको रुपमा ९ देखि ५ बजेसम्म कम्पनीमा काम गरिरहेका टोरीलाई यतिले पुगेन । त्यसपश्चात उनले जागिर छोडेर आफ्नो सपना पुरा गर्ने निर्णय गरे ।

संगीत सपना
‘म संगीत बजाउन चाहन्थेँ, त्यसैले मैले जागिर छोडिदिएँ । सबथोक ब्रोक्टनमै छोडेर म एटलान्टा आएँ’ टोरीले भनेका छन्, ‘प्रविधिबारे मलाई राम्रो ज्ञान र सीप थियो तर म जीवनमा त्योभन्दा अझै केही गर्न चाहन्थे । आफ्नै लागि भनेर सानैदेखि साँचेको सपना थियो संगीत । जीवनमा केही फरक गर्नुथियो ।’

अहिले इन्जिनियर मात्र नभई टोरी एक चर्चित र्यापर पनि हुन् । उनले अमेरिकामा भएका घरबारविहीन मानिसको आवाज गीतमार्फत प्रस्तुत गरेका छन् । स्ट्रिट्स अफ गोल्ड, वनरसिप, सिरियस्ली, इजी कोन्भो आदी टोरीका चर्चित् र्याप गीत हुन् ।

संगीत यात्रा सुरु गरेपछि उनले पहिलो पटक १२ हजार डलरको भ्यान किने । तीन वर्षसम्म उनले विभिन्न र्याप गीतहरु रचना गरे र आफ्नै आवाजमा रेकर्ड गरे । अमेरिकाका मुख्य शहरहरुका विभिन्न कार्यक्रम र लाइभ म्युजिकमा प्रस्तुत भए र एक चर्चित र्यापरको रुपमा चिनिए । माइक्रोसफ्ट र लेनोभो टिमबाल्याण्ड राष्ट्रिय गीतमा भाग लिन उनका साथीले सुझाएपछि सहभागी बनेका उनी ७ हजारमध्येबाट छनोट भए । टिम्बाल्याण्ड एक ग्राम्मी अवार्ड विजेता संगीत निर्माता, संगीत रचनाकार, र्यापर र संगीतकारहरुको समूह हो ।

‘टिम्बाल्याण्डमा काम गरेपछि मेरा फ्यानहरु बढ्दै गए । लस एन्जलसका मानिसहरुले मेरो शोको लागि धेरैभन्दा धेरै पैसा तिर्न थाले । विभिन्न सांगीतिक कार्यक्रमहरुका लागि मेरो माग बढ्दै गयो’ टोरीले भनेका छन्, ‘सपना पुरा गर्न थालेको संगीत यात्राबाट मैले केही पैसा कमाएँ । मैले आफ्नो सपना पुरा गरेरै छाडेँ ।’

केही वर्षमात्र संगीत क्षेत्रमा रहेका टोरीले पुन: संगीत क्षेत्रबाट विदा भएर इन्जिनियरिङ पेशामा फर्किने निधो गरे । अब भने उनले सानातिना होइन एप्पल, गुगल, माइक्रोसफ्टजस्ता संसारका ठूल्ठूला टेक कम्पनीमा मात्र काम गर्ने सोच बनाए ।

सुरुमा उनले एप्पल कम्पनी जोइन गरे । त्यहाँ काम गर्दा उनले हप्तामा १० घण्टा कम्पनीलाई समय दिन्थे भने बाँकी समय म्युजिक इभेन्टलाई । ‘म एकै पटक दुईथरी जीवन र भूमिकामा बाँचिरहेको थिएँ । मैले मेरा साथीहरुलाई समेत मेरो बारे केही बताएको थिइनँ । मेरो बहिनीले मेरो संगीत र इन्जिनियरिङ पेशालाई साथ दिइन् । जसले गर्दा आफ्ना सपना पुरा गर्न सहज भयो’ टोरीले भनेका छन् ।

यसरी समय वित्दै गयो । एप्पल कम्पनीको लागि कम्प्युटरमा बसेर काम गरिरहेका टोरीको स्क्रिनमा एक साँझ गुगलमार्फत ‘कोडिङ च्यालेन्ज’ भन्दै मेसेज आयो । पाँचौ लेभलमा पुगेर उक्त च्यालेन्ज टोरीले पुरा गरे । त्यसपश्चात गुगलले काम गर्न टोरीलाई कम्पनीमा बोलायो । गुगलमा उनले सिनियर सफ्टवेयर आर्टिफिसियल इन्टेलिजेन्स इन्जिनियरको पद पाए । जहाँ उनी अहिले पनि आवद्ध छन् ।
संगीत र टेक कम्पनीलाई राम्रोसँग सम्हालेका टोरीले हाल ‘फर्मलेस’ नामक आफ्नै नयाँ टेक कम्पनी खोलेका छन् । यस कम्पनीले संगीत, टेक्नोलोजी र सफ्टवेयरसम्बन्धी काम गर्छ । हाल उनले युनीकर्न नामक नयाँ एल्बम निकालेका छन् भने आफ्नो जीवनमा आधारित एक पुस्तक पनि लेखेका छन् ।

‘आशा छ, घरबारविहीन जीवनबाट गुगलको सिनियर सफ्टवेयर हुनेबेलासम्म मैले भोगेका उतारचढाव र मेरा अनुभवमाथि लेखेको पुस्तकले मजस्ता कैयौँ युवा र बालबालिकाहरुको लागि एक प्रेरणा बन्नेछ । आफूले देखेको सपना हासिल गर्न मद्दत पुर्याउने छ’ टोरीले भनेका छन् ।

हाल उनले आफ्नो टेक कम्पनीलाई निरन्तरता दिने योजना बनाएका छन् । अन्तिममा टोरीले भनेका छन्, ‘जीवन एक दौड हो । जब हामीले हाई स्कुलपछि के गर्ने भन्नेबारे सोच्छौँ तब हामीले आफ्नो नजिक जे छ त्यो मात्र देख्छौँ । तर वास्तवमा त्यस्तो हुँदैन । जीवनको दौड लामो हुन्छ । हामीले देख्ने संसारभन्दा पर पनि ठूलो संसार छ । हामीले सोचेको र देखेको सपना पुरा गर्न समय लाग्छ । इच्छाशक्ती जोगाइराख्न सक्यो भने त्यो एक दिन अवश्य पुरा हुन्छ । यदि तपाईंले लामो खेल खेल्नुभयो भने, सोचेभन्दा बी सफलता हात पार्न सकिन्छ ।’ –दि इन्टरप्राइजबाट

Your Opnion

//